परदेशी नेपालीको कारुणिक व्यथा बोकेको तिज गीत–‘ए दिदी बहिनी’

नारायण शर्मा

देश जलिरहेको छ– तर शासकहरु सत्ताकै मदहोसमा रमाउँदै बाँसुरी बजाइरहेका छन् । नेपाल आमाका अंग अंगमा विस्तारवादका खुनी नंग्राहरु गडिरहेका छन्– तर हाम्रा शासकहरुले तिनै विस्तारवादी ब्वाँसाहरुलाई जनसांखिक आक्रमण गर्न मार्ग सहज हुनेगरी विधेयकहरु बनाइरहेका छन् । साम्राज्यवादका सेनाहरुलाई परेड खेल्न सहज हुने गरी निर्माण गरिएका सम्झौताहरुलाई हाम्रा शासकहरुले धमाधम अनुमोदन गरिरहेका छन् । भ्रष्टाचार, अनियमितता, महंगी, बेथिति दिन दुगुना रात चौगुनाका हिसाबले बढिरहेको छ । जनताको महान बलिदानीबाट प्राप्त भएका गणतन्त्र लगायतका उपलब्धीहरु संकटको भुमरीमा अल्झिरहेका छन् – निकम्मा हाम्रै शासकहरुका कारण । जनतामा चौतर्फी रुपमा चरम निरासा र आक्रोश व्याप्त छ । नीतिहरु मध्येको माऊ नीति मानिने राजनीति दिनप्रतिदिन दुर्गन्धीत बन्दै गैरहेको छ । राजनीति समाजसेवाको उत्कृष्ट माध्यम होइन, सबैभन्दा बढी कमाइदिने व्यवसायिक ‘धन्दा’ बनिरहेको छ । देश र जनताले भोगिरहेको कटु यर्थाथता यही हो अहिले । देश र जनताले भोगिरहेको त्यही यथार्थ पीडालाई मुख्य विषयवस्तु बनाएर देश लुटेर उत्सव मनाइरहेकाहरुलाई चोटिलो प्रहार गर्दै एउटा तीज गीत आइपुगेको छ नेपाली सांगीतिक बजारमा–“ए दिदी बहिनी ।” संचारकर्मी तथा साहित्यकार /कलाकार केएल पीडितको शब्द लेखन तथा निर्देशन, विपिन आचार्यको संगीत एवं संगीत संयोजन र माण्डवी त्रिपाठीको स्वरमा आएको यस गीतले देशको यथार्थ अवस्था बोलेको छ

गरिखाने थिति यो देशमा आएन
निमुखाले कहिले नि न्याय पाएन
व्यवस्था फेरियो तर दुःख गएन
दुःख फेर्ने यो देशमा नेता भएन……

हो,देशमा जनताको महान बलिदानीबाट व्यवस्था फेरियो । निरंकुश राजतन्त्रलाई विदा गरेर नेपाली जनताले देशमा गणतन्त्र स्थापना गरे । गणतान्त्रिक व्यवस्थालार्ई अघि बढाउन नेपाली जनताले एउटा आशा र विश्वासका साथ राजनैतिक पार्टीहरुको हातमा ताला चावी सुम्पिए । तर ती पार्टी र नेताहरुले जनतालाई गणतन्त्रको अनुभूति हुने गरी सुशासनको प्रत्याभूति दिन सकेनन । हात पाखुरा बजारेर जीविकोपार्जन गर्ने जनताको अवस्थामा कुनै परिवर्तन आउन सकेन । जनताका झुपडीहरुमा खुशी र शान्तिको दिप जल्न सकेन । घुम्ने कुर्सीमा बसेर शासन गर्ने मानिसहरु फेरिए– शासित हुनेहरुको अवस्था हिजो र आज उस्तै उस्तै छ । स्वच्छ मनले जनताको दुख फेर्ने संकल्प बोकेको नेता भेट्टाउन देशमा मुश्किल परिरहेको छ । चुनावका बेला, संघर्षका बेला आश्वासनको वर्षा गराउने नेता जब चुनाव जितेर सत्ता र शक्तिमा पुग्छ तब उसले जनता बीच आफूले गरेका बाचाहरु विर्सन पुग्छ । जनताको हित र चाहना अनुरुप होइन उ विदेशी ‘प्रभु’ को निर्देशन मुताविक नाँच्न थाल्छ । देशमा अहिलेसम्म देखिंदै आएका दृश्यहरु त्यस्तै छन् । गरिखाने वर्गका जनताको अवस्था दिनप्रति दिन नाजुक हुँदै गैरहेको छ । गरिब जनताका निम्ति न्याय पनि यहाँ ”आकासको फल आँखा तरी मर” जस्तै बनिरहेको छ । सत्य र न्यायलाई समेत राजनीतिका व्यापारीहरुले किनबेचको बस्तु बनाइरहेका छन् । जस्तो सुकै जघन्य अपराधमा संलग्न अपराधी भए पनि उसले आफूसँग भएको धनदौलतका माध्यमबाट सत्य र न्यायलाई खरिदिरहेको छ । निमुखा जनताले न्याय पाउन सकिरहेका छैनन् । तीज गीत “ए दिदी बहिनी” ले जनताले दैनिक रुपमा भोग्न परिरहेको त्यही कटुसत्य बोलेको छ :

उद्योगहरु बन्द छन् छैन रोजगार
भोक रोगले जो मरोस छैन सरोकार
देश बनाउने युवाहरु रुदैछन् खाडीमा
यता नेता सयर गर्छन् चिल्ला गाडीमा…..

गीतले जे बोलेको छ–देश र जनताको अवस्स्था ठ्याक्कै त्यही छ । देशमा उद्योग काराखानाहरुको कुनै विकास छैन । भएका उद्योग कारखानाहरु पनि शासकहरुले बेचेर सकेका छन् । काठमाडौं चोभारको सिमेन्ट कारखाना खोइ ? नवलपुरको भृकुटी कागज कारखाना खोइ ? बाँसबारी छाला जुत्ता कारखाना खोइन ? गोरखकाली टायर उद्योग कहाँ गयो ? ती सबै देशका शासकहरुले बेची खाए । देशका उद्योग कलकारखाना ध्वस्त पारेर रोजीरोटीका लागि पराई मुलुकको आँगन चाहार्न नेपालीहरुलाई बाध्य पारेका छन्– यहाँका शासकहरुले । आफ्नो जन्मभूूमि, आफ्ना बृद्ध बाबा आमा, आफ्ना कलिला लालावाला, आफ्नो प्यारी जीवनसंगिनी यी सबैलाई चटक्क छाडेर विरानो मुलुकमा रगत र पसिना बगाउन कसलार्ई मन हुन्छ र ? तर पनि बाध्य छन्–नेपाली युवायुवतीहरु– रोजगारीका निम्ति बिरानो मुलुक पुग्न । देशभित्रै उद्योग धन्दा र कलकारखानाहरुको विकास भएको भए, देशभित्रै रोजगारीको अवसर पाएको भए पक्कै पनि कोही नेपाली त्यसरी परदेशी भूमिका रगत र पसिना बगाउन बाध्य हुने थिएनन् । पचास पचपन्न डिग्रीको खाडीको त्यो तातो रापमा पसिना बगाउनु कुनै पनि युवा युवतीको रहर पक्कै होइन । तर आँशुका चौधारा बगाउँदै त्यहाँ पुगेर काम गर्न बाध्य भैरहेका छन् नेपालीहरु । रोजगारीका लागि विदेश जाने नेपाली युवा युवतीहरुको दैनिक लर्को लाग्ने गरेको छ । देशको मुहार बदल्न सक्ने सार्मथ्य बोकेका युवायुवतीहरुलाई परदेश जान बाध्य पारेर तिनैले पठाएको रेमिटेन्सबाट देशको अर्थतन्त्र धानीरहेका छन् –हाम्रा शासकहरु । देशको ढुकुटी माथि–ब्रहमलुट मच्चाउँदै चिल्ला गाडीमा गुडिरहेका छन् नेताहरु । परदेशी भूमिमा रगत पसिना बगाउने नेपालीका यता स्वदेशमा रहेका जहान परिवारको अवस्था झन दिनप्रति दिन दयनीय बन्दै गैरहेको छ । घरको मुली चाडबाडका बेला घरमा नहुँदा तिनै परदेशी आउने बाटोभरी आँखा ओछ्याउँदै बस्न बाध्य छन् हाम्रा चेलीहरु । नेपाली चेलीहरुले भोग्न परिरहेको त्यही दर्दनाक पीडा बोकेको छ– तीज गीत “ए दिदी बहिनी” ले ः
यसपाली नि मेरा लाहुरे आएनन घुमेर
ए बरै रुँदै जाने भयो ढल्के उमेर
फर्कि आउन घरको अवस्थाले दिएन
गरी खान यै देशमा व्यवस्थाले दिएन……
विवशता र बाध्यताको हुरीले विरानो मुलुकमा पुगेको परदेशी नेपालकिो दर्दनाक अवस्थाको यथार्थ चित्रण छ–यस गीत भित्र । यता आफ्नो खसमको सम्झनामा उसकी जीवनसंगिनीले आँशुका चौधारा बगाइरहेकी हुन्छिन्, उता बिरानो मुलुकमा चाडबाड बेला घरका जहानवाला सम्झेर परदेशी नेपालीले बलिन्द्राधारा आँशु बगाइरहेको हुन्छ । साहुको ऋण तिर्न सक्ने आम्दानी अझै गर्न सकेको छैन परदेशीले । घरमा आउन मन त उसलाई अति नै छ, तर के गर्नु ? बाध्यताको भुमरीमा अल्झेको छ ऊ । नेपाली चाडपर्वहरु सँग भिन्दै धर्म र संस्कृति बोकेको त्यो विदेशी मालिकलाई के सरोकार ? छुट्टी पनि दिंदैन उसले । त्यो मालिकको हप्कीदप्की, समयमा तलब नपाउने, यस्ता मनगिन्ती समस्याहरु झेल्दै दिनहरु गुजारिरहेको हुन्छ परदेशमा श्रमजीवी नेपालीले । तीज गीत “ए दिदी बहिनी” विरानो मुलुकमा त्यसरी बाध्यताको जीवन बाँचिरहेका परदेशी नेपालीहरुको कारुणिक व्यथा र कथा बोकेर आएको छ ।
तीज गीत “ए दिदी बहिनी” ले मात्र समस्याहरुको उजागर गरेको छैन, ती समस्या समाधानका लागि स्पष्ट बाटो पनि देखाएको छ । देश बिगार्ने नेताहरुको अब भर नपर्न गीतले नेपाली चेलीहरुलाई स्पष्ट सन्देश दिएको छ । आफ्नो नेता आफै छान्न, देशमा समतामूलक समाज निर्माण गर्न, बेथितिहरु हटाएर नयाँ थिति बसाल्न गीतले नेपाली चेलीहरुलाई स्पष्ट आह्वान गरेको छ :

सुध्रँदैनन् नेताहरु कति भन्ने हो
दिदी बहिनी अब नेता आफै बन्ने हो
मिलेर हामी सबै नयाँ थिति बनाऔं
न्याय अवसर सबले पाउने विधि बनाऔं

वैंशमा कुनै जोडी अलग हुन नपरोस्
कुना पसी एक्लै एक्लै रुन नपरोस्
यै भूमिमा मिलोस् बरै सबलाई रोजगार
जनताका लागि होस जनताको सरकार……..

देशको सरकार जनभावनाको प्रतिनिधित्व गर्ने वास्तविक सरकार अझै बन्न सकेको छैन । गणतान्त्रिक व्यवस्थामा जनताबाट चुनिएको जनताकै सरकार हुनुपर्ने हो । तर यहाँ उल्टो भैरहेको छ । जनताबाट चुनिएको सरकार जनताको हुन सकिरहेको छैन । सरकार जनहित र राष्ट्रहितको होइन जनघात र राष्ट्रघातको मार्गमा लम्किरहेको छ । सरकार जनादेश मुताविक होइन विदेशी प्रभुको आदेश बमोजिम परिचालित भैरहेको छ । पाँच दलीय गठबन्धनको वर्तमान सरकारले राष्ट्रघाती एमसीसी सम्झौता पारित गरेको छ । विदेशीहरुले नेपाली नागरिकता लिन सहज हुने गरी नागरिकता संशोधन विधेयक पारित गरेको छ । महंगी, भ्रष्टाचार अनियन्त्रित किसिमले बढिरहेको छ । देशमा दण्डहीनता र अराजकता झनै मौलाइरहेको छ । जनताले निरन्तर खबरदारी गरिरहँदा पनि त्यो जनआवाज सरकारले सुन्न सकेको छैन । राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन नगर्न, राष्ट्रघाती नागरिकता विधेयक पारित नगर्न देशभक्त नेपालीहरुले सडकमा उत्रिएर निकै आवाज घन्काए । तर सरकारले त्यो आवाज सुन्न सकेन । सरकार जनताको त्यो आवाजलाई बेवास्ता गर्दै जनघात र राष्ट्रघातको मार्गमा लम्किरहेको छ । अरु त अरु, आफुलाई, राष्ट्रवादी, देशभक्त, क्रान्तिकारी र वामपन्थी बताउने केही कम्युनिस्ट भनाउँदा पार्टीहरु समेत त्यो राष्ट्रघात र जनघातका सहयात्री बनिरहेका छन् । उनीहरुको पार्टी पंक्तिभित्र चर्को आवाज उठ्यो राष्ट्रघाती एमसीसी र नागरिकता विधेयकका विरुद्धमा । तर शीर्ष नेताहरुलाई आफ्ना नेता,कार्यकर्ताको त्यो आवाज भन्दा विदेशी ‘प्रभु’ कै निर्देशन प्रिय लाग्यो । विस्तारवादी, साम्राज्यवादी विदेशी प्रभुहरुको निर्देशनमा नाँचिरहेका, जनताको ढुकुटी माथि रजाइँ गरिरहेका, राजनीतिलाई जनसेवा गर्ने माध्यम नभई ठग्ने र लुट्ने धन्दा बनाइरहेका त्यस्ता ठग र भ्रष्ट नेताहरुका विरुद्धमा विद्रोह गर्न आह्वान गरेको छ यस गीतले :

राजनीतिलाई धन्दा बनाउनेहरुलाई
देश लुटेर उत्सव मनाउनेहरुलाई
ठग, भ्रष्ट, रोगी नेता अब भगाउने हो
नफर्केर आउने गरी डाँडा कटाउने हो

सबैतिर एकै नासले विकासको लहर
झिलीमिली भए भने सबै गाउँ शहर
ढलढल ढल्केर छमछमी नाँचौला
यै देशमा मरौला यै देशमा बाचौंला

यसरी देश लुटेर उत्सव मनाइरहेका नेताहरुका विरुद्धमा विद्रोहको आगो ओकलेको छ यस गीतले । ठग र भ्रष्ट प्रवृत्ति बोकेका त्यस्ता नेताहरुलाई नेटो नकटाउँदासम्म देश बन्न नसक्ने स्पष्ट पारेको छ यो गीतले । देश रोइरहेका बेला, देशको अस्मिता लुटिरहेका बेला, कुनै पनि स्वाभिमानी देशभक्त नेपालीको मन खुशीमा रम्न सक्दैन । त्यसैले आमा दिदी बहिनीहरुले अहिले हर्षित मनले नाँच्दै गाउँदै तीज मनाउन सक्ने अवस्था छैन । नेपाली चेलीहरु साँच्चै त्यो बेला हर्षित मनले नाँच्न सक्नेछन्, जुन बेला देशमा जनताको वास्तविक सरकार हुनेछ । असमानताका सबै खाडलहरु जब पुरिने छन्, विभेदका सारा पर्खालहरु जब ढल्ने छन्, सत्य र न्यायपूर्ण समाजको जब स्थापना हुनेछ तब मात्र नेपाली चेलीहरु खुशी मनले ढल्की ढल्की छमछमी नाँच्न सक्ने छन् । त्यस्तो समतामूलक र न्यायपूर्ण समाज र राज्य व्यवस्था निर्माणको दिशामा अघि बढ्न स्पष्ट सन्देश दिएको छ यो गीतले । समष्टिगत रुपमा भन्नु पर्दा आँशु, रोदन, आक्रोश र विद्रोहको समिश्रण छ यो गीतमा ।

गीतको भिडियोमा अभिनय र नृत्य पक्ष पनि उत्कृष्ट छ । चलचित्र नायक अर्जुन श्रेष्ठ, हाँस्यव्यंग्य क्षेत्रका हस्ती कमल गाउँले, दक्षिणा सिंह ठकुरीको अभिनय निकै राम्रो छ । गीतको पूरा भिडियो हेरिसकेपछि अभिनयका दृश्यहरु अलि कम भएको जस्तो लाग्छ । गीतको भावले अभिनयको पक्षको अलि बढी माग गरेको देखिन्छ । तर गीतको भिडियोमा नृत्यका दृश्यहरु बढी राखिएको छ । जस्तो, देशभित्र काम गर्ने अवसर नपाएको, काम खोज्दै हिंडेको, साहुले आसामी उठाउन ताकेता गरेको, गरिब निमुखा जनतालाई नेताहरुले बेवास्ता गरेको, जनताले नेताहरुलाई खबरदारी गरिरहेको, परदेशी नेपालीले त्यहाँ पाएको दुःख, यस्ता धेरै दृश्यहरुमा अभिनयको पार्ट समावेश गरेको भए भिडियो अझ मार्मिक र सुन्दर बन्न सक्थ्यो । भिडियोमा भ्रष्ट नेतालाई एकपटक झुलुक्क चिल्लो गाडीमा हिंडेको देखाइएको छ–पछि उसलाई लखेटेको सानो दृश्य राखिएको छ । परदेशीले फोनबाट घरकी जहानलाई फोनमा सम्झाएको दृश्य भिडियोको शुरुमा राखिएको छ, उ परदेश हिंड्न लाग्दाको सानो दृश्य राखिएको छ । परदेशी खसमलाई सम्झेर नेपाली चेली रोइरहेको झलक पनि भिडियोमा राखिएको छ । ती सबै दृश्यहरु मन छुने खालका छन् । गीतको पूरा भिडियो हेरिसकेपछि त्यसमा अभिनयका दृश्यहरु अलि कम भएका हुन कि भन्ने जो कोहीलाई पनि लाग्न सक्छ । गीतको भिडियोमा नृत्यको कोरियोग्राफी सुशिला थापाले गरेकी छिन् । अनिश जिएमले छायाँकन गरेका दृश्यहरुलाई मेकबहादुर थापाले कुशल सम्पादन गरेका छन् । गीतमा कलाकार चेलीहरुको नृत्य उत्कृष्ट खालको छ । गीतको संगीत, संगीत संयोजन र स्वर सरल र मिठासपूर्ण छ । सबैको सुन्दर संयोजनबाट एउटा उत्कृष्ट खालको तीज गीत निर्माण भएको छ । सबै भन्दा मुख्य कुरा त गीतका शब्दहरुले बोकेको भाव र दिन खोजेको सन्देश चेतनामूलक र उर्जाशील छ ।

“यो फगत एउटा तीज गीत मात्र होइन । देशमा मौलाएको लुट, भ्रष्टाचार र अव्यवस्थाका विरुद्ध एउटा सशक्त आवाज पनि हो । ठग भ्रष्ट नेताहरुलाई गाउँबस्तीबाट लखेट्ने उद्घोष हो ।”–गीतका सर्जक तथा निर्देशक केएल पीडित भन्छन्–“यो गीत भित्र –मुटुमा शुल पार्ने बेदना छ । बेथिति र अव्यवस्था प्रति आक्रोश छ । भ्रष्ट र ठग नेताहरुलाई डाँडा कटाउने संकल्प छ । आफ्नै मातृभूमिमा बाँच्ने मर्ने अभिलाषा छ । देशमा नयाँ विधि र थिति बसाल्ने हुटहुटिन्छ । समृद्ध र स्वाधीन राष्ट्रको परिकल्पना छ ।”
सर्जग पीडितका उक्त भनाइहरु गीत सुनेपछि जो कोहीलाई पनि कटु यथार्थ लाग्छ । तीज गीतका नाममा उपभोक्तावादी गीतहरुको विगविगी बढ्दै गैरहेको वर्तमान नेपाली सांगीतिक बजारमा “ए दिदी बहिनी” एउटा उत्कृष्ट चेतनामूलक उर्जाशील गीतको रुपमा आएको छ । समानता, न्याय र परिवर्तनको पक्षमा लागेका हरेक अभियात्रीहरुको आफ्नै गीत बनेर आएको तीज गीत “ए दिदी बहिनी” ले सफलताको शिखर चुमोस्– हार्दिक शुभकामना ।

IME Remittance