विचार : गुटेरेसको नेपाली पदचापका विश्व सन्देश

एकराज पाठक

काठमाडौँ । करिब १४ वर्षअघि (२०६६ को मङ्सिर १९) मा सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद् बैठक बस्यो । त्यसताका नेपालमा जलवायु परिवर्तन के हो र यसले मानवसहित समग्र प्राणीजगत्को स्वास्थ्य र सभ्यतामै के असर गर्छ भन्ने तर्क र बहस सुरु भएका थिए ।

विश्वका मिडियाले यो बैठकको समाचारलाई संसारमा फैलाए । हाम्रोजस्तै कार्यशैली अपनाएर मालदिभ्सले पनि समुद्रमुनि मन्त्रिपरिषद्को बैठक गरेको थियो । जसरी नेपालले हिमशृङ्खला पग्लिएर सकिँदैछ भन्ने सन्देश दिन सगरमाथाको फेदमै पुगेर बैठक गरयो, त्यस्तै प्रतिकात्मक सन्देश दिन खोजेको थियो समुन्द्रमुनिको बैठकले । यी दुई बैठकको सन्देश थियो–हिमाल पग्लिएको पानी गएर समुद्रमा जम्मा हुन्छ र समुद्री सतह बढ्छ । अनि यता हिमालमा सुक्खापनले असर गर्छ, उता समुद्रको सतह बढेपछि वरपरको बस्ती डुब्छ ।

कालापत्थर बैठकको केही दिनपछि, सन् २००९ को डिसम्बरमा डेनमार्कको राजधानी कोपेनहेगनमा विश्व जलवायु सम्मेलन आह्वान गरिएको थियो । खासमा सोही सम्मेलनमा विश्वको ध्यान खिच्नका लागि गरिएका थिए यी बैठक । कोपेनहेगन बैठकमा नेपालले जलवायु परविर्तनका कारण नेपाल र पर्वतीय देशमा देखएिको संकटबारे विश्वको ध्यानाकर्षण गराएको पनि थियो । जलवायु परिवर्तनले विश्वमा पार्दै आएको असर न्यूनीकरणका लागि विश्वका अरु पनि केही राष्ट्रले यस्तै फरक शैलीका बैठक तथा कार्यक्रम आयोजना गरेका थिए ।

तर दुःखद् कोपेनहेगन सम्मेलनको मुख्य वेबसाइटमा हाम्रो बैठकको सूचना थिएन, मालदिभ्सको थियो । सो सम्मेलनको वेबसाइट खोल्दा मालदिभ्सको बैठकको तस्बिर र सूचना सुरुमै आउँथ्यो तर हाम्रो कालापत्थरको आउँदैनथ्यो । सम्मेलनमा सहभागी प्रधानमन्त्री माधवकुमार नेपालले यस विषयमा चासो राख्नुभयो र नेपालको राष्ट्रसंघीय मिसनका अधिकारीलाई सोध्नुभयो । त्यसबेलाको राष्ट्रसंघीय नेपाली मिसनले त्यति चित्तबुझ्दो जवाफ दिन सकेका थिएनन् । सायद उनीहरुले ‘लबिङ’ या पहुँच पुरयाउन सकेका थिएनन् ।

सम्मेलनमा नेपालले नेपालका हिमाल पग्लिन थालेको र हिमाली बस्ती संकटमा पर्न लागेको तथा मालदिभ्सले हिमशृङ्खला पग्लिन थालेकाले अब मालदिभ्स र यस्तै समुद्री किनारका देशका मानव बस्तीको अस्तित्व पनि संकटमा पर्न सक्ने सम्बोधनका क्रममा जनाएका थिए । यसले विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको ध्यान खिचेको पनि थियो । जलवायु परिवर्तनका कारण नेपालजस्ता पीडित राष्ट्रहरुले पाउने क्षतिपूर्तिको प्रचलन नेपालको त्यो पहलले स्थापित गरायो । जुन अहिले पनि निरन्तर त छ तर प्रसस्तै अपुग छ, लाखौँ करोडौँ कोष टाढाका सूर्य भगवानलाई दुई थोपा अघ्र्य चढाएजस्तै ।

विगतका यी उदाहरणको तुलनामा यतिखेर भने नेपालले एक अभूतपूर्व अवसर प्राप्त गरेको छ । किनभने अबका केही दिनपछि राष्ट्रसंघीय विश्व जलवायु सम्मेलन हुँदैछ र त्यसको आयोजक संस्था संयुक्त राष्ट्रसंघका महासचिवले त्यही प्रभावित ठाउँमा आफैँ पुगेर अवस्थाको अध्ययन गर्नुभएको छ । त्यो बैठकयता कति हिमाल पग्लियो र कति सेता हिमचुचुरा कालापत्थरमा परिणत भए भन्ने कुरा अनुसन्धानकै गर्भमा रहे पनि अब भने कालापत्थर बैठक गरेर विश्व सम्मेलनमा प्रतिकात्मक जानकारी दिनुपर्ने अवस्था छैन । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस त्यहीँ पुग्नुभयो र प्रभावित क्षेत्रका बासिन्दासँग अन्तक्र्रियासमेत गर्नुभयो ।

“अहिले त्यही म अहिले यहाँ हिमालयमा छु । जहाँ हिमाल पग्लिरहेका छन् र हिमनदरू रेकर्ड लेभलमा छन् । अन्टार्टिका र ग्रीनल्याण्डमा जस्तै यहाँ पनि जलवायु परिवर्तनको गम्भीर असर देखिइरहेका छन् । हामीले बाढी पहिरो देख्नुपरेको छ । यहाँको समुदाय नाटकीयरूपमा प्रभावित भइरहेको छ । हामीले यसलाई रोक्न जरुरी छ ।” जलवायु परिवर्तनका असरले हिमालय क्षेत्रको पर्यावरण र जनजीवनमा देखिन थालेका असर तथा त्यसको रोकथामका लागि मैले विश्वसमुदायको ध्यानाकर्षण गराउन चाहेको छु । हामीले बढ्दो तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्नसक्नुपर्छ । यसबाट हामी पछि हट्न सक्दैनौँ ।”

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत सोमबार सोलुखुम्बु जिल्लाको सगरमाथा क्षेत्रको अवलोकन गरेपछि सामाजिक सञ्जालको आफ्नै वालमार्फत दिनुभएको भिडियो सन्देश हो यो । त्यसमा उहाँले जलवायु परिवर्तनको असरका रूपमा पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिन थालेको बताउनुभएको थियो ।

उहाँले जलवायु परिवर्तन रोकथामका लागि विश्व समुदायलाई आग्रह पनि गर्नुभयो । त्यसअघि सोही दिन गुटेरेसलाई भेटेपछि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका स्थानीयले जलवायु परिवर्तनले के कस्ता समस्या उत्पन्न गरेको छ भन्नेबारेमा जानकारी गराएका थिए । उनीहरुले हिमनदी पग्लिनेक्रम बढेको, जलवायुजन्य हानिनोक्सानी बढेको, पानीका स्रोत र मुल सुक्दै गएका, स्थानीय बालीनालीमा जलवायुको असर परेको, नागां हिमालमा पानी पर्दा पहिरो जाने समस्या बढेकोजस्ता समस्या अवगत गराएका थिए ।

यो वास्तविकता देखेका महासचिव गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महासचिव गुटेरेस जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हिमालमा पुगेका केही हप्तापछि नै जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२८) को आयोजना हुँदैछ ।

सोही सम्मेलनमा आफूले विश्वको प्रदूषण वृद्धिमा धनी देशको भूमिका रहेको तर खुम्बु पासाङल्हामु गाउँपालिकाजस्ता दुर्गम स्थानका नागरिकको कुनै भूमिका नरहेको तथ्य उठाउने बताउनुभयो ।

नेपालको संघीय संसद्लाई सम्बोधन गर्दा उहाँले जलवायु परिवर्तनको असर नेपालमा कति परेको छ र आफ्ना कारण विना नै नेपाल कसरी पीडित बन्नुपरेको छ भन्ने कुरा धनी र यसका कारक देशसँग राम्रोसँग उठाउने बताउनभुयो । उहाँको यो भ्रमणले पक्कै पनि नेपालले नखाएको विष अब लाग्दै, लाग्नु हुँदैन र लागि नै हाले पनि विषको मात्रा नगन्य हुनुपर्छ भन्ने वास्तविकता विश्वका धनी दशेको कानमा पर्ने आशा गर्न सकिन्छ । यो हाम्रा लागि शुभ समाचार हो ।

महासचिव गुटेरेसको भ्रमणले बोकेको अर्काे नेपाली सन्देश शान्तिको हो । हामीसँग विश्वमा अन्यत्र कतै वीरलै रहेका शान्तिका सन्देश छन् । जस्तो कि शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा राष्ट्रसंघीय महासचिव पुग्नु नै नेपालको शान्तिको सन्देश विश्वमा पुग्नु हो । यतिखेर विश्वको झण्डै एक तिहाइ जनसङ्ख्याले बुद्ध दर्शनलाई अँगालेका छन् । त्यसैले हामी नेपाली विश्वको कुनै पनि भूगोलका भन्दा भाग्यमानी हौँ । बुद्धका शान्तिका सन्देश विश्व जति आधुुनिक, विकसित र कथित समृद्ध हुँदै गएको छ त्यति नै सान्दर्भिक हुँदै गएका छन् । शान्तिका नाममा विश्वको कुनै पनि मानिसका दिमागमा सबैभन्दा पहिला आउने बुद्ध हुन र स्थान लुम्बिनी हो ।

त्यसैले त महासचिव गुटेरेस लुम्बिनी पुगेर विश्वका कुनै पनि युद्धरत मुलुकलाई युद्ध छोडेर शान्तिको बाटोमा लाग्न आग्रह गर्नुभयो । मंगलबार बिहान गौतमबुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेपछि महासचिव गुटेरेसले मायादेवी मन्दिर अगाडिबाट सम्बोधन गर्दै युद्धग्रस्त मुलुकलाई शान्तिको मार्गमा लाग्न आग्रह गर्नुभयो । उहाँले संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनी एक पवित्र उद्यान हो भन्दै

लुम्बिनीमा उभिएर विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई अत्यन्त खुसी लागेको बताउनुभयो । उहाँले लुम्बिनीबाट यो आह्वान गरिरहँदा विश्वमा युक्रेन, रसिया, इजरायल, प्लानेस्टाइनसहित विभिन्न मुलुकमा युद्ध जारी छ । तिनका लागि उहाँको यो भ्रमणको सन्देश सान्दर्भिक छ ।

अर्काे हामीसँगको शान्तिको सन्दशे भनेको विश्वका द्वन्द्वग्रस्त देशमा नेपाली सेनाको उपस्थिति र मध्यस्थता हो । सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेदेखि नै नेपालले विश्व शान्तिका लागि महत्वपूर्ण योगदान पुरयाउदै आएको छ । राष्ट्रसंघका आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा नेपाली सैनिक टोली खटिइआएको छ । विश्वका लगभग ४४ मिसनमा एक लाख ४६ हजारभन्दा बढी नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन् । संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिने दोस्रो देशका रुपमा रहेको नेपालका अहिले पनि विश्वका करिब १२ मुलुकमा पाँच हजारभन्दा बढी सैन्य तथा प्रहरी कार्यरत छन् ।

शान्तिसँग जोडिएको नेपालको अर्काे पाटो भनेको हामीले हाम्रो हाम्रो द्वन्द्वलाई कसरी आफ्नै मौलिक प्रयासबाट सम्पन्न गर्न सक्यौँ भन्ने पनि हो । संसारले नै अध्ययन गर्नुपर्ने गरी हामीले हाम्रो माटोको सशस्त्र द्वन्द्वको आफैँले व्यवस्थापन ग¥यौँ र शान्ति स्थापनाको नेपाली मोडल स्थापना गरी देखाइदियौँ । विद्रोही पक्षलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभाको निर्वाचनमार्फत् सरकारमा पठाएर विद्रोहीपक्षकै संलग्नता र सहमतिबाट उत्कृष्ट समावेशी संविधान निर्माण गरी उनीहरुलाई नै सरकारको नेतृत्वमा पठाएको मोडल विश्वमा अन्यत्र सायदै पाइन्छ होला ।

जुन वास्तविकतालाई महासचिव गुटेरेसले पनि स्वीकार गर्नुभयो र यसबाट विश्वले सिक्नुपर्ने अभिव्यक्ति पनि दिनुभयो । हामीले आर्जेका यी उपलब्धिहरुलाई बाह्य विश्वमा देखाउन महासचिव गुटेरेसको भ्रमण एउटा सुखद् अवसर र सन्देश दुवै हो । संयुक्त राष्ट्रसंघको महासचिव संसारका मिडियाले सबैभन्दा बढी पछ्याउने पद हो । संसारका शक्ति राष्ट्रका नेतृत्वको चियो गरेजस्तै मिडियाले समाचारमा महासचिवको पदचाप पनि बढीनै पछ्याउँछन् । त्यस्ता व्यक्तिको नेपाल भ्रमणले देशको कूटनीतिक उचाइ बढाउँछ नै । महासचिव गुटेरेसको यो भ्रमण नेपालका लागि एक महत्वपूर्ण कूटनीतिक लाभ हो ।

यो कूटनीतिक उपलब्धिभित्रै नेपालले भोगिरहेको जलवायु संकट र नेपालको शान्तिको सन्देश संसारमा फैलाउने अर्काे एक अवसर पनि हो । महासचिव गुटेरेसका नेपालको अर्थपूर्ण र महत्वपूर्ण पदचापको सन्देश जलवायु संकट र शान्तिको सन्देश संसारमा पुरयाउनु हो । हाम्रा हिमालको संकटलाई न्याय उहाँका आँखाले देख्दा जति प्रभावकारी अरुबाट कमै हुनसक्छ । त्यतिकै महत्वपूर्ण उहाँले लुम्बिनीबाट विश्वका अशान्त देश र द्वन्द्वहरुलाई शान्तिका लागि गर्नुभएको आह्वान छ । उहाँका पदचापले फैलाएका यी सन्देश विश्वमा कहाँ पुगे र त्यसबाट हामीले कसरी र के लाभ लिने भन्ने विषयलाई हाम्रो कूटनीतिक कौशलताले पछ्याउनुपर्ने खाँचो त छँदैछ । रासस