आना स्टर (पिएच.डी.), अमेरिकी सङ्गीत अन्वेषक ।
२०५७ सालमा अमेरिकी विद्यार्थीहरुको एउटा टोली नेपाल आयो । त्यो टोलीलाई नेपाली भाषाका साथै अन्य विषयहरु पनि सिकाइयो । चार महिनाजति नेपालमा बसेको उक्त टोलीमा थिइन्, आना मारिया स्टर । उक्त टोलीले एक महिनासम्म कुनै खास निश्चित विषयमा अनुसन्धान गर्नु पर्ने थियो । आनाले शास्त्रीय सङ्गीतमा अनुसन्धान गरिन् । उनको नेपाली भाषा, गीत–सङ्गीत, नृत्य, बासुरीवादन र लोकगीतमा घनीभूत ढङ्गले लुकेको राजनीतिप्रतिको अध्ययन क्रमशः अगाडि बढ्दै गयो । उनले ट्युसन लिएरै भए पनि नेपाली भाषा सिकिन् । बाँसुरीवादनमा स्नातक (बी.ए.) नै गरिन् । सङ्गीतशास्त्र (एथ्नोम्युजिकोलोजी) मा स्नातकोत्तर (एम.ए.) गरेपछि उनले नेपालको लोकगीतका बारेमा विद्यावारिधी (पिएच.डी.) गरिन् । उनको त्यसमाथि आधारित पुस्तक क्ष्लनष्लन ब्अचयकक म्ष्खष्मभकस् ःगकष्अ बलम क्ष्लतष्mबतभ एयष्तिष्अक क्ष्ल ल्भउब ि(गीतभरि छरिएको नेपालको सङ्गीत र घनिष्ट राजनीति) अङ्ग्रेजीमा प्रकाशित भइसकेको छ । उनको त्यो पुस्तक यतिखेर नेपाली भाषामा अनुवाद भइरहेको छ ।
अमेरिकाको हवाई युनिभर्सिटी अन्तर्गत एसियाली अध्ययन क्षेत्रको सहायक प्रोफेसर समेत रहिसकेकी आनाले आफूलाई सानैदेखिको सङ्गीत अनुरागी बताउँछिन् । २०३६ फागुन २७ गते अमेरिकाको टेक्सासमा जन्मेकी आना सानै उमेरदेखि गीत गाउने, पियानो बजाउने, बाँसुरी बजाउने गर्थिन् । पाश्चात्य र नेपाली लोकगीतमाझको फरक छुट्याउँदै उनी भन्छिन्– पाश्चात्य सङ्गीत ‘टोनल हार्मोनी’ हो । यसमा हारमोनीको सहयोगबाट सङ्गीत सृजना गरिन्छ । तर नेपालको लोकगीतमा हारमोनी भए पनि÷नभए पनि भाका, ताल, छन्द र भाषाको लवजको संयोजनबाट सङ्गीत तयार हुन्छ । यही नै पाश्चात्य र नेपाली लोकगीतमाझको महङ्खवपूर्ण भिन्नता भएको बताउँछिन् आना । आनाले सुबी शाहको लोकगीतसित सम्बन्धित लेखहरुको अङ्ग्रेजी अनुवाद गरिरहेको जानकारी दिएकी छिन् । नेपाली लोकगीत क्षेत्रमा काम गर्ने क्रममा पोखरास्थित अली मिया लोक साहित्य प्रतिष्ठानले आनालाई सन् २०१६ मा अली मिया पुरष्कार दिइसकेको छ ।
यतिखेर प्रगतिशील गीत तथा क्रान्तिकारी गीत–सङ्गीत र नृत्यको बारेमा अध्ययन, अनुसन्धान गरिरहेकी आना रक्तिम सांस्कृतिक अभियान जस्ता सङ्गठनप्रति प्रष्ट दृष्टिकोण राख्छिन् । उनी भन्छिन्– रक्तिम जस्ता संस्थाहरु सामाजिक रूपान्तरणका लागि क्रियाशील छन् । रक्तिमलाई शिक्षण संस्थानको रूपमा विकास गर्नु उचित हुन्छ वा हुँदैन भन्ने हाम्रो प्रश्नमा उनको प्रष्ट धारणा छ– यसो गर्दा रक्तिमको विचारलाई मर्न दिनु हुँदैन, विश्व विद्यालयमा हुने जस्तो पद–प्रतिष्ठाको झगडा हुनु हुँदैन । उनी रक्तिमले नेपाली सङ्गीतमा नयाँ उचाइ थपेको पनि बताउँछिन् ।
धाराप्रवाह नेपाली भाषामा बोल्न सक्ने आनाले थुप्रै पटक नेपाली गायकहरुसित लोक दोहोरी गाइसकेकी छिन् । उनै आना स्टरसित रातो लालटिन साहित्यिक त्रैमासिकले यस अङ्कमा गीत–सङ्गीत, नृत्य, रक्तिम सांस्कृतिक अभियान र स्वयं उनको अनुसन्धानप्रति केन्द्रित रहेर वार्तालाप गरेको छ । २०७५ पौष २१ गते सहसम्पादक प्रकाश थापा मगर ले काठमाडौँमा आनासित गर्नु भएको उक्त वार्तालाप हामी यहाँ प्रस्तुत गरिरहेका छौँ ।
० कलाको परिभाषा कसरी गर्नु हुन्छ ?
– जुन कुराहरुले मानिसलाई आनन्द दिन्छ, संसारलाई झन् सुन्दर बनाउँछ, त्यो कला हो । कलालाई फराकिलो परिभाषा दिनु पर्दछ । खाना पकाउनु कला हो । घरलाई राम्ररी सजाउनु पनि कला हो । यी सबै कला हुन् जस्तो लाग्छ मलाई । यो गीत–सङ्गीत र नृत्य मात्रै होइन, पेन्टिङ मात्रै होइन, जसले मानिसलाई आनन्द दिन्छ, अनि, यो संसारलाई सुन्दर बनाइदिन्छ, त्यो सबै कला हो ।
० गीत–सङ्गीतलाई कला भन्नु पर्ने कारण के हुन सक्छ ?
– गीत–सङ्गीतले पनि मान्छेको मन छुन्छ । सुन्दरता, सौन्दर्य भन्ने कुरा गर्दाखेरि यसले मान्छेलाई खुशी बनाउने मात्रै होइन, मन छुने कुरा पनि हो । त्यसमा सबै रसहरु हुन्छन् । गीत–सङ्गीतले सबै रस लिएर सबै भावनाहरु निकाल्छ मान्छेहरुमा । त्यही भएर गीत–सङ्गीतलाई कला भन्नु पर्दछ भन्ने लाग्छ ।
० तपाईको देशको र नेपालको कलाको तुलना गर्दा त्यस्तो केही फरक पाउनु हुन्छ ?
– कलाको कुरा नगरौँ, सङ्गीतको मात्र कुरा गरौँ, नत्र वर्षौं लाग्ला । पाश्चात्य सङ्गीतलाई हेर्दाखेरि त्यसको आधार हार्मोनिक मोसन मानिन्छ । त्यहाँको सङ्गीत हारमोनी अनुसार चल्छ । यहाँ ताल, भाकाको कुरा हुन्छ । हारमोनी भए पनि यहाँ सङ्गीत अगाडि ल्याउने हारमोनीले होइन । मुख्य भिन्नता यही हो ।
० अहिलेसम्मको अनुसन्धानमा तपाईले सङ्गीतको कुन क्षेत्रमा अध्ययन गर्नु भयो ?
– लोक सङ्गीतको क्षेत्रमा बढी अध्ययन गरेको छु । यसमा पनि मैले विशेष गरी व्यावसायिक लोक दोहोरी क्षेत्रबाट अध्ययन सुरु गरेको छु । गण्डकी, धौलागिरी, लुम्बिनी, अनि बागमती अञ्चलमा, विशेषतः ती ठाउँहरुमा गएर अध्ययन गरेको हुनाले हुन सक्छ, यस क्षेत्रको लोक सङ्गीतमा ध्यान दिएको छु ।
० नेपालका सङ्गीत अनुरागीहरु के भन्छन् भने अरू आधुनिक, पाश्चात्य सङ्गीतभन्दा लोकगीत धेरै सजिलो छ, लोकगीत गाउने मान्छेहरुले आधुनिक अथवा पाश्चात्य गीत गाउन सक्दैनन् । त्यो सत्य हो ?
– त्यसमा दुई वटा कुरा हो । एउटा यो सजिलो छ भन्ने विचार वा अर्को विधामा भिजेको मान्छेले गाउन सक्दैन भन्ने विचार । पहिलो त त्यो सजिलो छ भन्ने कुरा नजानेर भनेको हो । पाश्चात्य गाउनेहरुले हारमोनीका लागि सुन्ने बानी छ । लोकगीततिर लाग्दाखेरि हारमोनी छैन अथवा छ भने पनि त्यो त्यसकै महत्व होइन भनेर थाहा हुन्छ सुन्दाखेरि । त्यही भएर आफ्नो प्रकारको सङ्गीतमा जुन कुरो महत्वपूर्ण छ, त्यो नदेखिकन, नसुनिकन “ए त्यो यो मात्रै हो” भन्छन् । तर त्यो होइन । लोकगीतको एउटा उदाहरण दिऊँ । ठाउँठाउँ अनुसार कर्खा हान्ने भन्छन् नि, स्वर घुमाएर त्यसको मिठास र स्थानीयपन दिने, त्यो चिज पाश्चात्य गाउनेहरुले सुन्दैनन्, ध्यान दिदैनन्, महत्व दिदैनन् । त्यो गलत हो । अनि, उनीहरुले गर्न सक्दैनन् त्यत्तिकै । किनभने उनीहरुमा सुन्ने बानी छैन ।
अब दोस्रो तरिकातिर जान्छु । नसुन्ने भएको हुनाले उनीहरुले लोकगीत गाउन सक्दैनन् । सुनेर सिक्यो भने गर्न सक्छन् । तर लोक सङ्गीत गाउने मान्छे, बजाउने मान्छेले जस्तै सुन्ने खुबी हुनु पर्दछ, त्यसपछि मात्रै गर्न सकिन्छ । लोकगीत गाउने, बजाउने मान्छे पाश्चात्यतिर जाने हो भने त्यही मान्छेले फेरि जसरी सुन्छन्, त्यसरी नै सुन्न सिक्नु पर्दछ, अनि मात्रै बजाउन सक्छ, राम्रोसँग । कुरा त्यो हो जस्तो लाग्छ । अर्को विधा सिक्न नसकिने कुरा छैन । तर “यो यही हो, यसरी बजा” भन्दाखेरि त्यो सुन्ने खुबी पनि सिक्नु पर्दछ, नत्र भने मैले जे बजाएँ, तपाईले अर्कै सुन्नु हुन्छ । अनि ट्याक्क त्यसरी बजाउन सक्नु हुन्न । किनभने मैले महत्व दिने चिजहरु तपाईले महत्व दिनु हुन्न ।
० लोकगीतलाई जनगीत पनि भनिन्छ, जनताको अभिव्यक्तिको साधन पनि भनिन्छ । त्यसरी जनताको अभिव्यक्ति भन्नुको कारण के होला ?
– धेरै कारणहरु छन् । अमेरिकामा जस्तो गीत पनि लोकगीत हो । किनभने लोकले गाउने हो, घोडाले त गाउँदैन भन्नु भयो, एक जना हाम्रो जनगायक गुरिगथ्वीले । उहाँले त्यसो भन्नु भयो । भनेपछि पपगीत पनि जनताको अभिव्यक्ति हुन सक्छ । तर लोकगीतलाई जनताको मुख्य अभिव्यक्ति भन्नुको कारण के हो भन्ने लाग्छ भने प्रायःजसो त्यो श्रमसँग सम्बन्धित हुन्छ । श्रमजीवीहरुको अभिव्यक्तिहरु ती गीतबाट निस्केको हुन्छ । त्यो पपगीतमा पनि व्यक्त गर्न सकिन्छ, नसकिने भन्ने कुरा छैन । तर प्रचलनमा प्राचीन कालदेखि चलिआएको लोकगीत नै हो । यो श्रमजीवीहरुको अभिव्यक्ति हो ।
० पछिल्लो चरणमा लोकगीतमा निराशावादी टाइपका गीतहरु, विछोडका गीतहरु बढी आइरहेका छन् । त्यसलाई के भन्नु हुन्छ ? यसलाई अभिव्यक्ति भन्नु हुन्छ कि अरू कुनै रूपमा लिनु हुन्छ ?
– मानिसको जति पनि भावना हुन्छ, यो भावना ठिक, यो भावना बेठिक भन्न मिल्दैन जस्तो लाग्छ । यो अभिव्यक्ति नै हो । क्रान्तिकारी विचारतिर जाँदाखेरि यो भावनात्मक कुरा पनि हुन्छ । कतिपय गीतहरुको भाव यस्तो हुन्छ– “तिम्रो विवाह हुँदाखेरि मेरो मलामी उठ्नेछ” । यस्तो गीत क्रान्तिकारी हुन्न । किनभने त्यो भावनामा डुबेर मात्रै बस्छ । मान्छेको त्यस्तो भावना हुन्छ । प्रायःजसो जसले गायो यस्तो गीत, त्यो एउटा क्षणिक भावना मात्र हो । त्यसको क्षणिक भाव त भयो, तर त्यो व्यक्ति मरेन नि ! तर त्यो एकदम गहिरो भावना हुन्छ । त्यो टिन–एज वर्षमा हुन्छ नि, प्रेम जब एकदम गहिरो हुन्छ, प्रेम गरेर मात्रै मर्छु जस्तो लाग्छ । त्यो एउटा उमेरको कुरा हो जस्तो लाग्छ । त्यो निश्चित उमेरको एउटा भावना हो । त्यो व्यक्त गर्नु आफैमा नराम्रो होइन । तर एक जनाले त्यही भावनामा मात्रै गीत बनाउनु अलि बढी भयो जस्तो लाग्छ मलाई । हाँसो पनि लाग्छ । हाँसो त खासै गर्नु हुन्न, मान्छेको पीडा देखेर । तर अत्यन्तै धेरै भयो त्यो गीत । तर छोटकरीमा भन्नु पर्दाखेरि सबै भावनाहरु व्यक्त गर्नु त ठिकै हो जस्तो लाग्छ । तर गीतलाई सामाजिक परिवर्तनका लागि प्रयोग गर्ने हो भने समूहको भावनालाई हाइलाइट गर्नु पर्छ ।
० तपाईले सामाजिक परिवर्तन भन्ने शब्द प्रयोग गर्नु भयो । समाज परिवर्तन गर्ने खालका गीतहरु तपाईले रिसर्चको क्रममा कत्तिको पाउनु भयो ? कुन क्षेत्रमा फेला पार्नु भयो ?
– अहिले नेपालमा लोकगीत पनि छ । लोकगीतभन्दा अलिकति परिमार्जित आधुनिक गीत पनि छ, तर लोकमाथि आधारित आधुनिक । पपगीत पनि छ । विशेषतः यही तीन प्रकारका गीतहरु छन् । आधुनिक गीतमा चुट्का पनि राख्न सकिन्छ । मलाई बढी वर्गीकरण गर्न जरुरी छ जस्तो लाग्दैन । राष्ट्रिय गीत पनि छुट्टै वा फरक हुन सक्छ । तर आधुनिकको एउटा भाग हुन सक्छ, राष्ट्रिय गीत पनि ।
० नेपालमा सामाजिक रूपान्तरणका लागि केही सांस्कृतिक परिवारहरु सक्रिय छन् । उनीहरुसित तपाईको सम्पर्क, पहुँच कत्तिको छ ?
– अहिले नेपालमा जे जनि सांस्कृतिक परिवारहरु क्रियाशील छन्, मेरो ती सबैमध्ये सबैभन्दा बढी सम्पर्क रक्तिमसँग भयो । सामना सांस्कृतिक परिवार तीन भागमा बाँडियो, पार्टी फुटेर । म सामनाको अहिले सरकारमा गएका कलाकारहरुसित सम्पर्कमा छु । तर अहिले तिनीहरु सामनामा होइन, जनसांस्कृतिक महासङ्घमा हुनु हुन्छ । विप्लव पार्टीको सामना सांस्कृतिक परिवारसित सम्पर्कमा छु । नेपाल मजदुर किसान पार्टीको आस्था सांस्कृतिक परिवारसित पनि सम्पर्कमा छु । पुरानो सांस्कृतिक परिवार इन्द्रेणीसँग अथवा इसास भनौँ, त्यसका मान्छेहरुसित सम्पर्कमा छु । उनीहरु सबैसित सामूहिक रूपमा मैले अनुसन्धान गरेको छैन । तर एक जना साथी इमागार्डेनले अनुसन्धान गर्नु भएको छ । पुराना साथीहरु रामेश, रायन, जो कुनै बेला राल्फामा हुनु हुन्थ्यो, उहाँहरुसित पनि सम्पर्कमा छु । राल्फाबाट छुटेर आएका लेकाली जस्ता साथीहरुसित पनि सम्पर्कमा छु ।
० रक्तिम सांस्कृतिक परिवारको बारेमा तपाईको धारणा के छ ? यो कस्तो खालको गीत–सङ्गीत हो भन्ने लाग्छ ?
– रक्तिमको छवि अत्यन्तै राम्रो छ जस्तो लाग्छ । रक्तिम राल्फापछि सुरु भए पनि सङ्गीतलाई रक्तिमले नयाँ जीवन दियो । यो सांस्कृतिक परिवारका प्रस्तुति र अरू सबै कुरामा रक्तिमले नै प्रेरणा दियो । विशेषतः चाइनिज अपेराबाट लिएर नृत्यको कुरा, अलिकति साङ्गीतिक कुराहरु पनि, जस्तो एउटा पात्रलाई आफ्नो सङ्गीत दिने—त्यो चाइनिज अपेराबाट लिइएको हो भनेर जीवनजीले भन्नु भयो । त्यो चिज पनि नयाँ हो । एकदमै जोशिलो नृत्य देखाउने, अनि दुःखमाथि आधारित गीतहरुलाई प्राथमिकता दिने—त्यो सबै कुराहरु राम्रो लाग्यो । किनभने कतिपय राष्ट्रिय गीतहरु, जस्तो गोपाल योञ्जनले गाउने, त्यो पनि एक प्रकारको क्रान्तिकारी गीत हो । तर त्यसमा नाच्न अलि गाह«ो हुन्छ । रक्तिमको गीतका आधार लोक भएको हुनाले नाच्न पनि सजिलो हुन्छ । जब मान्छेको शरीर पनि सक्रिय भएर त्यसमा संलग्न हुन्छ, गीत–सङ्गीत झन् धेरै प्रभावकारी हुन्छ भन्ने लाग्छ मलाई ।
० रक्तिमका गीतहरुमध्ये सबैभन्दा प्रशिद्ध गीत कुन लाग्छ तपाईलाई ?
– सबैभन्दा बढी प्रशिद्ध रक्तिमका गीतहरु जीवन शर्माको नै हुन् । त्यसमा सबभन्दा प्रशिद्ध गीत “सिमली छायाँमा बसी” हो भन्ने लाग्छ । त्यो गीत किन प्रशिद्ध भयो भन्ने लाग्छ भने त्यसले जुन भरियाको कहानी व्यक्त ग¥यो, त्यसले यो गीतलाई प्रशिद्ध बनायो । भरियालाई धेरैले आफै देखेका छन् । कतिले भोगेका पनि छन् । अनि, त्यो झ्याउरे बिट भएकाले वा झ्याउरे तालमा भएको हुनाले कसैलाई नौलो लागेन । आफैले भोगेको कुरा, तालदेखि लिएर, विषयदेखि लिएर, भाकादेखि लिएर सबै पारिवारिक अनुभूति जस्तो भयो । मन छुने पनि भयो । सबैले आफ्नो मनको आँखाबाट देख्न सक्छन्– यो भरियालाई यसो भइरहेको छ । अनि अन्तिममा पनि “मै बुढो नि जान्छु अब सामन्तलाई घेर्न” भन्छ । त्यसले एक खालको प्रेरणा दिने कुरा पनि भयो । सबै कुरा छ त्यो गीतमा । त्यही भएर यो गीत सबैभन्दा प्रशिद्ध भएको छ भन्ने लाग्छ ।
रक्तिमका अरू गीतहरु पनि छन् । अहिले भर्खरै निस्केको “चाहिदैन मलाई सिसाको महल” शीर्षकको गीत पनि मलाई निकै राम्रो लाग्यो । “रातो लालटिन” शीर्षकको गीत पनि छ । सीता शर्माले लेख्नु भएको गीत “त्यहाँ फुट्छ ज्वालामुखी” मलाई मन पर्छ । यी चार वटा गीतहरु जहाँ गए पनि सबैलाई थाहा भएका हुन्छन् । ती गीतहरु सुनिरहेको छु, देश–विदेशमा रहँदा मैले । त्यस्ता अरू गीतहरु पनि छन् ।
० रक्तिमको गीतबारे केही मान्छेको धारणा कस्तो छ भने नि, यसको नृत्य असाध्यै जोशिलो छ, त्यही अनुपातमा गीत जोशिलो छैन । यस्तो आरोप छ । तपाईलाई के लाग्छ ?
– नृत्य साँच्चिकै जोशिलो छ । नृत्यले अरूलाई प्रेरणा दिएको छ । राम्रो क्रान्तिकारी नृत्य रक्तिमबाट नै विकास भएको भन्न पनि मिल्छ । रक्तिमका लागि गीत लेख्नेहरु धेरै छन् । सबैले ती गीतहरु नृत्यका लागि लेखेको नहुन पनि सक्छ । थुप्रै भावनाहरु व्यक्त गर्नु पर्ने हुन्छ, जुन जोशिलो गीतबाट देखाउन सकिदैन । त्यो नृत्य नौलो र आकर्षित भए पनि सबै गीतहरुमा त्यस्तो नृत्य राख्न सुहाउँदैन । मलाई लाग्छ, सबै गीतहरु एउटै प्रकारको भयो भने त्यसको प्रभावकारिता पनि घट्छ । किनकि सबैले एउटै खालका सुन्न मन पराउँदैनन् ।
० रक्तिम परिवारको एउटा गीत छ, “कहिले मेरो जिन्दगी ढुङ्गाको सिरानी”, त्यसलाई निराशावादी गीत भयो पनि भन्छन् । तपाई के भन्नु हुन्छ ?
– तर त्यो गीत एउटा अपेराको सन्दर्भमा तयार पारिएको हो । त्यो गीत अपेराबाट झिकेर राखिएको छ । त्यसलाई मात्र हेर्दाखेरि त्यो गीत निराशावादी भयो होला । तर अपेराको सन्दर्भमा त्यो गीतले सही भाव देखाउँछ । मान्छे निराश हुन्छ नै । मान्छे निराश हुनै हुन्न भन्यो भने त्यो मनोविज्ञानसँग पनि मिल्दैन । मान्छेको मनोविज्ञान जति फेर्न खोजे पनि भावनाहरु मेटिनेवाला छैनन् । त्यस्ता भावनाहरु कति भोग्न सक्छौँ ? कसरी निस्कन सक्छौँ त्यो निराशाबाट ? त्यो पो देखाउँछ “ठुली” गीति–नाटकको त्यो गीतले । गीति–नाटकबाट टपक्क टिपेर ल्याइएको त्यो गीतमा यस्तो भएन भन्न मिल्दैन । गीतलाई एउटा सन्दर्भमा हेर्नु पर्दछ ।
त्यो मात्रै होइन, त्यस्तो निराशावादी गीतहरु पनि मान्छेको जिन्दगीको सन्दर्भभित्र हेर्नु पर्दछ जस्तो लाग्छ मलाई । गीतलाई एउटा खास उद्देश्यका लागि प्रयोग गर्ने हो नि ! त्यसको भावना पनि हेर्नु पर्दछ । निराशावादी गीत मान्छेको जोश बढाउन काम लाग्दैन । तर निराशावादी गीत नै संसारबाट हटाउनु पर्दछ भन्ने पक्षमा छैन म ।
० नेपालमा रक्तिमका गीतहरु प्रशिद्ध भएपछि त्यसले कवितालाई टक्कर दिएको अवस्था छ, हामीले बुझ्दाखेरि । तर साहित्यकारहरुको भनाइ के छ भने रक्तिमका गीतमा बौद्धिकता छैन । त्यस्तो लाग्छ तपाईलाई ?
– यसमा वर्गको कुरा हुन्छ । कवि अलिकति पढेकै हुन्छ । नेपाली भाषाका यस्तै “उच्च” “सम्भ्रान्त” शब्दहरु प्रयोग गर्नेहरुलाई मात्र कवि भन्ने गरिन्छ । तर लोक कलाकारलाई कवि नभन्ने ? त्यो त वर्गीय भेदभाव हो । अस्ति मात्रै एक जना (म नाम लिन्नँ) प्रतिष्ठित लेखिकाले योगमाया नेपालको पहिलो महिला कवि थिइन् भन्ने दावी गर्नु भयो । तर योगमाया त भर्खरैकी हुन् । योगमाया केही शताब्दी अघिका मान्छे थिइन् । त्योभन्दा अगाडि कति जना महिला वा पुरुषले लोकगीतमा अत्यन्तै मार्मिक शब्द निकालेर गाइरहेका थिए । तर उनीहरुको लिखित इतिहास नभएकाले मात्रै अहिलेसम्म पहिलो कवि को थियो भनेर हामीलाई थाहा भएन ? तर योगमाया मात्रै नेपालको पहिलो महिला कवि भन्नु अत्यन्तै असत्य हो भन्ने लाग्छ मलाई । लिखित कुरालाई मात्र मान्यता दिने, गाइएका कुरालाई मान्यता नदिने—यो भएन जस्तो लाग्छ । अली मियाँ भाग्यमानी भए । कसैले लेखिदिए उनका गीतहरु । लेखेपछि पो आशुकवि भन्न थाले । तर अलिखित काव्यहरु पनि कविता हो । लोक गायक पनि कवि नै हो ।
० नेपालमा दश वर्ष माओवादीहरुले युद्ध चलाए । त्यतिखेर कैयौँ मान्छेहरु रक्तिमको गीतहरु सुनेर प्रभावित भए भनिन्छ । एक जना सङ्गीतकारले त केही महिना अघि के पनि भने भन्दा दश वर्षे जनयुद्धको एउटा नायक प्रचण्ड हो भने अर्को नायक जीवन शर्मा पनि हो । किनभने जीवन शर्माका गीत सुनेर मानिसहरु मैदानमा गएर लडे । तपाईलाई त्यस्तो लाग्छ जीवन शर्माको भूमिका ?
– त्यस्तो भूमिका छ जस्तो लाग्छ । किनभने आखिर गीतहरु क्रान्तिकारी भएपछि भावना पार्टीगत हुँदैन । रक्तिमकै कलाकारहरु आफै जनयुद्धमा हतियार नबोके पनि जीवन शर्मा मात्रै होइन, सबै रक्तिमका कलाकारहरुले प्रेरणा दिएका हुन् । यो साँचो हो ।
० त्यो हिसाबले त्यो दश वर्षको जनयुद्धको भागी जीवन शर्मा पनि हुनु पर्दछ भनेर केही मान्छेहरुले भन्छन् त्यस्तो । यो सत्य हो ?
– प्रभाव त पा¥यो । त्यो स्पष्ट छ ।
० अहिले हिजोका माओवादीहरु सत्तामा गए । हिजो जीवन शर्माका गीत सुन्ने माओवादीहरु अहिले ती गीतहरु सुन्न त सुन्छन्, फेरि पनि त्यति भित्री हृदयले सुन्दैनन् । यो बदलिदो परिवेशमा सत्तारुढ नेकपाको भनाइ के छ भने अब जीवन शर्माले समृद्धिको गीत गाउनु पर्दछ । रक्तिम परिवारले वा जीवन शर्माले समृद्धिको गीत गाए हुन्छ । तपाईलाई के लाग्छ, समृद्धिको गीत गाउने बेला आइसकेको छ नेपालमा ?
– मलाई लाग्छ, गायकको काम सरकारको तालमा नाच्ने होइन । गायकले, विशेषतः क्रान्तिकारी गायकले जे जे देखिन्छ, त्यसको अभिव्यक्ति दिनु पर्दछ । सरकार गलत बाटोमा गयो भने कलाकारको जिम्मेवारी हो– त्यसका बारेमा गाउनु, गीत मार्फत् त्यो कुरा उठाउनु । सरकार सम्बन्धी नभए पनि जुन विषयमा असमानताहरु देखिन्छन्, त्यसलाई अभिव्यक्ति दिइरहनु पर्दछ । अब समृद्धि आइसक्यो नेपालमा, विकास सक्किइसक्यो भनेर गीत गाउने बेला भएको छैन । त्यस्तो कुनै पनि ठाउँमा भएको छैन, अमेरिकामा पनि भएको छैन । सरकारले जे जे माग्यो, त्यही त्यही गाउनु—त्यो त दरबारमा एउटा नोकर बस्नु जस्तै भयो । सरकार जस्तै पार्टी भए पनि कलाकारले सरकारको आदेशमा काम गर्न जरुरी हुन्छ जस्तो लाग्दैन ।
० सरकार समृद्धिको बाटो गइसक्दा पनि जीवन शर्माले त्यो समृद्धिलाई देख्न नसकेको, त्यो कारणले जीवन शर्मा र उनी जस्ता सांस्कृतिक टोलीले अहिले पनि त्यो बदलिदो परिवर्तनलाई देख्न नसकेको भन्ने आरोप सरकार पक्षले लगाइरहेका छन् । त्यो सन्दर्भमा आउँदो दिनमा रक्तिमले कस्तो भूमिका खेल्नु पर्दछ ? कस्तो खालका गीतहरु रचना गर्नु पर्दछ भन्ने लाग्छ यहाँलाई ?
– त्यो सोध्नु अहिलेको नेपालको मुख्य समस्या के के हो भनेर सोध्नु जस्तो छ । त्यो कुरा मलाई भन्दा तपाईलाई धेरै थाहा होला । जनताले सामना गर्नु पर्ने मुख्य कुराहरुमा अहिलेसम्म त्यति परिवर्तन आएको छ जस्तो लाग्दैन । त्यसमाथि जलवायु परिवर्तन पनि भइरहेको छ । यो विश्वव्यापी समस्या भइरहेको छ । साम्राज्यवाद अझै छ । त्यो झन् बलियो भएको छ । विश्वभरि फासिवादीहरु पनि निस्किरहेका छन् । त्यसको विरोध गरिरहनु पर्दछ । अब नेपालको सरकार कम्युनिस्ट भयो भनेर सबै समस्याहरु समाधान भयो भन्न मिल्दैन । धेरै कुरा देख्न बाँकी छ । त्यसको बारेमा पनि गीत गाइरहनु पर्दछ । तर नयाँ नयाँ कुरा निकाल्न पनि सकिन्छ, खासगरी विरोध गर्ने तरिकाहरु फेर्न पनि सकिन्छ । त्यो कसरी हुन्छ ? त्यो म भन्न सक्दिनँ । कलाकारहरुले जे जे कुराहरु भोग्यो, त्यसको बारेमा गीत बनाउने हो । जे जे कुराहरु देख्यो, त्यसको बारेमा गीत बनाउने हो । त्यसका अभिव्यक्तिहरुले कसैको मन छोयो भने समाजमा परिवर्तन ल्याउन सम्भव छ ।
० अघि पनि हामीले कुरा ग¥यौँ, लोकगीत पनि जनताको अभिव्यक्ति हो । रक्तिम पनि सर्वहारा वर्गको सचेत अभिव्यक्ति हो । खासमा यी दुई गीतहरुमा फरक के हो ?
– अघि पनि मैले कुरा गरेँ, लोकगीत पनि एकै प्रकारको हुँदैन । अति नै धेरै प्रकारका छन् । नेपालको पश्चिमी भेग लोकगीतमा अगाडि छ । तर रक्तिमका गीतहरु त्यही लोकगीतको नियम अनुसार मात्रै चलेको छैन । आफ्नोपन राखेका छन् रक्तिमका गीतकारहरुले । अरू अरू विधाबाट प्रेरित भएर अरू अरू कुरा पनि थपेका छन् । जस्तो– आधुनिकपन पनि छ, नेपाली आधुनिक गीतबाट लिइएको । यस्तो भएको हुनाले बागलुङ, प्युठानका लोकगीतसँग ट्याक्क नमिले पनि त्यसको पन (पायन) देखिन्छ ।
० रक्तिम परिवारले दुई वटा नाटक पनि निर्माण गरेको छ । हजुरले हेर्नु भएको छ होला, “ठुली”, “पूजा” । “जवाफ” नाटक पनि छ अर्को । ती नाटकहरुले नेपालको विषयवस्तु, सन्दर्भलाई समेटेका छन् या छैनन् ? कस्तो लाग्छ यहाँलाई ?
– राम्रोसँग व्यक्त गरेको छ जस्तो लाग्छ । “ठुली” पहिलाको “सिम्मा” जस्तै पनि छ, भावको रूपले हेर्दाखेरि । अहिले पनि विभिन्न खालका वैदेशिक रोजगारी ठुलो इस्यु हो नेपालमा । अर्को कुरा, महिलाहरुको विषय “पूजा” नाटकमा छ, “ठुली” मा पनि छ । महिलाहरुलाई जसरी हेप्छन्, कैयौँ मौकाहरुबाट वञ्चित हुन्छन्, कति अन्यायहरु भोग्नु पर्दछ, त्यो नेपालमा मात्रै होइन, विश्वभरिकै समस्या हो । भनेपछि दुई वटा राम्रो विषयहरु लिएर यी दुई वटा गीति–नाटकमा अभिव्यक्त गरिएको छ ।
० रक्तिमको बढी ध्यान गीत–सङ्गीत र नृत्यमा गयो, नाटकमा कम गयो । रक्तिमले आगामी दिनमा गीत–सङ्गीत र नाटक वाहेक अन्य सेक्टरमा हात हाल्न सक्ने सम्भावना देख्नु हुन्छ, यसको संरचना, सक्रियता हेर्दाखेरि ?
– सकिन्छ । मलाई लाग्छ, युवाहरुलाई रक्तिमतिर कसरी आकर्षित गर्न सकिन्छ भन्नेतिर जाने हो भने गीत र नृत्य ठुलो कुरा हो । नाटक निर्माण गर्न सकिन्छ, गर्न नसकिने होइन । तर जुन कुुराहरु रक्तिमले धेरै राम्रो गरिरहेको छ, त्यही कुरामा ध्यान दिइरहनु राम्रो हुन्छ जस्तो लाग्छ । किनभने रक्तिमले आफ्नै प्रकारको नृत्य धेरै राम्रो बनाएको छ । अझै नृत्यलाई विकास गर्दा अझै ठुलो आकर्षण बढाउँछ जस्तो लाग्दछ ।
० तपाई सामना सांस्कृतिक परिवारसित पनि सम्पर्कमा छु भन्नु भयो । रक्तिम र सामनामा केही फरक देख्नु हुन्छ ?
– मुख्य कुरा के फरक देखेको छु भने अहिलेसम्म रक्तिमका गीतको कम्पोजिसनदेखि लिएर नृत्यसम्म सबै रक्तिमकै मान्छेहरुले गरिराखेका छन् । सबैले विचार पढेर, राम्रोसँग सल्लाह गरेर, सिकेर मात्रै गरेका छन् । अनि, रक्तिममा नृत्य निर्देशकहरुले सबैसित सल्लाह पनि लिन्छन् । मैले बनाएको स्टेपले गीतको भाव राम्रोसँग, हाम्रो विचार अनुसार व्यक्त गरेको छ कि छैन ? त्यहीँ रक्तिमभित्रैकासँग सल्लाह लिइएको हुन्छ । सामनाले पहिलेका नृत्य निर्देशकलाई प्रयोग गरेर जुन कुराहरुले गीतलाई आकर्षक बनाउँछ, त्यही कुराहरु गरेको छ । तर ती नृत्य निर्देशकहरुले सबै तिनीहरुकै विचार पढेको नहुन पनि सक्छ । अहिले मैले दुई वटासँग मात्र कुरा गरेको छु । पहिलेका नृत्य निर्देशकहरु, जो सामनाका लागि नृत्य निर्देशन गरेका छन्, उनीहरुले माओवादी दर्शन नपढे पनि सहानुभूति व्यक्त गरेका रहेछन् । तर पनि मेरो नृत्य कसरी माओवादी विचारसँग मिल्न सक्छ भन्ने कुरामा सोचेको देखिन्न । गीतको शब्द सुनेर मेरो नृत्यलाई कसरी यही गीतको शब्दले आकर्षक बनाउँछ भन्ने कुरा मात्रै सोचेका छन् । भिन्नताको सवालमा मुख्य कुरा त्यो हो ।
० रक्तिम र सामना दुवैले समाज परिवर्तनका लागि गीत–सङ्गीत अभियान अघि बढाएको दावी गर्दछन् । यी दुई वटा सांस्कृतिक परिवारले मिलेर काम गर्न सक्ने सम्भावना हुन हुन्छ ?
– सक्छ । गरेको पनि छ । केही दिन अगाडि जीवन शर्माको राष्ट्रिय नाचघरको कार्यक्रममा रक्तिमको पनि, सामनाको पनि सहभागिता थियो । सबैभन्दा सजिलो बाध्यबादकका लागि हुन्छ । गायक–गायिकाका लागि पनि सजिलो हुन सक्छ । नृत्यमा भिन्नता हुन्छ, जहाँसम्म मलाई लाग्छ । तर त्यो पनि सँगै काम गर्ने हो भने मिल्छ । कसरी सँगै काम गर्ने ? त्यो सोच्नु प¥यो । आफ्नो नृत्य पालोपालो प्रस्तुत गर्ने हो कि सँगै सिक्ने हो ? सँगै सिकेर नयाँ नयाँ नृत्य विकास गर्ने हो ? यी विषय हेर्नु पर्छ । मान्छेको व्यक्तित्वमा पनि भर पर्छ । यो विचारको कुरा मात्रै होइन ।
० व्यक्तित्वको कुराकानी गर्दाखेरि रक्तिम जीवन शर्माकै कारणले अगाडि बढ्यो, तर जीवन शर्मापछि अर्को को भन्ने प्रश्न यहाँ बारम्बार उठिरहन्छ । तपाईले त्यस्तो वैकल्पिक प्रतिभा रक्तिममा भएको देख्नु हुन्छ कि हुन्न ?
– मैले ट्याक्कै मान्छेको नाम किटान गर्न सक्दिनँ । तर त्यो नराम्रो कुरा होइन होला । किनभने रक्तिम अहिले एउटा स्थापित संस्था भयो । ट्याक्कै एउटा जीवन शर्मा एउटा मात्र नभएर आखिर जनताले हो जनताको गीत गाउने । जनताका समस्याहरु जनताले अगाडि ल्याउनु, समाधान गर्नु जनताकै काम हो । एक जनाको काम होइन, यो सबैले गर्नु पर्ने काम हो । जीवन शर्मा भएन भने, यदि रक्तिम परिवारले राम्रोसँग प्रशासन चलाएको हो भने केन्द्रबाट, झन् राम्रो पनि हुँदै जान सक्छ । त्यस्तो सम्भावना देख्छु म त । किनभने एउटा व्यक्तिलाई हाइलाइट नगरिकन समूहले यस्तो गरिरहेको छ र पहिलेदेखि नै यस्तो हो भन्ने कुरा देखाउन सक्छ । त्यो सम्भावना छ ।
० “फोकल्यान्डको टापुबाट” गीतका लेखक मणि थापा हुनु हुन्छ नि, उहाँले एउटा कार्यक्रममा के भन्नु भयो भने रक्तिमले अथवा जीवन शर्माले एउटा इन्स्टिच्युसन बनाएर रक्तिमलाई स्थापित गर्नु पर्दछ, एकेडेमिक ढङ्गले चेन्ज गर्नु पर्दछ भन्नु भयो । त्यो विचार कस्तो लाग्छ हजुरलाई ? त्यस्तो विचारलाई व्यावहारिक रूप दिनु सम्भव छ ?
– सम्भव त किन नहुने ? गर्न सकिन्छ । तर रक्तिमलाई एउटा एकेडेमी बनाउने हो भने इन्स्च्युटिलाइजेसनको धेरै कुरामा ध्यान दिनु पर्दछ । किनभने स्कुल जस्तै, युनिभर्सिटी जस्तै बनाउँदा त्यसबाट त्यसको क्रान्तिकारीपन हराउन पनि सक्छ । त्यसो नगरिकन एउटा इन्स्टिच्युसन बनाउन सक्यो भने त्यो धेरै राम्रो बन्न सक्छ । तर कहिल्यै पनि विचारबाट टाढा जानु हुँदैन । पदका लागि, कुर्सीका लागि लड्ने, जस्तो युनिभर्सिटीमा हुन्छ नि, त्यस्तो हुनु हुँदैन । यो जनताकै संस्था हो भन्ने भाव जहिल्यै पनि हुनु पर्दछ जस्तो लाग्छ ।
० अब अलिकति आफ्नो विषयमा बताइदिनुस् । आजभोलि के गर्दै हुनु हुन्छ, गीत–सङ्गीतको क्षेत्रमा ?
– अहिले नेपाली क्रान्तिकारी गीत–सङ्गीत, नृत्यका बारेमा किताब तयार पार्न खोजिरहेकी छु । त्यसका लागि सांस्कृतिक समूहहरुसित काम गरिरहेकी छु । पहिले पहिलेदेखि लागिरहेका मान्छेहरुसित अन्तर्वार्ता लिएर सिक्दैछु । गीतहरु सुन्दैछु । त्यसको बनावटका बारेमा, त्यसमा क्रान्तिकारीपन के कसरी व्यक्त गर्न खोजिएको छ भन्ने कुराहरु सिक्दैछु । नृत्यहरु हेर्दैछु । नाटकहरुबारे खोजी गर्दैछु । तर गीत र नृत्यमा बढी ध्यान दिइरहेको छु अहिले, नाटकमा होइन । किनभने नाटकमा एउटा राम्रो काम गरिसक्नु भएको छ, एक जना मोनिका मार्टिन भन्ने साथीले ।
० नेपाली लोकगीतको विषयमा पिएच.डी. पनि गरिसक्नु भयो…
– मैले पिएच.डी. गरिसकेँ सङ्गीत मानवशास्त्र (एथ्नोम्युजिकोलोजी) मा, लोकगीतका बारेमा, विशेषतः मैले लोक दोहोरी र राम्रो व्यावसायिक लोक दोहोरी गाउनेहरुले आफ्नो गायन र जिन्दगीमा परिवर्तन ल्याउन कसरी खोज्छन् भन्ने कुरामा अनुसन्धान गरेको छु । त्यसमा पनि किताब निकालेको छु, अङ्ग्रेजीमा । अहिले नेपालीमा अनुवाद भइरहेको छ । सिद्धिइसकेको छैन ।
० त्यो पिएच.डी. थेसिसको मुख्य निष्कर्ष के छ ?
– त्यो पिएच.डी. को थेसिसको एउटा मुख्य निष्कर्ष छ । तर खासमा पिएच.डी. थेसिसको धेरै निष्कर्ष हुन्छ । एउटा मुख्य निष्कर्ष हो– राजनीति भन्ने कुरा पार्टीगत अथवा युद्ध मैदानमा मात्रै हुँदैन, हाम्रो सबैभन्दा घनिष्ट सम्बन्धमा पनि हुन्छ । राजनीति भनेको, जस्तो कि मेरो थेसिसमा परिभाषा दिइएको छ, त्यो शक्तिका लागि सङ्घर्ष हो । तपाईको र मेरो सम्बन्धमा पनि शक्तिका लागि सङ्घर्ष हुन सक्छ । यसले धेरै प्रकारको रूप लिन सक्छ । तर लोक दोहोरीमा मान्छेहरुले त्यही कुरा उठाएर परिवर्तन ल्याउन खोज्छन् र त्यो परिवर्तन विस्तारै हुन सक्छ । त्यो मुख्य निष्कर्ष हो । त्यो केमा आधारित छ भने विशेषतः मैले वर्ग, लिङ्ग र जातको कुरा हेरेको छु । किनकि लोक दोहोरीको परम्परा अनुसार गीत गाउनेहरुकै बीचमा विवाह पनि हुन सक्छ । अन्तरजातीय, अन्तरवर्गीय विवाह हुन सक्छ । त्यस प्रकारका सम्बन्धले विवाहको रूपधारण नगरे पनि कमसेकम त्यो अन्तरक्रियाबाट पनि सामाजिक परिवर्तन हुन सक्छ । जस्तो– म एउटा अमेरिकन भएँ, तपाई नेपाली हुनु भयो । हामीले लोक दोहोरी गाएर अन्तरक्रिया ग¥यौँ, सिक्यौँ केही भने त्यसबाट परिवर्तन हुन सक्छ । मैले मेरो थेसिसमा त्यसलाई घनिष्ट राजनीति भनेको छु ।
० मैले तपाईका कतिपय गीतका भिडियोहरु युट्युबमा हेरेको छु । तपाईले कतिपय नेपाली पुरुष गायकहरुसित लाइभ दोहोरी पनि गाउनु भएको छ । त्यसरी गाउँदा यहाँका पुरुषहरुको मानसिकता कस्तो पाउनु भयो ?
– खासमा भन्दाखेरि यहाँका पुरुषहरुले मसँग धेरै राम्रो गीत गाएका छन् । मसँग नराम्रो, उत्ताउलो गाउने एकदम कम छन् । मलाई त्यति याद पनि छैन, त्यस्तो भएको पनि होला । मैले इन्द्रेणी कार्यक्रमको एउटा एपिसोडमा लोक दोहोरी गाएँ । कृष्ण कँडेलसँग राम्रो भयो । तर स्वीटजरल्यान्डबाट आएको एक जना बुढाले उत्ताउलो गीत गाए । त्यता गएर खालि उत्ताउलो मात्र गाउन सिकेर आएछन्, मसँग त्यस्तै गाए । अनि, मैले पनि पेलेर गाउनु प¥यो । रिप्लाई दिनै प¥यो । जित्नै पर्ने हुन्छ लोक दोहोरीमा । मैले उनलाई गाउनै दिइनँ मसँग । मैले कृष्णसँग कुरा गरेर दोहोरी गाएँ । मैले गीत मार्फत् भने– “मेरो मन गयो हार्मोनियम बजाउने भाइसँग”, “गीत गाउन सक्ने छैन यो उत्ताउलो दाइसँग” । यस्तै के के भनेँ (हाँसो…) ।
० अब हामी अन्तिमतिर जाऔँ । समग्रमा नेपालको गीत–सङ्गीत, रक्तिम—यी सबैलाई तपाईले हेर्नु भएको छ । खास गरेर रक्तिमले आगामी दिनमा समाजको परिवर्तनका लागि, रक्तिमलाई अहिलेभन्दा राम्रो बनाउनका लागि के के गर्नु पर्छ । अहिलेसम्म भन्न छुटेका कुरा बताइदिनुस् न ।
– रक्तिमले सामाजिक रूपान्तरणका लागि के गर्नु पर्छ भने सबैभन्दा पहिला त क्रियाशील भएर लाग्नु पर्दछ । नयाँ नयाँ नेतृत्व गर्ने मान्छेलाई जिम्मा दिनु पर्दछ । नयाँ नयाँ प्रस्तुति दिने स्थानहरु बढाउनु पर्दछ । जस्तो– रक्तिमकै कार्यक्रमहरु देखाइरहनु पर्दछ । आफ्नो स्थानबाट हट्नु हुँदैन जस्तो लाग्छ । सामनासँग मिलेर काम गर्न मन छ भने त्यो पनि ठिकै छ जस्तो लाग्दछ । सामना र अरू क्रान्तिकारी विचारधाराका कलाकारहरुसँग मिलेर काम ग¥यो भने त्यो पनि राम्रो हुन्छ । रेकर्डिङ गरेर, राम्रा भिडियोहरु बनाएर प्रचार प्रसार गर्दा राम्रो हुन्छ । अहिले तत्कालै सोच्दाखेरि यी विचारहरु निस्कियो ।
० ठिक छ, समय दिनु भयो, धेरै धेरै धन्यवाद ।
– तपाईलाई पनि धन्यवाद ।