महिलाहिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला चित्रकार पाण्डेले एक पटक समाजलाई बिउँझाउने खालको सिर्जना क्यान्भासमा उनेर त्यही समाजलाई देखाएका हुन्। सोह्र वर्षीया पाण्डेले ३० चित्रमा भ्रुणदेखि घाटसम्म हुने अनेकन हिंसालाई चित्रात्मक रुपमा देखाउँदै छन्। पुर्ख्यौली घर गुल्मी भई हाल काठमाडौँ महानगरपालिका– १५ छाउनी बस्ने उनी हाल विज्ञान विषय लिएर कक्षा ११ मा पढ्दै छन्।
कथा, कवितामा समेत उनको रुचि छ।आजदेखि सुरु भई तीन दिनसम्म चल्ने प्रदर्शनीमा पाण्डेले भनिन्, ‘पेटदेखि मृत्युघाटसम्म कुनकुन अवस्थामा महिलामाथि हिंसा हुन्छन् भन्ने कुरा देखाएकी छु, समाजमा समानताका कुरा उठ्न थाले पनि महिला एक तह पछाडी नै छन्, भन्ने गलत सोच अझै जरामा छ, कलामार्फत सोचमा परिवर्तन गराउने मेरो सानो प्रयास हो।’महिलालाई घरको चार भित्तामै सीमित राख्ने अवस्थालाई सिर्जनामार्फत मानिसलाई महसुस गराई सोचमा परिवर्तन होस् भन्ने चाहनाका साथ प्रदर्शन गरिएको हो। यति सिर्जनामा उनको दुई वर्षको मेहनत छ। यद्यपि कोभिडका कारण केही ढिला गरी प्रदर्शन गरिएको हो।
हजारौँ बेदना र आक्रोश मिश्रित आँसुले चित्र सिर्जनाको औचित्य पुष्टि गरिरहेको छ। मुहारमा मात्रै होइन शब्द, स्पर्श, रस, गन्ध, वुद्धि, मन र वृत्तिमा नै घुम्टो ओढ्न विवस ति महिलाका कथा र बेथा क्यान्भासमा रङले दुरुस्त भरिएको छ। विवाह गरेपछि महिलाका रहर, इच्छा, स्वतन्त्रता, निर्णय र अधिकारमाथिको नियन्त्रण समाजमा यत्रतत्र देखिइँदै आएकामा उनले कलामार्फत चिरफार गरेकी छन्।दिमागमा छोरा र पेटमा छोरी हुँदाको भयानक परिणामलाई सहज संयोजनकासाथ क्यान्भास गरेकी छन्। उनले लिङ्गपिच्छेको फरक मृत्युलाई अमूर्तकलामार्फत देखाउँदै समाजलाई सचेत बनाउन खोजेकी छन्।आफ्नो अश्रुधारा थापेर जीवनको तीर्खा मेट्न विवस महिलाका वेदना पनि चित्रमार्फत सुन्दर रुपमा प्रस्तुत गरिएको छ। कलाकार रसना बज्राचार्य उनका चित्र आफैँ बोलिरहेको बताउँछिन्।
‘दर्शनशास्त्रमा महिलालाई देवीका रुपमा हेरिने गरिन्छ, तर समाजले कसरी हेरिरहेको छ, सुप्रियाको सिर्जनामा स्पष्ट छ’, बज्राचार्यले थपे। सुन्दर संयोजनले उनको कलामा निखारपन छ।नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कूलपति कान्छाकुमार कर्माचार्य समसामयिक र जल्दोबल्दो विषय रहेकाले उनको एकल चित्रकला प्रदर्शनीको उच्च महत्व रहेको स्मरण गर्छन्। उनले कलिलै उमेरमा सुप्रियाले भाव, विषय र कलायुक्त कृति समेटेको बताए।कोरोनाका कारण हजारौंले ज्यान गुमाए तर त्यसले सुप्रिया जस्ता कलाकारका सिर्जना फुलाउने कामसमेत गरेको उनले उल्लेख गरे।‘देवीका रुपमा नारीलाई सम्झने गरिए पनि व्यवहारमा फरक रहेको र त्यही पीडा उहाँका ३० सिर्जनामा स्पष्ट छ’, उनले भने।
आर्टलाई घण्टौं लगाएर साधाना गर्न सक्ने क्षमता सुप्रियामा रहेको उल्लेख गर्दै बुबा डा रविन्द्र समिर सुझावात्मक भनाइका साथ भन्छन्, ‘अभिभावकले बालबालिकासँग दिनको आधा घण्टा समय दिनसक्यो भने पनि उनीहरुलाई समाज बुझ्न र सिर्जना तिखारिन सहयोग गर्छ, हामीले त्यो वातावरण दिने प्रयास गरिएको मात्रै हो।’प्रदर्शनीका आयोजक टिम निपोका अध्यक्ष डा. निगम पौडेल यस क्षेत्रकै सम्भावना बोकेकी कलाकारका रुपमा आफुले पाण्डेलाई बुझेको बताए। रासस