जग्गा किनिस्? घर छ? पढेर मात्र के हुन्छ?

                                               राजिन पनेरू

सभामुख महोदय,

उच्च शिक्षा अध्ययन गर्ने बहानामा सहर पसेको झण्डै १६ वर्ष पुगेछ।

१६ वर्षमध्ये सुरूका केही वर्षबाहेक प्राय: भेट हुँदा साथीभाइ, आफन्तजनले सोध्ने प्रश्न यिनै हुन्–

जग्गा किनिस् ?

घर बनाइस् ?

जहिल्यै पढ्दै छु मात्र भन्छस्, पढेर मात्र के गर्छस् ?

कहिले किन्छस् जग्गा ?

कहिले बनाउँछस् घर ?

तैँले जेसुकै भने पनि जीवनमा घरघडेरी भएन भने सहरमा बसेको के अर्थ ?

०००

आख्यानकार ध्रुवचन्द्र गौतमको कुनै एक उपन्यासका दुई चरित्र पत्रकार र सरकारको उच्च तहको एक कर्मचारीबीच यस्तो संवाद चल्छ (ठ्याक्कै यही होइन मात्र आशय) :

पत्रकार – सरकारी जागिरे हुनुहुन्छ । माथिल्लो तहमा हुनुहुन्छ। लाउन खानको त कमी हुँदैन होला तर पनि तपाईं भ्रष्टाचार किन गर्नुहुन्छ ?

कर्मचारी – हेर्नोस्, मैले भ्रष्टाचार गरेको होइन, सरकारको इज्जत बचाएको हुँ। यदि म विशुद्ध तलबमा मात्र रहेँ भने मेरा आवश्यकताहरू जीवनभर पूरा हुने छैनन्। घरपरिवार, छोराछोरीको शिक्षादीक्षा, सहरको महँगो बसाइँ, छरछिमेकसँगको सम्बन्ध आदि सन्दर्भलाई तन्दुरुस्त राख्नका लागि पनि त यसो केही गर्नुपर्‍यो । भोलि तपाईंहरूले नै समाचार बनाउनुहुन्छ, ‘सरकारको उच्च तहको कर्मचारीले आर्थिक संकटका कारण आत्महत्या गर्‍यो’ । बस्, यही समाचारको पात्र बन्न नपरोस् भनेर भ्रष्टाचार गरेको हुँ।

०००

स्वीस बैंकको हिसाब–किताब

म उपन्यासको त्यही सरकारी पात्र हुँ तर प्रवृत्ति होइन। हिजोआज त क्षणक्षणमै उपर्युक्त प्रश्नहरू धाराप्रवाह आउने गर्छन्, तेरो मात्र होइन, श्रीमतीको पनि सरकारी जागिर छ। पैसा कहाँ राख्छौ हँ ? रसिक पाराले उत्तर दिन्छु – ‘स्वीस बैंकमा।’

सभामुख महोदय,

अब म मेरो पारिवारिक आय–व्यय विवरण पेश गर्दछु।

पारिवारिक विवरण : बुवा, आमा, श्रीमती, ७ महिनाको छोरा र म, ५ जना।

आय विवरण : म विश्वविद्यालयको उपप्राध्यापक। कोष कट्टी गरी आउने मेरो शुद्ध रकम पुग नपुग रु. ३७ हजार। श्रीमतीजी गोरखापत्र संस्थानको कर्मचारी। कोष कट्टी गरी आउने शुद्ध रकम पुग नपुग रु. २५ हजार।

हाम्रो मासिक आय : पुग नपुग रु. ६२ हजार।

सभामुख महोदय,

अब म खर्च (व्यय) विवरण पेश गर्दछु।

आवास खर्चका लागि मासिक रु. २० हजार (फ्ल्याट, बिजुली, पानी, इन्टरनेट आदि)। बुबाआमा र हाम्रा (श्रीमान/श्रीमती र छोरा) लागि खाद्यान्न  खर्च स्वरुप रु. २० हजार।  लत्ताकपडा, माछामासु पनि यसभित्रै जोडेको छु। यसैगरी बुबाआमालाई सुगर+प्रेसर+ग्यास्ट्रिकको औषधिसमेत भइपरी आउने औषधोपचार खर्चका लागि औसत रु. ५ हजार बजेट विनियोजन गरेको छु।

यसका अतिरिक्त हामीले चढ्ने दुई पाङ्ग्रे निजी सवारी साधनका लागि चाहिने आवश्यक खर्च र साथीभाइसँगको भेटघाट खर्चलाई सकेसम्म खुम्च्याएर मात्र रु. ५ हजार नकटाउने गरी रकम विनियोजन गरेको छु। कोभिड १९ को असरका कारण मैले बाँकी खर्चलाई यथासम्भव कटौती गरेको छु। यसरी मैले विभिन्न शीर्षकमा गरेको खर्च रकम जम्मा रु. ५० हजार हुन आउँछ।

सभामुख महोदय,

कुल आयबाट खर्च रकम घटाउँदा मासिक रु. १२ हजार बचत हुन आउँछ। वार्षिक रु. १ लाख ४४ हजार रकम जम्मा गर्न सफल हुने चित्र प्रस्ट रूपमा देखिएको छ। यसमा सपरिवार धन्य छौं।  जसलाई गच्छेअनुसारका दीर्घकालीन योजनामा खर्च गर्ने सोच बनाएको छु।

०००

घर बनाउने योजना

सभामुख महोदय,

आजका मितिसम्म मैले घर बनाउने योजना बनाएको छैन। सहरमा घर बनाउने जिम्मा मेरा सन्तान–दुरसन्तानलाई छाडेको छु र त्यसलाई पनि तिनले श्रुतिस्मृति परम्परामा अगाडि बढाउन वा पिता–पूर्खाका जिम्मेवारी पूरा गर्न सक्नेछन्।

आकस्मिक लाभबाहेक मेरो हैसियतले सहरमा माटो किन्न र किनिएको माटोमाथि गिट्टी–बालुवा–सिमेन्टको घोल राख्न सक्ने छैन। मेरो ग्रहगोचरमा आकस्मिक लाभ लेखेको छैन। लाभ हुनका लागि सोही प्रकृतिको स्थानमा पुग्नुपर्छ।

म विश्वविद्यालय छाडेर चुनाव लड्न जाने छैन। यसर्थ नेता–मन्त्री बनेर आकस्मिक लाभ उठाउने सुअवसर प्राप्त हुने छैन ।

म सरुवा भएर कुनै भन्सार, मालपोतमा पुग्ने छैन। मैले पाटीका झोले, भोले, भकुण्डेहरूको सेवा सुश्रुषा गरेको छैन यसर्थ म भोलिका दिनमा लाभांश प्राप्त हुन आउने पदमा पुग्ने छैन। यो निश्चिछ छ – मेरो जीवनयात्रा स्वभाविक आयबाहेक आकस्मिक लाभबाट मुक्त रहनेछ।

नैतिकता बन्धकी राखेर अन्य ठाउँमा जागिर खानलाई मन मान्दैन। एक स्थानमा सेवा दिएर फरक–फरक स्थानबाट मेवा लिन मन नमानेपछि स्वतः सिद्ध हुन्छ कि मैले घर बनाउन सक्दिनँ। काठमाडौंको उपयुक्त स्थानमा जग्गा जोडौं भन्ने सोच राखियो मात्र भने प्रति आना कम्तीमा २० लाख बुझाउनुपर्ने हुन्छ।

सरकारी मापदण्ड कायम गरेर घर बनाउने जग्गा किन्नका लागि रु. १ करोड रकम विनियोजन गर्नुपर्छ। यसको सिधा अर्थ हो १ करोड रकम जम्मा गर्न हामीलाई १ शताब्दी लाग्नेछ। इमान्दारपूर्वक विशुद्ध तलब लिएर घर बनाउने अन्तिम सपना देख्ने हो भने प्रत्येक कर्मचारीले शताब्दी आयु पूरा गर्नुपर्ने हुन्छ ।

शताब्दी पुरुष बन्ने सौभाग्य ममा छैन। यो अक्सर मानिसको साझा समस्या हो जो घरघडेरीकै निम्ति दिनहुँ आफूलाई डिप्रेसनको सिकार बनाइरहेका छन् ।

आउनोस्, एकैछिन डिप्रेसन मुक्त बनौं।

पापी पेट

हाम्रो चिन्तन सदैव भोकसँग जुधिरह्यो। पेटभन्दा माथि हामी उठ्न सकेनौं। चिन्तन गर्नभन्दा पनि हामी कमाउ धन्दामा लागिरह्यौं। सिंहदरबारदेखि स्यालदरबारसम्म ‘पापी पेट’का निम्ति भन्दै भेटैपिच्छे योजना बुनिरहे। कुन तरिकाले छिट्टै करोड–अरबपति बन्न सकिन्छ ? तालमेल गरिरहे। सदाचार भत्किँदै गयो। भ्रष्टाचार जोडिँदै गयो।

हामी पनि भेट हुने बित्तिकै सम्पत्ति, सौन्दर्य वा भोगविलासका प्रश्न मात्र गरिरह्यौं।

‘तैंले कति पढिस् ? के नयाँ योजना बनाउँदै छस् ? छोराछोरीले के सिके वा के सिकाउँदै छस् ? विकास–निर्माणका काममा तिमीहरूको धारणा के छ ? नयाँ आविष्कारका निम्ति को कहाँ के गर्दैछन् ?’ आदि प्रश्न आजका प्रश्न होइनन् । ‘तैंले के खाइस् ? के खाँदै छस् ? कुन ब्रान्डको किनिस् ? कति स्यालरी छ ? फिल्म हेरिस् ? गाडी किन्दैनस् ? जग्गा किनिस् ? घर बनाइस् ?’

अभिभावकको बारम्बार यही गुनासो छ – ‘खै त कहिले किन्छस् काठमाडौंमा घडेरी ? आफन्त सबैले किनिसके।’ अब बाआमालाई प्रेसर–सुगर औषधिले होइन छोराले काठमाडौंमा घडेरी किनेको समाचारले ठीक हुनेछ। बिडम्बना बाआमाको औषधिको मात्रा बढाउनुबाहेक छोरासँग त्यो क्षमता छैन।

मान्छेलाई सबैभन्दा गाह्रो क्षण त्यति बेला आउँछ, जति बेला, छिमेकी (सँधियारे), आफन्त र सँगैका साथीले ‘प्रगति’ नाम गरेको सापेक्ष वस्तु हात पार्छ। अनि सुरू हुन्छ रामकहानी – ‘हेर त फलानाका छोराले त्यत्रो प्रगति गर्‍यो । खै त त्यसले पढेन। नपढे पनि घर बनायो। ऊ कहाँ पुग्यो तँ कहाँ छस् ? पढेर के नापिस् ?’

अभिभावकले कहिल्यै यो खोज्दैनन् कि उसले कसरी घर बनायो ? उसको पृष्ठभूमि के हो ? के गर्‍यो ? कामको प्रकृतिको तुलना हुँदैन। कामका बारेमा अध्ययन गरिँदैन। बाहिर देखेर धारणा बनाउनेहरूले भित्र पुग्ने कोसिस नै गर्दैनन्।

प्रकृया नबुझी नजिता हेर्ने बानीले हामी थप डिप्रेसनमा पुग्यौं। अनावश्यक ऋण थोपरेर प्रेसरको औषधि खानु उचित ठान्ने हाम्रो चिन्तन कहिल्यै घरको चार पिलरबाट बाहिर आउन सकेन।

अभिभावकहरू वर्षेनी दशैंमा आशीर्वाद स्वरूप भनिरहे – ‘धनी हुनू । काठमाडौँमा घर किन्नू । बाठो हुनू ।’ तर कहिल्यै भनेनन्, – ‘धेरै पुस्तक पढ्नू । ज्ञानज्ञुनका कुरा गर्नू । इमान्दारपूर्वक देश र जनताको सेवा गर्नू । चिन्तन गर्नू ।’

०००

हामी साँघुरो चिन्तन बोकेर बाँचेका छौँ । फलानाले यसो गर्‍यो, उसो गर्‍यो भन्दै अन्तिममा घरघडेरीमा नै पुगेर बहस टुङ्गिन्छ। अधिकतम पुँजी सङ्कलन गर्ने र अतिरिक्त मूल्यबाट थप समय शासन सत्तामा पुग्ने सोच बोक्दै यात्रा गरेपछि अन्ततः समाजको एउटा तह सदैव पेटमा नै दबिएर बस्दछ। पेटमा विकास हुँदैन, पेटमा त केवल भोक हुन्छ । पेटमा चिन्तन हुँदैन, पेटमा त केवल विकार  हुन्छ । हामी भन्ने गर्छौं नि, ‘यो सब गरेको पापी पेटका लागि त हो नि !’

पेटलाई पाप बोकाएर भाग्यको फल खोज्न निस्किएका हामीले कहिल्यै उपयुक्त चिन्तनको विकास गर्न सकेनौं। अझै कयौं वर्ष यसरी नै समाज अगाडि बढिरहन्छ। जबसम्म हामी सम्पत्ति सञ्चयको झमेलाबाट मुक्त हुन सक्दैनौं तबसम्म व्यक्तिको जीवन एउटा निश्चित घेराबाट माथि उठ्न सक्दैन।

०००

४ आनाको भविष्य          

२०६० सालपूर्व मान्छेहरू परिवार चलाउन मुग्लान जान्थे। त्यसपछि राजनीतिक, सामाजिक, साँस्कृतिक आदि फेरबदल आयो। वैदेशिक यात्रा सहज बन्यो। प्रविधि र प्रवृत्तिमा क्रमशः उन्नति हुँदै गयो। शिक्षाको ज्योति गाउँघरतिर फैलियो।

गाउँबाट हुलका हुल युवापुस्ता उच्च शिक्षाका लागि सहर आउन थाले। सहरबाट विदेशतिर लागे। तर चित्र बदलियो। हिजो मुग्लान पसेकाहरू घर फर्किए तर सहर पसेकाहरू गाउँ फर्किएनन्। मुग्लान पसेकाहरूलाई घरको मायाले बाँध्यो र घर फर्किए तर सहर पसेकाहरूलाई सहरको माटोले तान्यो र त्यही माटो पाउनका लागि गाउँ बिर्सिए।

हिजो मुग्लान पसेकाहरू मेरा बुबा–काका हुन्, जो अहिले हजुरबाहजुरआमा स्याहार गरेर बसिरहेका छन्। पढ्न निस्केका पुस्ता हामी हौँ, जो ४ आना जग्गाका लागि सिङ्गो जिन्दगी ऋणमा डुबाइरहेका छौं। हर प्रयास गरिरहे हामीले ४ आना जरुर जोड्नेछौं तर बाआमा र तिनका पितापूर्खाका ग्राम्य सम्बन्धबाट सदैव टाढा हुनेछौं। प्रकृतिप्रदत्त मानवीय अपनत्व सम्पत्तिले विक्री गर्नेछ। सम्पत्तिकै कारण आफू र आफ्नाबीच दूरी स्थापित हुनेछ।

सहरको प्रदूषणमा भाग्य देख्ने हामी प्राकृतिक सम्बन्धबाट जति टाढिँदै जान्छौं उति नै संकटको नजिक पुग्छौं।

०००

मित्र संवाद १ :

घर कहाँ बनाउनुभयो ?

मित्र – तपाईंले घर कता बनाउनुभयो ?

म – कीर्तिपुरमा ।

त्यति बेला म कीर्तिपुरमा बस्थें। बसाइ त हिजोदेखि आजसम्म भाडाकै हो। २०७२ सालमा भूकम्प गएपछि मेरो बसाइ नागार्जुन–रानीवन सर्‍यो । भाडामा बस्नेका लागि गजबको सुविधा यही छ कि मन लाग्ने बित्तिकै घर किन–बेच गर्न पाइन्छ। समय क्रममा पुनः ती मित्र भेटिए। उनले यस पटक पनि सोही प्रश्न गरे । मैले सहज रूपमा उत्तर दिएँ – रानीवनमा।

मित्र – पहिला त तपाईंले कीर्तिपुरतिर भन्नुभा होइन ?

म – याद रहेछ त तर भूकम्पपछि कीर्तिपुरको घर बेचें । जङ्गलको नजिक जान मन लाग्यो र उता किनें।

मित्र – हाम्रो पनि घर बेचेर शान्त ठाउँमा गएर बसौं भनेको आमा मान्नुहुन्न।

घरका बारेमा जिज्ञासा गर्ने सहृदयी मित्रलाई यस्तै जवाफ दिने गर्छु। मलाई थाहा छ, उनलाई काठमाडौंमा घर छ भनिदिए पुग्छ, घरको लालपूर्जा देखाउनु पर्दैन।

०००

मित्र संवाद २ : कति फ्ल्याटको बनाउनुभो ?

घर बनाएर मात्र सुख छैन। त्यसको संरचनाका बारेमा पनि उत्तिकै ध्यान दिनुपर्छ। काठमाडौंमा तला थप्नु भनेको इज्जत–प्रतिष्ठा थप्नु हो।

मित्र – साँच्चै कति तलाको बनाउनुभयो ?

म – भुइँ तला मात्र हो ।

म – अनि तपाईंको ?

मित्र – तीन तला ।

म – सबै तपाईंले नै प्रयोग गर्नुभा’छ कि ?

मित्र – कहाँ प्रयोग गर्नू ? सबै प्रयोग गरेर के खाने ? घरको लोन केले तिर्ने ? २ फ्ल्याट भाडामा छ । तपाईंको ?

म – एक तला भएको मान्छेले के गर्नू ? आफैं बस्छु।

मित्र संवाद ३ : तेरो त सरकारी जागिर छ

पोखराको पृथ्वीनारायण क्याम्पसमा हामीले सँगै स्नातक सक्यौं । सन् २००८ मा मित्रले र मैले सँगै कोरियन भाषा सिक्यौं। उसले परीक्षा दियो तर मैले दिइनँ। ऊ इपिएस प्रणालीमा जहाज चढेर कोरिया गयो म ब्याचलर टप गरेको उत्साहमा गाडी चढेर काठमाडौं आएँ। १० वर्षपछि सन् २०१८ मा हाम्रो भेट भयो। यस पटक ऊ मेरो निवास रानीवन आइपुग्यो।

मित्र – तैंले ठीक गरिस् । मेरो त बेहाल छ यार ।

म – तेरो के बेहाल । पोखरामा घर छ । घडेरी छ । पैसा छ । पैसा भएपछि इज्जत स्वतः हुने नै भयो । बरु केही नभएको त म होला नि !

मित्र – हावा कुरा नगर् न। तेरो जस्तो सरकारी जागिर भको भए ! विश्वविद्यालयको प्रोफेसर, कम्ता इज्जत छ तेरो । यो देशमा भ्यालु नभएर हो। बाहिर प्रोफेसरलाई कम्ता मान्छन् । हेर् त यत्रा किताब। प्रमाणपत्र । साला, पढ्ने रहर पनि रहर नै भयो । ५ वर्ष हड्डी घोटेर घडेरी किनेँ। अर्को ५ वर्षमा घर बनाएँ। १० वर्ष समय बिताएर आएँ । अब बिहे गर्नुछ । भोलि के गरेर बस्ने हो थाहा छैन। पढौं पुरानो लय बिर्सियो । व्यवसाय गरौँ, कस्तो गरौँ ? आइडिया छैन । तेरो त बुढाबुढी नै सरकारी जागिरे । तेरो भविष्य त गजब छ नि।

०००

केही गर्छु भनेर पोखरा पुगेको मित्रको ७ महिनापछि म्यासेज आयो – ‘सरी यार, तँलाई बिहेमा बोलाउन पाइनँ । बिहेमा सबै कुरा भनेजस्तो हुने रहेनछ । अँ साँच्चै, म त कोरिया नै आएँ यार । अब ५ वर्षपछि नेपालमा नै केही गर्छु । तँ त सहप्राध्यापक भइसक्छस् होला । तेरोजस्तो भाग्य भए पो !’

०००

उपर्युक्त कथन जीवनका दस्ताबेज हुन् । मलाई यी दस्ताबेजसँग कुनै गुनासो छैन । जे छ गजब छ । जे हुनेछ गजब हुनेछ । लाभहानीको हिसाब–किताब राखिएन भने जीवनको वर्तमान राम्रोसँग बित्छ । बाँकी भविष्य त मित्रले ‘गजब छ’ भनिहाले । भाग्य मित्रका कुरा हुन्, म कर्म गर्छु ।

मलाई थाहा छैन कोरिया पुगेर घर नबनाएर गल्ती गरेँ वा विश्वविद्यालयमा प्राध्यापन पेशासँग जोडिएर ठीक गरेँ । जय-पराजयको लेखाजोखा गर्नु पनि दुःख बेसाउनु हो । यसर्थ मलाई एउटै सूत्र बोध छ – सुखी होइन खुसी जिन्दगी जिएस् । प्राध्यापकले देश र देशले प्राध्यापक चिनेको दिन पक्कै पनि मित्रले भनेको परमानन्द आउने नै छ ।

सभामुख महोदय,

बाँकी जीवनको हिसाब–किताब गर्दै गरौंला। अहिलेलाई हामी बुढाबुढीले निर्णय गरेका छौं – ‘हाम्रो सेवा निवृत्त जीवन गाउँमा बित्नेछ । जहाँको हावापानीसँग बाँकी जीवन रमाउनेछ । सन्तानलाई कहिल्यै घरघडेरीको बोझले किच्ने छैनौँ। दशैंमा आशीर्वाद दिँदा भन्नेछौँ, उपन्यास पढ्नू, ज्ञान–विज्ञानका किताब पढ्नू, जीवन पढ्नू, दर्शन पढ्नू, समाजलाई पढ्नू र ज्यादा आफैंले आफैंलाई पढ्नू ।’

IME Remittance