आमा! म त थवाङ आएँ ,कविता- निलिमा पुन

आमा म त थवाङ आएँ
धेरै आमाहरु देखेर रमाएँ
हेर्दाहेर्दै म कता कता हराए
आमाहरूको भिडमा
म तिमीलाई नै खोजिरहेँ
तिम्रो जस्तै लुङ्गी थियोे
तिम्रो जस्तै चोली पनि
तिम्रो जस्तै घलेकी थियो
तिम्रो जस्तै बोली पनि
फुटेका थिए हातखुट्टा
मैलो थियो चुल्ठो पनि
चाउरिएको मुहार थियो
कुप्रिएको शरीर पनि
बोल्दा स्वर भासिएको
हाँस्दा उस्तै गिजा पनि,
टाउकोमा मजेत्रो पारेर
बसेका ती आमाहरू,
तिम्रो जस्तै धमिलो आँखामा
हात्केलाको पाली हाल्दै
हेर्दै थिए जिज्ञाशु भावले
केही बोल्न खोजे जस्तो,
केही बुझ्न खोजे जस्तो
दुरुस्तै थिए थवाङका आमाहरु,
आमा म त थवाङ आएँ
धेरै आमाहरु देखेर खुबै रमाएँ

त्यत्तिकै म त धेरै टाढा पुगेछु
नाचगानको माहोल भुलेर
आफु मात्रै एक्लिएछु
तिम्रो काखको सुगन्ध सम्झि
भित्र भित्रै तड्पिएछु
झस्किएर पो फेरि म
उत्सवमै मिसिएछु
आमा म त थवाङ आएँ
तिमी जस्तै आमाहरु देखेर
आफै रमाएँ,

मैले गीत गाउँदा तिमीले सुन्थ्यौ
लालटिन बालेर आँगनमा बस्थ्यौ
त्यो दिन सम्झेर म बेस्सरी तिर्खाएँ
छल्किएर अस्रुधाराले नयन भिजाएँ
उस्तै देखे रुपरंग,उस्तै थियो पहिरन
बोलीचालीमा ममताको भाव
हिडाइमा तिम्रो जस्तै चाल
आमा! भनेर चिच्याउन मन थियोे
बौलाहा भन्छन् कि भन्ने डर लाग्यो
सम्हालिएर फेरि मञ्चतिरै फर्के
नाचिरहेको देखेपछि बल्ल ताली बजाएँ
आमा म त थवाङ आएँ
तिमी जस्तै आमाहरू देखेर
आफै रमाएँ,

यो कस्तो हृदय हो कुन्नि….?
उडेर वेग हानु झैं लाग्छ,
अग्लो डाँडोमा पुगेर तिमीलाई
एक झुल्को देख्छु कि झैं लाग्छ
खै कसरी बिर्सु आमा तिमीलाई
मन दुखाएर कतिञ्जेल पर्खु म तिमीलाई,
आमा…..!
जीवन त एकोहोरो यात्रा रैछ
फर्केर कहिले नआउने रैछ
कस्तो बनेछ यो नियम पनि
चाहेर फेर्न नपाउने रैछ
आमा म त थवाङ आएँ
तिमी जस्तै आमाहरु देखेर
आफै रमाएँ।

२०८३/१/२० गते
रातको ९:०० बजे
थवाङ, रोल्पा

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance