जनवादी गायक रामेश श्रेष्ठले एउटा अन्तर्वार्तामा सरकार विरद्ध अाक्राेस पाेख्नु भएकाे छ ।
कला संस्कृतिको विषयमा राज्यले खास नीति अपनाएको छैन । जे छ, जस्तो छ, चल्दै जान्छ र चलाउँदै जाने हो । जे आइपर्छ गर्दै जाने हो, भन्ने बाटोमा सरकार हिँडिरहेको छ । नीति नियम बनाउने, लागू गर्ने, त्यो गर्दाको परिणाम के होला ? यी र यस्ता विषयमा विचार गरेर सरकारले काम गरे पटक्कै लागेको छैन । अहिले मात्र हैन, यस अगाडिका न काँग्रेस, न कम्युनिस्ट र न अन्य सरकार कसैको पालामा कलासंस्कृतिको विषयमा केही पनि भएन ।
हिजो अभियान चल्दाको समय हामीले जनताको सुपरिवर्तन, असल जीवन र सफल भविष्य देखेका थियौँ । हिजोका केही पनि उद्देश्य पूरा भएको अनभूति भएको छैन । बरु राजा महेन्द्रले लोक सङ्गीतको निमित्त राष्ट्रियताको निमित्त जनताको समिटमा गएर, जनतासँग भिजेर काम गर्ने कोसिस गरेका थिए । नेपाली लोकगीतलाई उठाउनका निम्ति उनले धेरै कोसिस गरेका थिए । नेपाली पहिचानका निमित्त उनको पालमा धेरै कार्यहरू भएका थिए । जनताका लागि उनले ठूलाठूला प्रोजेट, राजमार्गहरू, जनतामा जाने गाउँफर्क कार्यक्रमहरूका साथै जनताको विचार लिने धेरै काम भएको थियो । तर त्यसपछि आएको हाम्रो काँग्रेस र कम्युनिस्ट सरकारको पालमा केही भएको र गरेको छैन ।
सामन्ती शैली नै छ
आम जनतामा गणतन्त्र, लोकतन्त्रप्रति निराशाका भावनाहरू पैदा हुँदै गइरहेको देख्न सकिन्छ । समयअनुसार हाम्रो देशमा पनि शासन व्यवस्था परिवर्तन भयो, व्यक्ति परिवर्तन भए । तर शैली सस्कार फेरिएन । सामान्ती सोच, संस्कार र त्यो एउटा परम्परारगत जीवन शैली त्यो झन् प्रखर भएर आयो ।
अझै जनताको आवाज गीतमा गुन्जाउनुपर्ने अवस्था छ । त्यसका लागि हामीहरू आफ्नो ढङ्गले काम गरिरहेका छौँ । कार्यक्रम दिइरहेका छौँ । हाम्रो अभियान अहिले पनि निरन्तर छ । त्यसका लागि पुराना राम्रा गीतहरू रिरेकर्डिङ गरेर अहिलेको युट्युबलगायत विभिन्न माध्यममा ल्याइरहेका छौँ । कार्यक्रम पनि भइरहेका छन् । हामीले पहिलेदेखि गुन्जाउँदै आएको आवाज अझै गुन्जाउनुपर्ने अवस्था छ ।