ढुङ्गाको भाग्य :सुनील कुमार पौड्याल


सुनील कुमार पौड्याल

त्यो सानो ढुङ्गो हो । सानो भन्नाले त्यतो सानो पनि होइन । सानो फुटबल अर्थात एक नम्बरको फुटबल जत्रो । त्यो समतल मैदानमा अलपत्र परिरहेको थियो । कोही त्यसमाथि टेक्न पुग्थे त कोही लतारेर कहिले यता कहिले उता पु¥याइदिन्थे । साह्रै सकस थियो त्यसलाई । एकपल्ट अचानक ठूलो भुइँचालो आयो । भुइँचालो आँफू मात्र आएन त्यसले ठूलो हुरी पनि लिएर आयो । भुइँचालोले जमीन अलिकति उचालिदियो र सम्हालिनसक्नुको हुरीले त्यो ढुङ्गोलाई यस्तरी ऊडाएर लग्यो कि ढिस्कोको टुप्पोमा आसन जमाउने गरी त्यो ढुङ्गोलाई थचारिदियो । बिस्तार बिस्तार त्यो ढुङ्गो जमीनमा यस्तरी टाँसियो कि त्यसलाई आँफू मजबुत भएको अनुभव हुन थाल्यो । केही नक्कली र सक्कली छुट्याउन नसक्ने मान्छेले त्यो ढुङ्गोलाई देउता ठान्न थाले । त्यो ढुङ्गोको पूजा गर्न थाले । त्यसलाई देउता नै बनाइदिए ।
त्यो नक्कली देउता हरदिन सिङ्गारिने भैगयो । फगत ढुङ्गो पनि सिङ्गारिएपछि त राम्रो देखिन थाल्यो । पहिलेभन्दा अलि उज्यालो पनि हुने भैगयो । त्यसमाथि किसिम किसिमको धूप, दीप, नैवेद्यले त त्यसको सुन्दरता यस्तरी बढाइदियो कि मान्छेलाई हेरूँ हेरूँ लाग्ने भयो । पहिले नजिक हुँदा गन्हाउने जस्तो ढुङ्गो अब बास्नादार भयो ।
केही मान्छेहरू त्यसका वरिपरि झुम्मिन लालायित हुन थाले । मानवहरूले त त्यो नक्कली देउतालाई चिनेका हुनाले त्यसको कुनै वास्ता ्गरेनन् । मतलव ्गरेनन् । तर केही मान्छेहरू त्यसलाई पुजिरहेकै छन् । त्यो ढुङ्गाको स्थूल शरीर भएको हुनाले आफैं त्यो हल्लिंदैन, हल्लिन चाहँदैन । त्यसलाई हल्लाउन कुनै शक्ति चाहिन्छ । त्यो पनि लरतरो हैन, अद्भुत शक्ति नैं चाहिन्छ । पहिलेको जस्तो विध्वंश शक्ति हैन, त्यो विध्वंश शक्तिले त फेरि त्यस्तै मूढ, स्थूल र नक्कली देउता बनाउन सकिने ढुङ्गाको मात्र संरक्षण गर्छ । त्यसलाई त्यस्तै नैं मन पर्छ ।
त्यो कति थेचरो छ भने भारी वर्षा भए पनि बसिरहन्छ रुझेरै, चट्याङ्ले छेउछाउ ताछोस् ,छिया छिया होस् तैपनि मतलव छैन बसिरहन्छ, भनिहालें नी स्थूल छ नीं त ! चराचुरूङ्गीले माथमा जतिसुकै बिष्ट्याउन् त्यसको यसलाई कुनै मतलव छैन । ऊ सोच्छ किन मतलव गर्ने ? जसजसलाई जे गर्नु छ गरिरहुन् । म त टुप्पाको आसनमा छँदैछु क्या र, मलाई के को मतलव !
खुट्टाले लतारिने गरेको, खुट्टाले नैं किचिने गरेको त्यो ढुङ्गो त्यति माथि टुप्पोमा आसन जमाएर बस्न पाएको छ, उसलाई के चाहियो त्योभन्दा । न भूतो न भविष्यति । धुन्धकारी कहाली लाग्दो भुइँचालो र निसास्सिंदो हुरीले आफ्नो अस्तित्व जाहेर गर्न नपाएको भए त्यो ढुङ्गो कहाँ त्यो आसनमा बतास्सिएर पुग्न पाउँदो हो त !
अब त्यो नक्कली देउतालाई हटाउने हो भने त मानव अठोट, जाँगर र दह्रो ईक्षा शक्तिका साथ तिनमा एकता पनि चाहिन्छ । नत्र त्यसले सक्कली देउता जस्तो बनेर झुक्याइरहन्छ, पूजा खाइरहन्छ, अझै कतिन्जेल त्यो उच्च आसनमा बसिरहन्छ किनभने सोच्दै नसोचेको मात्र हैन, त्यो स्तरको छँदा पनि थिएन, एउटा धुन्धकारीले त्यसलाई त्यहाँ पु(याइदिएको न हो । पाइनसक्नुको आसन पाएपछि कसले छाड्छ र !

IME Remittance