डढेलोले सल्यानमा १६ घरगोठ जले

सल्यान — सल्यानका विभिन्न वनमा लागेको डढेलोले १६ घरगोठ जलेर नष्ट भएका छन । डढेलो बस्तीमा पस्दा कपुरकोट गाउँपालिका–६ रजैखोला र छत्रेश्वरी गाउँपालिका–४, जयचौर र वडा नम्बर–७, रावतगाउँका १६ घरगोठ जलेर नष्ट भएका हुन् । राष्ट्रिय वनमा लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन नसक्दा कपुरकोट गाउँपालिका ६ मा अहिले पनि खानी, एकपाखे र रजैखोला तीन बस्तीका २९ घर जोखिममा छन् । डढेलोका कारण बस्तीका घर मात्र नभई कपुरकोट गाउँपालिकामा एक किसानले बगैंचामा लगाएको सुन्तला कागती र तरकारी बालीसमेत जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नवीन कार्कीका अनुसार डढेलोका कारण कपुरकोट गाउँपालिका–६ रजैखाला, छत्रेश्वरी गाउँपालिका–४ जयचौर र वडा नम्बर–७ रावतगाउँमा गरी २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । रजैखालका दुर्गाबहादुर बोहराको सुन्तला र कागती बगैंचामा भएका २ सय ५० बोट जल्दा १ लाख ५० हजारको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीपीडितहरू आफन्तकोमा आश्रय लिएर बसिरहेको प्रहरीले जनाएको छ ।

छत्रेश्वरीको दुई ठाउँको सामुदायिक वनमा लागेको डढेलो सुरक्षाकर्मी, स्थानीयको सक्रियतामा करिब चार घण्टापछि निभाइएको छ । तर कपुरकोट गाउँपालिका–६, रजैखोला आसपासका राष्ट्रिय र सामुदायिक वनमा लागेको डढेलो भने अझै पनि निभाउन सकिएको छैन । डीएसपी कार्कीका अनुसार सल्यानका दर्जनौं सामुदायिक वनमा डढेलो लागेको छ ।

नियन्त्रणमा लिन नसकेको प्रनाउ कार्कीले जानकारी गराए । पछिल्नो समयमा जिल्ला भरीका दर्जनौ सामुदायिक वनमा डढेलो लागिरहेकाले वन क्षेत्र आसपासमा भएका बस्तीबासीलाई उच्च सतर्कता अपनाउन प्रनाउ कार्कीले आग्रह गरेका छन । चैत पहिलो सातादेखि अहिलेसम्म जिल्लाका ४० भन्दा बढी सामुदायिक वनमा डढेलो लागिसकेको र जसबाट ४ हजार बढी हेक्टर क्षेत्रमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *