भेदभावकाे पर्खाल

          निलिमा पुन

 

विभेदकारी सामाजिक पर्खालभित्र
सम्बन्धहरु निमोठिन्छन् कति
प्रेममै विधवा बन्छन् कति
प्रेमका डाली भाँचिन्छन कति
पखेटा काटिएको चरी जस्तै
घाइते हुन्छन् कति
मुर्छित हुन्छन् भावनाहरु
रक्ताम्य भएर ढल्छन् सपनाहरु
निरीह बन्छन् चाहनाहरु
चक्नाचुर हुन्छन् आशाहरु
एकोहोरो बन्छन् नजरहरु
खरानी बन्छन खुशीहरु
कुसंस्कार र कुरितीभित्र
घाटी थिचिएर निःशब्द बन्दछन्
आवाजहरु !
यी निर्मम भेदभावहरुले
कहिलेसम्म रजाइँ गर्ने
कहिलेसम्म दमन गरिरहने
उच्च  भनिएका जातीय चिन्तनका
संवेदनाहीन यातना कहिलेसम्म भोगिरहने
नीच जाती भनिएका सृजनशील हातहरुले
रचना गरेका साधनहरु भरिपुर्ण छन्
उच्च जातीका घरभण्डारहरुमा
जब सुसज्जित बन्छन् उनीहरु
प्रहार गर्छन निचहरुकै शीरमाथी
असुभ शब्दहरुकाे बर्षा हुन्छ
हृदयभित्र  तिरस्कृत व्यवहारकाे तीर राेपिन्छ ।
अन्याय गर्नेहरु भन्दा कैयौं गुणा
शक्तिशाली हुन्छन् अन्यायमा पर्नेहरू                                                                                                                                 ती सृजनाका बाहकहरुमा
कमि छैन बुद्धि विवेक ज्ञान र शीपको
अझै पनि संयमित छन् यिनीहरुले बनाएका औजारहरू
बन्चरो,हँसिया, तरवार, खुकुरी र भालाहरु
पहरा फोडेर बाटो बनाउने घनहरु
सुरक्षाका साधन विविध हतियारहरु
मान्छे भन्दा सम्मानिन छन्
यिनैले बनाएका सामाग्रीहरु
यिनै सामाग्रीका भरमा घुमेकाेछ जीवन चक्र

यिनैले सिलाएका कपडाले शरीर छाेपिन्छ ।
यिनैले बनाएका जुत्ता लगाएर पाइलाहरू अघि बढ्छन
यिनैले बनाएका गहनाले डाेलीमाथि सिंगारिएर बस्छन                                                                                                  पूजा कोठामा राखिन्छ तामाका लोहाेटाहरु
पवित्र मानिन्छ मन्दिर जाँदा फुल राख्ने थालहरु
दुनियाँ नाच्छन् यिनैले बनाएका नौमती बाजाहरुमा
मनै रुवाउँछ सारंगीका धुनहरुले
यिनकै साथले पुग्छन् सत्तासिन कुर्चीमा
अनि बिर्सिन्छन सबै गुनहरु
तुच्छ पार्छन अछुत जाती भनेर
आखिर जन्म, मृत्यु,रगत र पसिना समान छन्
तर !
मान्छे भएर मान्छेको जस्तै सोच बदलिएन किन ?
मान्छेलाई मान्छेको व्यवहार गरिदैन किन ?
कानुन भएर कानुन लाग्दैन किन ?
न्यायालय भएर न्याय पाइदैन किन ?
मान्छे मान्छे बीच यो भेदभाव किन ?

IME Remittance