महेन्द्र आचार्य,
पछिल्लो समय देशमा राजनीतिक संकट चुलिँदो छ । जस्तो खालको राजनीतिक चर्चा देशमा बेला–बेला भइरहन्छ त्यस्तै चर्चा प्राकृतिक प्रकोप र तिनका व्यवस्थापनमा बारम्बार हुने गरेको छ ।
तर, प्रकोप व्यवस्थापनमा ठोस कदम भने न केन्द्र सरकारले चाल्न सकेको छ न त प्रदेश र स्थानीय तहले नै चाल्न सकेका छन् । नेपालमा वर्षायाम सुरु भएसँगै देशका विभिन्न भाग बाढी र पहिरोको उच्च जोखिममा रहने गर्छन् । हरेक वर्ष बाढीपहिरोबाट अर्बौं रुपैयाँ बराबरको संरचना र धनधनको क्षति हुने गर्छ ।
गृह मन्त्रालयको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने पछिल्लो आठ वर्षमा मात्र झन्डै आठ हजारको हाराहारीमा प्राकृतिक प्रकोपबाट मानवीय क्षति भएको पाइन्छ ।
हरेक वर्ष विपत्तिको सामना गर्दै आइरहेका हामीलाई यस वर्ष वर्षायामको सुरुआतसँगै सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले मच्चाएको वितण्डाले थप चिन्तित तुल्याएको छ ।
पछिल्लो अवस्थालाई आँकलन गर्ने हो भने जुन दर र जुन प्रकृतिको पहिरो गइरहेका छन्, ती बढ्दो रूपमा छन् । वर्षायामको सुरुआतसँगै हुने भीषण वर्षा बाढीपहिरोको कारक भए पनि कतिपय ठाउँमा भने मापदण्ड विपरीत बनाइएका मानवीय संरचना पनि दोषी हुने गर्छन् ।
उसो त अत्यन्तै चलायमान एवं कमजोर भू–बनोट भएको नेपाल विश्वमा भूकम्पीय र बाढीपहिरोको हिसाबले पनि अति जोखिमयुक्त मुलुकको सूचीमा पर्छ । अहिलेकै आँकडालाई आधार मान्ने हो भने पनि भूकम्पको जोखिमको हिसाबले नेपाल एघारौँ स्थानमा पर्दछ भने बाढीपहिरोका हिसाबले तीसौं अति जोखिमयुक्त मुलुक मा पर्दछ ।
“विकासका नाममा सम्भावित विपद्को पहिचान नगरी हचुवाको भरमा सडक विस्तार गर्नु हुँदैन भन्ने कुरा पनि हामीले सिक्नुपर्ने हुन्छ । डोजर चालक इन्जिनियर बन्ने, जनप्रतिनिधि इन्जिनियर बन्ने कार्यले पनि विकासको नाममा विनाश निम्त्याइरहेको छ ।”
गत वर्षझैं यस वर्ष पनि वर्षायामको सुरुआतसँगै सानादेखि ठूला पहिरो जाने क्रम जारी छ । पछिल्लो समय हेर्ने हो भने जति पनि बाढीपहिरोका घटना छन्, ती सबैको कारण भारी वर्षा र भिरालो जमिन मान्न सकिन्न या भनौँ भूगोल तथा प्रकृतिलाई दोष दिएर हामी उम्कन मिल्दैन ।
प्राकृतिक विपद्ले निम्त्याउने जनधनको क्षतिको एउटा कारण मनपरी भइरहेको विकास निर्माण कार्य पनि हो । पछिल्लो समय विकास निर्माणको हुटहुटीलाई हेर्ने हो भने बिनाअध्ययन, बिनामापदण्ड एव। मनपरी ढंगले निर्माण भइरहेका सडक सञ्जालले झनै पहिरो निम्त्याएको देखिन्छ ।
समष्टिगत एवं केही विश्लेषणात्मक ढंगले भन्ने हो भने जोखिम पहिचान, पूर्वाधार विकासको तथा र अनुसन्धान आदिको कमीले पनि पछिल्लो समय समस्या निम्त्याएको देखिन्छ । सामान्यतस् यस वर्ष मनसुन सुरु भएको छोटो समयमै औसतभन्दा बढी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको तथ्यांकले देखाउँछ । पानी जमिनको सतहमा एकैतर्फ बग्दा त्यसको प्रभाव सतहको माटोमा पर्न गई पहिरो जान थाल्छ । त्यसको प्रभाव जमिनको तल रहेको कमजोर भू–भागमा पर्न जान्छ र पहिरोको आकार झनै ठूलो हुन जान्छ । जुन, विनाशकारी रूपमा परिणत हुन पुग्छ ।
यस्तै, नेपालमा अहिले गहिरहेका यस्तै पहिरो हुन् । नेपालमा पहिरो जानुको अर्को कारण २०७२ सालमा गएको भूकम्पले हल्याएको जमिन पूर्ण रूपले पुरानो अवस्थामा आइनसक्नु पनि हो । विभिन्न अध्ययन तथा अनुसन्धानलाई आधार मान्दा यसको प्रक्रिया पूरा हुन कम्तीमा पनि १० वर्ष लाग्ने गर्छ ।
अर्कोतर्फ विपद पूर्व अपनाइने सावधानीको कमीले पनि क्षति धेरै हुने गरेको पाइन्छ । विपद् सम्बन्धी जीवनपयोगी अध्ययन तथा अनुसन्धानको कमी पनि यसको एउटा कारण हो । हाल हाम्रो देशमा कुन ठाउँ, कुन बस्ती पहिरोको हिसाबले जोखिम स्थानमा छ भन्ने कुरा नै एकिन गर्न सकिएको छैन । जसले गर्दा बस्ती स्थान्तरण गर्ने कामले पनि मूर्तरूप लिन सकेको छैन । यस्ता किसिमका समस्या समाधानका लागि वैज्ञानिक भू–उपयोगका नीति बनाएर व्यावहारिक ढंगले लागू गर्नुपर्ने आवश्यकता अहिले गइरहेका पहिरोहरूको प्रकृतिले देखाउँछ । हाम्रो जस्तो कमजोर भौगर्भिक बनोट भएको मुलुकमा अति कमजोर, असमान एवं संवेदनशील भू–बनोट भएको ठाउँमा बस्ती बस्नु, पहिरोले घेरिएको ठाउँमा बस्ती हुनु, पुरानो पहिरो गएको ठाउँमा बस्ती बस्नु, अति नै भिरालो भू–भागमा बस्ती बस्नु, खहरे खोला नजिक बस्ती बस्नुले हामी बाढीपहिरोको उच्च जोखिममा छौँ ।
विकासका नाममा सम्भावित विपद्को पहिचान नगरी हचुवाको भरमा सडक विस्तार गर्नु हुँदैन भन्ने कुरा पनि हामीले सिक्नुपर्ने हुन्छ । डोजर चालक इन्जिनियर बन्ने, जनप्रतिनिधि इन्जिनियर बन्ने कार्यले पनि विकासको नाममा विनाश निम्त्याइरहेको छ ।
विपद् व्यवस्थापनमा सर्वसाधारण नागरिकदेखि स्थानीय सरोकारवालाहरू, विषय विज्ञ, सञ्चारकर्मीहरू, राजनीतिक पार्टीहरू सबैको आफ्नो ठाउँबाट प्रयास जरुरी हुन्छ । प्राकृतिक प्रकोपबाट पूर्ण रूपमा जोगिन र नियन्त्रण गर्न कठिन देखिन्छ तर प्रकोप सम्बन्धी पूर्वतयारीबाट भने धेरै हदसम्म क्षति न्यूनीकरण गर्न सकिन्छ । सामान्यतस् प्राकृतिक प्रकोपको पूर्वतयारीका लागि गरिने खर्च र प्रकोपपछि पुनस्र्थापनाको खर्चको पनि अतुलनीय जस्तो फरक पर्न जान्छ । त्यसैले पनि हामी विपद् पूर्वतयारीका लागि जोडदार तरिकाले आगाडी बढ्नु पर्ने देखिन्छ । त्यसका लागि तीनै तहका सरकारले संयुक्त प्रयासहरू आगाडि बढाउनुपर्ने देखिन्छ ।
प्रकोप व्यवस्थापनको बाटोलाई नियाल्ने हो भने प्रकोप व्यवस्थापन एवं पूर्वतयारीका लागि छुट्टै संयन्त्रको विकास गरी तल्लोदेखि माथिल्लो तहसम्म नै प्रकोप व्यवस्थापन सम्बन्धी अध्ययन तथा अनुसन्धानलाई जोड दिएर सम्भावित जोखिम क्षेत्र पहिचानका लागि अनुसन्धानको दायरा बढाउनुपर्ने देखिन्छ । यति मात्रै होइन समुदायस्तरमा प्रकोप सम्बन्धी सचेतनाका कार्यक्रमलाई आगाडि बढाइ समग्र रूपमै बस्ती विकासको नवीन योजनाहरू बनाउनुपर्ने देखिन्छ ।
अर्कोतर्फ भन्ने हो भने बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपबाट बच्न स्वयम् नागरिक पनि बढी चनाखो हुनुपर्ने हुन्छ । सरकारी संयन्त्रले जारी गरेको सूचना र जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान हेर्ने, सुन्ने र आफू जोखिम स्थानमा भएको थाहा भए सुरक्षित स्थानमा जाने काम नागरिकको हो ।
अन्त्यमा समग्र नेपालभरिको अवस्थालाई नियाल्ने हो भने पहिरो र बाढी जानुको कारण मनसुनी वर्षा भए पनि त्यसलाई मात्रै कारण मानेर भन्ने अवस्था छैन । पहिरो जानुमा मुख्य भूमिका वर्षाले खेले पनि जोखिम र क्षति बढाउने प्रमुख कारक भने बिनाविज्ञान भइरहेका पूर्वाधार विकास तथा निर्माणका कामहरू हुन् । त्यसैले पनि कस्तो ठाउँमा बस्ती बसाउने र कहाँ–कहाँ सडक सञ्जाल विस्तार गर्ने भन्ने कुराको स्पष्ट मापदण्ड बनाउनुपर्छ ।
(लेखक त्रिभुवन विश्वविद्यालय भौगर्भिक इन्जिनियरिङका अध्यता हुन्)