उत्तरी नाकाबाट पहिलो पटक तेस्रो मुलुकका लागि नेपाली सामान निर्यात

सिन्धुपाल्चोक– नेपाल चीन उत्तरी सीमा नाका तातोपानीबाट पहिलो पटक तेस्रो मुलुकका लागि सामान निर्यात भएको छ।शुक्रबार तातोपानी नाका हुँदै नेपाली बजारमा उत्पादन भएको खाद्य सामग्री  निर्यात भएको हो। उक्त खाद्य वस्तु चीनको सेन्जेन पोर्ट हुँदै तेस्रो मुलुक जापान लैजान लागेको तातोपानी भन्सार कार्यालयले जनाएको छ।

तातोपानी भन्सार प्रमुख दयानन्द केसीका अनुसार चीनको सेन्जेन पोर्ट ट्रान्जिट भएर उत्तरी  तातोपानी  नाकाबाट नेपालकै इतिहासमा पहिलोपटक निर्यात सुरु भएको छ। शुक्रबार २४ सय बाक्सा वाइवाइ जिङ्ग चाउचाउ बोकेको कन्टेनर  चीन प्रवेश गरेको हो।

नेपालको तर्फबाट भन्सार कागजात पूरा गरेर मितेरी पुलमा चिनियाँ पक्षलाई हस्तान्तरण गरिएको केसीले बताए। उनले भने, ‘अहिले तेस्रो मुलुकमा निर्यातको लागि सामान ढुवानी सिल्क ट्रान्सपोर्टले गर्दै आएको छ।’

सिल्क ट्रान्सपोर्टका व्यावसायी विजय शेर्पाले आगामी दिनमा जापान, कोरिया, भियतनाम, लगायत तेस्रो मुलुकमा माग बमोजिमको सामग्री ढुवानी गर्न सकिने सुनाए। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतका अनुसार पछिल्लो समय तातोपानी नाकामा व्यावसायिक चहलपहल बढ्दै गएको छ। यसलाई विस्तारै गर्दै लैजाने उनले बताए।

नेपाल चीनको छोटो उत्तरी नाका तातोपानी भएकोले यसलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्ने  उनले बताए।नाका गत वैशाख १८ गतेबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको हो। पछिल्लोपटक चीनबाट आयातमा वृद्धि भएको छ। तातोपानी भन्सार कार्यालयका अनुसार पछिल्ला दिनमा दैनिक २५ कन्टेनर सामग्री नेपाल भित्रिने गरेको छ।

आयातमा वृद्धि भए पनि निर्यात भने ठप्पप्रायः रहँदै आएको थियो। तातोपानी नाकाबाट तेस्रो मुलुकमा नै नेपाली सामग्री निर्यात हुन थालेपछि अब झनै वृद्धि हुने अनुमान गरिएको छ। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल चीन पारवाहन सम्झौता गरेसँगै यो पहिलोपटक कार्यान्वयनमा आएको हो। नेपाल लाइभ बाट साभार