काठमाडौँ , २८ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा प्रमुख राजनीतिक दलका नेतासँग आज छलफल गर्न लाग्नुभएको छ ।
सभामुख सापकोटाले पत्राचार नै गरेर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि आमन्त्रण गर्नुभएको छ ।
सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बैठकमा बोलाइएको छ । बैठक सिंहदरबारमा दिउँसो दुई बजेलाई बोलाइएको छ ।
समसामयिक विषयमा छलफलका लागि सर्बदलीय बैठक बोलाइएको बताइएको छ । प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुख तथा कानून व्यवसायीसँग छलफल गर्नुभएको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदमको बारेमा परामर्श लिन यस अघि पूर्वसभामुखहरु, कानुन व्यवसायी एवं राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए ।