शरणार्थीकाे व्यथा

‘मरेको दिन हंसले बास नपाउने ठाउँमा के खोज्न जानु?’

दीपेन्द्रसिंह थापा

दीपेन्द्रसिंह थापा

मनमा एउटा हुटहुटी थियो, झन्डै ३० वर्षदेखि देशहीन र दिशाहीन भएर अत्यासलाग्दो जीवन बाँचेका शरणार्थीहरूका संवेदना पढ्ने।

बिहानै झुल्के घामको प्रकाश पछ्याउँदै पुगेँ म शिविरभित्र। लाग्यो, घाम पनि सबैका लागि समान न्यानो र उज्यालो छरेर झुल्किरहेको छैन कि!

तामाका मुनाजस्ता कलिला, कल्कलाउँदा केटाकेटीका अनुहारमा समेत उज्यालोको रङ पोत्न सकिरहेको थिएन बिहानले। अनिश्चय र उदासीका बादलले ढाकिएका थिए शिविरका छाप्राहरू। पढेर नसकिने बेचैनीका रेखाहरू थिए, मान्छेका अनुहारभरि।

भुटानको दक्षिणी भागमा मुख्य थातथलो रहेका नेपालीभाषी समुदायलाई ल्होत्छाम्पा समुदायका रूपमा चिनाइन्छ उता। सन् १९९० पछि भुटानी राजतन्त्रात्मक व्यवस्थाले सबै जनताका लागि ‘एक भाषा, एक भेष’ को नीति देशव्यापी रूपमा जबर्जस्ती लाद्ने कोशिश गर्‍यो।

विद्यालयबाट हटाइए नेपाली भाषाका पाठ्यक्रम। सरकारी भाषाका रूपमा लागू गरिएको जोङ्खा भाषा सबैले बोल्नुपर्ने कडा नियमले घोक्रो अठ्याइयो गैरजोङ्खाभाषीको।

त्यतिखेर महिलाले कपाल पाल्न, पोते लगाउनसमेत नपाइने, जोङ्खाभाषी समुदायकै जस्तो वस्त्र–पहिरन लगाउनुपर्नेजस्ता कार्यले जनताको मौलिक हक, अधिकार र स्वतन्त्रता हदैसम्म हरण भयो।

कतिसम्म भने, बन्दुकको आडमा कतिपय नेपालीभाषीलाई स्वैच्छिक रूपमा देश छाडेको कागजमा हस्ताक्षर गर्न र हाँसेको तस्बिर खिच्नसमेत बाध्य पारियो।

पुस्तौं–पुस्तादेखि आफ्नै गाउँ, समाजमा बसिरहेका नागरिकलाई नेपाली भाषी भएकै कारण अनेक प्रतिबन्धहरू लगाइँदै गए। स्वैच्छाचारी सत्ता कतिसम्म आततायी बन्न सक्छ भन्ने कटु दृष्टान्ट थियो त्यो।

जतासुकै सेना आएर घर, टहराहरू जलाउने, जग्गा–जमिन र घरका लालपुर्जाहरू नष्ट गर्ने, नागरिकताका प्रमाणपत्रहरू खोस्ने, आफूखुसी देश छाडेको बयान दिन नमान्नेलाई चरम यातना दिने र गोली हान्नेसम्मको हर्कत हुन थालेपछि मानिसले धमाधम गाउँ छाडे। नेपालीभाषीका गाउँहरू मसानघाटसरि दिउँसै चकमन्न बन्यो। एक लाख ३० हजार नागरिक देश भन्न नपाई भविष्यविहीन यात्रामा लखेटिए।

भाषा–संस्कृतिका आधारमा यो हदसम्मको विभेद र दमन, त्यो पनि सरकारबाटै!

सभ्य मानवसमाज र आधुनिक विश्वजगतलाई नै उपहास गर्ने योभन्दा कुरूप सत्य अरू के नै हुन सक्ला र?

भुटानबाट निकालिएर भारत पुगेका नेपालीभाषीहरूलाई भारतीय सुरक्षाकर्मीले पनि नेपालतिर धपाए। आपदको घडीमा छटपटाउँदै नेपाल छिरेका उनीहरूलाई नेपालले मोरङ र झापाका केही भू–भागमा शरण दियो। त्यहीँ अस्थायी छाप्रा बनाएर घामपानी छल्न पाए, बाजको झम्टाइबाट उम्केका परेवाजस्ता शरणार्थीहरूले।

पटक–पटकको वार्ता र देश फिर्तीको प्रयास सफल हुन नसकेको अवस्थामा तेस्रो मुलुक पुनर्वासको एउटा विकल्प अघि सारियो। अन्योलमाझ एक लाखभन्दा धेरै त तेस्रो मुलुक पुनर्वासका लागि अमेरिका, बेलायत, अस्ट्रेलिया लगायत आठ मुलुकमा पुगिसकेका छन् अहिले।

राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगले नेपालस्थित भुटानी शरणार्थीका लागि तेस्रो देश पुनर्वास, भुटान फिर्ती र नेपालमै समायोजन हुने तीनवटा प्रस्ताव अघि सारेको थियो। तीनवटै प्रस्ताव एकैपटक खुला गर्ने भनिए पनि आजसम्म एउटा प्रस्ताव मात्रै कार्यान्वयन प्रक्रियामा अघि बढ्यो।

यसले तेस्रो मुलुक पुनर्वासमा जान नचाहने अझै केही हजार शरणार्थीहरू बाँकी छन् शिविरमा। उनीहरूका समस्या अहिले पनि निराकरण हुन सकेका छैनन्। उस्तै छन् व्याकुलता। ज्यूँका त्यूँ छन् पीडाका छालहरू।

यिनै बाँकी रहेकामध्ये केही प्रतिनिधि पात्रहरूका आवाज सुन्न मोरङको पथरी र झापाको बेलडाँडी पुगेको थिएँ म, २०१९ अक्टोबरको १७ को दिन।

शरणार्थी जीवनको कालो कालखण्ड भोगेर हाल पुनर्वास क्रममा अमेरिकी नागरिक बनेकी कवि लीला निशाले झापानिवासी सूर्य लिम्बूको साथमा मलाई शिविरको पछिल्लो अवस्था अवलोकनको अवसर जुटाइदिएकी थिइन्।

शिविर छाडेको सात वर्षपछि उनी पनि आफन्त भेट्न झापा पुगेको बेला थियो। उनकै मार्गदर्शन र सूचना पाएपछि के चाहियो र हामीलाई?

अघिल्लो दिन नै उनले सूर्यलाई भनिसक्नुभएको थियो, ‘दीपेन्द्रलाई घुमाउँदै गर्नु, म पनि शिविरमा नै आइपुग्नेछु भेट्न।’

कवि निशा शिविर पुग्नुअघि नै सूर्यले मलाई पथरीको शिविर पुर्‍याइसकेका थिए। सञ्चारमाध्यममा मात्र पढेर, सुनेर र देखेर आफूलाई चासो लागेको प्रसंग प्रत्यक्ष देख्दा छुट्टै अनुभूतिले तरंगित हुँदै थिएँ म आफैं।

शरणार्थी जीवनको भोगाइ कति उच्चाटलाग्दो हुन्छ, त्यो त भोग्नेलाई जति अरूलाई के थाहा होला र? अरूको त केवल कल्पना र अनुमान न हो। लाग्यो, कल्पना र अनुमानमा नै यति भयकारी बिम्ब बन्छ भने त्यो भोगाइ निकै असामान्य कुरा हो।

हो, म त्यही पीडाका रङ पोतिएका शरणार्थी मनहरूसँग साक्षात्कार गर्न पुगेको थिएँ, पहिलोचोटि।

ठूलो हुरीबतास आउँदा पनि नधान्लाजस्ता, मुसलधारे पानी आकाशबाट ओइरिँदा पनि ओत दिन मुस्किल पर्लाजस्ता बाँसका चित्राले बारेका छाप्राहरू, एकतमासका सबै। लाग्यो, अभाव, अनिश्चय र असन्तोषले भित्रभित्रै निस्सासिरहेका हुनुपर्छ यी छाप्रा आफैं।

‘केही वर्षअघि यहाँ लहरै छाप्राहरू थिए, अहिले त धेरै कम भइसकेछन्। मेरा साथीहरू पनि कोही बाँकी छैनन् अहिले यहाँ,’ तेस्रो मुलुक पुगेका साथीहरूका प्रसंग उप्काउँदै थिए सूर्य।

पहिले–पहिले आएको ठाउँ, मैदान र चौतारो देख्दा उनी पुराना कुरा सम्झिँदै भावनामा डुब्दै थिए, सायद। त्यहाँ पुगेको क्षणलाई केही तस्बिरमा कैद गर्दै थिए उनी, ती साथीहरूलाई युरोप, अमेरिकातिर पठाउन। प्रविधिको सहायताका कारण छिनछिनमा जोडिराखिएकै हुन्छन् मन मिल्ने मान्छेहरू, जहाँ पुगे पनि।

पुनर्वासका कारण केही वर्षअघिसम्म लहरै बनेका कतिपय टहराहरूका अहिले भग्नावशेष मात्र बाँकी छन्। घाँस र झाडीले छोपिन लागिसकेका। कतैकतै अलिअलि बाँकी छन् मक्किएका धुरीखाँबा।

पुराना दिनका झझल्का दिने केराका बोटहरू भने कतैकतै बाँकी नै छन्, पुनर्वासतिर जानेका छाप्रा भत्किए पनि। लखेटिएर आएका शरणार्थीका आँसु र अभाव मुछिएको त्यहाँको माटो भने जस्ताको तस्तै छ। एउटा दुःखद इतिहासको साक्षी।

बाँकी रहेको शरणार्थी बस्ती नजिकै तेस्रो मुलुक जान नचाहने वृद्धवृद्धाका लागि दिनभरि बस्ने आश्रम बनेको रहेछ, दुईकोठे अस्थायी टहराको। बाहिरी मुलुक पुगेका युवाहरूले चन्दा उठाएर बनाएको यो आश्रममा दिउँसो वृद्धवृद्धाहरू जम्मा हुने, भजन गाउने, भित्तामा राखिएको ठूलो टिभीमा धार्मिक प्रवचन, गीत र समाचार सुन्ने गर्दा रहेछन्।

केही धार्मिक ग्रन्थ पनि राखिएका छन् त्यहाँ एकापट्टि र्‍याकमा। रूचि हुनेले पढ्छन्। मादल, बाँसुरी र संगीतको उपकरण पनि छन्। कला हुनेले बजाइदिन्छन्। चन्दाबाटै आउने रकमबाट एक जना चौकीदारद्वारा रेखदेखको प्रबन्ध मिलाइएको छ। उनैले वृद्धवृद्धालाई दिउँसो चिया र सामान्य खाजा दिने गर्छन्।

पट्यारलाग्दो दिन कटाउन केही सहज बनाइदिएको छ वृद्धवृद्धालाई, यो दिवा आश्रमले। तेस्रो मुलुक पुगेकाले गाँस काटेर पठाएका रकमको राम्रो सदुपयोग भएको देखेँ।

मनमनै भनेँ, ‘धन्य छन् ती परहित सोच्ने उपकारी मनहरू।’

‘मेरा तीन जना छोराछेरी पुनर्वास क्रममा अमेरिकामा छन्,’ दिवा वृद्धाश्रममा चौकिदारी सेवा गर्दै आएका ६० वर्षीय भुटानी शरणार्थी भरतसिंह गुरुङले भने, ‘मलाई चाहिँ पटक्कै मन लागेन जान। चालचलन, भाषा, संस्कृति र धर्म केही पनि नमिल्ने ठाउँमा गएर दिन कटाउन सक्दिनँ म।’

अर्का ६८ वर्षीय दलबहादुर राई पनि आफ्नी पक्षाघातले पीडित श्रीमतीको रेखदेख गरेर शिविरमै कष्टमय दिनहरू बिताउँदै छन्। उनको पिरलो थपिएको छ, ‘पहिले–पहिले त चन्दा उठाएर उपचार गराएँ। अब उनको उपचार खर्च जुटाउने उपाय छैन।’

अर्की शरणार्थी महिला रूपमाया राई पनि तेस्रो मुलुक पुनर्वासमा नजाने निचोडमा छिन्। उनलाई चिराङ जिल्लामा पर्ने आफ्नो पत्ताले गाउँको झझल्काले अझै सताउन छाडेको छैन।

भन्छिन्, ‘यो उमेरमा भाषा नै नबुझ्ने ठाउँमा गइँदैन अब। पाए आफ्नै देश जाने, नपाए यहीँ बस्ने।’

बाटोमा कतै लम्किँदै थिए, पथरी शिविर व्यवस्थापन समितिका सचिव चम्पासिंह राई। संक्षेपमा केही संवाद भयो उनीसँग। उनका अनुसार पुनर्वास प्रक्रिया सुरू हुँदा सन् २००८ मा २४ हजार शरणार्र्थी रहेको पथरी शिविरमा दुई सय दर्ता नभएकासमेत गर्दा अहिले १६ सय मात्र बाँकी छन्।

बाँकी रहनुको कारण उनले प्रस्ट्याए, ‘कोही अझै स्वेदश फिर्तीकै मागमा अडिग छन्। कतिले चाहिँ हामी नेपालमै बस्छौं, यहीँको नागरिकता पाऊँ भन्ने चाहना राखेका छन्। मातृभूमि छाड्नुपरे पनि पैतृक भूमि यही हो, बरू यहीँ बस्ने भन्ने सोचमा छन्।’

शरद ऋतुले चियाइरहको छ ढोका नजिकैबाट। आँगन वरपर फूलहरू सौन्दर्य छर्ने होडबाजीमा छन्। तर अस्थायी टहराभित्र उस्तै आहत छन् मनहरू। विश्व खाद्य संगठनले सहयोग गर्दै आएको रासनपानीको सहयोग पनि बन्द भइसकेको छ। आफ्नै श्रम, सीप र ज्याला–मजदुरीमा जसोतसो चलेको मात्र छ जीवन। हम्मेहम्मे छ बाँच्न।

भुटानको साम्चीस्थित घरबाट लखेटिँदा सबै कागजपत्र र प्रमाण उतै छुटेका कारण शरणार्थीमा दर्तासमेत हुन नपाएका कुमार शेर्पाका आँसुका कथा उत्तिकै हृदयविदारक छ। यतै आएपछि शरणार्थी युवतीसँग नै बिहाबारी भएको हो उनको।

अहिले चार लालाबाला हुर्काउन कम सकस परेको छैन। डकर्मी काम जानेका उनी दिनभर शिविरबाहिर पसिना बगाइरहन्छन्। जसरी पनि आफ्नो र आश्रित परिवारको प्राणपखेरु धान्नु छ।

पथरी शिविरलाई एक फन्को लगाएर अर्को छेउनिर पुग्नै लाग्दा निशा हामीलाई कुर्दै थिइन्, आफन्त प्रेमबहादुर प्रधानकहाँ। उनले आफू अमेरिका जानुपूर्व बसेको छाप्रो पनि देखाइन्, गहिरो संवेदनाले सुसाउँदै। अमेरिका पुगेको निकै समयसम्म सपनामा यही छाप्रो देखिरहन्थिन् रे उनी।

प्रेमबहादुरका परिवार निकै गुनिला। खाना नखाई कतै जानै दिएनन् हामी तीनै जनालाई। लाग्यो, सम्पत्तिले भन्दा मनले पो कमाइने रहेछ आफन्त त। भुटानको साम्चीमै घरसम्पत्ति छाडेर लखेटिएपछि ज्याला–मजदुरीबाहेक बाँच्ने आधार के नै छ र यो परिवारको? तैपनि उनीहरूको मनकोे विशालता कुनै कुराले नाप्नै सक्दैन।

सातबाट दुई वटामा समायोजन गराइएका छन्, अहिले भुटानी शरणार्थीका शिविर। मोरङको पथरी शिविर घुमेपछि सिधै झापाको बेलडाँगीतिर हानियौं हामी। कतै हरिया घना जंगल, कतै खेतमा बयली खेल्दै गरेका धानका बालाहरू। जता हेरे पनि फराकिला फाँटहरू। तराईका भूदृश्य चियाउँदै बेलडाँगी पुग्दा मध्याह्नको तातोपनले स्पर्श गर्दै थियो।

एक दशकअघिसम्म धेरै शरणार्थीको आश्रयस्थल बनेको थियो, बेलडाँगी। अहिले बाँकी रहेछन्, पुगनपुग छ हजार। कुहिरोमा गन्तव्य पहिचान गर्न नसकेर अलमलिएका चराका जस्तै मनोदशाबाट कहिले मुक्ति मिल्ने होला उनीहरू स्वयंलाई थाहा छैन।

वेदनाका लहरहरू छरपस्टै छन् अनुहारका छेउकुनासम्म। मन अँधेरिएपछि आशा र उज्यालो लिएर कहाँ झुल्किँदो रहेछ र घामजून पनि दुःखीका पोल्टामा?

आफ्नो उमेरभन्दा धेरै हन्डरठक्कर भोगेका धेरैजसा युवाहरू आफ्नो घर फर्किने सपना बीचमै अलपत्र छाडेर तेस्रो मुलुक पुगेका छन् यति बेला, पुनर्वासका लागि। उनीहरूका दुःख र जीवन भोगाइका पाटाहरू आफ्नै ठाउँमा छन्।

त्योभन्दा ठूलो अनिश्चयको तुवाँलो त ती वृद्धवृद्धाको आँखामा छ, जो अझै पनि भुटान फर्किने झिनो आसमा शिविर रुँगिरहेकै छन्।

शरणार्थीबीच सामान्य झैझगडा भए मिलाउने उद्देश्यले शिविरभित्र सामुदायिक मेलमिलाप सेवा केन्द्र पनि खोलिएको रहेछ।

यहीँ स्वयंसेवीका रूपमा कार्यरत ६५ वर्षीय मधुमाया मगरसँग भेट भयो मेरो। जसो गरे पनि तेस्रो मुलुक पुनर्वासमा जान नचाहने पक्षमा रहिछिन् उनी। घर फर्किने सपना साँच्दासाँच्दै मृत्यु भइसक्यो त्यही शिविरमा उनको श्रीमानको। तीन छोरा र तीन छोरी पुनर्वास क्रममा अमेरिकामा पुगिसकेका छन्, तैपनि उनको जाने चाहना छैन।

‘म लगे भुटान जान्छु, नलगे नेपालमै बस्छु,’ उनको सिधा जवाफ हुन्छ, ‘मन नै मान्दैनँ जान।’

२९ वर्ष लामो शरणार्थी जीवनका हुन्डरी बेहोरेका ७७ वर्षीय वृद्ध नरबहादुर बस्नेत पनि ज्यान गए पुनर्वासमा जान्न भनेर अड्डी कस्नेमा पर्छन्।

भुटानको दागाजुङमा रहेको आफ्नो घर र जायजेथाको उत्तिकै मोह छ अहिले पनि उनलाई। ९० मुरी धान फल्ने खेत, मकै, कोदो, फापर र तोरी फल्ने बारी नसम्झेको क्षण नै छैन। सम्झनामा लहलह झुलिरहेकै छन् खेतबारीमा छोडिआएका फसल।

आफ्ना सबै सन्तान पुनर्वास क्रममा तेस्रो मुलुक पुगिसक्दा पनि एक्लै शिविरको जीर्ण टहरा कुरिराखेका छन् उनी। मैले जिज्ञासा राखेँ, ‘आफ्ना छोराछोरीसँग नयाँ देश जान मन लागेन?’

‘म जाँदिनँ। मरेको दिन मेरो हंसले पनि बास नपाउने ठाउँमा के खोज्न जानु?’ उनको प्रतिप्रश्न मतिरै सोझियो।

त्यसपछि मैले थप प्रश्न गर्न सकिनँ र चुपचाप फर्किएँ, बेलडाँगीबाट।

शिविरमा भेटिएका केही प्रतिनिधि पात्रहरूका मनका ध्वनि न हुन् यी त। सुन्दा मथिङ्गल नै रिँगाउने अनेकौं अलिखित कथाहरू अझै कति छन् कति ती जीर्ण शिविरभित्र, उकुसमुकुस भएर बसेका। खै, लेखिदिने पो कसले?

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६, १५:००:००

(सेताेपाटीबाट साभार)

IME Remittance