चाडपर्व : निलिमा पुन

जब जब चाडपर्व आउँछ
कतै खुशी बाडेर जान्छ
कतै पीर थपेर जान्छ
कतै साथ जुटाएर जान्छ
कतै काख छुटाएर जान्छ
हरेक पल्ट केही न केही सन्देश दिएर जान्छ

जब जब चाडपर्व आउँछ
कसैको हृदय हँसाउछ
कसैको चित्त दुखाउछ
कसैको घरआँगन भराउँछ
कसैको सुनसान गराउँछ
हरेक पल्ट केही न केही प्रभाव छोडेर जान्छ

जब जब चाडपर्व आउँछ
कसैलाई परिकार पुराएर जान्छ
कसैलाई अभावमा रुवाएर जान्छ
कसैलाई गुन लाएर जान्छ
कसैलाई रिनमा डुबाएर जान्छ
हरेक पल्ट केही न केही दबाब दिएर जान्छ

जब जब चाडपर्व आउँछ
मान्छेलाई घच्घचाएर जान्छ
आफन्त,पराई चिनाएर जान्छ
हुने र नहुनेबिच विभेद देखाएर जान्छ
आपसी तिक्तता हटाउदै
सामाजिक सद्भाव पनि जगाएर जान्छ
हरेक पल्ट मान्छेलाई सचेत गराएर जान्छ।