सुकुमबासी बस्तीमा शुक्रबार साँझसम्म टहरा खाली गर्न माइकिङ

काठमाडौँ । स्थानीय प्रशासनले काठमाडौँको सुकुमबासी बस्ती खाली गर्न माइकिङ गर्न थालेको छ । बिहीबार साँझबाट सूचना स्वरूप स्थानीय प्रशासनले माइकिङ गर्न थालेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को निर्देशनपछि बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सुकुमबासी बस्ती हटाउने निर्णय गरेको थियो ।सो निर्णय अनुसार आज साँझदेखि नै माइकिङ गर्न थालिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका एक जना अधिकृतले  बताए ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जिल्ला सुरक्षा समितिको बैठकपछि काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँग पनि छलफल गरेका थिए ।

बैठकको निर्णय अनुसार सार्वजनिक जग्गा संरक्षण गर्ने अभियान अन्तर्गत स्थानीय प्रशासनले वैशाख ११ गते साँझ ७ बजेसम्म अवैध घर र टहरा खाली गर्न भन्दै माइकिङ गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका एक जना अधिकृतले बताए ।

उनले भने, ‘२०८३ वैशाख १२ गते शनिवारबाट नदी तथा खोलाका अव्यवस्थित संरचना हटाउन लागको सूचना बस्तीमा बस्नेहरूलाई दिइएको छ ।’

प्रशासनले सो अभियानलाई साथ दिन आग्रह गर्दै शुक्रवार साँझसम्म सर सामान हटाएर बस्ती छाड्न अनुरोध  गरेको छ । प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्र सामान नहटाएर कानुन अनुसार घर, टहरा हटाइने छ ।’

पहिलो चरणमा  थापाथली, शान्तिनगर स्थित गैह्रिगाउँ, मनहरा खोला किनारको बस्ती हटाउने निर्णय गरिएको छ । मनहरा खोलाको काठमाडौँ र भक्तपुर तर्फको पनि बस्ती हटाइने सुरक्षा जिल्ला प्रशासन कार्यालयका अधिकृतहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance