सन्दर्भ गणतन्त्र दिवस : छेकेर छेकिन्न इतिहासको पाङ्ग्रा

नारायण शर्मा

गणतन्त्र दिवस । आजभन्दा १३ बर्ष अगाडि २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले जनआन्दोलन २०६२÷६३ मा नेपाली जनताले अभिव्यक्त गरेको भावनाअनुरुप नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरेको थियो । त्यही दिनबाट नै नेपालमा २३८ बर्षसम्म नेपाली जनतालाई दास बनाइरहेको  राजतन्त्र औपचारिक रुपमा हटेको थियो । गणतन्त्र देशमा सजिलै स्थापित भएको ब्यवस्था होइन । यसका पछाडि नेपाली जनताको बलिदानीपूर्ण संघर्षको लामो शृङ्खला रहेको छ । किसान, मजदुर, विद्यार्थी, महिला, पत्रकार, कलाकार हरेक तह र तप्काका जनताको गणतन्त्र प्राप्तिको आन्दोलनमा  अमूल्य  योगदान रहेको छ ।

सबैको एकीकृत प्रयासबाट मात्र देशमा गणतन्त्रको उदय हुन सकेको हो । गणतन्त्र  प्राप्तिको यो आन्दोलनमा कैयौं बाबाआमाहरुले आफ्ना सन्तान गुमाएका छन् । कैयौ चेलीहरुका सिन्दुर पुछिएका छन् । कोख रित्तिएका छन् । कैयौं सन्तानहरुले आफ्ना अभिभावक गुमाएका छन् । तिनै महान शहीदहरुको महान बलिदानीबाट नै देशमा गणतन्त्रको स्थापना भएको हो । १४औं गणतन्त्र दिवसको यस अवसरमा प्रथमतः गणतन्त्र प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गर्ने ज्ञात अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धासुमन !

देशमा गणतन्त्र ल्याउनका लागि प्रगतिशील साँस्कृतिककर्मीहरुले बर्षौं पहिलेदेखि  गीत, सङ्गीत र आफ्नो कलाको माध्यमबाट जनचेतना जगाउँदै हिँडेका थिए । देशमा तानाशाही राजतन्त्रको कालो शासन चलेका बेला जनसङ्गीतको यात्रालाई अघि बढाउनु कम चुनौतीपूर्ण थिएन । तर, ती सारा तगाराहरुलाई पन्छाउँदै प्रगतिशील साँस्कृतिककर्मीहरु अघि बढिरहेका थिए । जनतालाई भोलिको गणतान्त्रिक नेपालको तस्बीर बुझाउँदै आन्दोलनमा लामबद्ध पार्न ती साँस्कृतिककर्मीहरुका गीत र सङ्गीतले ठूलो मद्दत पुराएका थिए । जनतालाई त्यसरी गणतन्त्र प्राप्तिको आन्दोलनमा लामबद्ध पार्न आव्हान गरिएको एउटा सशक्त गीत हो– छेकेर छेकिन्न इतिहासको पाङ्ग्रा बोलको गीत ।

सुनौलो नेपालको सपना छ हाम्रो
नौलो जनक्रान्तिको बाटो छ राम्रो
बिघ्न र बाधा पन्छाउँदै तगारा
जनताको राज ल्याउन उठ सर्वहारा
छेकेर छेकिन्न इतिहासको पाङ्ग्रा
बढ्छ अघि चल्छ निरन्तर
रोकेर रोकिन्न जनताको आँधी
चल्छ हुरी आउँछ वसन्त… 

इतिहासको गतिलाई कसैले पछाडि फर्काउने दुःसाहस गर्छ भने त्यो उसको सबै भन्दा ठूलो मुर्खता हो । परिवर्तनको नियमलाई यहाँ कसैले पनि रोक्न सक्दैन । गरिब, किसान, मजदूर सबै मिलेर उठ्यौ भने हामीले देशमा जनताको राज ल्याउन सक्नेछौ । सुनौलो नेपालको निर्माण गर्न सक्नेछौ । त्यसका लागि जनता जुट्नुपर्छ, उठ्नुपर्छ, आन्दोलनमा लामबद्ध हुनुपर्छ । त्यही भाव बोकेको थियो यो गीतले । जनगायक जीवन शर्माको शब्द र सङ्गीतमा रहेको यो गीत रक्तिम परिवारको जनगीतियात्रा भाग– १२ मा समाबिष्ट रहेको छ । उक्त क्यासेटमा यो गीत जनगायक शर्मा, निलिमा पुन, लक्ष्मी गुरुङ, थुमराज ढुङ्गाना र बोम सिंजापतिको स्वरमा रहेको छ । ‘त्यस्तै २०६० सालको सेरोफेरोमा यो गीतको रचना गरिएको थियो । त्यतिबेला हामीले देश विदेशका साँस्कृतिक अभियानहरुमा यो गीत प्रायः छुटाउँदैनथ्यौं’, जनगायक शर्माले गीतको रचनाकाल स्मरण गर्दै भन्छन् ‘त्यति बेला जनतालाई राजतन्त्र बिरुद्धको आन्दोलनमा लामबद्ध पार्न यसप्रकारका गीतले  निकै मद्दत पुराएका थिए ।’

गीतले प्रस्टरुपमा राजतन्त्र फालेर देशमा गणतन्त्र स्थापना गर्न आव्हान गरेको थियो ः
हुँदैन शान्ति सामन्तलाई पालेर
नयाँ युग ल्याउनु छ नयाँ ज्योति बालेर
भत्काउँदै भत्काउँदै दुश्मनका किल्ला
उठ राजधानी जुट जिल्ला जिल्ला
छेकेर छेकिन्न…

देशमा राजतन्त्र रहुन्जेल सुख र शान्ति हुन सक्दैनथ्यो । यदि साँच्चै नै शान्ति  चाहने हो भने नेपाली जनताले अलिकति रगत र पसिना बगाउनै पर्दछ– राजतन्त्र  फाल्नका लागि । गणतन्त्रको नयाँ युग ल्याउनु पर्दछ राजतन्त्र फालेर । राजतन्त्रले  खडा गरेका हरेक किल्लाहरु भत्काउँदै भत्काउँदै जानु पर्दछ । जनता यसरी आँधीहुरी बनेर अगाडि बढे भने शक्तिशाली भनिएका बादशाहहरु पनि जनताको त्यो शक्तिसामु झुक्न बाध्य हुनेछन् । गीतले त्यही सन्देश दिएको थियो ।

गीतमा भनिएजस्तै नेपाली जनता गणतन्त्र प्राप्तिको आन्दोलनको अगाडि बढे पनि । जनता सडकमा सागर बनेर उर्लिए जनआन्दोलन २०६२÷६३ मा । पार्टीहरुले त निरङ्कुश राजतन्त्रका बिरुद्धमा मात्र आन्दोलनको आव्हान गरेका थिए । तर जनसागर सडकमा उर्लिएर कुनै पनि प्रकारको राजतन्त्र आफूहरुका लागि स्वीकार्य नभएको प्रष्ट उदघोष गर्यो । जनताको त्यो भावनालाई अन्ततः पार्टीहरुले पनि मान्न बाध्य भए । जनताको त्यो अपार शक्तिसामु आखिर सामन्तको नाइके राजतन्त्र घुँडा टेक्न बाध्य भयो । देशमा गणतन्त्र आयो ।

यतिबेला गणतन्त्र स्थापनाको १३ बर्ष पूरा भएको छ । गणतन्त्र प्राप्तिको आन्दोलनको नेतृत्व गरेका पार्टीहरु पालैपालो सत्तासीन हुँदै आएका छन् । तर देशमा सोचेजस्तो परिवर्तन भने अझै हुनसकेको छैन । जनताको सुनौलो नेपालको चाहना अझै पनि अधुरै रहेको छ । जनआन्दोलनको मूलमर्म र भावनालाइ बिर्सिएर पार्टीहरु सत्ता छिनाझप्टीको फोहोरी खेलमा केन्द्रित हुन थाले । महङ्गी, भ्रष्टाचार, अनियमितता, अराजकता, दण्डहीनता बढ्दै बढ्दै जान थाल््यो । देशको राष्ट्रियता दिनप्रतिदिन कमजोर बन्दै जान थाल्यो ।

गणतन्त्रबादी दलहरुको तिनै कमजोरीहरुमाथि टेक्दै प्रतिगामी शक्तिहरुले चिहानघारीबाट आफ्नो फणा बिउँताउने प्रयास गरिरहेका छन् । तर प्रतिगामी शक्तिहरुको त्यो सपना भने कदापि पूरा हुने छैन । किनकि इतिहास कहिल्यै पनि पछाडि फर्कने गर्दैन । हामीले विश्वास गर्नुपर्छ– जनताले इतिहासलाई पछाडि फर्कन दिने छैनन् । बरु झनै अगाडि बढाउने छन्– जनगणतन्त्रको दिशातर्फ । हो, गणतान्त्रिककालको यो १२ बर्षको अवधिमा जनताले चाहेजस्तो शासन चल्न सकेको छैन । तर केही भएकै छैन भन्ने पनि साँचो होइन । कैयौं महत्वपूर्ण ऐतिहासिक कामहरु पनि यो अवधिमा भएका छन् । भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभाग समेटेर नेपालको नया नक्सा जारी भएको छ । नेपालको राष्ट्रियताको रक्षाको आन्दोलनमा यो निकै ठूलो उपलब्धि हो । जङ्गबहादुर राणापछि राष्ट्रियताको सवालमा यस्तो साहसिक काम अरु कुनै नेपाली शासकले गर्न सकेका थिएनन् । तर अहिलेको सरकारले गरेको छ । यस्तै उत्तरी छिमेकी चीनसङ्ग पारवहन सन्धि भएको छ । जनताले चुनेर गएका प्रतिनिधिहरुबाट नेपालको संविधान लेखिएको छ । विकास निर्माणका कामले पनि पहिले भन्दा केही गति लिएकै छन् । त्यसैले केही नेता र पार्टीहरुको कमजोरी र गलत नीतिहरुलाई उछालेर  गणतन्त्रलाई नै उल्टाई देशलाई प्रतिगामी दिशातर्फ लैजाने सोंच कसैले पालेको छ भने त्यो उसको दिवास्वप्न मात्र हुनेछ ।

नेपाली जनताले त्यो सपना कदापि पूरा हुन दिने छैनन् । गणतन्त्रलाई बदनाम गराउने पार्टी र नेताका गलत क्रियाकलापको सशक्त बिरोध गर्दै आफूले महान बलिदानी दिएर प्राप्त गरेको गणतन्त्रको रक्षाका लागि जनता सतिसाल भएर अवश्य उभिने छन् । यही विश्वासका साथ हुनुपर्छ जनगायक जीवन शर्माले  गणतन्त्र प्राप्तिको आन्दोलनमा घन्काएको त्यही गीतलाई सामान्य परिमार्जनसहित अहिले फेरि जनसमक्ष ल्याएका छन् । लकडाउनकै यही अवधिमा हार्मोनियम र सामान्य बाजासित उनले फेरि त्यही गीत गाएका छन् । उनलाई स्वरमा साथ जनगायिका निलिमा पुनले दिएकी छन् । गीतलाई छायांकन अनु आचार्यले गरेकी छन् । छेउँमा उभिएर स्वरमा साथ दिने प्रयास मैले पनि गरेको छु । प्रतिगामी शक्तिहरुलाई चुनौती दिँदै पुन गाइएको यो गीत ‘एक्स्ट्रा नेपाल’ नामक युट्युब च्यानलबाट  सार्बजनिक भएको छ ।

अब सुनौं गणतन्त्र दिवसलाई जनगायक जीवन शर्माको उपहारको रुपमा आएको त्यही गीत ः छेकेर छेकिन्न इतिहासको पाङ्ग्रा, बढ्छ अघि चल्छ निरन्तर… ।

भिडियो

IME Remittance