बिख –सुनील कुमार पौड्याल

सबैलाई थाहा भएकै कुरा हो बिख घातक हुन्छ । कुनै बिखले अरूलाई मात्र सखाप पार्छ भने कुनैले उत्पादकलाई समेत छाड्दैन । अरूलाई सखाप पार्न तयार गरेको हलाहल बिखले उत्पादकलाई समेत छाडेन । हामीले पढेकै कुरा हो । पहिलो सिकार नैं उत्पादकलाई बनायो । भिण्ड्रान्वालेले उत्पादकलाई त्राही त्राही पारे जस्तै लादेनले पनि उत्पादकलाई आच्छुआच्छु बनाएकै हो ।
यो बिख शब्द अरू शब्द जस्तै अचम्मको छ । यसलाई अगाडि पछाडि गरिदिने हो भने कुनै अर्थ लाग्दैन । यसको महत्व नैं हुँदैन । ख पछि बि अक्षर राखिदिने हो भने कुनै अर्थ दिन्छ र ? खबिको नेपालीमा कुनै अर्थ भएको कुरा मलाई आजसम्म थाहा छैन । खको अगाडि बि आएमात्र त्यसको अर्थ लाग्छ यद्यपि त्यो सँगै हुँदा सर्बनाश गर्न सक्छ । त्यसैले उत्पादकले जानेरै अगाडि बि र त्यसको पछि ख राखेर बिख नाम दिएको होला भन्ने मलाई लाग्छ ।
यी दुई अक्षरलाई छुट्टै छुट्टै पारेर हेर्ने हो भने पनि ती कुनै अक्षरको पनि नेपालीमा अर्थ लाग्दैन । सँगसँगै अर्थात बि र ख मिल्नासाथ ठ्याक्कै अर्थ लाग्छ – अर्थ हुन्छ बिनाशक । यी दुई अक्षरको सन्निकटताले हाम्रो संसार ध्वस्त पार्न पनि पछि पर्दैन । त्यसैले जानकारहरू बिखसँग सँधै टाढा रहन्छन् । नजान्नेहरूको कुरा बेग्लै हो । नजानेर वा बिख भन्ने नचिनेर नैं तिनीहरू भड्खालामा पर्छन् ।
मैले थुप्रै किसिमका बिखहरू देखेको छु । तर टाढैबाट चिनेर पन्छिने गरेको छु । त्यसो त नजिकैबाट हेरेका बिखहरू पनि छन् । तर ती बट्टा वा सिसीभित्र थुनिएका हुनाले तिनलाई नजिकबाट हेर्दा वा छुँदा पनि तिनले कुनै घात गर्न सक्दैनन् । बिर्को वा बट्टा खोलेर नछुञ्जेल घात गर्ने तिनका सामर्थ्य शून्य हुन्छ । बन्दी भएका हुनाले ती विवश हुन्छन् । खोलेर हेर्ने वा छुने भूल मैले गरेको छैन ।
बिखका अनेक प्रकारमध्ये एकथरी कालो बिख पनि हो । यो बिख त झन् खतरनाक हुन्छ । कालो बिख सबै माटोमा पाइँदैन । कतै अन्यत्रको माटोबाट तिनलाई आयात गरिएको हुन्छ भने कतै परागण भएर नौलो माटोमा घुस्न पुग्छन् । पुरानो माटोको कम्पनको मात्रा अनुसार यी हल्लिने वा शान्त हुने गर्छन् । नौलो माटोमा गाँस,बास मात्र हैन हलक्क भएर विचरण गर्न पाएका छन् तर त्यै नौलो माटोमा विषाक्त हावा फैलाउने काम मात्र गर्छन् । धेरैजसो मानिस वा वस्तु नौलो माटोमा पुगेपछि बिस्तार नौलो माटोको प्रकृति अनुसार नैं घुलमुल भैदिन्छन् र नौलो माटोको सबै गुण समेटेर बस्छन् । तर यी काला बिख यति सारो बैगुनी र स्वार्थी हुन्छन् कि यिनले नौलो माटो सुहाउँदो प्रकृति अँगाल्ने कुरा त परै जावस आफ्नो पुरानै माटोको गुणमा चुर्लुम्म डुबेका हुन्छन् र नौलो माटोलाई हरघडी दुषित गराउन दिलोज्यानले कसरत गरिरहन्छन् ।

अचम्मको कुरा त के छ भने आफ्नै माटोमा हुर्केको बिख र अन्यत्रबाट आएको वा आयात गरिएको कालो बिख यति छिटो एकआपसमा मिल्छन् कि सहोदर दाजुभाइ जस्ता लाग्छन् , एउटै बन्सजका जस्ता । यी दुवैको प्रकृति सँधै बिख लाई हुर्काएर बलियो बनाउँदै सबैतिर विषाक्त बनाउने भएर होला यी मिलेर उर्बरा माटोको उर्बरापन नष्ट गरिदिन्छन् र यहाँका राम्रा बोट बिरुवाका केही अंशलाई समेत दुषित तुल्याइदिन्छन् । एच जी वेल्सको “ध्जय बचभ तजभ ँष्ततभकत” मा भनिए जस्तै जुन बोट बिरुवा ती बिखलाई परास्त गर्न सक्छन् वा भनौं तीसँग पन्छिंदै ती बिखबाट अछुतो रहन सक्छन् तिनले नैं आफ्नो जीवन र माटोको रक्षा गर्न सक्छन् र तिनीहरू नैं माटोका अब्बल बोट बिरुवा ठहरिन्छन् ।

 

IME Remittance