भारतीय भूमीबाट सेना हटाउँ, ३ करोड जनता एक हुन्छन्: जिवन शर्मा

भारतीय भूमीबाट सेना हटाउँ, ३ करोड जनता एक हुन्छन्: जिवन शर्मा

काठमाडौं । जनवादी गायक जीवन शर्माले देश बचाउन ३ करोड जनता तयार रहेकोले अबको ध्यान अतिक्रमित भूमी फिर्ता गराउन केन्द्रित हुनुपर्ने बताउनुभएको छ । खबरचक्रसंगको कुराकानीमा शर्माले आफ्नो गीत जस्तै  एउटा सानो राष्ट्रले आँट गरेमा ठुला ठुला साम्राज्य ढालिदिन्छ, यो देश बचाउन खाँचो परेमा तीन करोड नेपाली एक हुन्छ भन्दै सरकारले गरेको निर्णयले ३ करोड जनताको स्वाभीमान उँचो भएको    बताउनुभयो ।

सुस्ता, महेशपुरा, माने भञ्ज्याङ, कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत सयौं ठाउँमा चहराइरहेको अतिक्रमणको घाउ पुनः बल्झिएकोले आम नागरिकहरु भूमी फिर्ता गराउने अभियानमा जुट्नुपर्ने शर्मा बताउनुहुन्छ ।

शर्माले सरकारको नक्सा पास गर्ने निर्णय नेपालको इतिहासमा स्वागतयोग्य ठुलो कदम भएको जनाउनुभएको छ । शर्माले नेपाली भुमीबाट भारतीय सेना हटाउन थप सशक्त कदमहरू चाल्न पनि आग्रह गर्नुभएको छ ।

सरकारले निर्णय गरे लगत्तै सामाजिक सञ्जालमा आफूले गाएको एउटा गीतको २ लाइन सहित पोष्ट गर्नुभएको छ
‘एउटा सानो राष्ट्रले आँट गरेमा ठुला ठुला साम्राज्य ढालिदिन्छ ।
यो देश बचाउन खाँचो परेमा तीन करोड नेपाली एक हुन्छ ‘।

जनवादी गायक जीवन शर्मा, जसले एउटा आदर्श कम्युनिष्ट  जीवनका लागि नीजि सम्पतिको मोह त्यागेर कम्युनिष्ट आन्दोलनमा लाग्नुभयो । ३ दर्जनभन्दा बढी सिमा जागरणका गीत र दुई हजार भन्दा बढी जनवादी गीतहरु गाउनुभयो । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा निर्णय गरेर प्रयोगमा ल्याउँदा औधी खुसी हुनुहुन्छ । गीतमा उठाएका कतिपय मागहरु पूरा भएको अनुभूती गरिएको बताउनुभयो ।

लिपुलेकमा नेपाली भुमी मिच्दै मानसरोवर जाने बाटो बनाउने भारतीय योजना नेपाली स्वाधीनतामाथिको सीधा अतिक्रमण भएको भन्दै जनवादी गीतहरुको सान्दर्भिकता अहिले उस्तै भएको बताउनुहुन्छ ।

उहाँका केही सिमा सम्बन्धि जनवादी गीतहरु  प्रस्तुत गरिएको छ ।

छोड छोड विस्तारवाद नेपाल भूमी छोड
भारतीय सेनाहरु कालापानी छोड

एक मुठ्ठी सास छैन कि क्याहो यो वीर जातीमा
विदेशी बुट बज्रेको छ यो नेपाली छातीमा

IME Remittance