हिन्दु धर्म र हिन्दुत्व कसरी फरक कुरा हुन्? डा. जीवन क्षेत्री

हालै भारतीय लेखक तथा अभियन्ता हर्ष मन्दर विश्व सामाजिक मञ्चको कार्यक्रमका लागि नेपाल आएका थिए।उनी भन्दै गए — आजको भारतमा प्रेम, करूणा र भाइचाराको कुरा गर्नु अपराध भएको छ!

प्रेम कसरी अपराध हुन सक्छ? त्यो पनि भारतजस्तो देशमा जुन विश्वकै बहुलवादी र सहिष्णु हिन्दु धर्म र वैदिक दर्शनको जन्मभूमि मात्रै नभएर अहिले संसारकै ठूलो लोकतन्त्र मानिन्छ। अनि जुन देशका प्रधानमन्त्रीले भारतलाई विश्वगुरू बनाउने भनेर भाषण गर्छन्।

काठमाडौंमा मन्दरसँग बाह्र घन्टा जति समय बिताएँ मैले। उनीसित भएको दुई घन्टाभन्दा लामो संवाद रेकर्ड पनि गरेँ।त्यो संगतमा मलाई आफूले खोजी गरिरहेको एउटा प्रश्नको जवाफ मिल्यो — आखिर के फरक छ त हजारौं वर्षदेखि भारतीय उपमहाद्वीपमा कायम हिन्दु धर्म र भारतमा पछिल्ला सय वर्षमा विकास भएको हिन्दुत्वबीच?

हिन्दुत्वको रजगज भएको आजको भारतमा प्रेम कसरी अपराध बन्यो भन्ने मन्दरका लागि कुनै कोरा सैद्धान्तिक कुरा थिएन र प्रमाण खोज्न टाढा जानु आवश्यक पनि थिएन — उनी आफैंमाथि भारत सरकारले जे जति दण्ड मागेर मुद्दामामिला सुरू गरेको छ, त्यो सबै अदालतले सदर गरिदिने हो भने उनका लागि जेल भुक्तान गर्न यो जन्म काफी हुने छैन।

हर्ष मन्दरको अपराध — उनले भारतमा भीडले गर्ने अल्पसंख्यकहरूको हत्या वा ‘लिन्चिङ’ पछि हत्या हुने व्यक्तिको घरमा जान्छन्, आफन्तहरूलाई समवेदना र सान्त्वना दिन्छन् र भन्छन्, ‘तपाईंहरू एक्लै हुनुहुन्न, सबैको बाँच्ने अधिकारका लागि लड्ने हामी पनि साथमै छौं।’त्यस्तो भेटघाटबाट फर्केपछि उनले सिलसिलाबद्ध रूपमा हृदयविदारक लेखहरू लेखेका छन् जुन काम आजको भारतमा अरू कसैले गरिरहेको छैन।

जस्तो कि, यही वर्ष जनवरी २४ का दिन भारतीय मिडिया स्क्रोल डट इनमा उनले दिल्लीमा हत्या गरिएका युवक मोहम्मद इशाकको कथा लेखे। शीर्षक थियो — के त्यो खाली घृणा थियो वा बेवास्ता? मलाई किन अझै एक मुस्लिम युवाको हत्याले सताउँछ।

लेखमा उनको सबभन्दा ठुलो गुनासो थियो — हामी आममानिस किन यति क्रुर र असंवदेनशील भयौं जसले गर्दा गणेशपूजाको पण्डालबाहिर राखिएको एउटा केरा खाएकोमा एक भोका मुस्लिम युवालाई बिजुलीको पोलमा बाँधेर घन्टौं पिटिन्छ? अनि दिनभर रक्ताम्य रहेर चित्कार छाडिरहेका उनलाई हेरेर चल्तीको बाटोमा ओहोरदोहोर गर्ने हजारौं मानिसहरूमध्ये कसैले पनि दुई सय मिटर पर रहेको घरमा खबर गरिदिँदैनन् र उनी बेवारिसे अवस्थामा मर्न बाध्य हुन्छन्?

आजको भारतीय समाज कस्तो भइसकेको छ भने त्यहाँका मानिस मोहम्मद इशाकको वीभत्स हत्या भयो भनेर होइन कि हर्ष मन्दर उनको घर गएर उनका कुरा लेखे भनेर क्रुद्ध छन्। उनीमाथि कल्पनै गर्न नसकिने गाली र हत्याका धम्कीहरूको ओइरो लागेको छ। उनी राज्यको २४ घन्टे जासुसीको निशाना बनेका छन्।

भारतीय मिडियाका बचेखुचेका ससाना स्वतन्त्र सञ्चारमाध्यममा मोहम्मद इशाकको कथा नआएको होइन। तर हर्ष मन्दरले उनका परिवारसित दिन बिताएर उनीहरूको सिंगो किस्सा लेखे — दिनभरमा उनका बाबुले केही सय रूपैयाँ कमाउँथे, आफूले त्यस्तै। त्यसैले जसोतसो छ जनाको परिवार धानिन्थ्यो। अनि तीन मिटर लामो र तीन मिटर चौडा होचो र झ्यालै नभएको अँध्यारो कोठामा बाउछोरा र इशाकका चार दिदीबहिनी गरी छ जना जसोतसो दिन कटाउँथे।

ishak-family-1708450639.jpg
मोहम्मद इशाकको परिवार

इशाक सानै छँदा आमा बितेकाले ठूली दिदीले उनलाई छोराजस्तै गरेर हुर्काएकी थिइन्। यसै पनि उनीहरूको जीवनको महत्वाकांक्षा कसै गरी दुई छाक जुटाएर जीवित रहनुभन्दा माथि थिएन। देशको राजनीति, सडकमा हुने प्रदर्शनहरू, आत्मसम्मान आदि विषयबारे चिन्ता गर्ने सुविधै थिएन उनीहरूलाई।

मन्दरले लेखमा नखुलाए पनि लेखमा यति बुझिन्छ — गरिबी यति कठोर छ कि हुर्किसकेका पाँचै सन्तानको बिहेसमेत इशाकका बाबुको कार्यसूचीमा पर्नै पाएन। गाँस र बासको आवश्यकता पूरा गर्नै हम्मे परेपछि अरू आवश्यकताले प्राथमिकता पाउने कुरै भएन।

त्यस्तो गरिबीबीच भोकले रन्थिनिएर निस्केका इशाकले जब पण्डालको बाहिर केरा देखे, मन थाम्न सकेनन्। त्यो केराका लागि उनले ज्यानको मूल्य चुकाउनुपर्‍यो। उनको कथा लेखेबापत आजको भारतमा मन्दरको ज्यान खतरामा छ।

ishak-family1-1708450639.jpg
मोहम्मद इशाक

गणेशजस्ता भद्र र मनकारी देवताका नाममा हिन्दु धर्ममा पूजा हुन्थ्यो भने त्यसको प्रसाद मानिसको जात, धर्म, लिंग केही नहेरी सबैले खान सक्थे। भारत र नेपालमा वास्तवमा फरक धर्मका मानिस मिलेर एकअर्काका चाडपर्व मनाउने परम्परा शताब्दीयौं पुरानो हो। तर यो त हिन्दु धर्ममा होइन, भारतमा सन् २०१४ पछि उदाएको हिन्दुत्वको युगमा भएको थियो जहाँ धर्म प्रेम र करूणाको माध्यम होइन, उत्तेजित र हिंस्रक भीडले आफ्नो अपराध लुकाउने खोल बनेको छ।

हिन्दु धर्म र हिन्दुत्वबीच भेद छुट्ट्याउने यो सबभन्दा राम्रो उदाहरण हो।हिन्दुत्वको निषेधकारी विचारबाट दीक्षित भारतको सत्ता संस्थापन र बहुसंख्यक समुदायको ठूलो हिस्साले के पचाउन सकेन भने ‘सबका साथ सबका विकास’ नारा लगाउने नरेन्द्र मोदीको शासनको असली अनुहार मन्दरले उदांगो बनाइदिए। बीस करोड मुस्लिमहरू भएको देशमा सबैले बुझेको तर कसैले लेख्न वा सार्वजनिक रूपमा बताउन नसक्ने कुरा के हो भने, करोडौं भारतीय मुस्लिमहरूको अवस्था अहिले दुरूस्त यही हो।

गरिबी हिन्दुहरूमा पनि छ तर उनीहरूमा आजभन्दा भोलि बिसेक अवस्था आउला भन्ने आशा जीवित छ। मुसलमानहरूलाई भोलि अवस्था अझै बिग्रेला भन्ने त्रासले सताइरहेको छ। नरेन्द्र मोदी र आदित्यनाथ योगीको बुलडोजर राजमा पक्की घर हुने उच्च मध्यम वर्गका मुस्लिम परिवार त रातारात सुकुम्बासीमा बदलिएका छन्। इशाकका बाबु अफताबजस्ता आज कमाएर आजैको छाक टार्ने मानिसको त कुरै नगरौं!

इशाकको एउटा परिवारलाई समातेर आजको भारतका करोडौं मुसलमानहरूको कथा भनेका थिए हर्ष मन्दरले त्यो एउटा छोटो लेखमा। त्यस्तै लेखका कारण उनीसित क्रुद्ध छ आज विश्वगुरू बन्न निस्केको भारतको मोदी सरकार।

IME Remittance