– सीता शर्मा ।
१. पृष्ठभूमि
महिलाले दर्शनलाई विषयवस्तु बनाएर लेखेको कमै पाइन्छ । धेरैलाई यो विषय ठुला ठुला चिन्तक, दार्शनिक, विद्वान् पुरुषहरुको क्षेत्र हो भन्ने लाग्दछ र यतातिर चिन्तन मनन गर्ने आवश्यकता छ भन्ने पनि लाग्दैन । पहिलेदेखि नै यस विषयलाई गह«ौँ र महिलाको सरोकार वा पहुँच बाहिरको विषयवस्तु बनाइँदै आएकाले, अनि दर्शनप्रतिको गलत प्रशिक्षणले पनि यसो भएको हो ।
पूर्व र पश्चिम दुवैतिरको इतिहास हेर्ने हो भने दार्शनिकको सूचीमा महिलाका नामहरु समावेश गरिएका छैनन् । के महिला दार्शनिक हुँदै नभएका हुन् त ? त्यसो त अवश्य होइन । वैदिक कालमा महिलाहरुले लेख्न, पढ्न पाउँथे । उनीहरुको सामाजिक हैसियत राम्रो थियो । महिला चिन्तक, दार्शनिक थिए भन्ने कुरा उनीहरुले रचेका वेदका ऋचाहरु र उनीहरुबारे ठाउँठाउँमा गरेको प्रासङ्गिक उल्लेखबाट पनि थाहा हुन्छ । ऋग्वेदमा २० वटाभन्दा बढी ऋचाहरु महिला ऋषिकाले लेखेका र १० ऋचा चाहिँ वागास्मृणि (महिला ऋषि) ले लेखेको उल्लेख छ । त्यस्तै, गार्गी, मैत्रेयी, अपाला घोषा, विश्वम्भरा…. आदि जस्ता वैदिक विदूषीहरु पुरुष विद्वान्सँग शास्त्रार्थमा प्रतिष्पर्धा गरेको कुरा प्राचीन ग्रन्थहरुमा उल्लेख छ । आदिम नारीप्रधान समाजको निरन्तरता लेख्य इतिहास भएको वैदिक कालसम्म पाइन्छ । मध्ययुग, खासगरी उपनिषद् र स्मृतिकालतिरबाट विस्तारै महिलामाथि शोषण, दमन बढ्दै गयो । बालविवाह, सतिप्रथा आदि दमनकारी आचार संहिताहरु बनाई स्वर्ग र नर्कको लोभ र त्रास देखाएर बाध्यकारी रूपमा लागु गर्दै लगिएको तथ्य इतिहास र धर्मशास्त्रहरुको अध्ययनबाट थाहा हुन्छ । वर्तमानसम्म पनि विभिन्न देवीको महत्वका साथ पूजा–आराधना गरिनु मातृसत्ताको प्रभाव हुनु पर्छ । महाभारतमा द्रौपदी, कुन्ती, तारा आदिलाई सवल पात्रका रूपमा प्रस्तुत गरिएको छ । सायद यहाँसम्म मातृसत्ताको प्रभाव सवल थियो । तर रामायणमा सीतालाई विवाहमा वर रोज्ने अधिकारसम्म भएको पाइन्छ, अरू सवालमा कमजोर, आज्ञाकारी, सहनशील पात्रको रूपमा प्रस्तुत गरिएको छ । सीता, सावित्री जस्ता आज्ञाकारी पतिब्रता, सहनशील, कमजोर पात्रलाई नारी सौन्दर्यका मानक बनाई आदर्शीकरण गरिएको छ । अनि तिनै पात्रलाई प्रतिरूप बनाएर सम्पूर्ण महिलामा त्यही आदर्श (सहनशीलता, पतिभक्ति, आज्ञाकारिता) हुनु पर्ने बाध्यता, त्यसपछिका सबै शास्त्रहरुद्वारा सिर्जना गरिएको छ । यसरी प्राचीन कालमा मातृसत्ताको अस्तित्व रहेको तथ्यलाई लुकाउन पितृसत्ताका दार्शनिक, लेखकहरुले निरन्तर प्रयास गर्दै आएका छन् । भएका प्रमाण पनि नष्ट गरेका छन् ।
पूर्वमा मात्र होइन, पश्चिममा पनि महिला दमन, उत्पीडन उस्तै छ । विद्वान् महिला निस्के भने बोक्सीको आरोप लगाएर ज्युँदै जलाउने प्रचलन थियो । अठारौँ–उन्नाइसौँ शताब्दीसम्म लाखौँ महिलालाई बोक्सीको नाममा हत्या गरियो । पूर्वमा सति जाने जस्तो क्रुर प्रथाका शिकार भए महिलाहरु । सबैभन्दा लामो र ठुलो विश्वयुद्ध निरन्तर चलिरहेछ र महिलाहरु दिनहुँ मारिइरहेका छन् । उन्नाइसौँ शताब्दीतिरबाट मात्र महिलाका आवाजहरु अगाडि आएका हुन् । फ्रान्सेली क्रान्ति, अक्टोबर क्रान्ति आदिले यसमा अझै सहयोग पु¥याए ।
दार्शनिक महिलाहरु नभएका होइनन् । पश्चिममा सिमन द बोउवारले ‘स्त्री उपेक्षिता’ जस्तो सवल वैचारिक किताब लेखेर त्यसबेलाको महिलाको अवस्था झल्काउँदै महिला जन्मिँदै दोस्रो दर्जाकी होइनन्, समाजले बनाएको हो भन्ने आफ्नो दृष्टिकोण प्रस्तुत गरेकी छन् । मेरी वुल्सनक्राफ्ट, रोजा लक्जमबर्गहरु आफ्ना सशक्त विचार सहित उपस्थित भए । पूर्वमा गार्गी, जसलाई योग दर्शनकी प्रवर्तक पनि भनिन्छ, एक विद्रोही विदूषी थिइन्, उनलाई त्यसबेलाका विद्वान्हरुको भारी सभामा त्यस समयका ठुला विद्वान् यज्ञवल्क्यले शास्त्रार्थमा हराउन नसकेपछि चुप लाग्न आदेश दिएका थिए । विडम्बना ! यस्ता महिलाको समेत इतिहासमा दार्शनिकका रूपमा नाम उल्लेख भएको पाइँदैन ।
वैदिक कालपछि महिलालाई पढ्न–लेख्नमा पूर्ण रोक लगाइयो । वेद, गायत्री मन्त्र, गीता जस्ता ज्ञानबद्र्धक पुस्तक र मन्त्रहरु पढ्न र सुन्न समेत बन्देज लगाइयो । पढ्यो, सुन्यो भने बहुलाइन्छ भन्ने भ्रम समेत फैलाइयो । संस्थागत रूपबाट नै आर्थिक, राजनैतिक, शैक्षिक अधिकारबाट वञ्चित गरेपछि महिलाहरुको विश्वसम्बन्धी ज्ञान साँघुरिँदै गयो । त्यसैले पनि दर्शन जस्तो विषय, जसका लागि लामो समय र व्यापक अध्ययन र चिन्तन–मननको आवश्यकता पर्दछ, मा महिलाको ठुलो उपस्थिति र पहुँच नहुनु स्वाभाविकै हुने भयो । अर्को कुरा, दार्शनिक महिला भए पनि आजसम्मको इतिहास, संस्कृति, सभ्यता पितृसत्ताको स्वार्थका लागि निर्माण गरिएको हुँदा महिलाको योगदानलाई उल्लेख नै नगरी उनीहरुलाई इतिहासको गर्भमा नै गुमनाम पारियो । केही दार्शनिक महिला त हरेक युगमा भएका छन् । उनीहरुको सशक्त उपस्थितिलाई कसैले लुकाउन खोजे पनि सकेको अवस्था छैन । अब भने परिस्थिति बदलिएको छ । महिला आफै जागरुक भएर आफ्नो दासताको कारण पत्ता लगाउन प्रयास गरिसकेका छन् । के कारणले, किन र कसरी हजारौँ वर्षदेखि आफूमाथि उत्पीडन गरियो भनेर इतिहास, धर्मशास्त्र, दर्शन, विज्ञान, मनोविज्ञान, समाजशास्त्र सबैतिर उत्खनन् गर्दैछन्, खोतल्दैछन् । दर्शन पनि पुरुषको पेवा होइन र महिलाका पहुँच बाहिरको विषय पनि होइन भन्दै यसको आवश्यकता र महत्वलाई आत्मसात गरेका छन् । पितृसत्ताले खडा गरेका पर्खाल नाघेर तिनको मानकलाई ढलाउने प्रयास जोडतोडले गर्दैछन् ।
महिला हितको खोजी गर्दागर्दै नारीवादी सिद्धान्त जस्ता सिद्धान्त÷दर्शन पनि प्रतिपादन भएका छन्, जसले आफ्नो कोणबाट पितृसत्ताको विरोध गर्दै विस्तृत खोज, अनुसन्धान, अध्ययन, चिन्तन–मनन गरेका छन् । नारीमाथि हुँदै आएका सामाजिक, आर्थिक, बौद्धिक, शारीरिक शोषणको जड कारण पत्ता लगाउनु नै महिला मुक्तिको चिन्तन देखिएको छ । तसर्थ महिला मुक्तिको दर्शनको खोजी आजको अपरिहार्यता हो ।
२. के दर्शनको आवश्यकता छ श्र
कतिपयले दर्शनलाई नै अस्वीकार गर्दै कुनै पनि दर्शनमा लाग्नु समयको बर्बादी मात्र हो, वैज्ञानिक युगमा दर्शनको औचित्य पनि सिद्धियो, तटस्थ बस्नु पर्छ भन्ने तर्क पनि राख्ने गर्दछन् । यस्तो तर्क पनि उनीहरुको आफ्नो दर्शन नै हो । मानिसले यो वा त्यो दर्शन अँगालेकै हुन्छ । तटस्थता आडम्बर मात्र हो । दर्शन एउटा विश्व दृष्टिकोण हुँदा औचित्य सिद्धियो भन्ने जस्तो कुरा पनि हुन सक्दैन । किनकि दर्शन सबै शास्त्रको आधार हो । महिलाका लागि त दर्शनको आवश्यकता सबैभन्दा बढी छ । कारण उनीहरुलाई वर्तमान व्यवस्था बदल्नु पर्नेछ ।
दर्शन व्यवहारसँग अन्तरसम्बन्धित हुन्छ । व्यवहारमा आइपर्ने समस्याको समाधान गर्ने उपायका बारेमा चिन्तन मनन गर्दा नै दर्शनको जन्म हुने हो र समस्या समाधान गर्ने किसिमको दर्शन बनेपछि त्यसैले व्यवहारलाई मार्गनिर्देशन गर्ने हो । त्यसैले महिलाहरु, जो सदियौँदेखि दासताको जञ्जिरमा जकडिएका छन्, शोषण, उत्पीडन र तमाम खाले हिंसामा बाँचिरहेका छन् । यसको कारण महिलालाई शोषण–दमन गर्ने महिलाप्रतिको परम्परागत क्रुर, अन्यायी, पूर्वाग्रही, दमनकारी, दार्शनिक चिन्तन नै हो । उत्पीडनको कारण पत्ता लगाउन खोजी गर्दै जरासम्म पुग्दा दर्शनमा नै पुगिन्छ । विभिन्न विभेदयुक्त दार्शनिक दृष्टिकोण नै उत्पीडनका कारक तत्व भएको तथ्य पत्ता लाग्दछ । आज महिलाको जे जस्तो अवस्था छ, त्यो सबै विगतका दर्शन वा चिन्तनहरुको मूर्त रूप हो ।
३. महिलाप्रति दार्शनिकका धारणाहरु
विश्वमा जहाँकहिँ पनि प्रायः सबै अध्यात्मवादी दार्शनिकहरुको महिलाप्रतिको दृष्टिकोण साह«ै सङ्कुचित र अन्यापूर्ण पाइन्छ ।
प्लेटोले दार्शनिक विमर्श र बौद्धिक चिन्तन मानवसुलभ कार्यमध्ये सर्वोत्तम हो, तर दास र नारीबाट यी कुरालाई टाढै राख्नु पर्दछ (अनामिका, सन् २००१ ः १७) भने । अरस्तुले महिला पुरुषका सेवक, हरेक विषयमा कम बुद्धि भएका, कमसल, निर्जिव वस्तु मात्र हुन् भन्दै उनको कृति पोलिटिक्समा पुरुष प्राकृतिक रूपमा नै माथिल्लो र महिला निम्न स्तरका हुन्, पुरुष सधैँ शासक र महिला सधैँ शासित हुन योग्य छन् (ःबभि दथ लबतगचभ कगउभचष्यच बलम ाझबभि ष्लाभचष्यच, तजभ mबभि चगभिच बलम ाझबभि कगदवभअत(ए। घ) भनेका छन् । उनले महिलाहरु हुकुम चलाइन लायक, अज्ञानी, मनोरञ्जनका साधन, अपूर्ण मानव र पुरुषका आदेशपालक खेलौना मात्र हुन् भन्दै उनीहरु पुरुषका सम्पत्ति भएकाले महिलाको व्यक्तिगत सम्पत्ति समेत पुरुषको हुन्छ भन्ने जस्ता दमनकारी विचारहरु फैलाए । समाजशास्त्री अगस्ट कोम्तले पुरुष र नारीमा आधारभूत अन्तर भएको बताउँदै शरीर, मानसिकता, नैतिकता आदि कुनै पनि प्रकारले नारीको पुरुषसित समानता नभएको कुरा बताएका छन् (अनामिका, सन् २००१ ः २१) । पाइथागोरसले पुरुषलाई व्यवस्था र प्रकाशसित तुलना गरेका छन् भने नारीलाई अव्यवस्था र अन्धकारसँग । मानवतावादी दर्शनका प्रवर्तक मानिने रुसोले समेत महिलाले शिक्षामा मात्र होइन, प्रत्येक अस्तित्वको त्यो हदसम्म महत्व राख्दछन्, जुन हदसम्म तिनीहरुले पुरुषलाई लाभ पु¥याउँछन् भन्दै स्वास्नी मानिसको कर्तव्य धाई बनेर बालकलाई स्याहार्नु, ठुलो भएपछि प्रेमपूर्वक लोग्ने मान्छेको शान्ति र सुविस्ताको निम्ति लागिरहनु हो भन्ने विचार व्यक्त गरेका छन् । पश्चिममा महिलामा आत्मा नै हुँदैन भन्नेसम्म ठानिन्थ्यो । यस्तो चरम पूर्वाग्रही विचारको प्रभाव पछिका दार्शनिक चिन्तकहरुमा परिरह्यो । उनीहरुका यस्ता गलत विचारलाई प्रश्न गरिएन, बरु आधिकारिक नियम, कानुन जस्तै बनाएर उद्धृत गर्दै महिलामाथि सदियौँदेखि क्रूर शासन चलाइरह्यो । त्यही प्रभावले गर्दा सम्पूर्ण अध्यात्मवादी पश्चिमी दर्शन नै विषाक्त बनेर निरन्तर डसिरह्यो ।
पूर्वमा पनि परिस्थिति यस्तै नै छ । ढोँगी र विरोधाभाषी छ । चीनमा आफ्नी श्रीमतीलाई मार्न समेत पाउने अधिकार थियो, जस्तो आफ्नो सामान फाल्न वा फुटाउन पाइन्छ । कन्फ्युसियस धर्मले पनि महिला पिता, पति र पुत्रका अधिनमा बस्नु पर्ने बताएको छ (ली, सन् १९१३ ः ४८) ।
भारत र नेपालमा पनि तुलसीदास, मनु आदिका विचारलाई आधिकारिक नियम, कानुन मानिएको छ । जस्तै–
“पिता रक्षति कौमार्ये, भर्ता रक्षति यौवने, पुत्रो रक्षति वार्धक्ये नास्त्री स्वातन्œय मर्हति” । अर्थात् विवाह नहुञ्जेल बाबुको, यौवन कालमा लोग्नेको र वृद्धावस्थामा छोराको अधिनमा बस्ने भएको हुँदा ‘नारी कहिल्यै पनि स्वतन्त्र हुन्नन् ।’
‘हास्नु हुन्न कदापि नारीहरुले वेश्या हुन्या हास्तछन्
वेश्या नै त नहुन् तथापि घरको काम काज सबै नास्तछन्’ (भानुभक्त) ।
‘ढोल, गवार, शूद्र पशुनारी, ये सब ताडन के अधिकारी” (तुलसीदास) अर्थात् दमाहा, मूर्ख, शूद्र, पशु, नारी यातनाका अधिकारी छन् भन्ने जस्ता दुराग्रही विचारहरुले निरन्तर थिचिरहे ।
यी पितृसत्तात्मक सामन्ती अधिरचनाका नाराहरु हरेकका मुखमुखबाट हस्तान्तरण हुँदै आए र धारिला हतियार बनेर महिलालाई सदियौँदेखि थिल्थिलाइरहे । पितृसत्तात्मक सामन्ती समाजको आर्थिक आधार र मानव निर्मित सङ्घ, संस्था, नियम, कानुन, धर्म, दर्शन, संस्कार, संस्कृति जस्ता सम्पूर्ण अधिरचनाहरु नै नारी उत्पीडनका जिम्मेवार कारक तत्वहरु हुन् ।
त्यसैले यी सम्पूर्ण षड्यन्त्रमूलक जञ्जालबाट मुक्ति पाउन सकिने अग्रगामी फरक दर्शनको खोजी जरुरी छ । महिला विरुद्धका परम्परागत उत्पीडक विचार÷दर्शनलाई चुनौती दिनु जरुरी छ । यस्ता दमनकारी विचार, दर्शनलाई कतिसम्म बोकेर हिड्ने ? महिलाहरुले आफ्नो मुक्तिका लागि सही दर्शनको खोजी किन नगर्ने श्र यही जञ्जालभित्र उकुसमुकुसिएका महिलाहरु मुक्तिको खोजीमा तड्पिरहेका छन् ।
यहाँ महिलाको स्थिति शोषित, उत्पीडित, पछौटे हुनुको कारण के हो ? दर्शनको महिला मुक्तिसँग के सम्बन्ध छ ? महिला मुक्तिका लागि दर्शनको ज्ञान हुनु आवश्यक छ वा छैन ? दर्शनको ज्ञान हुँदा के हुन्छ ? ज्ञान नहुँदा के हुन्छ ? महिला मुक्तिका लागि कस्तो दर्शनको आवश्यकता छ ? आदि विषयमा चिन्तन मनन गर्नुभन्दा पहिला दर्शन के हो भन्नेबारेमा अरू स्पष्ट हुनु आवश्यक हुन्छ ।
४. दर्शन
दर्शनलाई दृष्टिकोण वा संसारलाई हेर्ने आँखा पनि भनिन्छ । आँखा हुनेले देख्दछ र नहुनेले देख्दैन । उसको दृष्टि अनुसार जीवन र जगत्लाई हेर्छ, व्याख्या–विश्लेषण गर्दछ र बाटो तय गर्दछ । यदि आँखा स्वस्थ छन् भने ठिकसँग देख्दछ, छैनन् भने स्वभावैले अस्पष्ट र गोलमाल देख्दछ ।
मानिस स्वभावैले चिन्तन–मनन र खोज–अनुसन्धान गर्ने प्राणी हो । पहिला त उसलाई खान, लाउन र बाच्न प¥यो । अनि, उसले जीवन र जगत्का बारेमा सोच्दछ । जीवन सुखमय बनाउनेबारेमा सोच्दछ । यो ब्रह्माण्डका अनेक रहस्यका बारेमा चिन्तन–मनन गर्दछ । संसारको नियम जान्न खोज्दछ । जीवन के हो ? जगत् के हो ? आफू को हँु ? के गर्ने ? के नगर्ने ? सुख, दुःख, सृष्टि, स्थिति के हुन् ? जन्म, मृत्यु के हो ? सत्य, असत्य के हो ? किन जन्म लियौँ ? जन्मेका सबै बराबर किन छैनन् ? उँचोनिचो, न्याय–अन्याय किन हुन्छ ? आदि अनेकौँ विषयमा सोचविचार, अध्ययन, अनुसन्धान गर्दै आफ्नो जीवनको औचित्य, उद्देश्य र सार्थकताका खोजीमा लागिरहन्छ । अनि उसले आफू बसेको सामाजिक परिवेशबाट जे सिक्दछ, जान्दछ, भोग्दछ, तिनै भोगाइ र बुझाइका सारा अनुभवबाट हरेक विषयका बारेमा एउटा धारणा बनाउँछ । त्यही निष्कर्षयुक्त धारणा वा दृष्टिकोण नै उसको जीवन दर्शन बन्दछ । मानिसको त्यही जीवन र जगत्प्रतिको सामान्य दृष्टिकोण नै उसको दर्शन हो । मान्छे आफू बसेको ठाउँ, परिस्थिति, परिवेश अनुसार फरक फरक विश्व दृष्टिकोण बन्दछन् ।
दर्शनका बारेमा विभिन्न विद्वान्हरुले आ–आफ्ना धारणा राख्दै वा परिभाषा दिदै आएका छन् । भारतीय दार्शनिक राधाकृष्णन्ले दर्शनशास्त्र जगत्को विषयबोध गर्ने मानव प्रयास हो भनेका छन् । पाश्चात्य दार्शनिक हिरियन्नाले भन्छन्– दर्शनशास्त्र चिन्तन पद्धति मात्र नभएर जीवन पद्धति पनि हो । गोपीरमण उपाध्यायका अनुसार दर्शन भनेको मानिसको व्यवहारका रूपमा भए÷गरेका क्रियाकलापहरुको एउटा सुसङ्गठित उच्चतम निष्कर्ष हो । वेदुराम भुसालका अनुसार दर्शन भनेको जीवन जगत्लाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र बदल्ने दृष्टिकोण हो । कार्ल माक्र्सले हरेक सच्चा दर्शनशास्त्र आफ्नो युगको उच्चतम् बौद्धिक सारतत्व हो भने अहिलेसम्मको दर्शन हुनेखाने शोषक वर्गको वैचारिक पुँजी मात्र भएको तर दर्शनको काम जीवन, जगत्को व्याख्या, विश्लेषण गर्नु मात्र नभएर त्यसलाई बदल्नु हो भनेका छन् ।
५. महिलाका लागि दर्शनको आवश्यकता
दर्शनशास्त्रले जीवन र जगत्का बारेमा साँचो कुरा देख्न, बुझ्न र सही दृष्टिकोण निर्माण गर्न मद्दत गर्दछ । यसले समाजिक, सांस्कृतिक, धार्मिक कुरीति, अन्धविश्वासलाई बिना तर्क विश्वास गर्ने होइन, प्रश्न र तर्क गर भन्दछ । समाजका प्रचलित मूल्य–मान्यता, संस्कार, संस्कृति के हुन् ? कस्ता छन् ? किन महिलामाथि हजारौँ वर्षदेखि शोषण, उत्पीडन र बलात्कारजस्ता जघन्य किसिमका हिंसाहरु भइरहेका छन् ? प्रश्न, तर्क र अध्ययनद्वारा वास्तविकता थाहा पाऊ भन्दछ । त्यसैले जीवन र जगत्लाई देख्न, चिन्न घटना र परिस्थितिलाई बुझ्न, विश्लेषण गर्न, त्यसका कारण थाहा पाउन दर्शनको ज्ञान नभई नहुने विषय हो । महिलाका लागि त दर्शनको ज्ञान किन पनि आवश्यक छ भने उनीहरुलाई यो अन्यायपूर्ण÷उत्पीडक समाज र संसार बदल्नै पर्नेछ । परम्परागत दर्शन कसरी खराव छ भन्ने जानेपछि मात्र नयाँ दर्शनको आवश्यकताको बोध हुन्छ र खोजी हुन्छ ।
जसरी दर्शन जीवन र जगत्का बारेमा केन्द्रित व्यवस्थित ज्ञान हो, मार्गनिर्देशन हो, त्यसरी नै महिला मानव समाजको केन्द्र वा मार्गनिर्देशक हो । त्यसैले ऊ वैज्ञानिक ज्ञानले परिपूर्ण हुनु नितान्त आवश्यक छ । मानव जन्माउने, हुर्काउने, शिक्षा, दिक्षा दिएर असल नागरिक बनाउने काम मुख्यतः महिलाद्वारा नै हुन्छ । त्यसैले उनीहरुमा बच्चा किन जन्माउने ? त्यसलाई कसरी हुर्काउने ? कस्तो शिक्षादिक्षा दिएर कस्तो मानव बनाउने भन्नेबारेमा स्पष्ट वैज्ञानिक ज्ञान हुनु पर्दछ । यदि त्यो ज्ञान छैन भने उनीहरुले बच्चालाई के सिकाउन सक्छन् ? कस्तो मानव गराउन सक्छन् ? यदि उनीहरुमा स्पष्ट वैज्ञानिक, दार्शनिक ज्ञान अर्थात् स्पष्ट विश्व दृष्टिकोण छ भने आफैले विश्लेषण गर्दछन् र गलत संस्कारको विरोध गर्दै छोराछोरीमा भेदभाव गर्नु गलत हो भन्ने बुझेर घरैभित्रबाट समानतामा आधारित व्यवहार गर्दछन् । तब मात्र छोरा र छोरीप्रतिको भेदभाव जगैबाट निर्मूल हुँदै जान्छ । रुढिवादी परम्परा, अन्धविश्वास, छोरीलाई काँतर बनाउने, छोरालाई हिंस्रक बनाउने आदि विभेदकारी प्रचलन, उँचोनिचोको धारणा, वर्गविभेद, जातिविभेद आदिबाट बचाउँदै निर्भिक, तार्किक, न्यायिक किसिमको व्यक्तित्व विकास गराउँदै हुर्काउन, बढाउन र समाजमा असल नागरिक तयार पार्न सक्दछन् । बालकको पहिलो पाठशाला आमा हो, अनि मात्र घर हो । घरैमा सुशिक्षित र दीक्षित नागरिकले समाजमा राम्रो काम पुग्दछ । असल नागरिकको समूह भयो भने अहिलेको यो गलत परिपाटी भएको व्यवस्थालाई बदलेर न्यायिक, सुन्दर समाज निर्माणमा पद्दत गर्दछन् त्यसैले उत्पीडनमा परेका महिला मात्रलाई आमूल परिवर्तनको आवश्यकता छ । उनीहरुलाई दर्शनशास्त्रको आवश्यकता सबैभन्दा बढी छ । नारीमाथि भएको लामो उत्पीडनका कारण उनीहरुमा रहेको वैचारिक, दार्शनिक अस्पष्टता एक मुख्य कारण हो । दार्शनिक रूपमा स्पष्ट र वैचारिक रूपमा सशक्त महिलाले मात्र खरावीलाई स्पष्ट रूपमा देख्न सक्छन् । परिवर्तनको आवश्यकताबोध गर्न सक्दछन् । अनि मात्र वर्तमान ढोँगी, अन्यायी, हिंस्रक समाजप्रति घृणाको भाव पैदा हुन्छ र मुक्तिको बाटो खोज्ने आवश्यकताबोध हुन्छ ।
६. नेपाली समाजको दर्शनमा महिला
सङ्केतको रूपमा प्रस्तुत गरिएका प्राचीन विद्वान्, चिन्तक, दार्शनिकहरुका विचार, धारणाहरु अहिले विकसित हुँदै आएको समाज दर्शनको जगमा रही तिनैले भ्रामक विचारहरु पैदा गर्ने गरिरहेका छन् । सामन्ती पितृसत्तात्मक समाजले तिनै धारणालाई महिला दमन गर्ने हतियारका रूपमा प्रयोग गर्दै आएको छ । थोरै मात्र दार्शनिक चिन्तकले ती गलत धारणाहरुलाई भत्काउनु पर्ने धारणा राखेका छन् । धेरैले त तिनैलाई अकाट्य नियम–कानुन झैँ मानेर अझै पनि हुबहु उत्पीडनलाई अगाडि बढाई वर्तमान पुँजीवादी समाजमा उत्पीडन गर्ने अझै नवीन उपायहरु खोजिरहेछन् ।
दर्शनको काम मानवलाई सही दृष्टिकोण दिने, सही बाटो देखाउने र परिष्कृत बनाउँदै अघि बढाउने हो । तर नेपाली समाजको दर्शनले महिलाका सम्बन्धमा असल होइन, भ्रम मात्र छरेको छ । महिलाप्रतिको दृष्टिकोण अत्यन्त अवैज्ञानिक, रुढीगत, विरोधाभाषी, शोषणमूलक, उत्पीडक र हिंस्रक रहेको छ ।
हाम्रो समाजको दर्शनले महिलालाई स्व–अस्तित्व र व्यक्तित्व सहितको सहज–स्वाभाविक पूर्ण मानवका रूपमा हेरेको छैन । एकातिर, देवी, अर्धाङ्गिनी भनेर माथि उडाउँछ भने व्यवहारमा चरणकी दासी, खुट्टाको जुत्ता, अवला, नामर्द, दान गरेर दिने वस्तु, निर्णय क्षमता नभएका, पुरुषको अधीनतामा मात्र बस्न योग्य, बच्चा पाउने मेसिन, मनोरञ्जनका साधन, पराधीन, तुच्छ र पङ्गु मानवका रूपमा व्यवहृत गरेको छ ।
समयको अन्तरालमा केही संरचनागत राजनीतिक परिवर्तनहरु भए । तर त्यो अनुसारको अग्रगामी सांस्कृतिक रूपान्तरण भएको छैन । आमूल परिवर्तन गर्नु पर्दछ भन्ने वामपन्थी प्रगतिवादी वृत्तमा समेत व्यवहारमा परिवर्तन आउन सकेको छैन । सिद्धान्त मात्र फरक छ, तर व्यवहारमा भने देखिने गरी परिवर्तन भएको छैन । दर्शनले व्यवहारमा परिवर्तन ल्याउनु पर्दछ, अन्यथा यसको के औचित्य ? देशमा राजतन्त्र हट्यो, प्रजातन्त्र र गणतन्त्र आयो, महिला सक्रियताको बलले राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको उपस्थिति वाहेक अरू स्पष्ट देखिने कुनै परिवर्तन छैन । मूल्य–मान्यता, शिक्षा, विश्वास, अन्धविश्वास सबै परम्परागत हुँदा महिलाका जीवनमा देखिने गरेर कुनै परिवर्तन नआएको हो । सामन्तवादको नाइके राजा हट्यो, तर हरेक घरपरिवारभित्र सामन्तवाद जस्ताको त्यस्तै कायमै छ । सबैभन्दा बढी सामन्तवाद घरभित्रै छ । नेपाली सामजको महिला सम्बन्धी दर्शनको सम्बन्धमा प्रा.डा. गोपाल शिवाकोटी भन्छन्– खासगरी महिलाका सबन्धनमा विकसित गरिएका दर्शनले महिला समानता, मुक्ति र व्यक्तित्व विकासमा भन्दा पुरुषको सहायक दासी, शोषणका पात्रको रूपमा मात्र प्रस्तुत गरी समाज दर्शनको आधार नै समाप्त गरेको छ । महिला समाजका आधार हुन् र महिलाकै चेतनता र कार्यले समाजको संरचना बन्दछ र परिवर्तन हुन्छ । पुरुष यो परिवर्तनमा सहायक तत्व वा अस्थिर तत्वका रूपमा रहेको पाइन्छ । यो समाजको आधारको रूपमा रहेको महिला शक्तिलाई दर्शनले जुन किसिमले बुझ्ने र प्रस्तुत गर्ने काम गरेको छ, यसले महिलालाई कि त अतिमानवको रूपमा व्याख्या गरी उसलाई मानिसभन्दा फरक रूपमा प्रस्तुत गरेको छ वा उसलाई निम्न कोटीको प्राणीका रूपमा प्रस्तुत गरी पुरुषको जुत्ताको रूपमा प्रस्तुत गरेको देखिन्छ (दर्शन–दृष्टि, अङ्क २, पृ. १८) ।
दर्शन सम्बन्धी ज्ञान हुन आवश्यक भएको कुरा त भयो, तर दर्शनको ज्ञान भएर मात्र पनि हुँदैन । त्यो दर्शनले के सिकाउँछ ? कति वैज्ञानिक सत्य तथ्यमा आधारित छ ? अग्रगामी छ कि यथास्थितिवादी, शोषण गर्छ कि मुक्त गर्छ भन्ने कुरा मुख्य हुन्छ । वर्ग समाजमा शोषक वर्ग र शोषित वर्गका आ–आफ्ना स्वार्थ अनुसारका दर्शनको निर्माण गरिने हुनाले उत्पीडक वर्गले आफ्नो स्वार्थपूर्तिका लागि मद्दत गर्ने दर्शनको निर्माण गर्दछ भने उत्पीडित वर्गले आफ्नो मुक्तिको बाटो देखाउने दर्शनको निर्माण गर्दछ । प्राचीन कालदेखि अहिलेसम्म समाजमा विकास भएको दर्शन सत्ताधारी, हुनेखाने, शोषक वर्गको महिला उत्पीडन गर्ने दर्शन हो । राज्यसत्तामा हालीमुहाली गर्नेहरुले आफ्नो स्वार्थ अनुसारको दर्शन लागु गरे र सत्तामा पहुँच नहुनेहरु सधैँ उत्पीडनमा परे । यसरी महिला सबैभन्दा पिँधको उत्पीडित वर्ग रहन पुग्यो ।
७. धर्म र दर्शनमा फरक
प्रायः महिलाहरु दार्शनिक खोज–अनुसन्धानमा भन्दा अन्धभक्त भएर धर्ममा लागेको पाइन्छ । अब आफू किन उत्पीडित भयौँ, कसरी भयौँ, वास्तविकता के हो, धर्म के हो, यसले के गरिरहेछ भनेर छुट्याउन जरुरी छ ।
धर्म र दर्शनको भिन्नताका बारेमा सर्वसाधारणमा मात्र होइन, विद्वत् वर्गमा पनि स्पष्टता पाइँदैन । धेरैले यी दुई विषयलाई घालघोल पारी एउटै हो जस्तो गरी व्याख्या–विश्लेषण गरेको पाइन्छ । तर यी दुई बिल्कुल अलग प्रकृतिका अलग समयमा स्थापित विषय हुन् ।
धर्मको जन्म जङ्गली घुमन्ते अवस्थामा भयो, जतिखेर मानिसहरुले प्रकृतिका नियम नै बुझ्दैनथे । बाढी, पहिरो, आँधीहुरी, चट्याङले सताउँदा प्रकृति रिसाएर हो कि भन्ठानी प्रकृतिलाई खुशी पार्न पूजाआजा, स्तुतिगान, प्रार्थना गर्न थालियो । पछि विस्तारै तन्त्रमन्त्र, देवीदेउता, टुनामुना, स्वर्गनर्क आदि कल्पना थपिदै जाँदा धर्म स्थापित हुन पुग्यो । यसरी धर्मको जगमा डर, त्रास, भावुकता, अन्धविश्वास, रुढी रहेका छन् । त्यसैले यसले अन्धभक्त भएर विश्वास र समर्पण गर्न सिकाउँछ ।
दर्शनको प्रकृति बिल्कुल भिन्न छ । यसको उत्पत्ति प्राचीन मानिसहरुले प्रकृतिका नियम बुझेपछि कृषि, व्यवसाय आदिद्वारा खानाको जोहो भई व्यवस्थित जीवनको सुरुवातसँगै अरू कुरा सोच्ने फुर्सद भएपछि किन, कसो, कसरी श्र आदि प्रश्न र खोज–अनुसन्धान गर्न थालेपछि भयो ।
दास प्रथा सुरु भएपछि मालिकले दासलाई कज्याउन धर्मको आड लिएर शोषण गर्न थालको देखिन्छ । अनि, ईश्वरको कल्पना गरेर ईश्वर तथा भगवानले नै उनीहरुलाई मालिक बनाएको भन्न थालियो । यसरी नै महिलालाई निचो र पुरुष श्रेष्ठ भनी अधिनमा बस्नु पर्ने भन्दै महिलामाथि पनि उत्पीडन सुरु भयो ।
दासमाथि निर्मम उत्पीडन हुन थालेपछि उनीहरुले पनि मुक्तिको उपाय खोज्ने क्रममा प्रश्न, तर्क, अनुसन्धान गर्न थालेपछि शोषक र शोषितबीचको नयाँ द्वन्द्वमा दर्शनको विकास हुन पुग्यो भन्छन् मोदनाथ प्रश्रित ।
यसरी धर्म आँखा चिम्लेर गरिने आस्था, विश्वास, समर्पण हो भने दर्शन आँखा खोलेर गरिने प्रश्न, तर्क, शङ्का, खण्डन, विचार, विश्लेषण, खोजी, अनुसन्धान हो । गोपीरमणका अनुसार धर्म एउटा आस्था, विश्वास र आचार विधि हो भने दर्शन मानिसको विचार निर्माण गर्ने माध्यम र उसको जीवनलाई निर्देशित गर्ने विचार र विधि हो (प्राकृतिक भौतिकवाद) ।
अब महिलाले गम्भीर भएर सोच्नु पर्ने हुन्छ । कुन हो त आफ्नो मुक्तिका लागि अनुशरण गर्नु पर्ने बाटो ? आँखा चिम्लेर विश्वास गर्दै धर्ममा लट्ठिएर वा आँखा खोलेर आफ्नो दासताको कारण पत्ता लगाउन प्रश्न, तर्क गर्दै खोज–अनुसन्धानमा प्रतिबद्ध भएर कहाँ पुगिएला गलत मान्यताहरुलाई धर्म सम्झेर आफैले बोक्दै छोरीहरुलाई समेत त्यसैको आदती बनाइदिएर गम्भीरतापूर्वक सोच्ने बेला आएन र ? विद्रोह गरेर दासहरु मुक्त भए, सामन्तवादको चर्को बिगबिगीबाट पनि झण्डै मुक्त भयो मानिस । सामन्तवादी राजसंस्थाहरु पनि ढले, तर महिलाहरु सबै व्यवस्थामा धर्मको जालमा फसेर चरम शोषणको जाँतोमा पिसिएकै छन् । त्यसैले यो निरन्तरको दासताबाट मुक्तिको बाटो खोज्नु जरुरी छ । महिलाहरुलाई भ्रममा पार्दै उत्पीडन गरी आधिपत्य जमाउने नियतले निर्माण गरेको दर्शनको अनुशरण गर्नाले नै महिलाहरु सदियौँदेखि अन्धविश्वास र भाग्यवादको चङ्गुलमा फसी कुहिरोको काग बन्न बाध्य भएका हुन् । त्यसैले उनीहरुलाई सही दर्शनको पहिचान गर्नु आवश्यक छ ।
८. दर्शनका प्रकार र महिला मुक्ति
खासमा दर्शन दुई प्रकारका छन् ः क. प्रत्ययवादी–आदर्शवादी परलोकवादी दर्शन र ख. भौतिकवादी–इहलोकवादी दर्शन ।
यी दुई दर्शनमा महिलालाई हेर्ने दृष्टिकोण कस्तो छ, कुन दर्शनले के भन्छ, कुन दर्शन महिला मुक्तिको पक्षमा छ र कसरी भनेर स्पष्ट हुनु जरुरी हुन्छ । दर्शनको ज्ञान हुनु भनेको नै त्यही छुट्याउन सक्ने हुनु हो ।
(क) अध्यात्मवादी प्रत्ययवादी दर्शन र महिला मुक्ति
दुई दर्शनको मुख्य फरक भनेको यो ब्रह्माण्डमा पदार्थ पहिला कि चेतना पहिला अथवा पदार्थबाट चेतनाको उत्पत्ति भएको हो कि चेतनाबाट पदार्थको उत्पत्ति भएको हो भन्ने हो । प्रत्ययवादी दर्शनले चेतनालाई प्राथमिकता दिन्छ । कुनै अदृष्य चेतना, जसलाई ‘ईश्वर’ नाम दिइयो, त्यसैले (ईश्वरले) यो सम्पूर्ण विश्व–ब्रह्माण्ड, सम्पूर्ण जीव, निर्जीव बस्तु, मान्छेदेखि किरा, फट्याङ्ग्रासम्म सबैको सृष्टि गरेको हो । त्यो अनादि अनन्त सर्वशक्तिमान्, सर्वज्ञ छ र सबैको भाग्य निर्धारण, पालनपोषण उसैले गर्दछ । सम्पूर्ण काम उसैको इच्छा अनुसार हुने हो । उसको इच्छा बिना केही पनि हुँदैन भन्ने धारणा यस दर्शनले राख्दछ । उसको इच्छा बिना मानिसको प्रयासले मात्र केही हुँदैन भन्ने मान्यता राख्ने प्रत्ययवादमा विश्वास राख्ने मानिसहरु बढी भाग्यवादी, रुढिवादी, यथास्थितिवादी, अन्धविश्वासी र भाग्यमा लेखेको मात्र पाइन्छ भन्दै काममा निष्कृय बन्दै जान्छन् । यसरी भाग्यवादमा विश्वास गर्नाले मानिसको प्रगतिमा समेत रोक लाग्दछ । यसले पूर्वजन्म र परलोकको कुरा गर्दै यस यथार्थ जगत्लाई माया वा भ्रमको सङ्ज्ञा दिन्छ । संसार ज्ञेय छ कि अज्ञेय छ भन्ने सवालमा यसले अज्ञेय र रहस्यमय, अपरम्पार छ भन्ने मान्यता राख्दछ । ‘ब्रह्म सत्यं जगत्मिथ्या’ भन्दै आफूले देखे–भोगेको जगत्लाई मिथ्या वा झुट र नदेखेको, नभोगेको जगत्लाई सत्य मान्दछ ।
हिसिला यमी भन्छिन्– आदर्शवादी दर्शनशास्त्रको शिकार प्रायः ती समुदाय, वर्ग, लिङ्ग हुन पुग्दछन्, जससँग उत्पादनका साधन आफ्नो हातमा हुँदैनन्, जसको जीवन आफ्नो पक्षमा हुँदैन, सधैँ अर्काको भरोसामा बाच्नु पर्दछ । तसर्थ यस्तो दर्शनले उत्पीडित वर्ग समुदायलाई मुक्ति दिलाउनुको सट्टा यथास्थितिलाई स्वीकार्ने वातावरण सिर्जना गरिदिन्छ” (जनयुद्ध र महिला मुक्ति, पृ. ३५) ।
शोषक वर्गको चलाखीले उत्पीडितहरुलाई भ्रममा पारेर पुरातन धर्म, संस्कृति, रुढिवाद, अन्धविश्वास आदिका वाहक उनीहरुलाई नै बनाइदिन्छ । महिलाशोषण, हेपाइ पूर्वजन्ममा नै लेखेर ल्याएको पूर्वजन्मको फल हो, नभोगी सुख हुँदैन, यस जन्ममा मालिकको, पतिको घरपरिवारको सेवा गरे, आज्ञाकारी बने अर्को जन्ममा स्वर्गको सुख भोग्न पाइन्छ, नभए नर्कको बास हुन्छ भन्दै आफूले वर्तमानमा भोग्दै गरेको यथार्थ भौतिक जगत्को निषेध गरेर यसलाई भ्रम भनेर अवास्तविक, काल्पनिक अर्को जन्मलाई वास्तविक ठान्नु पर्ने बताउँछ र काल्पनिक स्वर्गको प्रलोभन र नरकको त्रास देखाई यथार्थमा भोगेको जीवनलाई भ्रममा अल्मल्याइदिन्छ, शोषण गरिरहन्छ । सामन्तवादी पुँजीवादी पितृसत्ताले आफ्नो सत्ता टिकाइराख्न धर्म, दर्शन, शिक्षा, नियम, कानुन, संस्कृति, संस्कार आदिले बाँधेर भ्रमलाई पनि वास्तविक जस्तै बनाइदिन्छ र महिलामाथि शासन चलाइरहन्छ ।
संसारका जुनसुकै धर्म र दर्शनमा पनि पितृसत्ताले यी विविध उपायद्वारा महिलालाई आफ्नो नियन्त्रणमा राख्न अनेक कसरत गरेको छ । यसले महिलालाई धर्मका नाममा अन्धविश्वास, भाग्यवाद, रुढिवादमा फँसाई अन्धकारमा पारिदिने, यथास्थितिमा रुमल्लाइरहने हुनाले स्पष्ट रूपमा भन्न सकिन्छ, यसले महिलाको हित गर्दैन । त्यसैले यो महिला विरोधी दर्शन हो ।
(ख) भौतिकवादी दर्शन र महिला मुक्ति
भौतिकवाद दुई प्रकारका हुन्छन्– यान्त्रिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवाद । भौतिकवादी दर्शन भौतिक तत्वलाई सम्पूर्ण जीवन, जगत् र विश्व ब्रह्माण्डको आधार मान्ने दर्शन हो । यसले संसार पूर्ण रूपमा ज्ञेय छ, यसका नियम जान्न, बुझ्न र आफ्नो आवश्यकता अनुसार सञ्चालन गर्न सकिन्छ भन्ने ठान्दछ । संसार अनादि, अनन्त, अविनासी छ भन्ने मान्यता राख्ने यस दर्शनले पदार्थको आन्तरिकभन्दा बाहिरी पक्षलाई बढी जोड दिने हुँदा यो एकाङ्गी र यान्त्रिक हुन्छ । यसले मानव समाजलाई समेत मेसिनका पार्टपुर्जा सरह ठान्ने हुनाले यसलाई यान्त्रिक भौतिकवादी दर्शन भनिन्छ । नारीवादीहरुले सपाट रूपमा महिला पुरुष समान हुन्, सम्पूर्ण रूपमा समान तरिकाले बौद्धिक, वलशाली, सक्षम हुन्छन् भन्ने ठान्दछन् । पुरुषले पाएका सबै अधिकार पढ्ने, लेख्ने, जागिर खाने अवसर समान रूपमा पाउनु पर्दछ भन्ने धारणा राख्दछन् । द्वन्द्वात्मक रूपले सबै पाटा हेर्दैनन् । समान अवसरका कुराले मात्र संसारव्यापी वलियो पितृसत्ताको संरचनालाई भत्काउन सम्भव हुँदैन । अनि पुरुषलाई दोष दिन पुग्दछन् । नारीवादीहरुले यो समाजलाई वर्गीय रूपमा नहेरेर लैङ्गिक रूपमा मात्र हेर्नाले महिलाको शत्रु पुरुषलाई मान्न पुग्दछन् । समग्र मानवको मुक्ति बिना महिलाको मात्र मुक्ति सम्भव हुँदैन भन्ने हेक्का उनीहरुलाई हुँदैन । त्यसकारण उनीहरु यान्त्रिक हुन पुग्दछन् ।
हिसिला यमी भन्छिन्– भौतिकवादी दर्शनशास्त्रले महिला शोषणका बाहिरी रूपहरु उजागर गर्न त सक्छ, तर महिला शोषणलाई महिला मुक्तिमा बदल्नका लागि चाहिने ज्ञान यसले दिन सक्दैन (जनयुक्त र महिला मुक्ति, पृ. ३६) । त्यसैले विज्ञानसम्मत प्रमाणित भएको द्वन्द्वाात्मक भौतिकवादले मात्र समग्र मानवसहित महिलालाई निरन्तर परिवर्तनद्वारा मुक्तिको बाटोमा अगाडि बढाउने, बाटो देखाउने क्षमता राख्दछ ।
९. द्वन्द्वात्मक भौतिकवादी दर्शन र महिला मुक्ति
द्वन्द्वात्मक भौतिकवाद विज्ञानसम्मत दार्शनिक विश्व दृष्टिकोण हो । यो भौतिकवादी दर्शनको विकसित रूप हो । यसले सम्पूर्ण यो विश्व ब्रह्माण्ड, जीव–जगत्, वस्तु अवस्था जड र स्थिर होइन, निरन्तर गतिशील, विकासशील, परिवर्तनशील छ भन्ने मान्यता राख्छ । हरेक वस्तुमा दुई विपरीत तत्व हुन्छन् र त्यसको बीच निरन्तर सङ्घर्ष चलिरहन्छ । त्यही आन्तरिक गति मार्फत् नै समाज अगाडि बढ्दछ । पदार्थ र चेतनाको अन्तर्सम्बन्ध र आन्तरिक गति मार्फत् नै त्यो अस्तित्वमा हुन्छ । यसले संसार ज्ञेय छ कि अज्ञेय भन्ने सवालमा ज्ञेय छ, जे जति अज्ञेय छ, त्यो पनि ज्ञेय हुँदै जान्छ भन्दछ । मानवीय चेतना वस्तुगत संसारको मष्तिष्कमा पर्ने प्रतिबिम्ब हो, जसबाट ज्ञान, चिन्तन, संवेदना, धारणा बन्दछ भन्ने धारणा राख्दछ । द्वन्द्वात्मक भौतिकवादका अनुसार समाजको गति मूलतः निम्न तीन नियमद्वारा सञ्चालित भइरहेको हुन्छ ।
१. विपरीत तत्वको एकता र सङ्घर्षको नियम
यस नियम अनुसार संसारका हरेक वस्तुमा विपरीत तत्व वा पक्ष–विपक्ष रहेका हुन्छन् । उनीहरुको बीचमा निरन्तर रूपमा एकता र सङ्घर्ष चलिरहन्छ । परमाणुभित्र प्रोटोन (घन) र इलेक्ट्रोन (ऋण) अनिवार्य रूपमा सँगै बसेका हुन्छन् तर विपरीत गुणका भएकाले निरन्तर द्वन्द्व चलिरहन्छ । गति आन्तरिक हुन्छ । त्यही आन्तरिक गतिद्वारा वस्तु सञ्चालित हुन्छ । पुँजीपति र मजदुर दुई विपरीत तत्व एक–अर्कामा आश्रित भएर सँगै काम गरिरहेका हुन्छन् । लाभ लिने बेलामा द्वन्द्व हुन्छ । त्यस्तै, विपरीत लिङ्ग पुरुष र महिलामा एकता पनि हुन्छ र आपसमा सङ्घर्ष पनि चलिरहेको हुन्छ । विपरीत वर्ग शोषक–शोषित, विपरीत ठाउँ, गाउँशहर सबैमा एकता र सङ्घर्षको आधारमा हरेक चिज अगाडि बढिरहेको हुन्छ । त्यो गति गोलचक्रात्मक नभएर तलबाट माथितिर विकासशील हुन्छ ।
२. मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनको नियम
संसारको हरेक वस्तु र समाज स्थिर अवस्थामा बसिरहन सक्दैन । हरेक क्षण आन्तरिक द्वन्द्वद्वारा मात्रात्मक परिवर्तन भइरहेको हुन्छ । निरन्तरको मात्रात्मक परिवर्तन निश्चित सीमामा पुगेपछि फड्को मारेर गुणात्मक परिवर्तन भई अर्कै वस्तुमा परिणत हुन्छ ।
जसरी २००७ सालदेखि नै राजतन्त्र र लोकतन्त्रको सङ्घर्ष २०६२ सालसम्म मात्रात्मक रूपमा विकसित हुँदै गयो र २०६३ सालमा चर्को द्वन्द्वका कारणले राज्य गुणात्मक रूपले परिवर्तन भएर गणतन्त्रमा परिणत भयो, त्यसैले महिलाको वर्तमान उत्पीडित अवस्था सधैँ रहदैन, परिवर्तन अवश्यंभावी छ । महिला–पुरुषको सम्बन्ध हेर्दा, आदिम युग महिला प्रधान थियो । प्रजनन शक्तिको पूजा हुन्थ्यो । हजारौँ वर्षको लामो मात्रात्मक परिवर्तनपछि गुणात्मक परिवर्तन भएर पुरुष प्रधान दासयुगको उदय हुन पुग्यो । महिला दास समान भए । दासयुगपछि गुणात्मक परिवर्तन भएर सामन्ती युग आयो, जसमा महिलाहरु अर्धदासी हुन पुगे । पुँजीवादी युगमा महिलाहरु विज्ञापन तथा नाफा, मुनाफाका साधनको रूपमा प्रयोग हुन पुगे । समाजवादी व्यवस्थामा (रुसमा केही समय) तुलनात्मक रूपमा महिलाहरुले सम्पत्तिको अधिकार, साथै अन्य धेरै अधिकारहरु प्राप्त गरे । साम्यवादी युगमा पुगेपछि त्यस युगको नियम अनुसार महिलामाथि भएका सबैखाले शोषणको अन्त्य हुनेछ । यसरी एकता–सङ्घर्ष–परिर्वतन हुँदै समाज अगाडि बढ्दै जान्छ ।
३. ‘निषेधको निषेध’ को नियम
पुरानो नासिएर जानु र त्यसको ठाउँ नयाँले लिनु निषेध हो । समाज, मानव, वस्तु सबैमा एउटा चिज÷अवस्था विकसित भएर निश्चित विन्दुमा पुगेपछि त्यसलाई अर्को नयाँले निषेध गर्दछ । जन्मेपछि मर्दछ । अन्नको बिउलाई निषेध गरेर बोट बन्दछ । अण्डालाई निषेध गरेर चल्ला बन्छ । समाजमा हेर्दा आदिम महिला प्रधान समाजलाई निषेध गरेर पुरुष प्रधान समाज बन्यो । पुरुष प्रधानतालाई निषेध गर्ने उद्देश्यले समाजवादमा पैत्रिक सम्पत्ति लगायत नारीलाई जीवनका सबै क्षेत्रमा समान हकको अवधारणा आयो । साम्यवादी व्यवस्थामा महिला–पुरुष दुवैको व्यक्तिगत सम्पत्तिको निषेध गरेर सामूहिक सम्पत्ति र सबै क्षेत्रमा महिला र पुरुषमा पूर्ण समानताको व्यवस्था हुनेछ भन्ने आँकलन छ । यसरी एउटा चिजलाई निषेध गरेर अर्को बन्दछ । यो क्रम निरन्तर जारी रहन्छ । आदिम मातृसत्तात्मक युगको निषेध पितृसत्तात्मक दासयुगले, दासयुगको निषेध सामन्तवादले, सामन्तवादको निषेध पुँजीवादले, पुँजीवादको निषेध समाजवादले । यो क्रम अगाडि बढिरहेछ । यसबाट पनि भन्न सकिन्छ– सबै कुरा परिवर्तन हुँदै जान्छ भने महिलाको वर्तमान उत्पीडित स्थितिमा अवश्य पनि परिवर्तन हुन्छ । यथास्थित रहनै सक्दैन । यसरी द्वन्द्वात्मक भौतिकवादले महिला मुक्ति सम्बन्धमा यसका बाहिरी र भित्री सबै पक्षलाई केलाएर, अन्तरसम्बन्ध र आन्तरिक गतिलाई बुझेर शोषणयुक्त महिलाको अवस्थालाई शोषणमुक्त गर्ने विश्वस्त द्वन्द्वात्मक वैज्ञानिक आधार दिन्छ । आजसम्म विकास भएका दर्शनमध्ये महिला मुक्तिका सम्बन्धमा विकास भएको बढी विश्वस्त वैज्ञानिक दर्शन, द्वन्द्वात्मक भौतिकवादी दर्शन नै हो । द्वन्द्वात्मक भौतिकवादी दृष्टिले महिला–पुरुषको सम्बन्धलाई हेर्दा मुख्यतः वर्गीय दृष्टिले नै हेरिने हुँदा लैङ्गिक दृष्टिबाट हेरिने पक्ष भने पछाडि परेको महसुस हुन्छ र त्यसमा ध्यान दिनु अति आवश्यक देखिन्छ ।
कात्यायिनी भन्छिन्– माक्र्सवाद एउटा क्रान्तिकारी विज्ञानको रूपमा आज पनि एक अभूतपूर्व र ऐतिहासिक रूपबाट गतिशील क्रान्तिकारी शक्ति हो । यसको पद्धति द्वन्द्वात्मक छ, जसले घटनालाई निरन्तर गतिशील स्थितिमा देख्छ र त्यो गतिभित्र रहेको आधारको रूपमा त्यो परिघटनामा निहित विपरीत तत्वको सङ्घर्षको अध्ययन गर्दछ । यो कुरा आज पनि पूर्ण सत्य छ र इतिहास र समाजको हरेक प्रक्रिया झैँ महिला उत्पीडनको अध्ययन पनि यही तरिकाबाट सर्वाधिक तर्कसङ्गत तरिकाले अहिलेसम्म हुँदै आइएको छ र अगाडि पनि हुन सक्दछ । माक्र्सदेखि माओसम्म नारी शोषणका सम्बन्धमा गरिएका धेरै कुराहरु सही छन् । तर ती पूर्ण भने छैनन्, हुन पनि सक्दैनन् । उनीहरुले एउटा दिशा दिन्छन्, बाँकी काम उनीहरुले गर्नु पर्छ, जो आज यस मोर्चामा काम गरिरहेका छन् (दुर्ग द्वार पर दस्तक, पृ. ८२) ।
निष्कर्ष
दर्शनको इतिहास अध्ययन गर्दै जाँदा आदिम साम्यवादलाई छाडेर वर्गसमाजको सुरुवातदेखि नै प्रायः सबैजसो दार्शनिकहरु महिलाप्रति अनुदार, विभेदकारी, पूर्वाग्रही, पितृसत्तावादी रहँदै आएको तथ्य प्रस्ट देखिन्छ । दार्शनिकहरु सबैजसो पितृसत्तावादी पुरुष नै रहेका र उनीहरुले महिलालाई आफ्नो अनुकूल प्रयोग गर्नका लागि उपयुक्त हुने दर्शनको निर्माण, विकास र प्रयोग गर्दै आएको देखिन्छ ।
दर्शनको काम सत्य–तथ्य पत्ता लगाउनु, जीवनलाई ठिकसँग बुझ्नु र सही मार्गनिर्देशन गर्नु हो । तर हाम्रो समाजमा प्रचलित दर्शनले वास्तविक जीवनलाई भ्रम ठान्ने र काल्पनिक जगत्लाई वास्तविक ठान्ने उल्टो सोचले गर्दा वास्तविकता पत्ता लगाउनमा समेत अलमल र असहज परिस्थिति खडा गरिदिएको छ । यो दर्शनले महिलालाई भ्रमित पारेर चरम शोषण गरिरहेको छ । उनीहरुलाई सहायक, दासी, खेलौना, अवला, पराधीन वस्तुका रूपमा मात्र प्रस्तुत गरेर महिला समानता, मुक्ति र व्यक्तित्व विकासलाई सधैँ निरुत्साहित गरेको छ । खासगरी महिलालाई अल्मल्याएर शोषण गर्ने काम आदर्शवादी दर्शनले गरेको छ ।
विविध वाद र दर्शनहरुले भिन्न भिन्न कुरामा जोड दिएका भए पनि आज सबैले मानेको र स्पष्टरूपमा स्थापित भएको तथ्य के हो भने महिला मुक्तिको तगारो पितृसत्तावादी संरचना वा दर्शन नै हो । महिला जन्मजात रूपमा नै कमजोर छैनन् । महिला र पुरुषमा धेरै समानताहरु छन् । महिलाको विकास नहुँदासम्म संसारको विकास हुन सक्दैन भन्ने कुरा दिउसोको काम झैँ छर्लङ्ग छ । बाटो देखाउने काम दर्शनको हो । त्यसैले महिला मुक्तिका लागि सही दर्शन पत्ता लगाएर त्यसैलाई पछ्याउनु जरुरी छ । यो संसारमा अहिलेसम्म विकसित भएका दर्शनमध्ये महिला अधिकार र मुक्तिका बारेमा दह«ो वकालत गर्दै मुक्तिसम्म पु¥याउने दर्शन द्वन्द्वात्मक भौतिकवाद नै हो । त्यो वैज्ञानिक, व्यवस्थित र प्रभावकारी दर्शन सिद्ध भएको छ । त्यसैले महिलाहरु भावनामा बगेर होइन, वैचारिक र दार्शनिक रूपमा सचेत, स्पष्ट र सशक्त भएर अगाडि बढ्नु जरुरी छ ।™