
म फुटकर कविता जस्तै
पढेर छिटै सकिने
तिमी सिङ्गो इतिहास जस्तै
जति पढ्यो त्यति उर्जा दिने
म नभरिएको किताब जस्तै
लेखेर कहिले पुरा नहुने
तिमी भरिएको सिङ्गो उपन्यास जस्तै
जति पढ्यो त्यति रस दिने
म टुक्रिएको अक्षर जस्तै
अड्की अड्की पढ्नु पर्ने
तिमी पङ्क्ति मिलेको वाक्य जस्तै
जति पढ्यो त्यति आनन्द आउने
म मसी बिनाको कलम जस्तै
कपीमा अक्षर कोर्नै नसक्ने
तिमी भरिएको कलम जस्तै
पानाहरु भरिरहने
म सडकमा उक्किएको ढुङ्गा जस्तै
बटुवाहरुको खुट्टा बिजाइदिने
तिमी झोपिलो स्वामी जस्तै
यात्रीहरुलाई शीतल दिने
म सानो दियो जस्तै
सीमित घेराभित्र बलिरहने
तिमी सँसार देख्ने चन्द्रमा जस्तै
व्यापक बनेर चलिरहने
म एकैछिनको यात्री
बीचबाटोमै मोडिने
तिमी पूर्ण यात्राको प्याकेज
संसारभरि घुमिरहने
म हावाले उडाउने भुवा जस्तै
माथिमाथि उडिरहने
तिमी समुन्द्रको मोती जस्तै
गहिराइभित्र डुबिरहने
म सिकारुले कोरेको नक्सा जस्तै
सीमाहरु पनि बाङ्गो देखिने
तिमी सिपालुले बनाएको तस्बिर जस्तै
हेरेर मात्रै पनि प्रेरणा मिल्ने ।


