क्षमताको कुरा न हो

                          सुनील कुमार पौड्याल

कुला, खहरे, खोला, नदी, समुद्र, महासागर सबैमा पानी हुन्छ । सबैले आआफ्नो क्षमता अनुसार पानी संकलन गरेका हुन्छन् र हरेकको क्रियाकलाप पनि फरक वा भिन्न हुन्छ । जसको क्षमता बढी हुन्छ उसले बढी पानीको दम्भ राखेकै हुन्छ यद्यपि खहरे अपवादमा पर्ने पानीको श्रोत हो । यै कुरा मान्छेमा पनि लागु हुन्छ नीं । जति धेरै क्षमता त्यति धेरै संकलन वा संचिती । अर्को शब्दमा भन्ने हो भने जति ठूलो मुख त्यति धेरै हसुर्ने काम । हुन त मान्छेको मुख सामान्यतया मान्छे पिच्छे फरक नापको भएपनि धेरै नैं ठूलो सानो हुँदैन । मुखभित्र जाने कुराको आकार प्रकारमा धेरै फरक हुँदैन । तर मुखबाट उदरतिर भित्रिने ठाउँमा चैं अत्यन्त फरक हुँदो रहेछ । त्यसो नहुँदो हो भने कसैले कुखुरोसम्म जेनतेन हसुर्न सक्ने त कसैले सिङ्गै राँगो हसुर्न सक्ने कहाँ हुन्छ त ! पचाउने कुरा बेग्लै हो । कसैको पाचन शक्ति अत्यन्त मजबुत हुन्छ त कसैको कमजोर । कसैले जति हसुरे पनि पूरै पचाइदिञ्छ कसैले अलिकति हसुर्दा पनि झाडा पखाला लाग्छ ।
त्यसो त हसुर्नेको क्षमताको कुरा मात्र हैन, उसले हसुर्ने कुराको स्तरमा पनि फरक पर्दो रहेछ । जस्तो कि बाजले फिष्टाको     शिकार गर्दैन । उसको स्तरमा सुहाउने कुरा भेटेन भने बरू भोकै मर्छ तर फिष्टातिर द्विविधाले हेरेर बस्दैन । जब यो कुरा प्रकृतिमा भएको एउटा प्राणीमा लागु हुन्छ भने प्रकृतिमै भएको अर्को प्राणी मान्छेमा किन लागु नहुनु ! चराहरूको साम्राज्यमा चराको स्तर अनुसार उसको आहार हुन्छ । भंगेराले किरा फट्यांग्रा वा अन्न खान्छ भने ठूला चराले आफ्नो स्तर अनुसार खाने र पचाउने गर्छन् । अब जनावरकै कुरा गर्ने हो भने पनि विभिन्न

जनावरका आहारको मात्रा बिभिन्न हुन्छ । बिरालोले बिरालोको आहार मात्र पचाउन सक्छ हुँडारको सक्दैन । हुँडारलाई हुँडारकै दार अनुसारको खाना चाहिन्छ । एकपल्टमा एक किलो मासु बुत्याउन पनि बिरालोलाई असम्भव लाग्दो होला तर हुँडारलाई एक छेउ नलाग्न सक्छ । क्षमताको कुरो न हो ! बुझ्न सके पो ! त्यस्तै ठूला मान्छेले ठूलै कुरा रोज्छन्, सानाले सानै । आफ्नो स्तर अनुसारको न हो !
मान्छे एउटा सामाजिक प्राणी हुनुको साथै चेतनशील समेत हो भन्ने मानिआएकोले बाजले जस्तो झम्टा हाने पनि वा हुँडारले जस्तो लुछे पनि बाज वा हुँडार वा अन्य प्राणीभन्दा केही न केही मात्रामा फरक हुँदो रहेछ । अन्य प्राणीभन्दा केही मात्रामा पृथक भएकोले झम्टा हान्न वा लुछ्न मान्छेले सजिलै पाउँदो रहेनछ । मान्छेको समाजमा सेवा गरेर हसुर्दा कसैले पनि विरोध गर्दोरहेनछ । विना काम हसुर्दा पो मान्छे विरोध गर्दारहेछन । एकजना मेरा साथी छन् । उनी ओहदामा हुँदा जनताको खूब सेवा गरे । जनतालाई सुविधा कसरी पुर्याउन सकिन्छ त्यही गरे । उनले गरेको काम त मैले पनि देखेकै हो । उनको काम प्रशंसनीय रहेको छ । कामको साथै उनले सिकार पनि ठूलठूलै गरे भन्छन जनताजनार्दन । काम देखे पनि उनले सिकार गरेको चैं मैले देखिन । भेउ नैं पाइन । उनी ठूला सिकारी हुन् भन्ने थाहा पाउँदा पनि जनताजनार्दन अहिले पनि उनलाई मन पराउँछन् । चुनावमा उठे भने उनलाई नैं भोट दिन्छन् । भन्दाखेरी सेवा गर्यो भने अर्थात काम गर्योभने जनताले सात खत पनि माफ गर्दारहेछन् । तर सेवा गर्ने कुरामा माखो नमार्ने, हसुर्न चैं बाजले वा हुँडारले जसरी ठूला ठूलातिर वा धेरैतिर आँखा लगाउनेलाई कुनै दिन जनताले नैं त्यस्ताको शिकार गरिदिन बेर लगाउँदैनन् । हेक्का रहोस ।

IME Remittance