अमुल्य आँसु : निलिमा पुन

कहिले गुुुमाएर झर्छ आँसु कहिले पाएर झर्छ
दुख र सुखको साक्षी बनेर आँखामा लुक्छ आँसु
कसैको रहरले होइन,कसैको कहरले होइन
परिस्थिति बुझेर आफै झर्छ आँसु

झरिमा झर्छ आँसु कहिले खडेरीमा झर्छ
बाढीमा होस् या डँढेलोमा साक्षी बन्छ आँसु
कसैको दवाबले होइन,कसैको अभावले होइन
संवेदनशीलतामा आफै झर्छ आँसु

कहिले चोटले झर्छ आँसु कहिले अठोटले झर्छ
मन र आँखाको सम्बन्धमा साक्षी बन्छ आँसु
न कतै खोज्नु पर्छ न कतै जोख्नु पर्छ
विपत्तिमा साथ दिन आफै झर्छ आँसु

मौनतामा झर्छ आँसु कहिले शब्द शब्दमा झर्छ
एक्लै होस् या भीडमा सहारा बन्छ आँसु
कसैसँग मागेर होइन कसैको चोरेर होइन
आँखाको तलाउमा सञ्चित छ आँसु

तुच्छ व्यवहारले झर्छ आँसु कहिले दयाले झर्छ
सम्मान र अपमान दुवैमा टिलपिलाउछ आँसु
कसैलाई देखाउन होइन कसैलाई मेटाउन होइन
नबोलेर पीडा व्यक्त गर्न आफै झर्छ आँसु

प्रतिज्ञामा झर्छ आँसु वलिदानीमा झर्छ
विजय र पराजयमा साक्षी बन्छ आँसु
कसैले दिनु पर्दैन कसैबाट लिनु पर्दैन
प्रतिरोधको बिम्ब बनेर आफै झर्छ आँसु

मृत्युमा झर्छ आँसु जन्मदा पनि झर्छ
हर्ष र विष्माद दुवैमा साक्षी बन्छ आँसु
कहिले शक्ति बनेर कहिले निरिह सम्झेर
मनलाई शान्त दिन अभिभावक बन्छ आँसु

सत्य बुझेर झर्छ आँसु असत्यमा पनि झर्छ
झुठहरुको पर्दाफासमा साक्षी बन्छ आँसु
कहिले अपिल गर्दै कहिले आक्रोस देखाउदै
न्याय अन्यायको निसाफमा अमुल्य बन्छ आँसु

IME Remittance