नारायण शर्मा
हिन्दु नारीहरुको महान् पर्व हरितालिका (तीज) नजिकिएसँगै बजारमा तीज गीतहरुको बाढी चलिरहेको छ । समय र विज्ञान प्रविधिले ल्याएको परिवर्तनसँगै तिजका गीतहरुमा पनि काफी हदसम्म परिवर्तन आइरहेको छ । तिजका गीतहरुको आफ्नै विशेषता र मौलिकता रहेको हुन्छ । तर अहिले गितिबजारमा आएका प्रायः तीज गीतहरुले तिजको त्यो मौलिकता र विशेषतालाई बोक्न सकेको देखिंदैन । कतिपय गीतहरु त आमा, दिदीबहिनीहरुसँग सँगै बसेर हेर्न र सुन्न समेत नसकिने खालका आएका छन् । तिनलार्ई शायद तीज गति भन्दा पनि ‘रत्यौली गीत’ को संज्ञा दिनु उपयुक्त होला । प्रगतिशील सांस्कृतिककर्मीहरुले वर्षौं पहिलेदेखि तिजका गीतहरुलाई दुखी नारीहरुका भावना र पीडालाई उजागर गर्ने मात्र होइन ती दुःखबाट मुक्ति पाउने जुक्ति सिकाउने एक साधनका रुपमा प्रयोग गर्दै आइरहेका छन् । उनीहरुका गीतले नारी वर्गका पीडा मात्र होइन, देशको पीडा र समग्र गरिखाने वर्गका मान्छेहरुको पींडा बोल्दै आइरहेका छन् । प्रगतिशील गीत÷संगीतको क्षेत्रमा आफ्नो छुट्टै र विशेष पहिचान बनाउन सफल वरिष्ठ जनगायिका निलिमा पुनले यसपटकको तीजका लागि चेतनामूलक गीतहरुको संग्रह नै प्रकाशित गरेकी छिन् । जीवन शर्मा युटुव च्यानलबाट २० अगस्त २०२१ अर्थात् २०७८ भदौ ४ गतेका दिन “निलिमा पुनका तीज गीतहरु” सार्वजनिक भएको छ । संग्रहमा कुल ५ वटा गीतहरु समाविष्ट रहेका छन् । आखिर कस्ता छन् त ती गीतहरु ? यहाँ त्यही संग्रहमा समाविष्ट गीतहरुका बारेमा संक्षिप्तमा समिक्षात्मक टिप्पणी गर्ने प्रयास गरिने छ ।
(१) आउ मेरा संगी हो :
यस गीतमार्फत् जनगायिका निलिमा पुनले तिजलाई सभ्य र सुसंस्कृत रुपले मनाउन आह्वान गरेकी छिन् । तीजका बेलामा विशेष त नारीहरुमा गहना र महंगा कपडा प्रदर्शन गर्ने होडबाजी प्रति उनले यो गीतमार्फत् पूर्णत विमति जनाएकी छिन् ।
तिज आयो भन्छन् विकृति भित्राउँछन्
आऊ मेरा संगी हो सभ्यताको नियम बसालौं…
यस गीतमा तिजका नाममा भित्रिएका हरेक खाले विकृति र विसंगतिहरुको मसिनोसँग चिरफार गरिएको छ । दुःखी नारीहरु एकजुट भएर आफ्ना बेदनाहरु साटासाट गर्ने मात्र होइन नेपाली समाजलाई सभ्य र सुसंस्कृत बनाउने अभियानमा लाग्न यो गीतले उत्प्रेरित गरेको छ । हाम्रो आफ्नो मौलिक संस्कृतिलाई समयानुकुल परिस्कृत र परिमार्जन गर्दै लैजानु पर्ने, तर परिमार्जनका नाममा यसको मौलिकतालाई विर्सन नहुने कुरामा गीतमा जोड दिइएको छ । यस गीत मार्फत् जनगायिका निलिमा पुनले श्रृंगारका सामान र महंगा बस्त्रहरुले आफ्नो शरीर सिंगार्ने नभई देशलाई नै सिंगारेर राम्रो र सभ्य बनाउने काममा लाग्न सम्पूर्ण आमा, दिदी बहिनीहरुलाई आह्वान गरेकी छिन् । शब्द संगीत दुवै निलिमा पुनकै रहेको यो गीतमा स्वरमा उनलाई साथ विमा पुन, हरिमाया पुन र रुपा पुनले दिएका छन् । २०७४ सालको श्रावण महिनामा पहिलो पटक सार्वजनिक भएको यस गीतलाई जनगायिका पुनले अहिलेको आफ्नो संग्रहमा पहिलो नम्बर मै राखेर आफू तीजका नाममा भैरहेका विकृति र विसंगतिहरुको विरुद्धमा अहिले पनि सांगीतिक क्षेत्रबाट संघर्षरत रहेको प्रष्ट पारेकी छिन् ।
(२) फर्क फर्क है छरिएका जहान :
यो विशेषतः रोजगारीका लागि संसारका विभिन्न देशमा छरिन पुगेका प्रवासी नेपालीहरुलाई स्वदेश फर्किन आह्वान गरिएको तीज गीत हो । विदेशमा रहेका आफ्ना सन्तानहरुलाई स्वदेश फर्किन नेपाल आमाले गरेको आह्वान हो यो । जनगायक जीवन शर्माको शब्द र संगीत रहेको यस गीतमा निलिमा पुनलाई स्वरमा साथ विमा पुनले दिएकी छिन् । यो गीत अखिल नेपाल महिला संघले २०६९ सालको तिजको संघारमा प्रकाशित गरेको तिजका गीतहरुको एल्बममा समाविष्ट रहेको छ । यस गीतलाई अहिले आफ्नो तीजका गीतको संग्रहमा समावेश गरेर जनगायिका पुनले परदेशी नेपालीजनहरुलाई स्वदेश फर्किएर देश बचाउने अभियानमा लाग्न गरिएको आह्वानलाई प्राथमिकता दिएकी छिन् ।
गीतले त्यही भन्छ–नेपाल आमाको अस्तित्व यतिबेला गम्भीर संकटमा पर्दै गैरहेको छ । दक्षिणी दुष्ट छिमेकीले नेपाली भूमि मिचिरहेको छ । साँध सिमानाहरु सारिरहेको छ । नेपाल आमाको शरीरमा दुष्ट दक्षिणी छिमेकीका विस्तारवादी नंग्राहरु गाडिइरहेका छन् । आफ्नो अस्तित्व रक्षाका लागि नेपाल आमाले गुहार मागिरहेकी छिन् – आफ्ना सन्तानहरु सँग ! नेपाल आमाको त्यही आह्वान बोकेका छन् गीतका शब्दहरुले :–
विदेशीले हाम्रो देश थाल्यो हेर लैजान
कहिलेसम्म भाडा माझ्दै बस्छौ जापान
विदेशका गल्ली गल्ली कति छाड्छौ पसिना
आफ्नै देश बचाउन परो कसिन
आखिर यो देश नेपाल बच्न सक्यो भने मात्र हामी सबै नेपाली बनेर बाँच्न पाउने छौं । त्यसैले देशको अस्तित्व रक्षा हरेक नागरिकको पहिलो कर्तव्य र दायित्व हुन आउँछ । सधैभरि विदेशी भूमिमा पसिना बगाएर हामी दुुखियाको घर कहिल्यै गतिलो बन्न सक्ने छैन । त्यसकारण विदेशका गल्ली गल्लीहरुमा बगिरहेका ती नेपाली पसिनाहरु अब नेपाली माटोमै बग्नु पर्छ । नेपाली माटोले त्यो पसिना खोजिरहेको छ । देशको माटोलाई माया गर्ने नेपालीमनहरु त्यसरी विदेशी भूमिमा छरिन पुग्दा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता साँच्चै नै संकटमा परिरहेको छ । संकटको भुमरीमा फसेको नेपाली राष्ट्रियताको रक्षार्थ विदेशमा छरिएर रहेका प्रत्येक प्रवासी नेपालीहरु अब स्वदेश फर्किनु पर्छ । उनीहरुले नेपाल आमाको आह्वान सुन्नुपर्छ, मनन गर्नुपर्छ र आफ्नै देश फर्किएर देशको माटोको रक्षा गर्ने अभियानमा लाग्नु पर्छ । यस गीतले मूलतः त्यही सन्देश दिएको छ :–
फर्क फर्क हे छरिएका जहान
नेपाल आमाले गर्छिन आह्वान…
नेपाल आमाको यो मर्मस्पर्शी आह्वानलाई यसपटकको गीत संग्रहमा पनि समावेश गरेर जनगायिका निलिमा पुनले तीज पर्व मनाइरहँदा देशको राष्ट्रियता रक्षाको विषयलाई हामीले सधै प्राथमिकतामा राख्नुपर्ने सन्देश प्रवाह गरेकी छिन् ।
(३) वर्ष दिनको तीज पनि :
पछिल्लो समयमा बैदेशिक रोजगारीमा जाने नेपाली चेलीहरुको संख्या पनि निकै ठूलो छ । कामको खोजीमा विदेशी भूमिमा पुगेका नेपाली चेलीहरुका पींडा झनै कहालीलाग्दा र दर्दनाक रहेका छन् । यो गीत मूलतः त्यही विषयमाथि केन्द्रित रहेर लेखिएको छ । राम्रो कामको प्रलोभन देखाएर कैयौं नेपाली चेलीहरुलाई दलालहरुले विदेशका कोठीहरुभित्र पु¥याएका छन् । स्वतन्त्रतापूर्वक बाँच्ने र अथाह धन कमाउने अभिलाषा बोकेका कैयौं चेलीहरु विदेशका जेलहरुमा समेत बस्न बाध्य भैरहेका छन् । विदेशी भूमिमा काम गर्नुपर्दाका नेपाली चेलीहरुका समस्याहरु साँच्चै निकै करुणादायी खालका छन् । विरानो भूूमि, विरानो भाषा, विराना मान्छे, त्यहाँ एकप्रकारले उनीहरुको जीवन नरकीय खालको नै रहने गर्छ । भारत, युएई र जापान लगायतका विदेशी भूमिमा पुगेर त्यहाँ नेपाली चेलीहरुले काम गर्ने सिलसिलामा पाएका दुःखलाई नजिकबाट बुझेपछि जनगायिका निलिमा पुनले २०७६ सालको साउन महिनामा यो गीत लेखेकी थिइन् । त्यो वर्षको तिजमा स्वदेश र विदेशका विभिन्न भागहरुमा यो गीत निकै घन्किएको थियो ः
कोही पुग्छन् कोठीभित्र कोही पर्छन जेलमा
बन्दी बनि बित्छ जीवन आँशु भेलमा….
काम खोज्दै दिदीबहिनी परदेश नधाउनु
जति दुःख परे पनि देशमै रमाउनु…
यसरी यो गीत मार्फत् जनगायिका निलिमा पुनले नेपाली चेलीहरुलाई बैदेशिक रोजगारीतर्फ लालायित नहुन अपिल गरेकी छिन् । जति दुःख परे पनि आफ्नो देश भनेको आफ्नै हो । हो, यहाँ पनि नारी जाति माथि विभेद र दमन चर्को छ । असामनताको खाडल यहाँ पनि गहिरो छ । विहानदेखि रातीसम्म सबैभन्दा बढी काम गर्नुपर्ने महिलाले नै अनि तिनै महिलालाई दोस्रो दर्जाको नागरिक ठान्छ हाम्रो पितृसत्तात्मक सामन्ती सोंचको समाजले । तर त्यो विभेद र असमानताका विरुद्धको लडाई यहाँ पनि जारी छ –वर्षौं पहिलेदेखि । सबै आमा दिदी बहिनीहरु विभेद र असमानतापूर्ण नीतिका विरुद्ध यही स्वदेश मै बसेर जुध्नु पर्दछ । समानतामूलक समाज, जहाँ नारी र पुरुषका बीचमा त्यस्तो कुनै विभेद नहोस्, समाज र राज्यका प्रत्येक क्षेत्रमा ‘नारी पुरुष बराबरी’ को सिद्धान्त लागु होस् –त्यस्तो समाज निर्माणको दिशामा स्वदेशमै रहेर हामीले योगदान पु¥याउनुपर्छ । विदेशी भूमिमा सुख खोज्ने रहरमा दुःख मात्र पाइने छ । धनको केही सुख त प्राप्त होला तर आफ्ना जहान लालावालाहरुको त्यो मिठो माया, त्यो आत्मीयपन, त्यो हार्दिकता, त्यो मनको सुख विदेशी भूमिमा कहिल्यै प्राप्त हुन सक्ने छैन । घरका जहानलाई प्रत्येक पलहरुमा सम्झी सम्झी मन तड्पिने छ । त्यसैले कोही पनि दिदीबहिनीले विदेशी भूमिमा पुगेर काम गर्ने सपना नपाल्नु । बरु, देशभित्रै, आफ्नै गाउँ समाजमा रहेर विभेदकारी नीति र थितिका विरुद्धमा आवाज उठाउनु । यो गीतले मुख्यतः त्यही सन्देश दिएको छ । शब्द र संगीत निलिमा पुनकै रहेको यस गतिमा निलिमा पुनलाई स्वरमा साथ विमा पुन र सुकमाया बुढाथोकीले दिएका छन् । अहिले यो गिती संग्रहमा यो गीतलाई पनि समेटेर जनगायिका पुनले बैदेशिक रोजगारीप्रति आकर्षित भैरहेका नेपाली चेलीहरुलाई सचेत र सजग रहन राम्रो सन्देश प्रवाह गरेकी छिन् ।
(४) इतिहासको पानामा बिरताको गाथा :
आज हामी जुन देशमा नेपाली बनेर सगौरव बाँचिरहेका छौं–यो देश सानो दुःखले बनेको होइन । यो देश निर्माणमा हाम्रा वीर पुर्खाहरुको अमूल्य योगदान रहेको छ । अत्याधुनिक हतियारले सुसज्जित अग्रेज सेनाहरुसँग खुँडा तरवार बोकेर लडेका थिए हाम्रा वीर पुर्खाहरु । कोखिलामा नानी बोकेर, दुश्मनले पानीको मुहान थुनिदिंदा पानी समेत नपिई लडेका थिए नालापानीमा हाम्रा वीर पूर्खाहरु । विशाल भारतलाई समेत आफ्नो गुलाम बनाएको ब्रिटिस साम्राज्यवादले नेपाली जनताको वीरतापूर्ण लडाई सामु झुक्नु परेको थियो । नेपालको सिमा अहिलेको मेची–महाकालीसम्म मात्र होइन पूर्व टिस्टा र पश्चिम काँगडासम्म फैलाएका थिए हाम्रा वीर पुर्खाहरुले । बलभद्र कुँवर, अमरसिंह थापा र कर्णेल उजिरसिंह थापाहरुको वीरताको गाथा इतिहासको पानामा स्वर्णीम अक्षरहरुले कोरिने छन् । युगौं युगसम्म बाँचिरहने छन् नेपाल आमाका ती वीर सपुतहरु ।
जनगायिका निलिमा पुनको यस गीतमा देश निर्माणमा अमूल्य योगदान दिने तिनै वीर पूूर्खाहरुको वीरताको गाथा कोरिएको छ । वीर पूर्खाहरुले आर्जेको त्यो विशाल भूूमि नेपाल पछिका नालायक शासकहरुका कारण केही खैचिन पुग्यो । गीतमा गुमेका ती नेपाली भूमि फिर्ता लिन अघि बढ्न आह्वान गरिएको छ :
इतिहासको पानामा वीरताको गाथा
रंगीन मसिले लेख्छु वरिलै
पूर्वको टिस्टा पश्चिमको काँगडा
पुगेको सपना देख्छु बरिलै…
देशको लागि बलिदान दिन
आह्वान गर्दै हिंड्छु बरिलै
चन्द्र र सूर्य शिरमा राखी
गुमेको माटो लिन्छु बरिलै
गीतमा वीर पूर्खाको त्यो गौरवपूर्ण इतिहासलाई आत्मसाथ गर्दै अघि बढ्न आह्वान गरिएको छ । देशको माटो प्रतिको आफ्नो उत्तरदायित्व बिर्सन थालेको नयाँ पुस्तालाई यो गीत मार्फत् जनगायिका निलिमा पुनले देश र समाजप्रतिको आफ्नो कर्तव्य सम्झाउन खोजेकी छिन् । २०७४ सालको साउन महिनामा लेखिएको यस गीतमा पनि शब्द÷संगीत दुवै जनगायिका निलिमा पुनकै रहेको छ । विमा पुन, रुपमा पुन र हरिमाया पुनले यस गीतमा निलिमा पुनलाई स्वरमा साथ दिएका छन् । यस गीत मार्फत् निलिमा पुनले वीर पूर्खाले देखाएको त्यो गौरवपूर्ण मार्गमा अघि बढ्न देश विदेशमा रहेका नेपालीजनहरुलाई जगाउनका निम्ति आफूू निरन्तर लागि परिरहने प्रण गरेकी छिन् ।
(५) गाउँ गाउँमा अधिकार:–
यस गीतमार्फत् जनगायिका निलिमा पुनले राजनैतिक पार्टी र त्यसका नेताहरुको बोली र व्यवहार बीचमा देखिएको आकास जमिनको अन्तरलाई खुलस्त गरेकी छिन् । देशमा धेरै पटक राजनैतिक आन्दोलनहरु भए । नेता र पार्टीहरुको कुरामा विश्वास गरेर जनता सागर बनेर सडकमा उलिए । त्यही जनसागरको भेलले २४० वर्षसम्म नेपाली जनतालाई रैती बनाइरहेको निरंकुश राजतन्त्रलाई बढारेर लग्यो । देशमा व्यवस्था नै बदलियो । राजतन्त्र गयो, गणतन्त्र आयो । देशमा गणतन्त्र स्थापना भएको पनि झण्डै डेढ दशक बितिसकेको छ । तर नेपाली जनताले त्यो गणतन्त्रको व्यवहारिक अनुभूति अझै पनि गर्न पाएको अवस्था छैन । पार्टी नेताहरुले भाषणमा त समानता र सुशासनको निकै चर्को कुरा गर्छन्, तर व्यवहारमा असमानता र विभेदको खाडल झनै गहिरिंदै गएको छ । नेताहरुको कुरा जस्तो व्यवहार छैन । पार्टी र नेताहरुको बोली र व्यवहार बीचको त्यही यथार्थ अन्तरलाई हुबहुु रुपमा बोलेका छन् गीतका शब्दहरुलेः
गाउँगाउँमा अधिकार आयो भन्छन् नेताले
कसले पायो अधिकार भन जनताले
घरघरमा खुशी छायो भन्छन् हेर नेताले
झुपडीको हाल के छ भन जनताले …
हो, अहिले पनि नेपाली दिन दुःखीको अवस्था उस्तै छ । झुपडी र बुकुरोमा आशाको दिप अझै जल्न सकेको छैन ।परिवर्तनको व्यवहारिक अनुभूति उनीहरुले आफ्नो जीवनमा गर्न पाइरहेका छैनन् । जनताका लागि त मात्र कुर्सीमा बसेर शासन गर्ने मान्छे फेरिएका छन् । उनीहरुका दुःख फेरिएका छैनन् । अनियमितता, भ्रष्टाचार, दण्डहीनता झनै मौलाएर गएका छन् । अधिकार, श्रमगरी खाने जनतामा होइन, केही सीमित टाठाबाठा व्यक्तिहरुका बीचमा मात्र पुगेको छ । जुन सपना बोकेर जनता राजतन्त्र विरोधी आन्दोलनमा होमिएका थिए–त्यो सपना अझै पूरा भएको छैन । महंगी बढिरहेकै छ । शान्ति सुरक्षाको अवस्था दयनीय छ । विभेदकारी काला कानुनका पाना अझै च्यातिएका छैनन् । यसको अर्थ देशमा केही परिवर्तन नै भएको छैन भन्ने होइन, पहिले भन्दा अहिले केही परिवर्तन अवश्य भएको छ । तर जनताले व्यवहारमै महशुुस गर्न सक्ने गरी परिवर्तनको आभास अझै पनि नेता र पार्टीहरुले दिन सकिरहेका छैनन् । मात्रात्मक परिवर्तन त भयो तर गुणात्मक परिवर्तन अझै पनि हुन सकिरहेको छैन । गुणात्मक परिवर्तनको जनचाहना पूरा गर्न देशमा फेरि अर्को नयाँ क्रान्तिको आवश्यकता देखिन्छ । त्यही जनचाहनाको परिवर्तनको अभियानलाई सहयोग पु¥याउने उद्देश्यबाट यो गीत आएको देखिन्छ । २०७५ असारमा लेखिएको यो गीत त्यतिबेला पनि निकै चर्चित बनेको थियो । शब्द÷संगति निलिमा पुनकै रहेको यस गीतमा निलिमा पुनलाई स्वरमा साथ विमा पुनले दिएकी छिन् । त्यतिबेला र अहिले पनि पार्र्टी र नेताहरुको बोली र व्यवहार बीचको अन्तर उस्तै उस्तै छ । पार्टी र नेताहरु अहिले पनि जनतालाई सपना बाँड्न मै व्यस्त छन् ।
कसैले सुख, शान्ति, विकास र समृद्धिको सपना बाँडेर देशमा कुशासन चलाइरहेका छन् । कसैले क्रान्तिको सपना बाँडेर आफै प्रतिक्रान्तिको बाटो पछ्याइरहेका छन् । क्रान्तिकारी नीति सिद्धान्तको सपना देखाएर आफै दक्षिणपन्थी बाटो समाउने नेता र पार्टीहरुको पनि कुनै कमी छैन यहाँ । नेता र पार्टीहरुमा देखिएको त्यही भनाई र गराई बीचको अन्तर प्रष्ट रुपमा बोलेका छन् गीतका शब्दहरुले । नेता र पार्टीहरुले आफ्नो व्यवहारमा सुधार ल्याउन सकेनन् भने जनताले चाहे जस्तो नयाँ नेपाल पक्कै पनि बन्न सक्ने छैन । साँच्चै नै नयाँ नेपाल निर्माण गर्ने हो भने नेताहरुले बोली र नीति अनुरुपको व्यवहार अपनाउनुपर्छ । कुरा गरेर होइन, काम गरेर देखाउन सक्नुपर्छ नेताहरुले – अनि मात्र बन्न सक्ने छ नयाँ नेपाल, गीतले मूलरुपमा त्यही सन्देश दिएको छ ।
निष्कर्ष :
निष्कर्षमा भन्नुपर्दा “निलिमा पुनका तीज गीतहरु” भित्र समेटिएका ५ वटै गीतहरु चेतनामूलक, सन्देशमूलक र उर्जाशील खालका छन् । सबै गीतहरुले उठाएका विषयवस्तु निकै गम्भीर खालका छन् । यी गीतहरुले निश्चय पनि समता र समानतामूलक समाज निर्माणको अभियानलाई उर्जा दिने छन् र मद्दत पु¥याउने छन् । सबै गीतहरुको संगीत पनि उस्तै मिठासपूर्ण छ । विकृति र विसंगतिलाई प्रश्रय िदने खालका तीज गीतहरुको विगविगी चलिरहेको वर्तमान सांगीतिक बजारमा यसप्रकारका चेतनामूलक गीतहरुले व्यवसायिक सफलता नदिन सक्छन् । तर त्यसबाट जनगायिका पुन रत्तिभर पनि आत्तिने छैनन् । यस्ता गीतहरुको तुलना ती अन्य कुनै पनि व्यवसायिक गीतहरुसँग हुुन सक्दैन । यी गीतहरुको छुट्टै विशेष अर्थ र महत्व रहेको हुन्छ । यी वास्तविक जनताका गीत हुन । आगामी दिनमा पनि जनतामा सचेतना जगाउने यस्तै गीतहरुले निरन्तरता पाइराखुन । यो गीत संग्रहको मात्र होइन, जनगायिका निलिमा पुनलाई समग्र जनसंगीत यात्राको सफलताका लागि हार्दिक शुभकामना । छमछमी नाँच्न मिल्छ यस संग्रहमा समेटिएका ती सबै गीतहरुमा । यसपालिको गीतमा यिनै गीतहरु धन्कीउन । जताततै आमा, दिदीबहिनीहरु यिनै र यस्तै प्रगतिशील, चेतनामूलक गीतहरुमा नाँचुन । सबै आमा दिदी बहिनीहरुलाई तीज पर्वको हार्दिक शुभकामना ।
(अब जीवन शर्मा युटुव च्यानलमा गएर सुनौं र हेरौं चेतनामूलक, सन्देशमूलक र उर्जाशील “निलिमा पुनका तीज गीतहरु ।”)