– कृष्ण शर्मा
लाहुर जाने चलन धेरै पहिलेदेखि नेपाली समाजमा रही आएको छ । जुन पछिल्लो समयमा वैदेशिक रोजगारीको नामले परिचित छ ।
पहिले विदेश भन्ने वित्तिकै भारत, साउदी–अरेबिया, मलेसिया, कतार दुबै जस्ता मुलुकलाई जनाउँथ्यो भने अहिले आएर ति मुलुकसहित जापान, अमेरिका, अष्ट्रेलिया लगाएतका १५३ मुलुकमा वैधानिक रुपमा नेपाली कामदाहरु गइरहेको बताईएको छ । रोजगारीको रुपमा भारतमा जाने नेपालीको तथ्याङ्क अभिलेख नभए ता पनि लगभग ९० लाखको हाराहारीमा नेपाली विदेशिएको विभिन्न तथ्याङ्कले देखाएको छ ।
विदेशिनु बाध्यता र रहर, अवसर र चुनौती, विदेशमा भोग्नु परेका पीडा एवंम् समस्या, पारिवारिक व्यवस्थापनमा कठिनाई र गैरउत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यता जस्ता विषयमा यो लेख तयार पारिएको छ ।
१.विदेशिनुका कारण/बाध्यता
सदियौँदेखि भारत नेपालीको रोजगारीको लागि प्रमुख गन्तव्यको मुलुक मानिन्छ । नेपालमा उद्योगधन्दाको विकास खासै नहुनु गाउँले जिवनयापनमा दुई छाक खान कै लागि सङ्घर्ष गर्नु पर्ने भएकाले शैक्षिक क्रियाकलापमा सहभागि हुन नसक्ने मध्यम वर्ग तथा निम्न वर्गका व्यक्ति रोजीरोटी कै लागि मजदुरको रुपमा भारतमा जाने गर्दथे भने अहिले नेपालका राजनीतिक पार्टीका नेता पनि प्राय भारत मै रोजगारी गरेका तथा शिक्षा लिएका तथा कुनै न कूनै रुपमा भारतसँग जोडिएको पाइन्छ ।
भारत ब्रिटिस उपनिवेशवादबाट स्वतन्त्र हुनुभन्दा पहिला अर्थात सन् १९४७ भन्दा अगाडी पहिलो विश्व युद्धदेखि ब्रिटिस सेनामा गोर्खा ब्रिगेडको नाममा अहिलेसम्म पनि सेवा गरिरहका छन् । त्यसको समिीक्षाको पाटो छुट्टै छ ।
समयक्रमसँगै नेपालले विभिचन्न देशसँग कुटनैतिक सम्बन्ध अगाडी बढाउँदै रोजगारीको लागि श्रम स्वीकृति लिँदै गएको पाइन्छ । त्यसक्रममा भारतपछिको रोजगारीको लागि अत्याधिक गन्तव्यको मुलुक साउदीअरेयिबा, मलेसिया, कतार, दुबै जस्ता देशहरुमा अर्धदक्ष कामदारको संख्या उल्लेखनीय रहेको छ । विश्वका प्रजातान्त्रिक मुलुकले उदारिकरणको नीति लिएसँगै श्रम बजारमा नेपालीको पहूँच बढ्दै गयो ।
नेपालको शिक्षा क्षेत्रको विकास भए ता पनि विश्वका विकसित राष्ट्रका विद्यालय तथा विश्वविद्यालयको जस्तो गुणस्तर कायम हुन सकेन । विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई राज्यले प्रयोग गर्न सकेन । वैज्ञानिक शिक्षा नीति अङ्गिकार गरेर कुन क्षेत्रमा कति जनशक्तिको आवश्यकता हो भन्ने कुराको हिसाबकिताब लेखाजोखा केही भएन । जसको फलस्वरुप विश्वविद्यालयबाट उत्पादित जनशक्ति जापान, अमेरिका, क्यानडा जस्ता देशमा जान थाले जसलाई वौद्धिक पलायन भन्ने गरिन्छ ।
उच्च शिक्षा प्राप्त गर्दा पनि नेपालमा सिमित व्यक्तिको लागि मात्र अवसर प्राप्त हुने भएपछि विदेशी विश्वविद्यालयको नै डिग्री किन नलिने भन्ने मानसिकताको विकास भएको पाइन्छ । प्लस टु पास गरे पछि विद्यार्थी भिसामा विदेश जाने विद्यार्थीको लर्को लाग्यो । फलस्वरुप विद्यालय तह (+२) उर्तिण गरेका १० प्रतिशत विधार्थी मात्र स्नातकोत्तर अध्ययन गर्नको लागि नेपालका विश्वविद्यालयमा जाने गरेको तथ्याङ्क सार्वजनिक भैरहेका छन् ।
विदेशमा रहँदा विकसित मुलुकले गरेको विकास पछाडिका रहस्यहरु बुझ्ने सबैभन्दा ठुलो अवसर प्राप्त भएको छ । विकासका लागि शासन व्यवस्था, सरकारका अङ्गहरुले प्रदान गर्ने सेवा सुविधाहरु, सार्वजनिक प्रशासनको चुस्त दुरुस्त सेवा प्रवाह, सुशासन, अझ भनौँ समयको महत्व र अनुशासन महत्वपूर्ण पक्ष हुन् ।
फलस्वरुप उच्च शैक्षिकस्तर हुनेहरु रोजगारीको लागि तथा थप अध्ययनको लागि विकसित देशमा गइरहेका छन् भने निम्न शैक्षिकस्तर हुनेहरु खाडी मुलुकमा थोरै पैसामा श्रम बेच्नको लागि म्यानपावरमा लर्को लागिरहेका छन् ।
पछिल्लो समय दक्षिण कोरिया जानेहरु शैक्षिक योग्यतालाई मापदण्ड नबनाएकोले भाषा परीक्षा उर्तिण हुनेहरु छन् । जस्को छुट्टै मुल्याङ्कन हुन जरुरी छ । यसरी हेर्दा विकसित भनिएका देशमा दक्ष श्रमिक जानेभन्दा विद्यार्थी भिषामा अध्ययनको लागि गइ अध्ययन सकेर दक्ष श्रमिकको रुपमा काम गरिरहेको पाइन्छ ।
२. अवसर र चुनौती
विश्वव्यापिकरण सँगै सिङ्गो विश्व नै एउटा गाउँ भएको छ । सञ्चार एवंम् प्रविधिको क्षेत्रमा आएको छलाङ सँगसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका सामु पनि अवसर र चुनौति एकसाथ रहेका छन् ।
क. अवसर
विदेशमा रहँदा विकसित मुलुकले गरेको विकास पछाडिका रहस्यहरु बुझ्ने सबैभन्दा ठुलो अवसर प्राप्त भएको छ । विकासका लागि शासन व्यवस्था, सरकारका अङ्गहरुले प्रदान गर्ने सेवा सुविधाहरु, सार्वजनिक प्रशासनको चुस्त दुरुस्त सेवा प्रवाह, सुशासन, अझ भनौँ समयको महत्व र अनुशासन महत्वपुर्ण पक्ष हुन् । सहि व्यक्ति सहि समयमा सहि ठाउँमा भएन भने देशको भविष्य अन्धकार हुन्छ ।
त्यसरी नै अनुशासन मानव जगतको गहना हो, भाग्यमाथिको अन्धविश्वास अनुशासन होइन । अर्को महत्वपूर्ण अवसर भनेको वैदेशिक रोजगारीमा रहँदा सिकेको सीप नेपालको हावा पानी अनुसार केहि परिमार्जनसहित प्रयोगको अवसर पनि हो ।
अहिले केही युवाहरुले रगत र पसिना नेपालमा नै बगाउनु पर्छ, सुन फल्छ भन्दै विभिन्न उद्यमशिलतामा लागेर सबैलाई हौसला प्रदान गरेका छन् । यो सँगसँगै अर्को महत्वपूर्ण कुरा राज्यको नियम भन्दा माथि कोही पनि छैन, कानूनको पालना सबैले गर्नुपर्छ जनता होस् कि नेता, शासित होस् कि शासक, विधिको शासन हुन्छ, छाडातन्त्र हुँदैन ।
सांसद, मन्त्री, प्रधानमन्त्री तथा राष्ट्रपति पनि कारवाहीको भागिदार हुन्छन् भन्ने प्रष्टसँग बुझ्ने अवसर प्राप्त भएको छ ।
विकसित देशहरुमा पनि पार्टीगत राजनीति हुन्छ तर त्यहाँका नागरिकको उपस्थिति अत्यन्त न्युन हुन्छ किनभने श्रम नगरी कसैलाई पनि खान पुग्दैन भन्ने गतिलो पाठ सिकाएको छ । नेपालमा जस्तो पार्टीको झण्डा बोकेर आज यो प्रशिक्षण छ भोलि यो प्रशिक्षण छ भनेर पढेलेखेका युवाहरु भौतारिदैनन् । आफ्नो अध्ययन अनुसारको पेशा व्यवसायमा व्यस्त हुन्छन् ।
कुनै पनि पार्टीको संगठित सदस्य हुन मन पराउँदैनन् किनभने समय र श्रमको दुरुपयोग भइ देश विकासमा असर पर्दछ भन्ने चेतनाको विकास भएको छ । कुनै पनि क्षेत्रको सडक, खानेपानी, विद्युत जस्ता विकासका पुर्वाधारसहित पार्क, बगैँचा, स्कुललगायत सार्वजनिक स्थानहरुको सरसफाई तथा व्यवस्थापनको पद्धति नजिकबाट बुझ्ने अवसर प्राप्त भएको छ ।
विकसित देशका नागरिकहरु वृद्ध अवस्थामा पनि सडक तथा पार्कको सरसफाई, विभिन्न स्थलहरुको रेखदेख जस्ता आफूले सकेका काम गरेर राष्ट्र निर्माणमा टेवा पु¥याएका हुन्छन् । देश निर्माणको लागि आधारभुत कुराहरु नजिकबाट सिक्ने बुझ्ने अवसर प्राप्त हुन्छ ।
ख. चुनौती
विकसित देशहरु कसरी त्यहाँ पुगे भनेर बुझ्ने तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नेतर्फ अग्रसर नहुनु दुर्भाग्य नै भएको छ । श्रम वगाउन विदेशमा रहे पनि नेपाल कै पार्टीहरुको भातृ संगठन निर्माण गरी राजनीति गर्नु नेपालीहरुले महान कार्य ठान्ने गरेका छन्, जसलाई सुधार गरेर आफू रहेको देशको राम्रो कुराको अनुशरण गर्न कतिपय नेपालीहरु मानसिक रुपमा तयार भैसकेका छैनन् ।
आजका विकसित मानिएका राष्ट्रहरु त्यसै विकसित भएका होइनन्, त्यहाँ कम्तिमा १/२ पुस्ताले अधिक श्रम गरेर सम्भव भएको हो । त्यो सोचको विकास गरेर हामीले विकासको नेतृत्व गर्न सक्छौँ कि सक्दैनौँ चुनौतिको विषय रहेको छ । समय र अनुशासनको पालना गर्दै श्रमको सम्मान गर्न सक्छाँै कि सक्दैनौँ, बोली र व्यवहारमा एकरुपता ल्याउन सक्छौ कि सक्दैनौँ, आफूले प्राप्त गरेका अधिकारलाई जिम्मेवारपूर्वक कर्तव्यमा ढाल्न सक्छौँ कि सक्दैनाँै, विदेशी भुमिमा भएर पनि नेपाल मै जसरी हल्ला गर्ने, उद्ण्ता देखाउने, नियम कानून मिचेकोमा गर्व गर्ने गर्छौँ कि सभ्य नागरिक भएर बाँच्न सिक्छौँ ।
नेपाली चाडपर्व तथा संस्कृति मनाउने नाममा पार्क तथा रेष्टुरेण्टहरुमा नेपालीलाई प्रवेश निषेध गर्न वाध्य बनाउने परिस्थतिको सिर्जना किन गर्दैछौँ ? नेपाली भाषा तेस्रो पुस्ताबाट समाप्त हुने खतरा बढ्दो छ यसलाई संरक्षण गर्न हामीले के गरिरहेका छौँ ? नेपाल राज्यले लगानी गरेर उच्च शिक्षा अध्ययन गरी विदेशिएकाहरु विकसित देशमा सामान्य जीवनयापनमा सहजता भएका कारण स्वदेशमा नर्फकने सोचमा वृद्धि भएको छ । यसको प्रत्यक्ष असरलाई राष्ट्र निर्माणको चुनौतीको रुपमा लिन सकिन्छ ।
३. विदेशिएकाको पीडा
विदेशिएकाको पीडा सबै देशहरुको एउटै नहोला तर उस्तैउस्तै भने हुन सक्छ । भारतलगायत खाडी मुलुकमा रगत पसीना बगाइरहेका नेपालीहरुको पीडा र अमेरिका, जापान, क्यानडा तथा यूरोपका देशहरुमा रहेका नेपालीहरुको भोगाई फरक फरक हुन सक्छ त्यसलाई महशुस गर्ने र सोच्ने व्यक्तिमा पनि फरक पर्न सक्छ ।
एकातर्फ आफ्नो देशमा रोजगार नपाएर विदेशीनुको पीडा आफ्नो घरपरिवार, गाउँ, समाज सबैलाई चटक्क माया मारेर आँसु बगाएर बस्नु परेको छ । हामीलाई जन्माउने, हुर्काउने, पढाउने हाम्रा वृद्ध आमा बुबा लाई हाम्रो आवश्यकता पर्दा साथ दिन सकिरहेका छैनौँ ।
त्यसको विपरित कति नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विदेशमा नै अलपत्र परेको तथा मृत्यृवरण गर्नु परेको कारण उहाँहरुको परिवारको विचल्ली भइ सहनै नसक्ने पीडा महसुस गर्नु परेको छ भने अर्कोतर्फ विदेशी नागरिकले गर्ने अपमानपूर्ण भेदभावको पीडा सहनै नसकिने गरी टाउकामा बजारिएका छन् । हाम्रो देशको स्वतन्त्रता सार्वभौमसत्ता तथा अस्मितामाथि विदेशीहरुले धावा बोल्दा साह्रै पिडा महसुस हुन्छ ।
यसको श्रेय जनताको जीवनस्तर उकास्न राजनीतिक गर्छु भन्ने राजनीतिक दल, सर्वश्रेष्ठ ठान्ने हामी नागरिकलाई नै जान्छ । नेपालको बारेमा जानकारी राख्ने विदेशीसँग हामी शीर ठाडो पारेर कुराकानी गर्न नसक्ने भएका छौँ, कारण ग्रामिण क्षेत्रको नभै हाम्रो राजधानीको अस्तव्यस्तता हो । न खानेपानीको व्यवस्था छ, न सार्वजानिक शौचालयको व्यवस्थापन, नत फोहोरको व्यवस्थापन नै छ । अनि हामी कसरी ठाडो शीर लगाएर आँखामा आँखा जुधाएर व्यवहार गर्न सक्छौँ ? कहिलेसम्म हामी बहादुर गोर्खाली भनेर अपमानित हुने ? हामीसँग नेपाललाई चिनाउनको लागि २ वटा कुरा मात्र बाँकी छन् ।
पहिलो शान्तिका अग्रदुत गौतम बुद्ध नेपालमा जन्मिएका हुन् र अर्को विश्वको अग्लो हिमाल सगरमाथा नेपालमा पर्छ । के हामीले सधैँ यिनै कुराको मात्र भजन गाएर पुग्छ त ? हामिले सोच्नु पर्ने बेला भएन र ?
प्रवासीहरु सामाजिक सञ्जालहरुमा चिल्ला कारमा चढेको, समुन्द्री किनारमा टहलिएको जस्ता विषयहरु मात्र कहिलेसम्म पोष्ट्याउने । खोइ हामीले भोगेका दुःख एवंम् कष्टहरु नेपालमा रहेका हाम्रा घरपरिवार, इष्टमित्र, साथीसङ्गी सबैले महसुश हुने गरी चित्रण गर्न सकेको ता की विदेशीले शोषण दमन गरेका हाम्रो स्वतन्त्रता, आत्मसम्मान जस्ता विषयमा चोट पु¥याएका खबर सम्प्रेषण गर्दा सबैले महशुस गर्ने अवसर प्राप्त हुन्छ ।
विकासका सूचकहरु मध्ये उच्च आम्दानी एउटा मात्र सूचक हो भने यसले घरपरिवार, समाज, इष्टमित्र एवम् आफ्नो देश छोडी प्राप्त गरेको आम्दानीलाई के सुख र खुसीको सूचक मान्न सकिएला ?
अर्को डरलाग्दो पाटो के छ भने ऋणधन गरेर विदेश जाने जेनतेन ऋण पनि तिर्ने त्यसपछि परिवार, आफ्न्त, इष्टमित्र तथा साथीसङ्गिले चित्त दुखाउलान् भनेर घडी, मोवाइल, ल्यापटप जस्ता उपहारको लागि २,३ वर्ष कमाएको पैसा अनुत्पादक क्षेत्रमा लगानी गर्छन् ।
जसले गर्दा पहिला जस्तो विदेशीएका व्यक्ति फर्किँदा पनि उस्तै आर्थिक अवस्थामा फर्किने अवस्था सिर्जना भएको छ । केही बढी आम्दानी हुनेहरुको उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने वातावरण नभएका कारण विप्रेशणको ७० देखि ८० प्रतिशत घर घडेरी तथा विलासिताका सामानहरु जोड्ने कुरामा प्रयोग भएको छ ।
४. गर्नुपर्ने के त ?
राज्यले उत्पादनलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापनमा सहयोग गर्नु पर्ने देखिन्छ । पूँजी नभएर देश विकसित नभएको होइन जसको उदाहरण अहिलेको शेयर बजार हेरे पुग्छ । त्यसैले आम जनतामा भएको पूँजीको उचित व्यवस्थापन गरी उत्पादनमुखि क्षेत्रमा लगानी गर्दै, देशमा नै रोजगारीको अवसर सिर्जना गर्नुपर्दछ । विप्रेशणमुखि अर्थतन्त्रलाई उत्पादनमुखि अर्थतन्त्रमा रुपान्तरण गर्दै लैजानु पर्दछ जसले गर्दा विदेशी हस्तक्षेपमा न्युनिकरण भई परनिर्भरताको अन्त हूँदै आत्मसम्मानको प्रत्याभूति हुने गर्दछ ।
आफ्नो राष्ट्रमा नै पसीना बगाउने अवसर प्राप्त भयो भने खाडीमा रहेको बालुवाको खानीलाई त हराभरा बनाउन सक्ने नेपालीले नेपाललाई साच्चिकै स्वर्ग बनाउन सक्छन् भन्ने प्रत्याभूतिको विकास गर्न सकिन्छ ।
अन्यमा, २० देखि ४० वर्ष उमेरका ३० लाखभन्दा बढी नेपाली विदेशमा छन् । जसमा थोरै नेपाली मात्र उच्च पदमा छन् । विप्रेशण विभिन्न रुपमा विदेशमा नै फर्किएको अवस्था छ ।
यस परिवेशमा राज्यसँग विदेशीएका नागरिकहरुको अपेक्षा भनेको राजनीतिक स्थिरता र सुशासन, शान्ति र सुरक्षाको प्रत्याभूति न्युनतम आवश्यकताको पूर्तिको ग्यारेण्टी, भ्रष्टाचारको अन्त्य र सुनिश्चितता जस्ता महत्वपूर्ण कुराहरु रहेका छन् । यति गर्न सकियो भने थोरै समयमा पनि विकासले फड्को मार्न सक्छ । (लेखक शर्मा हाल जापानमा हुनुहुन्छ)