तीन टुक्रा
१
केही मोटरसाइकल चालकहरू
कतै रोकिन मान्दैनन्
कुनाकाप्चा घुमाइ मोडाइ
अर्घेलो होस् वा जालझेल
कतै अड्न जान्दैनन्
अलि खुला जस्तो लागे
बाटो नै अधिकरण गर्छन्
छेउछाउका मुटु थर्काउने गरी
वायूलाई हाँक दिंदै बत्तिन्छन्
अबेर गर्न चाहँदैनन्
सुत्न लागेको देशलाई
उठाउन हो कि !
कठै तिनका जीवन !
२
परजीवी लहराहरू
टुप्पा नैं निहार्छन्
आश्रयदाताको,
आफ्नो शक्तिमा गर्व गर्दै
हराभरा चिल्ला पातहरू
आश्रयदाताको अवयव छेक्न
सधैं प्रयत्नशील हुन्छन्
झलक्क हेर्दा देखिन पुग्ने
आफ्नो शक्तिमा
मख्ख पर्छन् र
फुरफुर गर्छन्
कठै तिनका जीवन !
३
मैले खुट्टा नउठाए
आकाशले पृथ्वी थिच्छ
यो भुवन तहसनहस हुन्छ
जब हुट्टिट्याउँहरू त्यसैले
अँधेरोमा आकाश थाम्न
खुट्टा उठाएर सुत्छन्
र आकाशलाई रोकेको ठान्छन्
अनि बिउँझिदा आकाश
तर्सिएको मानेर
मख्ख पर्छन्
संसार जोगाएकोमा आँफैलाई
धन्यवाद भुक्छन्
र एउटा कथा कोर्छन्(
आकाश हुट्टिट्याउँहरूले नैं
रोकेका छन्
ती नभए आकाश रोक्ने
कसको बुता !
कठै तिनका जीवन !