त्रिवि र यसको सुधारका सम्बन्धमा : युवराज आचार्य

विश्वविद्यालय उच्च शिक्षा र अनुसन्धानको संस्था हो, जसले अध्ययन तथा अनुसन्धानका विभिन्न क्षेत्रहरुमा दक्षता प्रदान गर्दछ । नेपालमा बि.सं १९७५ सालमा त्रिचन्द्र कलेजको स्थापना गरेसंगै उच्च शिक्षाको प्रारम्भ भएको ईतिहास छ । उच्च शिक्षाको प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउनका निम्ति विभिन्न चार वटा मुख्य उद्देश्यहरु राखेर बि.सं २०१६ सालमा देशकै ठूलो तथा पुरानो विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयको (त्रिवि) स्थापना भएको थियो । यस लेखमा सधै आलोचना र राजनितिक दाउपेचको शिकार बनिरहेको त्रिविको अहिलेको विकराल स्थिति र त्यसप्रकारको स्थितिको अन्त्यको निम्ति केहि कुराहरु उठान गर्ने प्रत्यत्न गरिएको छ ।

करिब १५५ हेक्टर क्षेत्रफलमा फैलिएको त्रिविअन्तर्गत अहिले ५ वटा संस्थान र ४ वटा संकाय सम्मिलित ४० केन्द्रिय विभागहरु, ६२ वटा आङ्गिक क्याम्पसहरु र १ हजार ६२ वटा सम्बन्धन प्राप्त विभिन्न विषयका क्याम्पसहरु सञ्चालनमा छन् । त्रिवि नेपाल सरकारद्वारा लगानी गरि सञ्चालनमा ल्याएको एक गैह्र नाफामुखी संस्था हो, जसलाई २०१३ सालमै तत्कालिन सरकारले केन्द्रिय विश्वविद्यालय घोषणा गर्न सैद्धान्तिक सहमती जनाएको थियो । चारवटा अनुसन्धान केन्द्रहरु रहेका तथा कार्यक्रमको विविधताका हिसावले ठुलो संख्यामा विद्यार्थीहरुका आवश्यकताहरु पुरा गर्न सफल भएको दावी गर्ने त्रिविले, १९ डिसेम्बर २०२३ का दिन ४९ औं दिक्षान्त समाहरोहको आयोजना गरि, करिव ७४,७४९ जना विद्यार्थीहरुलाई दिक्षित गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो नाम लेखाउन सफल भयो । बर्षेनी करिब साढे तिन लाख विद्यार्थीहरुले अध्ययन गर्ने यस विश्वविद्यालयले करिव १५,१९६ जना शिक्षक तथा कर्मचारीहरुलाई रोजगारी दिईरहेको छ ।
त्रिविले आफ्ना विविध कार्यक्रमहरु सञ्चालनका निम्ति नेपालको कुल बजेटको करिब १.५ प्रतिशत अर्थात २७ अर्ब रुपैयाँ बार्षिक बजेट छुट्याउँछ । जसबाट त्रिविले आफ्ना नियमित कार्यक्रमहरु सञ्चालानार्थ ५३ प्रतिशत, आन्तरिक तर्फ ४२ प्रतिशत र विकाश कार्यक्रममा करिब ५ प्रतिशत गरेर जम्मा तिन वटा मुख्य विधाहरुमा बजेट खर्च गर्दोरहेछ । कुल बजेटको ५० प्रतिशत आन्तरिक आम्दानीबाट उठ्ने रहेछ भने बाँकी ५० प्रतिशत रकम चाहीँ विश्वविद्यालय अनुदान आयोगमार्फत नेपाल सरकारलाई माग गरेपछि प्राप्त हुने रहेछ । यदि नेपाल सरकारबाट प्राप्त हुने अनुदान रकम कुनै कारणवस त्रिविले माग गरेभन्दा कम प्राप्त भएमा वा त्रिविको योजना मुताविकको रकम नेपाल सरकारले उपलब्ध गराउन नसकेमा विकास कार्यक्रमका लागि छुटाईएको रकमलाई नियमित तथा आन्तरिक कार्यक्रमहरु सञ्चालनका निम्ति उपयोग गर्नुपर्ने हुँदा, विकाश कार्यक्रम अन्तर्गतका अनुसन्धान, तालिम तथा वृति विकाशका निम्ति गरिने महत्वपूर्ण तथा अत्यावश्यक कार्यक्रमहरु कटौती गर्नुपर्ने वा रोक्का नै गर्नुपर्ने अवस्था आउने रैछ ।
त्रिविको पहिलो मुख्य उधेश्य “नेपालको समग्र विकाशका निम्ति आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्ने˝ भन्ने कुरा, सैद्धान्तिक रुपमा सकारात्मक देखिएता पनि व्यबाहरिक रुपमा भने पुरै फरक छ । त्रिविले पढाउने पाठ्यक्रमहरु नै नेपालको विशिष्टता अनुरुपका छैनन् । सबैजसो क्षेत्रहरुमा विकाशका कार्यहरु न्युन मात्रामा भएका र हुनैपर्ने अवस्थामा रहेको हाम्रो देशमा ति कुराहरुसित मेल खाने विषयहरु पढाउन अत्यावश्यक रहेता पनि त्रिविले त्यो धारबाट बाहिर रहेर पाठ्यक्रमको विकाश तथा लागु गर्ने गरेको छ । जसले गर्दा देशभरका ७९ प्रतिशत विद्यार्थीहरुको संख्यालाई प्रतिनिधित्व गर्ने त्रिविले कुल विद्यार्थी संख्याको ८० प्रतिशत अनुत्पादक जनशक्तिहरु उत्पादन गरिरहेको छ ।˝गुणस्तरिय उच्च शिक्षा प्रदान गर्नू˝, त्रिविको अर्को मुख्य उद्देश्य हो । देशको राष्ट्रिय आवश्यकता, विश्वविद्यालयको पाठ्यक्रम तथा त्यसबाट उत्पादित जनशक्तिको गुणस्तरलाई मध्यनजर गरेर शिक्षाको गुणस्तर मापन गनुपर्दछ । नेपालको राष्ट्रिय आवश्यकता शारीरिकि श्रम गरि जिविकोपार्जन गर्ने मानिसहरुको जिवनस्तरलाई उकास्नु हो । त्यसका निम्ति नेपालमा आफ्नै मौलिकतामा आधारित रहेर पाठ्यक्रमको विकाश गर्नुपर्दछ । जसले राष्ट्रको विकाशमा प्रत्यक्ष रुपमा सहयोग गर्न सकोस् । विभिन्न एन.जि.ओ, आ.ई.एन.जि.ओ तथा दात्री निकायहरुको प्रत्यक्ष निगरानीमा आधारमा ब्यापक औद्योगिकरण भईसकेका तथा विकाशका दृष्टिले सम्पन्न भईसकेर जिवनलाई सक्रिय राखिरहनका लागि पढ्ने खालका विषयवस्तुहरु समावेश गरेर तयार पारिएका त्रिविको पाठ्यक्रमहरु र यसको भद्रगोल शैक्षिक प्रणालीले मास्टर्स डिग्री सकाए पनि मजदुरी गर्नका लागि विदेशिनुपर्ने बाध्यतामा परेका युवाहरुलाई देशभित्रै रोक्न सकेको छैन् ।  युवा पुस्ताहरुमा त्रिविप्रतिको भरोसा कमजोर भई वार्षिक एक डेढ लाख विद्यार्थीहरु उच्च शिक्षा आर्जनका निम्ति विदेशिने गरेका छन् ।

˝राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण तथा विकाश गर्ने˝ भन्ने कुरा त्रिविको तेस्रो मुख्य उद्देश्य हो । नेपालमा सामन्तवादको धरोहरको अवसान भएता पनि त्यसका पक्षपोषकहरुकोे अन्त्य हुन सकेको छैन् । प्रत्यक्ष रुपमा सामन्तवादी संस्कार र संस्कृतिको पक्षपोषण गर्ने खालका पाठ्यसामग्रीहरु पाठ्यक्रमबाट हटाईएता पनि, पाठ्यक्रममा आमुल परिवर्तन गर्न सकिएको छैन् । त्रिविले हाल पठनपाठन गराईरहेका विषयवस्तुहरुले नेपाली समाजको भित्र साँस्कृतिक पक्षलाई समात्न सकेका छैनन् । विभिन्न समुदायका साँस्कृतिक पक्षहरुलाई सामान्य ढंगले समावेश गरिएको त्रिविको पाठ्यक्रम, वैदेशिक साँस्कृतिक हस्तक्षेपबाट देशलाई मुक्त गराउन सक्ने खालकोे छैन । त्रिविको पाठ्यक्रम, राष्ट्रिय उत्पादन, श्रम तथा उद्दमशिलताको संस्कारलाई समाजमा स्थापित गराउने खालको हुनुपर्दछ  तर युवा पुस्ताहरुमा विकशित छाडा वैदेशिक सँस्कृतिलाई प्रतिस्थापन गर्नका लागि राष्ट्रिय उत्पादन, श्रम तथा उद्दमशिलताको संस्कृतिको विकाश गर्ने खालको शिक्षा त्रिविले प्रदान गर्न सकेको छैन् ।

त्रिविलाई अध्ययन र अनुसन्धानको केन्द्रको रुपमा ब्याख्या गरिन्छ । हालसम्मको अवस्थालाई हेर्दा त्रिविमा अनुसन्धान, तालिम तथा वृति विकाशका निम्ति सरदरमा त्रिविको कुल बजेटको १.५ प्रतिशत मात्रै बजेट उपलब्ध हुन्छ । त्रिविमा विभिन्न विषसंग सम्बन्धित अनुसन्धानका लागि भनेर विभिन्न दात्री निकायहरुबाट वर्षेनी लाखौं करोडौं रुपैयाँ आउने पनि गरेको पनि छ, त्यो रकमको चरम दुरुपयोग हुन्छ । त्यस्ता रकमहरु खर्च गर्दा, झिनामसिना योजनाहरु तयार पारि बजेट सकाईन्छ । वैदेशिक भगिनि विश्वविद्यालयहरुबाट थेसिसका लागि भनेर आएका विभिन्न कोषहरुको रकमको पनि सहि सदुपयोग हुने गरेको छैन् । अर्कोतर्फ विभिन्न सिमितताका बावजुद पनि त्रिविले गर्नेगराउने अनुसन्धानका कार्यहरु राज्यको निति तथा जनताका आवश्यकता संग मेल खाने खालका छैनन् । मास्टर्सको थेसिस फोटोकपी पसलमा किनबेच हुने प्रति विद्यार्थी रु १२०० का दरले मात्रै अनुसन्धानका निम्ति पैसा उपलब्ध हुने, विदेशी विश्वविद्यालय वा संस्थाहरुले प्रकाशित गरेका पेपरहरुलाई सन्र्धभ सामग्रीको रुपमा लिई गरेको कामलाई मात्रै अनुसन्धान मान्ने र यसरि गरेको अनुसन्धान नेपालको विकाशमा उपयोगी नहुने लगाएतका कुराहरुले, त्रिवि आर्थिक, नितिगत तथा व्यवाहरिक हिसावले नै अनुसन्धानको केन्द्र बन्न नसकेको पुष्टी हुन्छ ।त्रिविमा सैद्धान्तिक बाहेकका पनि थुप्रै जटिल समस्याहरुको चाङ रहेको कुरा बर्षैपिच्छे फेरिने शिक्षामन्त्रीहरु, प्रत्येक चार चार बर्षमा फेरिने उपकुलपतिहरुका त्रिवि सुधार्ने प्रतिबद्धता र त्रिविमा अध्यापन गराईरहेका प्रध्यापकहरुले आफ्नो जीवन रक्षाको निम्ति अदालतको ढोकामै अनसन बस्नुपर्ने स्थिति लगाएतका गतिविधिहरुले नै प्रष्ट्याउँछन ।

अस्तव्यस्त समयतालिका, विभिन्न टेण्डरका प्रकृयामा हुने अवैद्य गतिविधिहरु, गैह्रजिम्मेवारी प्रशासन तथा अत्यन्तै निमछरो प्रशासनिक सेवा प्रवाह लगाएतका विकृत कुराहरुले त्रिविलाई अझै अँध्यारोतर्फ धकेलिरहेका छन् । उपकुलपति तथा अन्य नियुक्तिहरुका सन्ध हुने जटिल विवादहरु तथा राजनितिक दाउपेचका मुद्दाहरुले त्रिविलाई थप कमजोर बनाईरहेका छन् । त्यसो त त्रिवि सुधार्नका निम्ति त्रिविमा नियुक्ति हुने उपकुलपति लगाएतका पदहरु खुला प्रतिस्पर्धाको माध्यमद्धारा गनुपर्ने, त्रिविलाई अध्ययन तथा अनुसन्धानको केन्द्र बनाईनुपर्ने, त्रिवि र यसका आंङ्गिक क्याम्पसहरुमा राजनिति दलसमर्थित विद्यार्थी संगठनहरु खोल्न बन्देज लगाउनुपर्ने, त्रिविको समकक्षता लगाएतका प्रशासनिक सेवा सुविधाहरुलाई छिटो र छरितो बनाईनुपर्ने साथै त्रिविको बार्षिक कार्यतालिकालाई कडाईका साथ लागु गर्नुपर्ने लगाएतका कुराहरु विभिन्न बुद्धिजीवीहरु तथा राजनितिक दलहरुबाट पटक पटक उठ्ने गरेको पाउँछौं  तर त्रिविको आमुल पुर्नसंरचाना बिना, ति विषयहरु उठान गर्नु निरर्थक छ ।

अस्तव्यस्तताको भुमरीमा परेको त्रिविलाई सुधार गर्नका निम्ति सर्वप्रथम त्रिविलाई स्वतन्त्र संस्थाको रुपमा विकाश गर्नुपर्दछ । त्रिवि सवै हिसाबले स्वतन्त्र भईसकेपश्चात नेपाल सरकारको राष्ट्रिय नितिहरुसंग मेल खाने गरि त्रिविको पाठ्यक्रमलाई पुर्ण रुपमा परिवर्तन गरिनुपर्दछ । त्यससंगै त्रिविको समग्र शैक्षिक तथा प्रशासनिक प्रणालीलाई पनि ब्यापक रुपान्तरण गर्नुपर्दछ । यथासंभव त्रिविका ४० वटा केन्द्रिय विभागहरुमध्ये कतिपयलाई खारेज गर्ने त कतिपयलाई एक अर्कामा गाभ्नुपर्दछ । त्यसपश्चात, त्रिविका शैक्षिक विभागहरुलाई विषयसम्बन्धित नेपाल सरकारका मन्त्रालयहरु वा राष्ट्रिय योजना आयोगसंग प्रत्यक्ष रुपमा जोड्नुपर्दछ । यस प्रकारको प्रणालीको विकाश गर्न र त्यसलाई थप मजबुत बनाउनका लागि, नेपाल सरकारको निति तथा कार्यक्रम र त्रिविको योजनालाई एकैसाथ तयार पारी संगसंगै कार्यान्वयनमा लैजानुपर्दछ । यस प्रकारको प्रणालीको संस्थागत विकाश भईसकेपश्चात, नेपाल सरकारका पञ्चवर्षिय योजनाहरु, नेपालमा आयोजना डिजाईन निर्देशिका लगाएत नेपालका हरेक राष्ट्रिय मुद्दाहरुमा त्रिविले विषयअनुसारका आफ्ना प्राध्यापक र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई कामकाजमा खटाउने काम गर्नुपर्दछ ।

त्रिविका प्रध्यापकहरु बौद्धिक काममा खटिईरहने र अध्ययनरत विद्यार्थीहरु पनि अनुसन्धानात्मक कामहरुमा खट्ने हुँदा, त्रिविमा देखिएका आर्थिक, राजनितिक तथा शैक्षिक वेथितिहरु धेरै हदसम्म नियन्त्रणमा आउँछन् । विद्यार्थीहरु कमाउँदै, पढ्दै र अनुसन्धान गर्दै आफ्नो शैक्षिक डिग्री प्राप्त गर्दछन् । यसरि उत्पादन हुने दक्ष जनशक्ति नेपालको विकाशका कार्यहरुमा खपत हुने हुँदा, देशमा जर्जर अवस्थामा रहको बरोजगारीको समस्याको अन्त्य हुन्छ । नेपालमा योजनाहरुको छनोट तथा डिजाईन, आफ्नै मौलिकता अनुरुप गरिने हुँदाआयोजानहरुको दिगोपना पनि कायम हुन्छ । त्रिविको बजेट, यसको गहन जिम्मेवारीका आधारमा बढ्ने तथा नेपाल सरकारले योजनाहरु तर्जुमा गर्दाका बखतमा खर्च हुने बजेट त्रिविको माध्यमद्धारा उत्पादनमुलक कार्यहरुमा खर्च हुने हुँदा, त्रिवि सञ्चालनमा बजेटको अभाव हुने, बजेट अभावमा अनुसन्धानका कार्यहरु रोकिनुपर्ने लगायतका दुरावस्थाहरुको अन्त्य भई, त्रिवि स्वचालित रुपमा स्वत आत्मनिर्भरताको बाटोमा अगाडी बढ्न सक्दछ । देशको आकार र सानो स्तरको विकाशको बजेट जताततै छिरोलिने र कतै पनि पूर्ण रुपमा कार्य सम्पादनमा चुनौती थपिई विदेशी रिणको शिकार बनिरहनुपर्ने स्थितिलाई धरै हदसम्म नियन्त्रण गर्नमा समेत यो प्रणालीले मद्दत पुर्याउँछ ।

तसर्थ, विश्वविद्यालयहरु राष्ट्रिय उत्पादन, राष्ट्रिय एकता, देश विकाश, नयाँ पुस्ताहरुमा नविनतम आशा र भरोसा जगाउने खालका हुनुपर्दछ । देशकै ठूलो विश्वविद्यालय त्रिविलाई कस्तो बनाउने, भन्ने कुरा नेपाल सरकारको हातमा छ । खबैँैंको सम्पत्ती भएको त्रिविले वर्षेनी हजारौंको संख्यामा बेराजगार जनशक्ति उत्पादन गरिरहेको छ । युवा पुस्ताहरुमा चरम निराशा र आफ्नो भविष्यप्रतिको भयले देश नै असफलताको बाटोमा लम्किरहको छ । त्रिविलाई सुधार गर्नका निम्ति जे जस्ता विषयहरु सतहमा आएका छन्, तिनिहरुबाट टालटुले समाधान बाहेक अरु संभव देखिदैन । विश्वविद्यालयमा हुने राजनितिक नियुक्तिलाई प्रतिस्पर्धात्मक बनाउने देखि विद्यार्थी सँगठनहरुमाथी प्रतिबन्ध लगाउने सम्मका कुराहरु क्षणिक समाधानका उपायहरु हुन् । देशको मुख्य समस्याहरु हटाउनका निम्ति त्रिविको व्यापक रुपान्तरण आवश्यक छ, जसले देशको समग्र शिक्षा प्रणालीलाई गतिलो लयमा लैजान सकोस् । आधाभन्दा बढि बजेट खर्च गरेर अनुत्पादक जनशक्ति उत्पादनमा विश्व रेकर्ड कायम गराउने त्रिविको परिपाटीको अन्त्य जरुरि छ र त्यो संभव पनि छ ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance