सुन्यौ आकाश,कविता : प्रदिप ज्ञवाली

म बनाउँदै छु सालिक नायकहरूको
अर्थात् आमाहरूको
जसको आजसम्म कुनै इतिहास छैन
कुनै सालिक छैन ।
बगाउँदा बगाउँदा सेतो गङ्गा
जसको छाति बन्छ
हिमपहिरो पछिको उराठ अन्नपूर्णा
मध्यरातसम्म पानीपट्टी फेर्दा फेर्दा
जो हुन्छिन् स्वयं तेल सकिएको दियो
अस्ताउँदै गरेको छायाँ !
चारा खुवाएर, पखेटा नचाएर
उड्न सिकाउँदा सिकाउँदै
जो हुन्छिन् एकदिन आफै रित्तो गुँड
सुकाएर बिस्कुन ताराहरूको
आमाहरू कुरिरहन्छन् आकाशमा आरू फुल्ने याम
आमा,
अर्थात् इरेजरले मेटाइएको रेखाचित्र
आमा,
अर्थात् सरकारी बहिखाताभित्रको ख़ाली पाना !
हो आकाश,
तिनै आमाहरु हुन् मेरा कविताका नायक
जसको आजसम्म कुनै सालिक छैन ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance