अठोट: निलिमा पुन

रहरहरू सहिद बने तर म बाँचिरहे
खुशीहरू रोइरहे तर म हाँसीरहे
साथहरू टुटेपनि पाइलाहरु चालिरहे
तालहरू छुटेपनि एकनाश म नाचिरहे

पहाड बनेर विचारहरू मेरो सामु उभिरहे
पर्खाल बनेर आस्थाहरू धावा बोल्न तम्सिरहे
बाधक बनेर नियतहरू एकएक गर्दै आइरहे
हिम्मत गरेर अवरोधहरू निस्तेज पार्दै अघि बढे

अडिग बनेर योगदानहरू छातीभित्र खडा भए
किल्ला बनेर स्वाभिमानहरू सतिसाल बनिरहे
निर्दयी बनेर अप्ठ्याराहरू पछ्याउँदै आईरहे
धैर्य गरेर कठिनाईहरू सामना गर्दै अघि बढे

इतिहास बनेर पानाहरू दिनदिनै थपिरहे
समर्पणका भावनाहरू पानाभरि छरिरहे
विवशताका तानाशाहले शीर सधैं थिचिरहे
आँट गरेर नियमहरूलाई धक्का मार्दै अघि बढे

दृढ बनेर सँकल्पहरू एक ढिक्का बनिरहे
उचालिएका कदमहरू आफ्नै गतिमा हिडिरहे
स्वार्थी बनेर इच्छाहरूले अल्मलाउने कोशिश गरे
पत्थर बनेर चाहानाहरू वेवास्ता गर्दै अघि बढे

कुसंस्कारका घुम्टोहरू मुहार छोप्न खोजिरहे
व्यविचारका मुकुण्डोहरू झुठो आशा बाँडिरहे
वेथितीका श्रृङखलाहरू चाङ बनेर आइरहे
हिम्मत गरेर खुड्किलाहरू पार गर्दै अघि बढे

सत्य खोज्ने आँकुराहरू भित्रभित्र पलाइरहे
नियालेर हेर्दै जाँदा असत्यका बिज भेटिए
बिषाक्त ती बीजहरू नशा नशामा फैलिँदैगए
कठोर तपस्याले मात्रै आज त्यसबाट मुक्त भए

प्राण खोस्न मृत्यु पनि पटक पटक नजिक आए
कठिन घडीको बिचबाट जिउने शक्ति भरिरहे
आत्मसमर्पणका भावनाहरू जरैदेखि मेटिदिए
अठोट गरेर विपत्तिमा सँघर्ष गर्दै अघि बढे