सवारी दुर्घटना न्यूनीकरण गर्न सडकमै चालकको आँखा दाँतको जाँच

पूर्व-पश्चिम राजमार्गमा बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमै सवारी चालक तथा सहचालकको आँखा र दाँत जाँच गरेको छ।

प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया र वीरगञ्ज सामुदायिक आँखा अस्पतालको संयुक्त सहकार्यमा पूर्व-पश्चिम राजमार्गमा चल्ने निजी तथा सार्वजनिक सवारी साधनका चालक तथा सहचालकको सडकमै आँखा र दाँतको जाँच गरिएको हो।

जाँच शिविरमा चालक १११, सहचालक १७ र सर्वसाधारण २६ गरी १५४ जनाको निःशुल्क आँखा र दाँतको जाँच गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए।

जाँच गरिएका चालकमध्ये थोरैमा मात्र आँखासम्बन्धी समस्या देखिएको र धेरैमा अझै लाइटको कलर छुट्टयाउन सकिने तथा टाढासम्म हेर्न सकिने क्षमता रहेको पाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। यस्तै, दाँत जाँच गरिएका चालकमध्ये अधिकांशमा दाँतको समस्या देखिएको र पानपराग तथा गुटखा खाने गरेको पाइएको उनको भनाइ छ।लामो दूरीका सवारी चालकमा बाटोमै निदाउने, स्वास्थ्य बिग्रिने जस्ता समस्यासमेत पाइएकाले ती चालकलाई थप स्वास्थ्य उपचारका लागि सल्लाह दिइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।  रासस

IME Remittance