कमरेड पुष्पलाल नेपाली राजनीतिक आकाशका एक चम्किरहने ‘लाल तारा’

–लोकनारायण सुबेदी

चिन्तन, चरित्र र ब्यबहारकासाथ अबिचलितरूपमा क्रान्तिको मूलबाटोमा लागिरहने र कस्तै कठिन परिस्थितमा पनि त्यसबाट दायाँ बााँया नगर्ने  क्रान्तिकारी नेताहरू बिरलै पाइन्छन् । कमरेड पुष्पलाल त्यस्तै उच्च् कोटीका नेता हुनु हुन्थ्यो । यस अर्थमा कमरेड पुष्षलाल नेपाली राजनीतिक आकाशका एक चम्किरहने ‘लाल तारा’ हुुनुहुन्थ्यो र हुनुहुन्छ ।

वास्तवमा हामीले यथार्थपरकरुपमा हेर्न र केलाउन सक्यौ भने नेपालको समकालीन राजनीतिमा पुष्पलालको दृष्टिकोण, बिचार, नीत निष्ठा र समर्पण नेपाली जनताको मुक्ति र समुन्नतिका निमित्त केन्द्रित रहेको प्रष्टै देखिन्छ । उहाँले ग्रहण गरेको मार्क्सवाद, लेनिनवाद र माओ बिचारधारा आजका चालु नेताहरुको जस्तो सस्तो नेतागिरी छाट्न, निक्कै जानेको छु भन्ने आडम्बर देखाउन र पाँण्डित्याई प्रदर्शन गर्नका निमित्त पटक्कै थिएन, बरु नेपाली समाजको अग्रगामी आमूल सामाजिक परिवर्तनका निमित्त थियो भन्ने कुरा उहाँको अथक र अबिश्रान्त संघर्षले एकदमै प्रष्ट देखाउँदछ ।सिध्दान्तसिध्दान्तको निमित्त होइन, यसलाई जनता र राष्ट्रको जीवनमा अग्रगामी परिवर्तन ल्याउने शक्तिशाली हतियारकोरुपमा कमरेड पुष्पलालले ग्रहण गर्नुभएको थियो र तदनुकूल आफ्नो राजनीतिक यात्रालाई अबिछिन्नरुपमा अघि बढाउनु भएको थियो । उहाँको जीवनभरको कर्मले यही कुरा दर्शाएको छ ।

वास्तवमा पुष्पलालले संयुक्त जन आन्दोलनको जुन नीति अख्तियार गर्नु भएको त्यो आफुले अंगीकार गरेको माक्र्सवादी लेनिनवादी सिद्धान्तलाई ब्यवहारमा उतार्ने, जनतालाई जगाउने र परिवर्तनको बाटोमा अग्रसर गराउने एउटा अमोघ अस्त्र थियो र हो । बस्तुत: त्यो ठोस र सही नीतिको आधार तत्कालीन बस्तुस्थितिको आधारमा बर्गीय बिश्लेषणको निचोड नै थियो । त्यसैले त उहाँ हमेशमा पर्टाी प्रशिक्षण र कक्षाहरुमा भन्ने गर्नु हुन्थ्यो – ‘राजनीति जालझेल होइन, बास्तविक बस्तुस्थितिको आधारमा बर्गीय बिश्लेषणको निचोड हो’ ।

यसरी एकदमै प्रष्टरुपमा  उहाँले अघि सारेको संयुक्त जन आन्दोलनको नीति केवल एउटा कोरा नीति मात्र थिएन, त्यो परिवर्तनको प्रभावकारी औजार थियो । जसले समाजमा राजनीतिक, आर्थिक, समाजिक र साँस्कृति परिवर्तन ल्याउन सबै परिवर्तनकामी शक्तिहरुलाई एक ठाउँमा खडा गर्ने रसायनको काम गर्दथ्यो । बस्तुत: उहाँले अघि सारेको यो नीति मार्क्सवाद, लेनिनवाद र माओ बिचारधारालाई ब्यवहारमा उतार्ने कार्यनीतिकै महत्वपूर्ण कडी, अंश र आधार थियो । जुन बाटो नहिडीकन समाजलाई अग्र गति दिनै सकिदैनथ्यो । यो यथार्थ कुरा नेपालमा अहिलेसम्म सचेतरुपमा चलेका संयुक्त जन आन्दोलनहरुले प्रष्टसँग औंल्याएका छन् ।यस प्रकार पुष्पलालको यो नीति एकैचोटी बर्गीय मोर्चा र राजनीतिक मोर्चालाई एकै दिशातिर अभिमुख गराउने र हिडाउने सारभूत माध्यम पनि थियो । जुन कुराको पुष्टी नेपालको २०१७ अघि ०८ सालतिर जातिय जनतान्त्रिक मोर्चा(त्यसबेला ‘राष्ट्रिय’ शब्दलाई ‘जातिय’ भनेर अभिब्यक्त गन्थ्यिो) र ०१७ पछिका महत्वपूर्ण र मूख्य ऐतिहासिक आन्दोलनहरु –२०३६ सालको संयुक्त बिद्यार्थी आन्दोलन, २०४६ सालको संयुक्त जन आन्दोलन र २०६२/६३ सालको ब्यापक संयुक्त जन आन्दोलनहरुले एकपछि अर्को पुनर्पुष्टी गरिसकेका छन् र गरिरहेका छन् ।

त्यसैले, यी बस्तुगत यथार्थहरुले कमरेड पुष्पलालको ‘नेता होइन, नीति प्रधान’ हुन्छ भन्ने निचोडलाई पनि सत्य साबित गरेको छ । उहाँ ब्यक्तिवादको बिरुद्ध हुनुहुन्थ्यो र हमेशा पुष्पलाल भन्ने गर्नुहुन्थ्यो कि नेताहरु त मञ्चमा आउछन्, जान्छन् तर सही नीति हमेशा कायम रहन्छ । उहाँले यस्तो निचोड निकालेर नीतिको कुरा गर्दा बर्गीय नीतिको कुरा गरेको हुन्थ्यो कुनै निरपेक्ष नीतिको कुरा होइन । उदाहरण दिदै उहा भन्ने गर्नुहुन्थ्यो – बेद ब्यास छैनन् तर बेद छ । बुध्द छैनन् तर बुध्दको बिचार छ, रुसो छैनन् तर उनको ‘सामाजिक सम्झौताको सिद्धान्त’ छ । त्यसरी नै माक्र्सवादका प्रणेता– माक्र्स र एंगेल्स छैनन् तर अजेय माक्र्सवाद आज हामीसँग छ । नेताहरुको योगदान र भूमिकाको अबश्य महत्व छ र हुन्छ । उनीहरु हमेशा कायम रहन सक्तैनन् तर उनीहरुको बिचार कायम रहन्छ । त्यसकारण, कुनै नेताको पछि होइन सही बिचारको पछि लाग, सही बिचारले नै सही नेता जन्माउँदछ भन्ने उहाँको हमेशा जोड हुन्थ्यो ।

हुन पनि कमरेड पुष्पलालको एक मात्र ध्याउन्न देश र जनताको हितमा सही नीति प्रतिपादन गर्नु र त्यसलाई ब्यवहारमा खरो उतार्नु रहेको थियो । यसैका लागि नेपाली जन आन्दोलनका सबल र दुर्बल पक्ष केलाउन र सहीलाई अझ सम्बृद्ध तुल्याउन तथा गलतलाई घटाउन र हटाउन उहाले ‘नेपाली जन आन्दोलन : एक समीक्षा’ अत्यन्तै महत्वपूर्ण र पठनीय कृति लेख्नुभयो । जुन नेपाली जनआन्दोलनको बिकास र यसको भबिष्यलाई बुझ्न चाहने जो कसैका लागि पनि महत्वपूण सन्दर्भ सामाग्री रहेको छ ।

यसै सन्दर्भमा  उहाँले नेपालको  राष्ट्रियता र जनवादको पनि एउटा नबीन र जनमुखी परिभाषा दिदै भन्नु भएको छ – ‘लाखौलाख झोपडीहरुको एकता नेपालको आजको सन्दर्भमा राष्ट्रियता हो भने ती झोपडीहरुको हक हित जनवाद’ हो । ती झोपडीहरुमा को बस्छन् एकदमै प्रष्ट छ – शोषित पीडित श्रमजीवी  जनता । बस्तुत: यो नेपाललाई सचेत र उन्नत किसिमले राजनीतिक एकीकरण गर्ने र सुदृढ बनाउने कुरा हो र थियो भन्ने प्रष्टसँग बुझ्न सकिन्छ । यो कुराले नेपाली जनता नै वास्तविक परिवर्तनका सम्वाहक हुन् र उनीहरुको सचेत, संगठित र सक्रिय भूमिकाबिना आमूल सामाजिक परिवर्तनको कुनै अर्थ छैन र हुदैन र राष्ट्रयता र जनबादको समस्या पनि हल हुँदैनभन्ने अर्थपूर्ण शिक्षा पनि दिन्छ । यसरी कमरेड पुष्पलालले जन चेतना निर्माणलाई ठूलो महत्व दिनु भयो र जनताका दैनिक जीवनका सवाललाई लिएर तलैदेखि उठेको आन्दोलनमा जोड दिनु भयो । त्यसले कुरालेभन्दा कामले जनतालाई बढी चाडो र सही किसिमले सचेत र सक्रिय तुल्याउँदछ भन्ने कुरामा उहाँ बढी बिश्वस्त हुनुुहुन्थ्यो । यस अर्थमा उहाँ जनतालाई जगाउन, उठाउन र अघि बढाउन दत्तचित्त हुनुहुन्थ्यो भन्ने प्रष्ट हुन्छ ।

तर पुष्पलाल केवल एउटा सिद्धान्तबादी निष्ठावान ब्यक्तित्व मात्र हुनुहुन्थेन । उहाँ त सिद्धान्तलाई ब्यबहारमा खरो उतार्ने र त्यस आधारमा संगठनलाई क्रियाशील र सबल बनाउने कार्यमा निरन्तर दत्तचित्त भएर लाग्ने ब्यक्तित्व हुनुहुन्थ्यो । त्यसैले उहाँले ‘तीन ‘स’ को सिध्दान्त’ अर्थात् ‘संघर्ष, संगठन र सिध्दान्त’लाई एक अर्काका परिपुरकका रुपमा निरन्तर क्रियाशील तुल्यारहनु भयो । उहाँ हमेशा पार्टी क्लासहरुमा भन्ने गर्नु हुन्थ्यो कि सिध्दान्तबिनाको संगठन र संघर्ष अन्धो हुन्छ र सगठनबिनाको सिध्दान्त र संघर्ष पनि लङ्गडो हुन्छ । त्यसैगरी सिध्दान्त र संगठन बिना त संघर्षले सही दिशा र गति नै पाउनै सक्तैन । त्यसैले यी तीन ‘स’को आ–आफ्नै ठूलो महत्व छ र ती एक अर्काका परिपुरक हुन् । एक बिना अर्कोको अस्तित्वको कुनै अर्थ हुदैन, रहँदैन भन्ने उहाँको एकदमै प्रष्ट धारणा थियो ।

यस सन्दर्भमा सिध्दान्तको कुरा गरिरहँदा कमरेड पुष्पलालले मार्क्सबाद–लेनिनवाद र माओ बिचारधारालाई एउटा जडसुत्रबादी रटना जपनाको रुपमा नलिएर त्यो सैद्धान्तिक बिचारधारालाई एउटा गतिशील र मार्गदर्शन गर्ने प्रकाश स्तम्भकोरुपमा बुझाउनु भयो र ब्यवहारलाई अर्थात परिवर्तनलाई बाटो देखाउने औजारकोरुपमा बुझ्न बुझाउन अथक प्रयन्त गर्नु भयो र जोड दिनु भयो ।बिचारधारात्मक संघर्षको कुरा गर्दा उहाँ हरहमेशा ‘बादे बादे, बिबादे च जायते तत्व बोध’ भन्ने सँस्कृत वाक्यलाई दोहोर्‍याउने गर्नु हुन्थ्यो र कुनै पनि बिषयमा तर्क–प्रतितर्कले नै सही निष्कर्शमा पुग्न मद्दत पुग्ने द्वन्दात्मक नियम प्रयुक्त गर्नुहुन्थ्यो । प्रकृति र समाजका अधिशासित नियम(न्यखभचलष्लन बिध या लबतगचभ बलम कयअष्भतथ)को  बारम्बार उहाँले उल्लेख गर्ने गर्नुहुन्थ्यो । जुन माक्र्सबादको आधारभूत कुरा हो ।

पुष्पलालको एउटा अर्को सबैभन्दा महत्वपूर्ण पक्ष उहाको निरन्तर अध्ययनशीलता हो । समकालीन नेपाली राजनीतिमा तुलनात्मकरुपमा उहाँको जत्तिको नेपाली समाजको गहिरो अध्ययन अरु कमैले मात्र गरेका थिए होलान् । उहाँको अध्ययनको मूल बिषय नै नेपाली जनताको गाँस, बास, कपासको समस्या थियो । जनताले आफ्नो आजीवीवको समस्या कसरी हल गरिरहेका छन् र उनीहरु बिकासको कुन चरणबाट गुज्रिरहेका छन् भन्ने कुरामै उहाँको सम्पूर्ण राजनीतिक अध्ययन केन्द्रित थियो र हुन्थ्यो । त्यसैले उहाँले नेपालका एक बिशिष्ट इतिहासकार महेशचन्द्र रेग्मका  Land Tenure and Taxation in Nepal. Thatched Huts & Stucco Palaces: Peasants and Landlords in 19th Century Nepal The State and Economic Surplus, Kings and Political Leaders of the Gorkhali Empire जस्ता र अन्य यस्तै महत्वका नेपाली समाजको तत्कालीन स्थिति जान्न र समाजमा परिबर्तन खोज्न महत्वपूर्ण र सहायक हुने उपयोगी कितावहरु पढ्न र सामुहीक छलफल गरेर निष्कर्श निकाल्न जोड दिुन हुन्थ्यो ।

नेपाली धरातलीय यथार्थका आधारमा मार्क्सबाद लेनिनवाद र माओ बिचारधारालाई प्रयुक्त  के कसरी सकिन्छ यही नै उहाँको अध्ययनको मूल बिषय हुन्थ्यो र बिद्यमान यथास्थितिलाई फेरेर समाजलाई अग्रगति प्रदान गर्ने दिशाबोध गर्नु उहाँको अध्ययनको प्रयोजन थियो । त्यसैले अलिकति समय पायो कि उहाँ कहिले कलकत्ताको ‘नेशनल लाइब्रेरी’ मा गम्भीर अध्ययनमा लागेको पाइनु हुन्थ्यो कि दिल्लीको ‘सप्रू हाउस’ या बनासरकै स्थानीय पुस्तकालय जहाँ बिश्व र नेपालका लागि पनि पठनीय पुस्तक र पाठ्य सामाग्री पाइने गर्दथे  समय पायो  उहाँ ती ठाउँहरूमा गएर अध्ययनरत रहने गर्नुहुन्थ्यो। उहाले नेपालमा पनि कार्यकर्ताहरुलाई मदन स्मारक पुस्तकालय पाटनढोका र राष्ट्रिय पुस्तकालय तथा बिश्वबिद्यालयका पुस्तकालयहरु र बृटिश, भारतीय र अमेरिकी पुस्तकालयहरूमा  गएर अध्ययन गर्न सुझाव दिनुहुन्थ्यो ।जसले नेपालको इतिहास, सँस्कृति र भूगोल पढेको र बुझेको हुदैन, नेपाली जनताको आजिबीका कसरी चलेको छ त्यसको गहिरो अध्ययन गरेको हुदैन उसले नेपालको आमूल अर्थ–राजनीतिक परिवर्तनमा कसरी योगदान दिन सक्तछ र ? भन्ने गम्भीर प्रश्न उठाउदै सबै कार्यकर्ताहरुलाई अध्ययन गर्न प्रेरित गर्नु हुन्थ्यो । खासगरी उहाले नेपालमा किसान बर्गको समस्या हल नगरी नेपालको राष्ट्रिय मूख्य मुद्दा नै हल हुदैन भन्ने कुरामा ध्यान केन्द्रित गर्दै नेपाली समाजका समस्या हल गर्न संघर्ष, संगठन र सिध्दान्तका कुराहरूकाे गहिराे अध्ययन,चिन्तन र मनन गर्न बिशेष जाेड दिनुहुन्थ्यो

यस प्रकार समग्रमा यसरी कमरेड पुष्पलालको क्रान्तिकारी जीवन सबैका लागि एउटा प्रेरणास्पद र बिश्वासिलो जीवन त छँदैथियो नै त्यो भन्दा बढी आमूल सामाजिक परिवर्तनको दिशामा अत्यन्तै हुटहुटिएर केन्द्रित भएको र त्यस प्रयोजनका लागि आजीवन सक्रिय रहेको अनुकरणीय प्रेरणापुञ्ज बनेको जीवन थियो । त्यसैले नै उहाँका अनुयायीले भन्दा पनि आज उहाँको छिचरो र अनर्गल किसिमले बिरोध गर्ने तथाकथित कम्युनिष्ट नामधारीहरुले नै उनको मूर्ति र फोटो पूजाआज गरेर आफुलाई पुष्पलालको असली उत्तराधिकारी भएको भ्रम छर्ने गरिरहेका छन् । त्यो हिजो २००८ सालदेखि २०३५ सम्म पनि स्वार्थबश गरिएको बिरोध र प्रताडना थियो भने आजको पूजा पनि स्वार्थबश गरिएको यथार्थ खुलस्त भइसकेको र भइरहेको छ ।  कमरेड पुष्पलालको अबिश्रान्त क्रान्तिकारी जीवनको सारतत्वलाई समाप्त पारेर आवरणको पूजाआजा गर्ने औसरबादी र बिसर्जनबादीहरुको बिगबिगीलाई नचिरेसम्म नेपालको कम्युनिष्ट आन्दोलनले भ्रमबाट मुक्ति पाउन सक्ने छैन । अनि नेपाल र नेपाली जनताका समस्या पनि हल हुने छैनन् बरु अझ जटील भएर जानेछन् । यो कुरा आजको बिग्रदो स्थितिले पनि प्रष्ट देखाइरहेको छ । यी नै स्मरणीय कुराका साथ कमरेड पुष्पलालको ४४औं स्मृतिमा उहाँप्रति उच्च सम्मान ।