माया बुझ्ने सामर्थ्य चाहिन्छ

-सुनील कुमार पौड्याल

भारतले नेपाललाई अत्यन्तै माया गर्छ भन्ने कुरामा धेरै नेपालीहरू विश्वास गर्दैनन । नेपालीहरूले यस कुरालाई पटक्कै मनन गर्न सकेका छैनन ।  त्यसैले त वहुसंख्यक नेपालीहरू भारतसँग रूष्ट छन्‌ ।  क़ुरो नबुझे पछि के लाग्छ ? भारतको मायालाई नेपालका केही नेपाली नेता र केही आधा नेपाली आधा भारती नेताहरूबाहेक अरूले  यो कुरा बुझ्ने सामर्थ्य पनि राख्दैनन्‌। बुझेका हुनाले नैं उनीहरू बेलाबेला भन्ने गर्छन्‌ – नेपाल र भारत को रोटीबेटीको वा रोजीरो्टीको सम्बन्ध छ । अबुझहरूसँग उनीहरूको केही लाग्दैन ।

अब रोटीको बिषयमा कुरागर्दा साच्चै हो हामी रोटीमा उनीहरूमाथि निर्भर छौं । हामीहरूलाई दुःख नदिने उनीहरूको मनसाय बुझ्नतिर लागौं त !  नेपालीहरूलाई खेती गर्ने दुःख गर्न नपरोस् भनेर खेतीको बेलामा उनीहरूको पहुँच भएको ठाउँसम्म उनीहरूले जलमग्न गराएर खेती गर्नै नपर्ने गराइदिन्छ्न्‌ र त्यसैगरी सुख्खा याममा समेत खेतीको दुःख नपरोस्‌ भनेर पानीको थोपोसमेत चुहिन दिदैनन्‌ । बरू आनन्दले बसेर खाउन्‌ मित्रहरू भनेर आफ्ना जनताले दुःख गरेर उब्जाएको अन्नहरू हमीलाई पठाइदिन्छ्न्‌ । य़स्तो माया बिरलै पाइन्छ संसारमा ।

केही मानिसहरू यस्तो  अनुपम मायालाई पनि नबुझेर सित्तैमा दिने हुन्‌ र ? हामीले खनखन बिदेसी मुद्रा पोसेका छौं अनि पो अन्न दिन्छन्‌ भन्छन् । हामीले उनीहरूसँग जे लिए पनि सित्तैमा लिएका छौं र ! ती अबुझहरू देख्दा मलाई दया लाग्छ । आफ्नो संस्कार उनीहरूले कस्तो बिर्सिएको । हामी कसैसँग केही पनि सित्तैमा लिंदैनौं । यो हाम्रो पुरातन संस्कार अद्दापि कायमै छ नीं । इतिहास यस्को साक्षी छ । त्यसैले पो हामीले उनीहरूलाई भुक्तानी गरेको त । यस्तो कुरा पनि बिर्सिदिने ! बेटीको विषयमा चैं अहिले कु्रा नगरौं, पछि कतै कुरा गरौंला ।

कोही भन्छ्न्‌   “बरू हामीले उनीहरूलाई लगाएको गुन त संसारमा अरू कुनै मुलुकले लगाउन सक्दैन ।” यो भनाई त के रहेछ भन्दा हाम्रो पानीले करोडौं भारतीयको ज्यान, खेती अनि रोजगारी धानेको छ रे । अब यस्ता वाहियात कुरा गर्नेसँग के तर्क गर्नु, के विवाद गर्नु ! तरल पदार्थको चरित्र भनौं वा गुण ओरालोसंगै लाग्ने हैन र ? मानिस हो र त्यो जसरी होस उकालोतिर मात्र लाग्ने वा नजर दौडाउने ! आर्को शव्दमा भन्नुपर्दा तरल पदार्थ मानिस हो र उकालोलाई मात्र वास्ता गर्ने ? तरलले त तलतिरका माथि पो ध्यान दिन्छ । पृथ्वीले जगतलाई पालेको छु भनेर कहिले फुई लगाउँछ र । हामी किन बढी जान्ने हुने ? किन बेकारमा फुईं लगाउने ? दाताले बोल्नै पर्दैन । जगत जाहेर हुन्छ ।

त्यसैगरी कतिपय भन्छन्‌-भारतलाई हामीले धेरै कुरामा सहयोग गरेका छौं । बिप्रेषणको कुरा नैं गरौँ न । नेपालीहरूले भारतबाट नेपालमा पठाउने बिप्रेषण वार्षिक एक अरब डलर हो भने भारतीयले नेपालमा कमाएर भारत पठाउने बिप्रेषण वार्षिक तीन अरब डलर रहेको छ भनेर तिनीहरू फुईं लगाउँछन् । यसमा पनि मैले फुईं लगाउन पर्ने कुनै कारण देख्दिन । जसले जति सक्छ त्यसले त्यति गर्ने हैन र ! आफूँले पनि त बढी पठाउने जमर्को गर्नु पर्यो नीं ।आर्काको रीस गरेर मात्र हुन्छ त ?

यसलाई सहयोग गरेको भनेर डिङ फुक्नु कहाँसम्मको जायज हो त । कतिपय अरूहरू यस्ता कति कुरा गर्छन्‌ हामीले भारतलाई धेरै कुरामा सहयोग गरेकाछौं भनेर । भारतले हामीलाई माया गर्ने गरेको अरू प्रमाण पनि छन् । हामी फजूल खर्ची भएर स्वाहा पार्लाउँ भनेर उसले बेलाबेलामा आवश्यक सामान हामीकहाँ भित्रिनमा रोक लगाइदिन्छ र हाम्रो फजूल खर्चमा नियन्त्रण गर्छ । हाम्रो विषयमा यस्तो धेरै चिन्ता अरू कुन मित्रले गरेको छ ? बुढापाकाहरू भन्थे – लेखेर ल्याएको पाइन्छ, हो हामीले लेखेर ल्याएको रहेछ र त यति माया, याद विचार गर्ने मित्र पायौं । यो चानचुने कुरा हैन । यस्तो मित्रलाई समेत गाली गर्ने नेपालीहरूलाई के भन्नु? राम्ररी बुझ्नुछ भने तिनै नेपालका केही नेपाली नेता र केही आधा नेपाली आधा भारती नेताहरूसँग बुझे भैगो नीं ।

IME Remittance