नवलपुर महोत्सवमा जनगायक शर्माले नचाए ८० कटेका वृद्धलाई

-विजय चालिसे

माघ, २० कावासोती । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोतीमा बिहीवारदेखि शुरु भएको पाँचौ नवलपुर महोत्सवको चौथो दिन दर्शकहरुको उत्साहजनक सहभागिता रह्यो। महोत्सव सुरु भएको चौथो दिन आज दर्शकहरुको उत्साहजनक सहभागिता रहेको नवलपुर उधोग बाणिज्य सङ्घका अध्यक्ष डासुराज पोखरेलले जानकारी दिनुभयो ।

नवलपुरका मात्र नभै छिमेकी जिल्ला चितवन र पश्चिम नवलपरासीबाट पनि अवलोकनकर्ताहरु कावासोती आएका थिए । चौथो दिनको साङ्गितिक कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य रोशन बहादुर गाहा रहनुभएको थियो भने गैंडाकोट नगरपालिकाका प्रमुख छत्र राज पौडेल बिशेश अतिथी हुनुहुन्थ्यो ।

कृषि, स्थानीय उत्पादन, पर्यटनको विकासलाई जोड दिँदै हरेक वर्ष संघले महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवमा २ सय ८० भन्दा बढी स्टलहरुमा कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, सुचना प्रविधी, अटो मोबाईल्स प्रदर्शनी प्रमुख आकर्षणका रुपमा रहेका छन् । माघ २७ गतेसम्म चल्ने महोत्सवमा करिब ७ करोड रुपैयाँको आर्थिक कारोवार हुनुका साथै ३ लाख ५० हजार बढी दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

महोत्वसमा स्थानीयले उत्पादन गरेको कृषि उपजको प्रदर्शनीका साथै विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ । गण्डकी प्रदेशभरिकै उत्कृष्ट महोत्सवको रुपमा नवलपुर महोत्सव सम्पन्न गर्ने लक्ष्य रहेको नवलपुर उद्योग वाणिज्य संघका महासचिव बैकुण्ठ प्रसाद अर्यालले बताउनुभयो । महोत्सव परिसरमा बनाईएको हिमाल, पहाड, तराईको झल्को दिने आकृति महोत्वसको अर्को आकर्षण बनिरहेको छ । नवलपुर जिल्लामा हिमाल पहाड तराई क्षेत्र रहेकाले जिल्लाको आकृति तयार पारिएको हो । त्यहाँ बिशेश गरि सेल्फी खिच्नेहरु बढिनै देखिन्थे ।

त्यसैगरी हात्ती सयर महोत्सबको अर्को आकर्षण बनेको छ । हात्ती चढेर महोत्सव परिसरमा अबलोकन गर्नेको भिड पनि उत्तिकै बढेको छ । ससाना बालबालिकादेखी वृद्धबृद्दाहरु हात्तिमा चढेर रमाईरहेका छन् । महोत्सव परिसरमा रहेको बाल उधानमा बालबालिकाहरु रमाईरहेका छन । त्यहाँ रहेको कृतिम तालमा डुङ्गा शयरमा बालबालिकाहरुको भिड लागेको छ । त्यस्तै अन्य थुप्रै खेलहरुमा बालबालिका सहित अबलोकन्कर्ताहरुले खेलको मज्जा लिईरहेका छन् । यसैबिच, महोत्सवको प्रमुख आकर्षणमा रहेका जन गायक जीवन शर्मा, पुर्णकला बिसि, राजन गुरुङसहित स्थानिय कलाकारहरुले भरपुर मनोरञ्जन दिएका थिए ।

शर्माले सिमली छायामा, चाहिदैन मलाई सम्पत्तिको राशलगायतका गित गाउदा ८० बर्ष कटेका वृद्धहरुलाई स्टेजमा बोलाएरै नचाएका थिए । जनताका गायक भनेर चिनिएका शर्माले वृद्ध भएका बुबा आमालाई सम्मान दिईएन भने परिवारमा कहिल्यै शुख शान्ती नहुने भन्दै वृद्ध बाबू आमाको सम्मान गर्नुपर्ने बताईरहदा दर्शक दिर्घाबाट तालिको गडगडाहक गुन्जिएको थियो ।

IME Remittance