दस लाख वर्षकै गर्मीपछि अबको जलवायु कता? डा. जीवन क्षेत्री

(सन् १९८९ मा प्रकाशित पुस्तक ‘द इन्ड अफ नेचर’ मा आममानिसले बुझ्ने गरी जलवायु परिवर्तनलाई व्याख्या गरेर अहिलेको जस्तो अवस्था प्रक्षेपण गरेका बिल म्याक्किबेन भन्छन्— एकाध दशकपछि संसारभर मानिसको दैनिकी आपतकालीन उद्धारमै बित्नेछ किनकि वर्षैभर लगातार जलवायु संकटजन्य विपत्तिले पृथ्वीलाई घेरिरहने छन्।

उनै म्याक्किबेनले हालै आफ्नो सब्स्ट्याकमा पश्चात्तापले भरिपूर्ण निबन्ध लेखे— आखिर साढे तीन दशकपहिले अहिलेको भविष्य देखेर पनि मैले किन मानिसहरूलाई बुझाउन, संगठित गर्न र अवस्था फेर्न सकिनँ?

थप सामग्रीहरूका लिंकसहितको उक्त निबन्धको अंग्रेजी संस्करण यहाँ पढ्न र म्याक्किबेनको सब्स्ट्याक ‘द क्रुसियल इयर्स’ सब्स्क्राइब गर्न सकिन्छ। – जीवन क्षेत्री, अनुवादक)

मेरो सब्स्ट्याक ‘द क्रुसियल यर्स’ को यो संस्करण अरूभन्दा आत्मपरक हुनेछ, किनकि पछिल्ला दुई हप्ताले मलाई असाध्यै आत्मचिन्तन गर्न बाध्य पारेका छन्।

अहिले हामीले जलवायु संकट भन्ने गरेको अवस्थाबारे मैले सन् १९८९ मा पहिलो पुस्तक लेखेको थिएँ। अन्ततः हामी यो विशेष जुलाईमा पुग्नेछौं भनेर चेतावनी दिँदै मैले त्यसपछिको साढे तीन दशक बिताएँ जस्तो लाग्छ— सबैभन्दा तातो दिन, तातो हप्ता र तातो महिनाको रेकर्ड।

यो लगभग निश्चित देखिन्छ कि यो हाम्रो ग्रहमा एक लाख २५ हजार वर्षमा सबभन्दा तातो मौसम हो; अमेरिकी प्राध्यापक जेम्स ह्यान्सनले हालसालै अर्थ्याएझैं पछिल्लो दस लाख वर्षको सबैभन्दा तातो समय आइसकेको छ वा लगत्तै आउनेवाला छ। त्यसको अर्थ, होमो सेपियन्सको विकास भएयता पृथ्वीमा कहिल्यै यति तातो भएको छैन।

अर्को शब्दमा भन्नुपर्दा, जलवायु परिवर्तन अझै पनि प्रारम्भिक चरणहरूमा छ किनकि हामी अहिले हाम्रो वर्तमान प्रक्षेपणले उत्पादन गर्ने तापक्रमको आधा बाटोमा छौं र अहिले नै यस्तो अनुभव भइरहेको छ। तर जलवायु संकटले ल्याउने भविष्य पूर्ण रूपमा असहनीय छ भनेर बुझ्न भने यो अनुभव काफी भइसकेको छ।

न्यूयोर्क टाइम्सले पनि हालै मात्र लेखेको छ — लारेडोमा नारकीय गर्मीले कम्तीमा दस जनाको ज्यान लिइसक्यो। एक व्यक्तिले आफ्नो भाइलाई दुइटा बिग्रिएका एयर-कन्डिसनरसहित बेडरूममा मृत फेला पारे। उनीरू सिमानामा हुर्केकाले तातो मौसमसित अभ्यस्त थिए। तर भन्दै थिए, यो त कमिलाको टाउकोमा सूर्य राखिदिएजस्तै गर्मी थियो जुन अनुभव हामीले कहिल्यै गर्नुपरेको थिएन।

वासिङटन पोस्टले पनि फिनिक्समा गर्मीका बारेमा रिपोर्ट लेखेको छ — यो सहरले चाँडै नै १८ दिनसम्म निरन्तर ११० डिग्री (फरेनहाइट) को रेकर्ड तोड्नेछ र आगामी शनिबार १२० डिग्रीभन्दा माथि पुग्न सक्नेछ। (आउँदो हप्ताको २४ घन्टे औसत तापक्रमको पूर्वानुमान १०४.६ डिग्री छ, जसले सहरको अघिल्लो सबभन्दा तातो हप्ताको रेकर्ड तोड्नेछ जसको औसत तापक्रम १०२.९ डिग्री थियो।)

जब यति तातो हुन्छ तब के हुन्छ? आँगन पार गर्न केही पाइला खाली खुट्टा हिँड्दा वा सिट बेल्टको धातुले छालालाई छुँदा छाला डढेर झुल्सिन्छ। बगैंचाको धाराबाट आउने पानीले छाला खुइलिने गरी पोल्छ।

वासिङटन पोस्टले अग्निनियन्त्रकलाई उद्धृत गर्दै लेखेको छ, ‘हामीले बुधबार उत्तर फिनिक्सको सडकमा लम्पसार एक व्यक्तिलाई भेट्यौं। हामी पुग्दा ती व्यक्ति बेहोस थिए। उनको शरीरभरि सूर्यको आगोले पोलेको थियो। उनको छाला निस्किरहेको थियो र उनको आन्तरिक तापक्रम १०७ डिग्री थियो। उनलाई आकस्मिक कक्षमा पुर्‍याउँदा मूलतया, उनको मस्तिष्क गर्मीले बिग्रेको थियो।’

जब म यस्ता कुराहरू पढ्छु, म प्रभावित व्यक्तिहरूका लागि रून्छु र म आफ्नै असफलताका लागि पनि रून्छु। मलाई यस संकटका बारेमा पृथ्वीमा प्रायः सबै मानिसलाई भन्दा लामो समयदेखि थाहा छ र मैले सोच्न सक्ने कुरा गरेको छु। त्यसमध्ये केही उपयोगी भएको छ, तर यो पर्याप्त भएको छैन। अरूले धेरै र राम्रो गरेका छन्, तर त्यो पनि पर्याप्त भएको छैन।

‘मैले तपाईंलाई त्यसो भनेको थिएँ,’ यस अवस्थामा यसो भन्नुको अर्थ ‘मैले (मानिसहरूलाई बुझाउने) सही शब्दहरू पत्ता लगाउन सकिनँ’ वा ‘मैले अरूलाई पर्याप्त संख्यामा परिचालन गर्न सकिनँ’ भन्नुको एक फरक तरिका हो।

दयालु मानिसहरू भन्छन्, ‘तपाईंले प्रयास गर्नुभयो।’

मैले गरेको पनि हो तर त्यो पनि ‘तपाईंले खत्तम पार्नुभयो’ भन्ने अर्को तरिका हो।

अब कतिसम्म भने, मैले संकटलाई मेरो आफ्नै ढोकाबाट टाढा राख्न पनि सकिनँ। मेरो प्यारो भर्मन्ट राज्य धेरै जलवायु संकटजन्य विपत्तिहरूको तारो बन्ने ठाउँहरू मध्ये एक थियो। अहिले जापान, भारत, चीन र स्पेनमा मात्रै ठूलो बाढी आएको होइन, मोन्टपेलियर, लुडलो र ब्यारेजस्ता अरू एक दर्जन मैले निकटबाट चिनेका ठाउँ त्यस्तो विपत्तिमा छन्।

यस सप्ताहन्तमा, हरियो पहाडहरूमा हाँडीघोप्टे वर्षाको दोस्रो चरणले मेरो घरबाट आधा माइलको दुरीमा पहिरो खसाल्यो। हामी ठीक छौं, तर अर्को परिवारले आँखैअगाडि आफ्नो घर हिलोको भयानक पर्खालमा गाडिएको देखेँ। तिनीहरू केही सेकेन्डले मात्र बाँचे किनभने हाम्रो सानो सहरका स्वयंसेवक अग्निनियन्त्रक प्रमुख आफैं उनीहरूलाई चेतावनी दिन आइपुगेका थिए- मैले अहिलेसम्म दिँदै आएकोभन्दा बढी प्रभावकारी चेतावनी।

म बुझ्छु कि यसो भनिरहँदा आत्मप्रशंसा वा आत्ममुग्धताको समेत गन्ध आउन सक्छ र म त्यसो गर्न चाहन्नँ। जाहेर छ, मैले जलवायु परिवर्तनलाई रोक्न सक्दिन थिएँ, आखिर यो नितान्त सामूहिक समस्या हो र यसको केवल सामूहिक समाधान मात्र हुन सक्छ। तर आफूलाई जिउँदै राख्न हामी महत्त्वपूर्ण लडाइँहरू जित्नेछौं भन्ने कल्पनामा लिप्त हुने गर्छौं। हुन पनि (बीसौं शताब्दीमा) भारतले आफूलाई ब्रिटिस शासनबाट मुक्त गर्‍यो; अमेरिकामा (मतदानमा नश्लभेद अन्त गर्ने) मतदान अधिकार ऐन पारित भयो।

त्यसैले जब हामी (जलवायु जस्ता मुद्दामा) असफल हुन्छौं, त्यसको शोकमनाउ गर्न ठीक छ र सम्भवतः आवश्यक पनि छ।

तर अब के कुरामा प्रष्ट हुनु जरूरी छ भने अहिलेको त्रासदी हामीले गरिरहेको काम रोक्ने कारण बन्नु हुँदैन। भर्खरैको एउटा अध्ययनका अनुसार तापक्रम वृद्धिको हामीले रोक्न सक्ने प्रत्येक दसौं अंश (०.१ डिग्री सेल्सियस) ले हाम्रा १४ करोड दाजुभाइ-दिदीबहिनीलाई यस ग्रहमा बस्न योग्य क्षेत्रमा राख्छ।

यो अवस्थासित कसरी जुध्नुपर्छ भन्ने बारे मेरो आधारभूत विश्वासलाई कुनै पनि कुराले परिवर्तन गरेको छैन — हामीले अन्ततः खनिज इन्धन उद्योगको राजनीतिक शक्तिलाई तोड्न र जबर्जस्ती भए पनि स्वच्छ ऊर्जातिर संक्रमणका लागि ठूलो आन्दोलनहरू सिर्जना गरिरहनुपर्छ। पेरिस जलवायु सम्झौता भन्नुहोस् वा अमेरिकाको (कार्बन उत्सर्जन घटाउनमा केन्द्रित) मुद्रास्फिति न्यूनीकरण ऐन, जन परिचालनले नै यी सम्भव भएका छन्।

अब हामीले असल राजनीतिज्ञहरूलाई अवसर दिनुपर्छ। खराब राजनीतिज्ञहरूलाई पदबाट मुन्ट्याएर निकाल्नुपर्छ। कर्पोरेसनहरूलाई मानिसको र पर्यावरणको हत्या गरेबापत जवाफदेही बनाउनुपर्छ। हामीले हाम्रो समयको ढुकढुकीलाई नै बदल्नुपर्छ।

संघर्षको अर्को चरण ठूलो हुनुपर्छ र अब छिट्टै आउनुपर्छ। यस हप्ताले स्पष्ट पार्छ कि हामी अहिले ढिकबाट छलाङ लगाउन तम्तयार छौं। भित्रिँदै गरेको एल निनो मौसमी प्रणालीले हामीले अहिलेसम्म देखेभन्दा खराब अराजकता उत्पन्न गर्नेछ। मलाई लाग्छ कि पृथ्वीको तात्ने क्रम रोक्ने निर्णायक कदम चाल्न यो अन्तिम राजनीतिक अवसर बन्न सक्छ।

यस्तो सामूहिक परिचालन गर्न योजनाहरूका लागि सम्पर्कमा रहनुहोस्; हामी प्रयास गरिरहनेछौं किनकि हामीले अझै धेरै प्राप्त गर्न बाँकी छ।

तर यो हप्ता हामीले पहिले नै कति गुमाइसकेका छौं भनेर पनि स्वीकार गर्नु आवश्यक छ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance