कोशिस गर्दैछु:निलिमा पुन

तिमी डाडा माथिको जुन थियौ

अस्ताएर गयौ

कहिले नझुल्किने गरि गयौ

जति खोजे पनि नभेटिने गरि गयौ

खुशी चुडेर गयौ

चटक्कै माया मारेर गयौ

आँसुमा डुबाएर गयौ

आमा! तिमी त संसारै छोडेर गयौ

 

तिमी शीर छोप्ने छानो थियौ

रापिलो अगेनो थियौ

तिर्खा मेटाउने मूल थियौ

नओइलिने फुल थियौ

धुँवा बनेर माथि उड्यौ

खरानी बनेर हावा सँगै मिल्यौ

माटो बनेर नदिसँगै बग्यौ

सधैंका लागि नबोल्ने गरि गयौ

जति चिच्याए पनि नसुन्ने गरि गयौ

आमा! तिमी त विरानो भयौ

 

तिमी उर्जाको शिखर थियौ

हरपल तागत भर्थ्यौ

आँसु रोक्ने बलियो बाँध थियौ

वह पोख्ने भरपर्दो काँध थियौ

संकटमा पुकार्ने शब्द थियौ

ममताको अर्थ बुझाउने शब्दकोष थियौ

इतिहास पढाउने पुस्तकालय थियौ

जीवन पढाउने विश्व विद्यालय थियौ

आमा! तिमी त टाढा गयौ

 

तिमी सृष्टि अनि संस्कृति थियौ

सर्जक अनि साधना,

प्रकृति अनि परम्परा थियौ

रचना अनि संरचना,

तिमी सन्तानको बृहत काख थियाै

आमा! तिमीले त त्यो पनि लगेर गयौ

 

आमा! तिमी छैनौ र त हरपल म तिमीसँगै छु

चन्द्रमा जस्तो मुहार आँखामा देखिरहन्छु

अमृत बोली कानमा सुनिरहन्छु

दिनरात तिमीसँगै भुल्न पाएको छु

हो आमा! म त हिजोआज निकै व्यस्त भएको छु

अठासी बसन्त पार गर्दासम्म तिमीले

काखी च्यापेको यादमा डुबिरहन्छु

तिमीले अह्राएको जिम्मेवारी सम्हादैछु

तिम्रो त्याग र समर्पण सम्झेर

शक्ति संचित गर्दैछु

तिम्रो संघर्षको पाना पढ्दै

खुड्किला चढ्दैछु

हरेक विपत्तिमा तिम्रो नाम जप्दै

सुस्ताएको कदममा गति भर्दैछु

आमा! तिमी विना पनि हाँस्ने कोशिस गर्दैछु।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance