अचेल साँढे बहुलाएको छ

 

                                                       सुनिल कुमार पौड्याल

एउटा साँघुरो र हिले डोरेटो
अर्काले कोरिदिएको
राज गर्दैरहेथ्यो
धेरै कालसम्म
हाम्रो गाउँमा
कहिले चिप्ल्याएर हिलोले
कहिले दुखाएर ढुङ्गाहरूले
ज्यानको चोट सहेरै
आफ्नो उपचार आँफैले गरिरह्यौं
मस्तिष्कमा जब सिर्जनाले
कुत्कुत्याउन थाल्यो
भोकले जब निर्माणको
हृदय अँचेट्न थाल्यो
हामीले नयाँ बाटो बनायौं
फराकिलो र निर्बिघ्न
सबै हिंड्न सक्ने
हिलो र ठेस नलाग्ने
हामी सबै खुसी भयौं
हाम्रो बाच्छालाई पनि लिएर
डुल्ने भयौं
राम्ररी खेत जोत्ला भनेर
मायाले स्यारेको
लुटपुट गरेर काखैमा हुर्काको
हाम्रै सानो गल्तीले
ऊ साँढे बन्न पुग्यो
साँडा भएर स्वतन्त्र घुम्यो
डुक्रेर हामीमाथि जाइलाग्ने भयो
फूँ फूँ गरेर तर्साउन पुग्यो
सिङ्घौरी खेलेर कहिले
बाटो भत्काउन खोज्छ
कहिले अन्न बाली
सोत्र्याम पारेर छोड्छ
कहिले तरकारी बारी
फाँडेर बस्छ
हामीले सल्लाह गर्यौं
त्यसलाई तह लगाउने
प्रपन्च रच्यौं
आजकल पल्लो गाउँको
साँढेसँग
अनेक साइनो गाँसेर
उसका साथ
झन् दुख दिन थालेको छ
लौन साथी हो
हामी सबै मिलौं
हिम्मत गरेर यसलाई
कान्जी हाउसमा थुनौं ।

IME Remittance