पार्टी एकता र फुटको संस्कृति ।
-जीवन शर्मा
अहिले नेपालमा ‘कम्युनिष्ट’ एकताको चर्चा शिखरमा छ । नेकपा माओवादी केन्द्र र नेकपा एमाले बीचको एकताको प्रशंगले देशभित्र र विदेशमा नेपालप्रति चासो राख्ने समुदायको बीचमा तरङ्ग फैलाइरहेको छ । के यी दुइ पार्टी बीच दलीय एकता होला ? या त्यो केवल चुनावी तालमेलमा मात्र सीमित भएर पानीको फोका सरह हुनेछ । यो कुरा निकट भविष्य मै सबैका अगाडि प्रष्ट भएर आउने छ । अर्को तर्फ क्रान्तिकारी कम्युनिष्ट ध्रुवीकरण को प्रशंग पनि चलिरहेको छ । तर त्यसले त्यति चर्चा पाएको छैन । पार्टीहरू कसरी बन्छन, कसरी विकशित हुन्छन र कसरी विलय हुन्छन ? यस बारे यहाँ संक्षिप्त चर्चा गरिएको छ ।
कुनै पनि संघ संस्था,व्यक्तित्व वा राजनीतिक दलको उदय, उत्थान र पतनका पछाडि त्यसले अपनाउने संस्कृति, विचार,सिद्धान्त र दर्शनको महत्वपूर्ण भुमिका हुन्छ । आजको दुनिया एकातिर प्रजातान्त्रिक मूल्य मान्यता ,दर्शन र सिद्धान्त अर्कोतिर साम्यवादी दर्शन, विचार र सिद्धान्त गरी विश्व जनमत मुलतः दुइ मान्यतामा विभक्त छ । यिनै दुइ थरी दर्शन, विचार र सिद्धान्तका आधारमा बीसौ सताब्धीको मध्यतिर नेपालमा राजनीतिक दलहरूको उदय भयो । सन उन्नाइस सय छ्र्र्यालिस सालमा ( २००३ माघ १२ र १३ गते ) नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातान्त्रिक काँग्रेस मिलेर नेपाली काँग्रेस पार्टीको गठन भयो । त्यसको तिन बर्ष पछि उन्नाइस सय उनन्पचास सालमा ( २००६ साल बैसाख १० गते ) नेपाल कम्यनिष्ट पार्टीको स्थापना भयो । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा यी दुइ परिघटनाहरू अति नै महत्वपूर्ण सावित भए । स्थापना कालदेखि नै यी दुबै पार्टीहरूले कहिले खुला र कहिले भुमिगत हुदै आफ्नो राजनीतिक यात्रा अगाडि बढाइरहेका छन । मुलतः यिनै दुई संगठनहरूका अवयवहरू नै यो वा त्यो प्रकारले सत्तरी बर्ष पुगिसक्दा पनि अहिको नेपाललाई डोहो¥याउन क्रियाशील छन । पञ्चयती शासनकालमा बाहेक कहिले फुट्दै र कहिले जुटदै यिनै पार्टी हरूले नेपालमा लामो समय शासन गरिरहेका छन । यी पार्टीहरूको जति लामो यात्राको इतिहास छ त्यति नै बढी फुट र जुटका घटना छन ।
पार्टीहरू किन फुटछन ?
विश्भरको दलगत इतिहास केलाउँदा विभिन्न देशका विभिन्न नामका पार्टीहरू कहिले फुट्ने र कहिले जुट्ने गरेको पाइन्छ । यस्तो फुट र जुटको पछाडि विभिन्न कारकहरूको भुमिका हुन्छ । ती मध्य मुख्य गरेर दुइवटा कारक तत्वहरूले सबभन्दा बढी काम गरेका हुन्छन । प्रथम स्वार्थको कारण र दोस्रो सैद्धान्तिक कारण । बीसौं सताब्धीको सुरूमा रुसको सोसल डेमोक्रेटिक पार्टीमा आएको फुट र एकताका पछाडि मुलतः सैद्धान्तिक कारणहरूले बढी काम गरेको पाइन्छ । त्यो समय भनेको सिद्धान्त निर्माणको युग थियो । तात्कालीन सबै माक्र्सवाद नजीकका विचारकहरूलाई उछिनेर लेनिनले वोल्सेभिक सिद्धान्त विकशित गर्नुभयो । यसले सोसल डेमोक्रेटिक पार्टी फुटेर अन्य कारणले बनेका दर्जनो राजनीतिक पार्टीलाई समेटेर पछि एउटा सशक्त वोल्सेभिक कम्युनिष्ट पार्टी विकसित ग¥यो । संसार भरि यही सिद्धान्तको आधारमा समाजवादी क्रान्ति अघि बढे । चीनको कम्युनिष्ट पार्टी भित्र माओत्सेतुङको नेतृत्व स्थापित भए पछि विश्व सर्वहारा वर्गले नयाँ विचारधारा प्राप्त ग¥यो । पूँजीवादको विकास भै नसकेका औपनिवेसिक र सामन्ती शोषणमुलक अर्थव्यवस्था भएका देशमा क्रान्ति सम्पन्न गर्न माओले माक्र्सवाद लेनिनवादमा आधारित नयाँ विचारधारा विकातिस गर्नु भयो । यसले चीनमा विशाल कम्युनिष्ट पार्टी निर्माणको निम्ति सैद्धान्तिक आधार भुमी प्रसस्त बनाइदियो । चीनिया सामन्तवाद र जापानी साम्राज्यवादका विरुद्ध सशस्त्र संघर्ष गरेर नौलो जनवादी व्यवस्था ल्याउन माओ विचारधाराको अद्वितीय भुमिका छ । चीनमा जनवादी क्रान्ति सम्पन्न भए पछि विश्वभरिका अविकसित मुलुकमा यही विचारधाराको आधारमा क्रान्तिकारी पार्टी निर्माण हुँदै गए, क्रान्ति सम्पन्न हुँदै गए । विश्व कम्युनिष्ट आन्दोलन तीब्र गतिमा अघि बढ्दै गर्दा समयक्रमसँगै रुसको कम्युनिष्ट पार्टीमा संशोधनवादी धार देखा प¥यो । यो धार विकसित हुदै गएर पार्टी र सोभियत सत्तामा ठुलो विचलन आयो । यसरी आएको सैद्धान्तिक विचलन रोक्न माओले ठुलो कसरत गर्नु भएको थियो । तर त्यो प्रयास सफल हुन सकेन । यसरी रुसी साम्यवादी धारामा आएको विचलन पछि विशेष गरेर स्तालिनको निधन पछि रुस र चीनका कम्युनिष्ट पार्टी बीच ठुलो सैद्धान्तिक बहस सुरु भयो । त्यसले संसारभरका कम्युनिष्ट पार्टीहरु दुइ सीरामा विभक्त हुँदै गए । रुस समर्थक र चीन समर्थक पार्टीहरु भएर विश्व कम्युनिष्ट आन्दोलन दुइ चीरामा विभाजित भयो । एउटै देशका कम्युनिष्ट पार्टीभित्र पनि दुई चीरा देखा प¥यो । माओको नेतृत्वमा क्रान्तिकारी विचारधारा बोकेका पार्टीहरू एउटा पंक्तीमा लाम बद्ध भए । अर्को तर्फ ख्रुश्चेभको नेतृत्वमा संशोधनवादी पार्टीहरू उभिए । विश्व कम्युनिष्ट आनदोलन भित्र फुटको शिलशिला यही कारण सम्म मात्र सीमित रहेन । पछि गएर पदीय स्वार्थ र अन्य स्वार्थवस पनि पार्टीहरू फुट्न थाले । यस्तो फुटलाई कुनै न कुनै सैद्धान्तिक जलप दिएर कार्यकर्तामा भ्रम पार्ने प्रयास गरियो । सिद्धान्तविहिन एकता वा फुट सही संगठनको विकासका लागि घातक हुन्छन । यस्तो एकता या फुटले पार्टी र कार्यकर्तालाई या त गलत ठाउँमा पुराउँछ या समाप्त पार्छ । संसार भरका धेरैजसो कम्युनिष्ट पार्टीहरू अहिले यही प्रकृतिको एकता वा फुटको प्रकृयाबाट गुज्रिरहेका छन ।
जीवहरूको उत्पत्तीको इतिहास हेर्दा एक कोसीय जीवको फुटबाट जीवनको विस्तार भएको पाइन्छ । प्राकृतिक जगतमा फुटको अर्थ विकाश भन्ने हुन्छ । तर संगठन भित्रको व्यक्तिगत स्वार्थवस उत्पन्न हुने असैद्धान्तिक कचिङ्गल र फुटले प्रायः त्यसको विकासमा अवरोध पैदा हुने र शक्ति छिन्नविन्न हुने स्थिति सिर्जना हुन्छ । नेपालका दलहरूको इतिहास अवलोकन गर्दा जुटको भन्दा फुटको प्रकृया नै तीब्र छ । समग्र दलगत फुटको श्रृङ्खला नियाल्यो भने सबैभन्दा बढी फुट्ने र जुट्ने गरेका पार्टी ‘कम्युनिष्ट’ पार्टी देखिन्छन । नेपाली काँग्रेस सबैभन्दा कम फुट्ने गरेको पार्टी हो । कम्युनिष्ट पार्टी फुटिरहने र काँग्रेस पार्टी नफुट्ने कुराको बस्तुगत कारण के हुन सक्छ । यसको सांस्कृतिक पाटो के होला ? कम्युनिष्ट पार्टीको आन्तरिक व्यवस्थापनमा के कमजोरी रहे ? यसको नेतृत्व र कार्यकर्ता बीचको अन्तर्सम्बन्धको आधार के कस्तो बन्यो ? आदि इत्यादि कुराहरुको विश्लेषणबाट पार्टी फुटका कारण ठम्याउन सजिलो हुनेछ ।
अन्तर्पार्टी अस्वस्थ खेल
कुनै पनि खेलमा खेलाडी र खेलका नियमका बीचमा अन्तर्सङ्घर्ष र एकता संतुलित ढंगले चलेको हुन्छ । त्यो संतुलन भत्कियो भने खेल समाप्त हुन्छ । पार्टीको आन्तरिक जीवनमा पनि एकातिर विधान, नियम र नियामक हुनछन भने अर्कोतिर नियम पालना गर्दै काममा जुटिरहेका कार्यकर्ता हुन्छन । यिनीहरू बीचमा चलिरहने अन्तर्संघर्ष र एकता बीचको संतुलन बिग्रियो भने अनुशासन भंग हुन जान्छ । त्यसले पार्टीमा अराजकता पैदा हुन्छ र अन्तते पार्टी फुटको दिशामा अघि बढ्न थाल्छ । यो स्थिति आउन नदिन पार्टीको नीति र नेतृत्व प्रतिको आस्था, विश्वास र भरोसा सर्वप्रमुख सवाल हुन जान्छ । त्यस आधारमा नै कार्यकर्ता कृयाशील हुन्छन र अनुशासित भएर काममा समर्पित हुन्छन । त्यसका विपरित पार्टीको नीत, कार्यक्रम, नेतृत्व र विचार प्रति अनास्था, अविस्वास , र वितृष्णा पैदा भयो भने केवल जनवादी केन्द्रियता र अनुशासनको भरमा मात्र पार्टी पंक्तिलाई एक ढीका पारेर राख्न सम्भव हुँदैन । अन्तर्विरोधको सार्वभौम नियम बमोजिम पार्टी नेतृत्व र कार्यकर्ता बीच अनेकौं विषयमा अनेकौं प्रकारका अन्तर्संघर्ष चलिरहेका हुन्छन । पार्टीका कार्यकर्ता र नेतृत्वबीचको यस्तो अन्तर्विरोधलाई सही र सनतुलित ढंगले हल गर्न नसक्दा नै प्रायः पार्टीमा फुटको स्थिति उत्पन्न हुने गर्दछ समान योग्यता र समान हैसियत भएका व्यक्तित्वहरू बीच प्रायः नेतृत्वको प्रतिस्पर्धा चलिरहने गर्दछ । त्यसले अस्वस्थ र अराजक रूप लियो भने पार्टीभित्र गुट उपगुटको जन्म र विकास हुने गर्दछ । यसले पनि पार्टीलाई फुटको संघार तिर धकेलिदिन्छ । कहिले काही सैद्धान्तिक सवालमा तीब्र मतभेद विकसित भएर हल हुनै नसक्ने अवस्था आएमा पार्टी फुटेर विभिन्न चीरा अलग अलग हुने गर्दछन । त्यो स्वाभाविक फुट हो । तर धेरै जसो गरेर विविध स्वार्थका कारणले पार्टी भित्र चल्ने अस्वस्थ खेल नै पार्टी फुट्ने प्रमुख कारण हुन जान्छ ।
बाह्य शक्तिको चलखेल
सोभियत समाजवादी व्यवस्था भत्काउन सर्वप्रथम सोभियत संघको कम्युनिष्ट पार्टी भत्काउन अनिवार्य थियो । त्यसको लागि अमेरिका र उसको गुप्तचर संस्था सीआइए ले बर्षौ लगानी गरेको थियो । कैयौं कम्युनिष्ट नेता हरूलाई किनेको थियो र पथ भ्रष्ट बनाएको थियो । भारतमा पनि त्यहाँको शक्तिशाली कम्युनिष्ट पार्टीलाई सिध्याउन रअको घुसपैठ र पार्टीभित्र उसको चलखेलको ठुलो भुमिका छ । नेपालमा विभिन्न दलहरूलाई जोड्ने र फोर्ने काममा रअ र सीआइए का एजेण्ट लामो समय देखि सकृय रहदै आएका छन । आफ्नो साम्राज्यवादी स्वार्थ अनुकुल काम गर्ने पार्टीलाई एकताबद्ध पारिरहने र त्यसको विपरित काम गर्ने क्रान्तिकारी पार्टीलाई टुक्रा पारिरहने काममा उनीहरु लागिपरेका छन । यसको कारण पनि कांग्रेस पार्टी प्रायः नफुट्ने र अन्य वामपंथी प्रकारका पार्टी फुटिरहने गरेका छन ।
दर्शन विचारधारा र सिद्धान्तका आधारमा हुने पार्टी एकता वा फुटलाई स्वाभाविक मानिन्छ । यसले वास्तविकतालाई जनसमक्ष ल्याउन र बुझ्न सहज बनाउछ । त्यो स्थितिमा सही पार्टी चिनेर त्यसमा समर्पित हुन सजिलो हुन्छ । अवसरवादीहरुलाई पनि आफु अनुकुलको पाटीमा सामेल हुन समय मै बाटो खुला हुन्छ । तर असैद्धान्तिक र स्वार्थ अभिप्रेरित एकता वा फुटले लामो समय सम्म मानिसलाई भ्रममा पार्ने गर्दछ । अहिले नेपालमा विकसित हुँदै गइरहेको कम्युनिष्ट नाम गरेका दलहरू बीचको एकताका पछाडि सैद्धान्तिक आधार भन्दा पनि सत्ता स्वार्थ र अन्य प्रकारका स्वार्थको आधार प्रमुख देखिन्छ । यसले नेपाली जनमानसमा अनावश्यक भ्रम पैदा गरिरहेको छ ।
यी सबै अवस्थाबाट पार्टीलाई जोगाएर क्रान्तिकारी विचार र नीतिले सुसज्जित शक्तिशाली पार्टी बनाउन देश जनता क्रान्ति र पार्टी प्रति समर्पित निस्वार्थ नेतृत्व र अनुशासित कार्यकर्ताको अहम भुमिका हुन्छ ।
२०७४ साल पुष २६ गते ।