दिपेश आचार्य, काठमाडौँ ।
देशका वरिष्ठ जनसङ्गीतकर्मीहरू सहित जनवादी कलाकारहरूले संचालन गरेको “राष्ट्र«का लागि सङ्गीत अभियात्रा” कार्यक्रम समापन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल“प्रचण्ड”, पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल र माधव नेपाल, नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपाली र नेकपाका महासचिव नेत्रबहादुर चन्द “विप्लव” सहितका वाम आन्दोलनका शीर्ष नेताहरूको उपस्थिति बीच २०८० वैशाख २५ गते प्रज्ञा भवन कमलादी काठमाडौँमा भव्य “जनसाङ्गीतिक प्रस्तुति” सम्पन्न गर्दै अभियानको समापन गरिएको हो । अभियानको अन्तिम कार्यक्रममा जनगायक जीवन शर्माको गीतमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेकपाका महासचिव विप्लव, पूर्व सभामुख कृष्णबहादुर महरा, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँती लगायतका अतिथि मञ्चमै पुगेर छमछमी नाँच्न पुगे ।
कार्यक्रममा वरिष्ठ जनगायक जीवन शर्माले “रातो लालटिन”, “म हिंडेको गाउँको”, “चाहिंदैन मलाई” र “सिमली छायाँमा बसी” बोलका गरी जम्मा चार गीत प्रस्तुत गरेका थिए । शर्माका सबै प्रस्तुति सशक्त र निकै आर्कषक रहेका थिए । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डको भ्रष्टाचारमा विभिन्न पार्टीका नेता र सरकारी उच्च पदस्थ अधिकारीहरूलाई पक्राउ पुर्जी जारी भैरहेको वर्तमान परिप्रेक्ष्यमा शर्माको “चाहिंदैन मलाई सिसाको महल”बोलको गीत निकै समसामयिक देखिएको थियो । शर्माले मञ्चबाट यो गीत प्रस्तुत गरिहँदा दर्शक दीर्घाले ताली बजाएर साथ दिएको थियो । रक्तिमको कालजयी सदावहार गीत शर्माले प्रस्तुत गर्दा त पूर्व प्रधानमन्त्री, मन्त्री, सभामुखदेखि वर्तमान मन्त्रीसम्म मञ्चमै पुगेर नाँच्न पुगेका थिए । नेताहरू मात्र होइन मञ्चबाट जीवन शर्माले उक्त गीत प्रस्तुत गरिरहँदा दर्शक दीर्घा पूरै नाँचेर साथ दिएको थियो ।
कार्यक्रममा अर्को आकर्षण– रक्तिमका अध्यक्ष नारायण शर्मा र कोषाध्यक्ष डम्मर भण्डारीको अभिनय रह्यो । शर्मा र भण्डारीले कार्यक्रममा जनगायक जीवन शर्माको शब्द र सङ्गीतमा रहेको गिती नाटक “पुजा” को “घरबाट आयौँ”बोलको गीतमा अभिनय प्रस्तुत गरेका थिए । शर्मा र भण्डारीले उक्त गीतमा अभिनय प्रस्तुत गरिरहँदा दर्शक दीर्घाको अग्रभागमा बसिरहेका प्रधानमन्त्री प्रचण्ड, नेकपा महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पूर्व सभामुख महरा लगायत निकै भावुक भएको देखिन्थ्यो । यो अभिनयले दर्शक दीर्घालाई कतिबेला रोमाञ्चित, कतिबेला भावुक र कतिबेला निकै उत्साहित पारेको देखिन्थ्यो । शर्मा र भण्डारीले उक्त गीतमा बाहेक “उठ किसान मजदुर हो” बोलको गीतमा पनि जनकलाकार अनु शर्मा र आकृति भण्डारीसँगै अभियन समेत प्रस्तुत गरेका थिए । यो गीतको नृत्य र अभिनय समेत कार्यक्रममा निकै प्रभावकारी देखिएको थियो । कार्यक्रममा रक्तिमकी उपाध्यक्ष वरिष्ठ जनगायिका निलिमा पुन र महासचिव जनगायक लक्ष्मी रिजालले संयुक्त स्वरमा चिनियाँ साहित्यकार लुसुनको कवितामा आधारित जनगायक जीवन शर्माले बनाउनु भएको “यो संसारमा जन्मिएर मैले” बोलको गीत प्रस्तुत गरेका थिए । रक्तिमकै नव जनगायिका अनु शर्माले कार्यक्रममा लाली गुराँस “फुल्यो बनैमा” बोलको राष्ट्रिय भावको गीत प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा वरिष्ठ जनगायक माधव प्रधानले “धेरै नै टाढा छ हामी जाने ठाउँ” बोलको गीत, वरिष्ठ जनगायक उदय श्रेष्ठले “पहाडका कुरा भए, मधेशका कुरा” बोलको गीत र अर्का वरिष्ठ जनगायक ओम श्रेष्ठले “देश जनताको नाम हो” बोलको गीत प्रस्तुत गरेका थिए । जनगायक कर्ण गौतम“विद्रोही” ले वरिष्ठ जनगीतकार मणि थापाद्वारा रचित “ए राज्य भन तिमीले बोलको गीत, चिरन सि र नारायण दङ्गालले “तिमीलाई खोज्दै” बोलको गीत, प्रगति महरा र मोहित श्रेष्ठले “कहिले हिउँचुली” को बोलको गीत, कुस्मिता दर्लामी र केशर कालीकोटेले “क्रान्ति” बोलको गीत र केशरी घर्ती एलिना र लक्षमण पाख्रिनले “जनताको काखैमा” बोलकोगीत संयुक्त स्वरमा प्रस्तुत गरेका थिए । कार्यक्रममा जनगायिका निशा बुढामगर “रेश्मी” ले “विदेशी गल्ली गल्लीमा” बोलको गीत र जनकलाकार सन्ध्या मगर र कविता पुनले “भुरुरु उडि जाने चरि” बोलको गीतमा सुन्दर नृत्य प्रस्तुत गरेका थिए । “आऊ मिलाऊ हाम्रा हातहरू”, “टुटफुट खण्डित कुरा नगर” र “यो हो हाम्रो रातो लालटिन” बोलका गीतहरू सम्पूर्ण जनकलाकारहरूको उपस्थितिमा सामूहिक रुपमा प्रस्तुत गरिएको थियो । कार्यक्रमका सबै प्रस्तुतिहरू निकै आकर्षक र प्रभावकारी रहेका थिए ।
सङ्गीत अभियात्राले २०७९ चैत्र ४ गते धनगढीबाट “राष्ट्र«का लागि सङ्गीत अभियात्रा” शुरु गरेको थियो । विभिन्न वाम पार्टीमा आबद्ध रहेका वरिष्ठ जनसङ्गीतकर्मीदेखि उदीयमान जनगायक गायिकाहरूको सहभागिता रहेको थियो । यो अभियान मार्फत् जनकलाकारहरूले राष्ट्रियताको सन्दर्भमा पार्टीहरू विभाजित नहुन, वाम पार्टीहरूलाई एकताबद्ध हुन र जनसंस्कृतिको संरक्षण गर्न आह्वान गरेका थिए । सङ्गीत अभियात्राको यो अभियान समग्रमा निकै प्रभावकारी रहेको वाम राजनैतिक वृत्तमा महशुस गरिएको देखिएको छ ।