सम्पादीय
सांकृितक रूपान्तरण अनिवार्य
एउटै चासो सर्वत्र फैलिएको छ, आगामी सरकार कस्तो हुने हो र त्यसले नेपालको
भावी तस्बिर कस्तो कोर्ने हो ।विगतमा हँसिया र हथौँडा अङ्कित झण्डा फहराएको सांस्कृतिक बाटो हिडेर आएका दुई ठुला पार्टीले संसदीय र प्रदेश सभाको चुनावमा भारी मतका साथ विजय प्राप्त गरेका छन् । कतिपय मानिसहरु यसबाट निकै उमङ्गित र उत्साही देखिन्छन् । अबको नेपाल समृद्धि र शान्तिको बाटोमा अघि बढ्ने छ र आफ्नो जीवनदशामा पनि आधारभूत परिवर्तन हुने छ भनेर सर्वसाधारण आशावादी देखिएका छन् । आशावादी हुनु राम्रो हो । तर आशाहरु साकार हुन तदनुरुपको वस्तुगत र आत्मगत परिस्थति तयार हुनु अनिवार्य हुन्छ ।
यथार्थ धरातलमा उभिएर नेपालको वर्तमान राजनीतिक, सामाजिक र सांस्कृतिक परिवेश नियाल्ने हो वास्तविकता अर्कै रुपमा प्रकट हुन्छ । एकातिर, वर्षौंदेखि थुप्रिएर बसेका विकराल राष्ट्रिय समस्या यथावत छन् । जनसङ्ख्याको ठुलो हिस्सा गरिबीको रेखामुनि पिल्सिएर आक्रान्त छ । कुनै पनि बेला जनविद्रोहको झण्डा उठ्न सक्ने वस्तुगत परिस्थिति यथावत छ । विगतका सरकारका जस्ता टालटुले कुराले जनताका जल्दाबल्दा यी समस्या समाधान हुने सम्भावना छैन । जनताका असीमित आवश्यकता र सरकारको अक्षमताबीचको दूरी बढ्दै गयो भने परिस्थिति झन् ठुलो विष्फोटक अवस्थातिर जाने सम्भावना छ । अर्कातर्फ, कम्युनिस्ट नाम राखेका पार्टीहरुको सरकारका लागि अन्तर्राष्ट्रिय परिस्थिति त्यति सहज छैन । विस्तारवादी तथा साम्राज्यवादी शक्तिहरुले यस्तो सरकारलाई सहयोग गर्नेभन्दा पनि असहयोग गर्ने र असफल पार्नेतर्फ नै जोड दिनेछन । अर्को प्रमुख समस्या सत्ताको बागडोर सम्हाल्न तम्सिएका राजनीतिक दलहरुको राजनीतिक, सांस्कृतिक र इच्छाशक्तिको स्तर हो । यिनीहरुको नेतृत्व तहमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सारा चुनौतीको सामना गरेर जान सक्ने योग्यता विकास हुने
कुरामा विश्वास गर्न गाह«ो छ । सदनभित्र विगतमा भ्रष्टाचार लगायतका अनेकौ“ अनैतिक सांस्कृतिक कृयाकलापमा मुछिएका तइभ्वहरुको ठुलो सङ्ख्यामा उपस्थिति छ । त्यस्ता पात्रहरु व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितका निम्ति मात्र समर्पित होलान् भनेर सोच्नु व्यर्थ हुने छ । यी वास्तविकताले देशको भावी चित्र अहिले सोचेभन्दा फरक देखा पर्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । जन चाहना अनुरुप देशको भावी चित्र कोर्न राजनीतिक वृत्तभित्र ठुलो जन सांस्कृतिक रुपान्तरणको खाँचो छ । नेपालका सबैजसो दलका नेताहरुको सांस्कृतिक आचरण हेर्दा त्यो उनीहरु आफैले प्रचार गर्ने गरेको दार्शनिक मूल्य–मान्यताको आधारमा उभिएको देखिदैन । आफ्ना घोषित दार्शनिक अवधारणा, नीति, मूल्य–मान्यता विपरीत चल्न खोज्नु आफैलाई आफूले धोका दिनु हो । त्यो धोका आफूभित्र मात्र सीमित रहदैन । त्यसले समग्र राष्ट्र र समाजलाई समेत तदनुसार नोक्सान पुराउँछ । जनता र राष्ट्रका नाममा राजनीति गर्ने तर त्यसबाट प्राप्त हुने सबै उपलब्धिहरुलाई मुख्य रुपमा आफू र आफ्नो पारिवारिक स्वार्थका निम्ति उपयोग गर्ने अवसरवादी सांस्कृतिक हुरीले नेपाली राजनीतिक वृत्त नराम्रोसँग प्रभावित छ । त्यस्तो संस्कृति बोकेका दल र नेतृत्व पङ्क्तिका आधारमा चल्ने कुनै पनि आन्दोलन या सरकारबाट जनताका हितमा ठुला ठुला सफलता प्राप्त होलान् भनेर सपना देख्नु व्यर्थ हुन जान्छ । नेपाललाई जन अपेक्षा अनुरुप विकास र समृद्धिको दिशामा लैजाने हो भने राजनीतिक नेतृत्वको शीर्ष तहबाटै जनोपयोगी महान् सांस्कृतिक रुपान्तरणको प्रकृया दृढतापूर्वक अघि बढाउनु अनिवार्य छ । के त्यो सम्भव होला ?
♦
कस्तो होला नेपालको चित्र ?
– जीवन शर्मा
कस्तो होला नेपालको चित्र ?
यही कुरा खेल्दैछ मनभित्र ।
नेपाली जनताले यो गीत सुन्न र गाउन थालेको धेरै वर्ष भयो । सात दशकको राजनीतिक उतारचढावपछि बल्ल बल्ल धमिलै भए पनि नेपालको नयाँ चित्र अलि अलि प्रकट हुन थालेको छ । देशको यो नवीन तस्वीरमा धेरै कुरा खुल्न अझै बाँकी छन् । संवैधानिक र कानुनी अस्पष्टताहरु प्रशस्तै छन । त्यो परिवेशबाट नेपालको भावी अनुहार कस्तो रूपमा प्रकट हुने होला ? नेपालीको भविष्य अव कुन दिशातिर मोडिने हो ? राष्ट्रको इतिहास कसरी अघि बढ्ने हो ? चुनाव जित्नेले देश कसरी हाँक्ने हुन् ? हार्नेले कस्तो भूमिका निर्वाह गर्ने होलान् ? प्रश्नै प्रश्न बनेर कौतुहलताका धेरै विषयहरु जनताका मनमा झनै प्रखर रूपमा उठी रहेका छन । नेपालको इतिहासको पाङ्ग्रा ढलपल ढलपल गर्दै अप्ठ्यारा मोड र घुम्तीहरु पार गरेर अघि बढी रहेको छ । नयाँ संविधान बमोजिम नेपालको सङ्घीय संरचनाको मोटामोटी खाका तयार भएकोछ । केही महिना अघि स्थानीय चुनाव सम्पन्न भयो ।अहिले प्रतिनिधि सभाका सदस्य चुनिएरसङ्घीय संसदमा आएका छन । प्रदेशसभाको चुनाव पनि सँगसँगै सम्पन्न भएर प्रदेश सभासदको छनोट समेत भई सकेको छ । यसरी भावी सङ्घीय सरकार र प्रादेशिक सरकारका तस्बिर अगाडि आई सकेका छन । संवैधानिक अस्पष्टताहरुका कारण कैयौँ कामकाज अझै अलमलमा परेका छन । समुचित कानुनी व्यवस्था नहुँदा राष्ट्रिय सभाको गठन प्रकृया अवरुद्ध छ । तर पनि देश एउटा अप्ठ्यारो इतिहासको घुम्ती काटेर केही सहज बाटोबाट अघि बढी रहेको महशुस हुन थालेको छ । जनता निकै आशावादी देखिन्छन । कुनै बेला विश्व
राजनीतिक भूकम्पको इपिसेन्टर बनेको देश नेपाल विस्तारै चुनावी परकम्प हुँदै स्थिरतातिर अघि बढेको हो कि भन्ने आभाष हुँदै छ, यद्यपि यसभित्र गर्भमा अर्को प्रकारको ज्वालामुखी विस्फोटनका लक्षण भने देखा परी सकेका छन्, तैपनि आम नेपाली जनता केही समय राजनीतिक दलहरुले चुनावमा बाँडेको आश्वासन बमोजिमको शान्ति, स्थिरता, विकास उन्नति र समृद्धि हेर्न चाही रहेका छन् भन्ने कुरा चुनावमा देखिएको
जनताको उत्साह, अभिरुचि र सहभागिताले प्रष्ट पारेको छ । स्थानीय, प्रादेशिक र सङ्घीय चुनाव सम्पन्न भएपछि अहिले प्रबुद्ध समूहदेखि
लिएर सर्वसाधारणसम्मका दिमागभित्र एउटै प्रश्न खेली रहेको छ– नेपालको इतिहासले नयाँ मोड लिएकै हो ? के साँच्चै अब नेपालमा नयाँ युगको सुरुवात भएकै हो त ? राजतन्त्रको अन्त्य, सङ्घीय गणतान्त्रिक संविधानको घोषणा र त्यसको आधारमा विभिन्न तहका चुनावहरु सम्पन्न
हुनुले बहिरबाट झट्ट हेर्दा नेपाल नयाँ युगको सङ्घार काटेर अगाडि बढेको आभाष मिल्दछ । संविधान सभाबाट निर्मित संविधानका धारा नेपाली जनजीवनमा सकृय हँुदै गएका छन । राजसत्ताका पुराना सांस्कृतिक केन्द्र र पात्रहरु बदलिएका छन । राजकीय अधिकार एकै ठाउँ र व्यक्तिमा सङ्केन्द्रित गर्ने संस्कार, परिपाटी र परम्पराको विधिवत साङ्गेता भएको छ । नयाँ सङ्घीय शासन व्यवस्था बमोजिम चुनावहरु सम्पन्न
भएका छन । चुनावको परिणामले केन्द्रमा र धेरैजसो प्रदेशहरुमा वाम गठबन्धनको सरकार बन्ने कुरा निश्चित जस्तै देखाएको छ । नेपाली जनता लगायत विश्व जन समुदायले अबको नेपाल कुन दिशा र गतिमा अघि बढ्ला भनेर उत्सुकताका साथ हेरी रहेको छ । नेपाली जनताका आशा र सपना गरिबी र बेरोजगारीले पिल्सिएका नेपाली जनता चुनावमा व्यापक रूपमा बाँडिएको आर्थिक समृद्धिको आश्वासनबाट अति नै बढी आशावादी भएका छन् । उनीहरुले केही वर्षभित्रै आफ्नो जीवनदशामा गुणात्मक परिवर्तन आउने आशा र उमङ्ग बोकेर बसी रहेका छन । विदेशबाट चुनावमा आएका कैयाँै युवाहरु देशभित्रै जिन्दगी सुध्रने कुरामा विश्वस्त भएर यतै बसेका छन । कैयौँले विदेशको काम हापेर नेपाल फर्कने योजना बनाउँदै छन् । अब राजनीतिक स्थिरता कायम हुने छ; छिट्टै देशमा समृद्धिका ढोका खुल्नेछन् र त्यस परिवेशभित्र आफ्नो जीवनभरको गरिबी अन्त्य हुने छ भन्ने विश्वासमा नयाँ सरकारको गठन र त्यसका योजना पर्खेर बसी रहेका छन् । कतिपय नेपाली केरुङबाट
रेल चढेर काठमाडौँ, पोखरा हुँदै लुम्बिनी घुम्ने रङ्गीन सपनामा मस्त हुँदै त्यो दिनको प्रतिक्षामा आतुर छन । चुनावमा यस्ता कैयौँ सपना बाँडिएको छ । पूर्व–पश्चिम रेलमार्ग, उत्तर–दक्षिण छिचोल्ने बाटा, नदीनालाबाट जल यातायातको व्यवस्था, पुलपुलेसा, सडक विस्तार, तराईका भूमिहीन किसानलाई जग्गा, पहाडमा कुलो, तराईमा नहर, घरघरमा रोजगारी आदि–इत्यादि जे जे भन्दा तत्काल भोट बढ्छ, ती सबै कुरा भनिएको छ र आश्वासन बाँडिएको छ । यसले जनतामा अभूतपूर्व रूपमा आशा जागेको छ । केही वर्षभित्र नेपालमा सत्र हजार मेगावाट विद्युत उत्पादन हुने छ र त्यसले व्यापक मात्रामा कलकारखाना खुल्नेछन् । बेरोजगारीको अन्त्य हुने छ । देशैभरि मेगासिटीहरु झलल
हुनेछन् । त्यसै गरी ठाउँठाउँमा पर्यटन केन्द्र खुल्नेछन् । नेपालमा पर्यटकको ओइरो लाग्ने छ । होटल र पर्यटन व्यवसायको क्षेत्र समुन्नत
हुने छ । यसरी देशमा चौतर्फी विकासका ढोका खुल्नेछन् र जनताको जीवन स्तर ह्वात्तै माथि उठने छ भन्ने अपेक्षा र सपना नेपाली मनभित्र सलबलाई रहेका छन् । तर रोम शहर एकै रातमा बनेको हैन भन्ने उखान सपना देख्ने जनताले थाहा पाई राख्नु राम्रो हुन्छ । अर्कातर्फ, यस्ता महइभ्वाकाङ्क्षी योजना, रङ्गिन सपना र आश्वासनका पोका वितरण गरेर चुनाव जितेका राजनीतिक दल र नेताहरुले आफूलाई ज्युज्यान अर्पण गरेका यी उत्साही र आशावादी जनता निरास भए भने पाँच वर्षपछि आफ्नो राजनीतिक भविष्य के होला भन्ने कुराको हेक्का राख्नु जरुरी छ ।
विश्व जन समुदायको चासो
चुनावको परिणामपछि विश्वभरिका लगानीकर्ता र सहयोगदाता देशहरुले नेपाललाई विशेष चासो र होशियारीपूर्वक प्रतिकृया व्यक्त गरी
रहेका छन । एकातिर, भारत र अर्कातिर, चीन आफ्ना आफ्नै रणनीतिक योजना मुताविक आगामी सरकारको स्वरूप र त्यसले अवलम्बन गर्ने आन्तरिक र बाह्य नीति हेर्न व्यग्रताका साथ प्रतिक्षारत छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट नेपाल अब कता जाँदै छ भनेर अडकलबाजी
गरेका सामग्री प्रकाशित भई रहेका छन । अहिलेको विश्व परिवेशमा कम्युनिस्ट शक्ति सत्तामा आउनु भनेको—त्यो पनि चुनावबाट—उनीहरुका लागि अनौठो विषय बनेको छ । यसभित्र आफ्ना देशका लगानीकर्ताको पुँजीको भविष्य के हुने हो ? भावी सरकारले कुन प्रकारको विदेश नीति
लिने हो ? यावत् कुराहरुलाई उनीहरुले गम्भीरताका साथ हेरी रहेका छन् । सम्भावना र चुनौती अब बन्ने नयाँ सरकारका सामु नेपाली जनताका आकाङ्क्षा केही हदसम्म पुरा गर्नका लागि थोरै सहज र धेरै असहज परिस्थिति विद्यमान देखिन्छन् । सरकारको दृढ इच्छाशक्ति हुने हो भने आगामी दिनहरुमा नेपाली जनताका सामान्य आवश्यकता परिपूर्तिका लागि आधारभ्ूमि तयार गर्न सक्ने सम्भावना छ । नेपालभित्रका प्राकृतिक साधन र स्रोतहरुको उचित व्यवस्थापन र परिचालन गर्न सके छोटो समयमा देश समृद्धितिर उकालो लाग्न सक्छ । रोजगारीका निम्ति
विदेशमा गएर नाक रगड्नु पर्ने स्थितिको अन्त्य हुन सक्छ । पञ्चवर्षीय योजना तर्जुमा गरेर सबै साधन–स्रोतको परिचालन सङ्घीय नेपालको नया“ नक्सा गर्न सक्ने हो भने विद्युत, खानेपानी र सडक विस्तारको काममा व्यापक विकास गर्न सकिने सम्भावना छ । नेपाली जनतालाई
पुरा विश्वासमा लिएर स्वदेशी लगानीलाई प्रोत्साहित गर्न सकेमा कुनै पनि नाफामूलक परियोजनाका लागि प्रशस्त रकम उठ्न सक्छ । यसले अनावश्यक वैदेशिक दबाब झेल्नु पर्ने अवस्था टर्न सक्छ । हिमाली क्षेत्रमा राम्रोसँग पर्यावरणीय व्यवस्थापन र यातायातको विकास गर्न सकेमा पर्यटन क्षेत्रको विकासका सम्भावनाहरु पनि उत्तिकै व्यापक छन् । सन्तुलित र कुशल कूटनीतिक विदेश नीति अपाउन सकेमा चीन र भारतको पुँजी एवम् भौतिक विकास नेपालको समुन्नतिका लागि ठुलो सम्भावना हुन सक्छ । बेल्ट एन्ड रोड इनिसिएटिभको अवधारण बमोजिम
चीन सरकारले नेपालको भौतिक पूर्वाधारमा सहयोग पुग्ने प्रकारका विभिन्न आयोजनामा सहयोग एवम् लगानी गर्ने योजना बनाई रहेको छ । तदनुसार नेपालले तेइस खरब बराबरको प्रारम्भिक योजना पेश गर्ने तयारी गरी रहेको कुरा प्रकाशमा आएको छ । यसलाई सरकारले प्राथमिकतामा राखेर योजना अघि बढाउने हो भने नेपालभित्र बहुआयामिक परियोजनाहरु सफल हुनेछन् र त्यसले देशको आर्थिक र भौतिक विकासमा ठुलो टेवा पुराउने छ । यस्तै, भारतसँग कूटनीतिक पहल गरेर नेपालमा उत्पादित वस्तु सहज रूपमा भारतमा बेच्न सकिने वातावरण बनाउन सकेमा त्यो विशाल बजारबाट सबभन्दा बढी नेपाली कृषक लाभान्वित हुनेछन् । यस्ता अनेकौँ प्रकारका सम्भावनाहरु नेपाल सामु विद्यमान छन् । ती सम्भावनालाई यथार्थमा परिण गर्न सके भावी सरकारको महइभ्वपूर्ण उपलब्धि हुने छ । त्यसबाट आम नेपाली जनता ठुलो
पैमानामा लाभान्वित हुनेछन् । यी सबै योजना, परियोजना अघि बढाउन र सम्पन्न गर्नका लागि शान्ति र स्थिरता अनिवार्य शर्त हुन् । सरकारले
प्रतिपक्षी र अन्य विभिन्न दृष्टिकोण बोकेर नेपाली समाजमा कृयाशील राजनीतिक शक्तिलाई समेत विश्वासमा लिएर उनीहरुप्रति देश निर्माणको काममा बाधा–व्यवधान उत्पन्न नगर्ने, बरु सहयोगी भूमिका निर्वाह गर्ने प्रकारको व्यवहार र कार्यशैली विकास गर्नु जरुरी हुन्छ । अब बन्ने सरकारको कार्यकुशलता र योग्यताले धेरै हदसम्म यी कुरा निर्धारित गर्ने छ । आगामी वाम सरकारका सामु देशको विकस, प्रगति र उन्नति गर्नका लागि जति चौडा बाटा र सम्भावना छन्, त्यो भन्दा कैयौँ बढी बाधा–व्यवधान र चुनौती पनि छन । कम्युनिस्ट आन्दोलन, नयाँ जनवादी क्रान्ति र त्यसको लागि सशस्त्र सङ्घर्ष अनिवार्य हुन्छ भन्ने मान्यताको आधिकारिकता आफूसँग भएको दावी गर्दै भित्री आन्दोलन अघि बढाई रहेको एउटा शक्ति देशभित्र सकृय छ । त्यसले उठाएका राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक सवालहरुलाई नजरअन्दाज
गर्नु पनि त्यति सहज छैन । तिनै मागका आधारमा दश वर्षे “जनयुद्ध” चलेको थियो । जनयुद्ध सुरू गर्दा उठाइएका कैयाँै मागमध्ये
गणतन्त्रको स्थापना बाहेक अन्य कुनै पनि माग यो संविधानले सम्बोधन गर्न सकेको छैन । सामाजिक विभेद, गरिबी, महङ्गी, बेरोजगारी र अन्य यस्तै जनजीविकाका सवालहरु यथावत रहेको यो अवस्थामा युवाहरु त्यो शक्तिप्रति फेरि आकर्षित हुने छैनन् भनेर ठोकुवा गर्न गाह्रो छ । यसले
आगामी दिनहरुमा शान्ति र स्थिरताका सामु ठुलो चुनौती खडा गर्ने सम्भावना छ । राज्यसत्ताको केन्द्राभिमुखी स्वभावलाई संविधानले केन्द्रिकृत गर्ने प्रयत्न गरेको छ । प्रदेशहरुको चुनाव सम्पन्न भएपछि सम्बन्धित जनसमूहभित्र प्रादेशिक मानसिकताको विकास हुन थालेको छ ।
सिंहदरबारबाट छुटेका राजकीय अधिकारहरु कहाँ कहाँ लगेर स्थापित गर्ने सवाल अहम् बनेर उठ्न थालेको छ । विभिन्न सवालमा आपसी झगडाका बिउ समेत उम्रन थालेका छन । यसलाई समय मै उचित ढङ्गले व्यवस्थापन गर्न सकिएन भने अर्को प्रकारको द्वन्द्व विकसित हुने खतरा बढ्दै जाने स्थिति देखा परेको छ । भ्रष्टाचारका अखाडाहरु यथावत छन् । सरकारले केही राम्रो काम गर्न खोजे पनि सबभन्दा पहिले आर्थिक चलखेलका लागि ती तइभ्वहरु सकृय हुन्छन् । चुनाव जितेका र हारेका धेरैजसो नेता र राजनीतिक दलहरुले कुनै न कुनै माध्यमबाट तिनै अखडाबाट अर्थ सङ्कलन गरेका छन् । तिनीहरुलाई नरिझाउने हो भने तत्काल र भविष्यमा समेत अप्ठ्यारो पर्न सक्छ भन्ने कुराले नेताहरु भयग्रस्त छन । पद, पैसा र प्रतिष्ठाका भोका सरकार चलाउने नेताहरु यस्ता ऐजेरुहरुको पञ्जाबाट उम्कन सकेनन् भने फेरि भ्रष्टाचार, नातावाद, परिवारवाद जस्ता विकृतिहरुको दलदलमा फस्नेछन् । बालुवाटारको बास सत्तास्वाद र भ्रष्टाचारको केन्द्र बन्ने छ । फेरि नेपाली जनताको आशा
घोर निराशामा परिणत हुने छ । त्यसले जनतालाई अर्को कष्टपूर्ण वैकल्पिक बाटो रोज्न बाध्य पार्ने छ । त्यो स्थिति उत्पन्न हुन नदिने हो भने सबै राजनीतिक दलहरुले राष्ट्रको आवश्यकता र जनताको मनोभावनालाई सम्मान गरेर तदनुरूप आफ्ना राजनीतिक, सांस्कृतिक र आर्थिक
गतिविधि सञ्चालन गर्नु जरुरी छ । वाम गठबन्धनको सरकार सामु अर्को अप्ठ्यारो भनेको विश्व परिस्थिति हो । कम्युनिस्ट नाम राखेका र हसिया–हथौँडाको झण्डा उठाएका पार्टीको नेतृत्वको सरकार भारत, अमेरिका लगायत विश्वका पुँजीवादी देशहरुले रुचाएको विषय हैन । वैधानिक र कानुनी बाटोबाट आउने हुनाले भावी सरकारलाई मुखले ठिक्क पारेर स्वागत गर्न बाध्य भए पनि उनीहरुले हरेक अवस्थामा
अप्ठ्यारो पार्ने र हस्तक्षेप गर्ने सम्भावना छ । विशाल बजार भएको भारतलाई चिढाएर नेपाललाई पुराकापुर सहयोग गर्ने चिनियाँ नीति हुने छ भनेर आशा पाल्नु व्यर्थ हुने छ । यो विश्व परिवेशमा फुकी फुकी पाइला चाल्दै सन्तुलित र चलाखीपूर्ण विदेश नीति अवलम्बन गर्नु जरुरी छ ।
सबै खालका अप्ठाराहरूलार्इ हटाउँदै राष्ट्रलाई स्वाभाविक तवरले अघि बढ्न दिनु अहिलेका सबै जिम्मेवार व्यक्ति र संस्थाहरुको दायित्व हो । उपर्युक्त यावत् कुराहरुलाई ध्यानमा राखेर अब बन्ने नयाँसरकारले कस्तो प्रकारको नेपालको चित्र कोर्ने छ ? नेपली जनता र विश्व समुदायले व्यग्रताका साथ हेरी रहेको छ ।
♦