महत्व सापेक्षिक हुन्छ:सुनील कुमार पौड्याल

यस संसारमा महत्व नभएको कुनै वस्तु छ भन्ने मलाई लाग्दैन । समय, परिस्थिति, स्थान सापेक्ष हुन्छ महत्व भन्ने मलाई लाग्छ । यो संसार देखाउने वा प्रस्ट्याउने, सम्पूर्ण प्राणीमा नयाँ उमङ्ग, जोश आदिको संचारण गर्ने, जीवनमा अनमोल ज्योति र ताप प्रदान गर्ने सूर्यको महत्व वर्णन गरेर साध्य छैन । तर त्यही सूर्य ग्रीष्म कालमा कम्तीमा पनि दिनमा नभैदिए हुन्थ्यो, नआइदिए हुन्थ्यो भन्ने हामीलाई लाग्छ । त्यही सूर्य सुदूर दक्षिणतिर वा मरभूमिको उजाड भागमा नफैलिदिए हुन्थ्यो भन्ने त्यतातिर बस्ने वा विचरण गर्नेहरूलाई लाग्छ ।
हाम्रो भनाइ नैं छ नीं–फोहोर पुछेको टालो पनि कुनै बेला काम लाग्छ । यसको शब्दार्थतिर सीमित नभएर भावार्थको बिचार गर्ने हो भने यसको अर्थ स्पष्ट नैं छ–प्रत्येक वस्तु कुनै न कुनै बेला अति महत्वपूर्ण हुनसक्छ भने कुनै बेला कम अनि कुनै बेला महत्वहीन । जस्तो कि हाम्रो राजनीतिकै सन्दर्भमा कुरा गर्ने हो भने राजनेताहरू सत्तासीन भएको बेला तिनको महत्व यति धेरै हुन्छ कि कतिपय मानिसहरू तिनका अघिपछि देखिइन र घनिष्ट बन्न लालायित हुन्छन् । त्यसनिम्ति जालझेल, झगडा, अपमान आदि व्यहोर्न पनि किञ्चित अप्ठेरो मान्दैनन् बरू खुसी खुसी आत्मसात गर्छन् । सत्ताच्यूत हुने बित्तिकै “आउँदा हजूर थिए गए, अब लंगुर“ भन्ने सोच राख्दछन् । त्यसैगरी सत्तासीन भएको बेला ती नेताहरूका लागि आफ्ना नातेदार र आसेपासे मात्र काम लाग्ने वा महत्वपूर्ण हुने हुन्छन् भने चुनाव वा सत्ताच्यूत भएको बेला तिनलाई नातेदार र आसेपासेभन्दा आम कार्यकर्ता नैं महत्वपूर्ण लाग्छन् । त्यतिखेर पनि नातेदार र आसेपासेलाई महत्वपूर्ण ठानेर आम कार्यकर्तालाई दुत्कार्न थाले भने ती राजनेता रहिरहन त परै जाओस, नेता पनि रहँदैनन् । यो कुरा हाम्रा राजनेतालाई भलिभाँति थाहा भएकोले उनीहरू पनि समय, परिस्थिति र स्थान अनुसार घरी नातेदार र आसेपासेलाई त घरी कार्यकर्तालाई महत्व दिन चुक्दैनन् ।
भनिन्छ नेताहरूले कार्यकर्ताको कामको मूल्यांकन गर्छन् । भनिन्छ मात्र किन, यो सत्य कुरा नै हो । र त्यही अनुसार कार्यकर्ताको उन्नति र अवनति निर्धारण गर्छन् । यो चैं भनाई मात्र हो । सत्यता बिचार गर्ने हो भने फरक देखिन्छ । योग्यता, क्षमता, लगनशीलता, क्रियाशीलताभन्दा निकट प्रष्ट भन्ने होभने नतमस्तकता पालना गर्ने, स्वाभिमान स्खलन पार्ने, पूर्णरूपले आश्रित बन्नसक्ने आदि लक्षणयुक्त भएका) कार्यकर्ता नैं उन्नतिको सर्बोत्तम मार्ग कोर्न सफल भएको देखिन्छ । त्यस्तो नभएको भए एउटै मान्छे समाजका हरेक क्षेत्रः राजनीति, कूटनीति, अर्थतन्त्र, न्यायक्षेत्र र राजनेताले चाहेको हरेक क्षेत्रमा योग्य, सक्षम आदि मानिएर त्यही अनुसार हरेकपल्ट बेग्लै बेग्लै क्षेत्रको जिम्मेवारी पाउँदैनथ्यो । गलत मूल्यांकन, अतिरन्जित मूल्यांकन भएपनि आखिर मूल्यांकन गर्ने काम नेताको नैं हो भन्ने सोचेर नेताहरू मख्ख पर्छन् र सोच्छन् कार्यकर्ताहरूले मेरो मूल्यांकन गर्ने हैन क्या रे ! तिनीहरूले मेरो मूल्यांकन गरे पनि के लछार्न सक्छन् र ! मेरो यै तलमाथि गर्न सक्ने अधिकारका कारण कार्यकर्ताहरू मसंग छन् । त्यसैले मैले गरेका निर्णय, कामकारवाहीको बिरोध गर्न सक्दैनन् । गरे भने‘‘‘। ।तर कुरो त्यस्तो हुँदोरहेनछ । आम कार्यकर्ताको त कुरा एकछिनलाई छाडौं । नातेदार र आसेपासे भनिनेहरू समेत स्वार्थ अलि बाझियो भने वा चाहेको सबै कुरा पूरा भएन भने तुरुन्तै मालिक नेताहरूलाई छाडेर आर्कोलाई मालिक स्विकार्न पुग्दा रहेछन् जसले तिनका तात्कालिक स्वार्थ पूरा गरिदिन्छन् । त्यो नयाँ मालिकबाट पनि कुनैबेला स्वार्थ पूरा नहुने भयो भने तिनलाई त झन् सजिलै त्यागिदिन्छन् । यो कुरा हाम्रो देशको राजनीतिले प्रष्ट्याएको छैन र ?
अब आम कार्यकर्ताको कुरा गर्ने हो भने त्यहाँ बहुधा स्वार्थको खेल हुँदैन । त्यहाँ आस्थाको कुरा हुन्छ । जुन आस्थाले उत्प्रेरित भएर ती राजनीतिमा समर्पित भएका हुन्छन् त्यो आस्थाबाट नेता स्खलित भएको बुझ्नासाथ या त उनीहरू आस्थायुक्त राजनीति गर्नेहरूको खोजीमा लाग्छन् र त्यस्तो भेट्नासाथ त्यतातिर लाग्छन् र पूर्व नेतालाई छाडिदिन्छन् वा राजनीतिबाट निराश भएर त्यसबाट बिमुख भएर बस्छन् ।
नेताले कार्यकर्ताको मूल्यांकन गर्ने एकाधिकारका कारण नेता निरङ्कुश अधिकार प्रयोग गरेर मख्ख पर्छन् र सोच्छन्(यी कार्यकर्ताहरूले मेरो के बिगार्न सक्छन् ? परेको बेला मलाई नसघाई सुख्खै छैन । कहाँ जान्छस् मछली मेरै ढडिया । मेरा हातका माखा न हुन् ! तर नेताले कहिले बुझ्न सकेनन् र सक्दैनन्( कार्यकर्ताको मूल्यांकनमा तिनीहरू अयोग्य, असक्षम, बेइमान ठहरिए भने तिनले त्यो नेतालाई त्याग्ने मात्र हैन समाजमा त्यस्तो नेताको छबि धूमिल्याइदिन्छन् । नेताको क्रियाकलाप र क्षमताको आधारमा नेतालाई समाजमा स्थापित गर्न वा समाजबाट बिस्थापित गर्न वा अर्को शब्दमा भन्ने हो भने तिनका छबि उजिल्याउन वा धूमिल बनाउन ठूलो भूमिका खेल्न सक्छन् । समाजमा तिनलाई स्वीकृत वा अस्वीकृत तुल्याउन सक्छन् । नेताले त कार्यकर्तालाई पार्टीबाट मात्र बिस्थापित गर्न सक्छ तर कार्यकर्ताले नेतालाई समाजबाटै बिस्थापित गरिदिन सक्छन् । हाम्रै समाजमा यसका थुप्रै प्रमाण भेटिन्छन् । नेताहरूले बुझ्नु पर्ने अर्को कुरा के छ भने उनीहरूलाई नातेदार वा आसेपासेले नेता बनाएका हैनन्, कार्यकर्ताले बनाएका हुन् ।
समाजमा अनेक प्रकारका नेता भेटिन्छन् । भिन्न प्रकारका नेताहरू बिषयमा मैले भनिरहनु पर्छ भन्ने मलाई लाग्दैन । पाठकहरू आँफै बिज्ञ हुनुहुन्छ । तर पाठकहरूलाई थाहा भएपनि एकथरी नेताको

 

विषयमा यहाँ अलिकति उल्लेख नगरी मलाई चित्तै बुझेन । एक थरी नेता यस्ता छन् जो आँफै खासै महत्वपूर्ण लाग्दैनन् । तर त्यही खासै महत्वपूर्ण नलाग्ने नेता आर्को कुनै एकजनासँग लाग्नासाथ उसलाई दश बराबरको शक्तिशाली बनाइदिन्छन् । भनेपछि दश गुणा बनाइदिन्छन् । त्यस्तो नेताको नामै किटेर मैले भनिरहनु पर्दैन । पाठकहरूले चिन्नुभएकैछ । आखिर समय, परिस्थिति, स्थान आदि अनुसार नैं हरेकको महत्व झल्किने वा प्रष्टिने रहेछ । यो कुरामा म अडिग छु, बिश्वस्त छु ।