काठमाडौँ । प्रनिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ ।सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे । अन्ततः लामो बहस र विवादपछि आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै उक्त सम्झौता पारित भएको हो ।
त्यसअघि मन्त्रिपरिषद्ले एमसीसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको प्रस्तावसहित एमसीसी सम्झौता सदनमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका थिए । यसअघि आज बसेको प्रतिनिधिसभाको पहिलो बैठकले एमसीसी प्रस्तावमाथिको सामान्य छलफल प्रस्ताव पारित गरेको थियो । सत्तारुढ सांसदमध्ये धेरैले प्रस्तावको पक्षमा बोलेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदले भने नाराबाजी गरेपनि एमसीसी बहुमतले पारित भएको हो ।
एमसीसी टेबल गर्न लाग्दा सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) कै सांसद झलनाथ खनालले पनि नाराबाजी गरेका थिए । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद भीम रावलले पनि आफू बसेको ठाउँमै उभिएर एमसिसीविरुद्ध नाराबाजी गरेका थिए । एमसीसी सम्झौताका विरुद्ध राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल, नेकपा (एमाले) का भीम रावल, नेमकिपाका प्रेम सुवाल र नेकपा (माओवादी) का गिरिराजमणि पारेखरेलले विपक्षमा मतदान गर्नुभएको थियो ।