सर्कसमा बाघ : मातृका पोखरेल

बाघहरू गाउँका जङ्गलबाट
एकाएक गायव भए ।

त्यसपछि सञ्चारमाध्यमहरूले समाचार प्रशारण गरे
बाघहरू सहरतिर गए ।

जब बाघहरू गाउँमा थिए
मकैबारी सखाप पार्ने बाँदरहरू एकाएक हराए
घरका कुखुराहरू चोर्ने
स्यालहरू पनि मासिए
जमिनका बालीहरू नाश गर्ने दुम्सीहरू पनि वेपत्ता भए
एकमनले धेरैजसो किसानहरु खुसी देखिए ।

केही वर्षपछि गाउँमा
बाघहरू सहर पस्ने हल्ला चल्यो
बढो तामझामका साथ बाघहरू सहर पसे
गाउँमा मानिसहरुले फेरि सुने
सहरले बाघलाई पनि राम्रैसँग स्वागत गऱ्यो ।

गाउँबाट मानिसहरू सहर गए
र हेर्न पुगे
शहरको एउटा सर्कस घरमा ।

सर्कस घरमा
जब बाघ अघिल्तिर आउँथ्यो
अबोध बच्चाहरू धेरै डराउँथे
अविभावकहरू आफ्ना बालबच्चालाई सम्झाउँदै भन्थे-

यो सर्कस होयहाँको बाघले मान्छेलाई केही गर्दैन
यसको दाँत फुकालिएको हुन्छ
टोक्न सक्दैन
नङ्ग्रा काटिएको हुन्छ
चिथोर्न सक्दैन
त्यसपछि बच्चाहरू शान्त बन्थे ।

तर पनि बाघ बाघै हो
ऊ मानिसहरूको नजिक आउँथ्यो र डुक्रिन्थ्यो
मानिसहरुको मनभित्र मसिनो आतङ्कको लहर पैदा हुन्थ्यो
तर गाउँ र जङ्गलमा झैं ऊ डुक्रिंदा बाताबरण भयग्रस्त बन्दैनथ्यो ।

सर्कसमा जब ऊ
जङ्गलको जस्तै आवाज निकालेर डुक्रिन्थ्यो
साथै बसेका बच्चाहरू मात्र डराउँथे
परिस्थितिसँग जानकार मानिसहरू
खिसीट्युरी गरेर उडाउँथे ।

भोलि बिहानै गाउँ जानु छ –
गाउँ छेउको जङ्गली बाघलाई
सहरको सर्कसमा भेटेको कथा सुनाउनु छ
र गाउँमा सबैलाई भन्नु छ –
मकैबारी सखाप पार्ने बाँदरहरू
फेरि आउनेछन्
घरका कुखुरा चोर्ने स्यालहरू
घुऱ्यानमा फेरि देखा पर्नेछन्
जमिनका बालीहरू नाश गर्ने दुम्सीहरू
खेत,बारीमा फेरि झुल्किनेछन्
गाउँमा एउटा खबर लानु छ
सहर पसेको बाघ
जङ्गलको बाघ जस्तो नहुँदो रहेछ ।

सहरको सर्कसमा पसेपछि
बाघहरुलाई बाघ नभने पनि हुँदो रहेछ
अनुहार मात्रको बाघ हुँदोरहेछ ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *