विनु पाेखरेल
त्यसबेलाका रामकृष्ण आचार्य अर्थात् आजका जीवन शर्मा । उनी जिम्मावालका छोरा थिए । कक्षाका सधैं पहिलो हुने विद्यार्थी । जे पाए पनि निलिदिन्छु भन्ने खालका १६ वर्षे लक्का जवान । बाग्लुङको सर्कुवा जनता माविमा १० कक्षामा पढ्थे । त्यसै त गाउँको प्रधानपञ्चको छोरो, त्यसमा पनि कक्षामा गुरुहरुलाई र्याखर्याख्ति पार्ने । खासै गुरुहरु नजिकिएर बोल्ने पनि आँट गर्दैनथे । किनकि त्यो बेला पञ्चायत विरुद्ध आन्दोलन छेडिएको थियो । अनि स्कूलका सबै गुरुहरु पञ्चायत विरुद्धको आन्दोलनमा होमिएका थिए ।
उनलाई एकदमै माया गर्ने र उनले पनि अत्याधिक श्रद्धा गर्ने गुरु एकदिन उनैलाई पञ्चायत विरुद्ध आन्दोलनमा लाग्न प्रस्ताव लिएर आए । पञ्चकै छोरासँग यस्तो प्रस्ताव लिएर जानु त्यो बेला मारिन तयार हुनुजस्तै थियो । ती मास्टरको एकदमै ठूलो हिम्मत थियो त्यो । जुन प्रस्तावले जीवनको जीवन नै अर्काे मोडमा मोडिन पुग्यो । पञ्चका छोरा पञ्चायत विरुद्धको आन्दोलनमा होमिए ।
‘अरु सबै गुरुहरु आन्दोलनमा लागिसक्नुभएको रहेछ । यो केटोलाई पनि आन्दोलनमा लगाउन पाए यसले धेरैलाई यो बाटोमा हिँडाउन सक्थ्यो भन्ने उहाँहरुलाई लागेको रहेछ । तर म आन्दोलनमा लाग्नुको साटो यस्तो कुरा बालाई सुनाइदिने हो कि भन्ने डर उहाँलाई रहेछ’ आफू पञ्चायत विरोधी आन्दोलनतर्फ मोडिएको घटना सम्झंदै जीवन शर्माले भने, ‘गुरुहरुमध्ये पनि मलाई असाध्यै माया गर्ने गुरुले आएर भन्नुभयो, जीवन अब तिमी पनि हामीसँग हिड्नुपर्छ ।’ गुरुको प्रस्तावले जीवन शर्मा केही समय अकमकिए । ‘पहिला त म अक्मकिएँ । तर, उहाँले केही घन्टा भनेका कुराले मलाई यस्तो पो रहेछ भन्ने भयो र विस्तारै पञ्चायत विरुद्धको आन्दोलनमा लागेँ ।’
‘त्यो रात म कार्कीनेटाको डाँडाको होटलमा बसेँ । भोलिपल्ट विहान त्यहाँबाट निस्किएर घर जान हिडेँ । फलेबास माथिको चौतारीमा पुगेपछि कालीगण्डकीतिर फर्केर तिनै राई बुढालाई देखेर टिपेका हरफ उनैलाई सम्झंदै भाका हालेँ –सिमली छायाँमा बसी भरिया लामो सास फेरेको, उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको । मेरो गीत सुनेर चौतारामा बसेका कुनै अपरिचित रुदैं रहेछन् । त्यसपछि मलाई गीतले प्रभाव पार्ने रहेछ भन्ने लाग्यो ।’ जीवन शर्माले घटनालाई एकै सासमा सुनाए ।
गाउँका प्रधानपञ्चको छोरो पञ्चायत विरुद्धको आन्दोलनमा लगेकोमा उनीप्रति हरेकको आँखा आँखामा प्रश्न थिए । पञ्चायतको पक्षमा हुने गाउँका धेरैजसो धनीमानीहरु वर्गशत्रुजस्तै मानिन्थे । त्यसैले उनलाई घर र बाहिर दुबै ठाउँमा खतरा थियो । कति साथीहरु त पञ्चको छोरो होइन र ? भनेर आत्तिन्थे । यसरी एउटा सम्पन्न परिवारको केटो गरिवहरुको आवाज उठाउने आन्दोलनमा लाग्यो ।
दूरको सम्बन्धलाई एकैपटक समदूरीमा बदलिदिने यो घटना उनको लागि कार्लमाक्सको द्वन्द्वत्मक भौतिकवादको प्रयोग जीवनमै बदलिदिने घटनाका रुपमा आयो । समाज भित्रको द्वन्द्व त उनले पछि मात्रै कितावमा पढे । तर, त्यो भन्दा अगाडि नै उनले त्यस्तो घटनालाई जीवनमा भोगे ।
पछि उनले पुस्तकमा द्वन्द्वात्मक भौतिकवाद पढे । जहाँ प्रकृतिमाजस्तै समाजमा पनि विपरीत तत्वबीच द्वन्द्व छ भन्ने उल्लेख थियो । त्यो पुस्तकमा द्वन्द्वमा कहिले प्रधान पक्ष गौण हुन्छ, कहिले त्यही गौण पक्ष प्रधान हुन्छ भन्ने हरफहरु थिए । ती हरफहरुलाई उनले आफ्नै जीवनमा सुरु भएको द्वन्द्वको स्वरुप बदलिएको घटनाबाट अनुभूत गरे । यसरी समाजमा द्वन्द्वले ल्याउने परिवर्तन मात्रात्मक हुँदै गुणात्मक परिवर्तनमा पुग्न जाने कुरा उनले व्यवहारबाटै बुझे । ‘जसरी पानी ताताउँदा तापक्रमको मात्रा परिवर्तन हुँदै जान्छ, त्यससँगै पानी तरलबाट ग्यासमा परिवर्तन हुन्छ’ संवादका क्रममा जीवन शर्माले दार्शनिक व्याख्या सुनाए, ‘एउटा यस्तो बेला आइपुग्छ जहाँ पानी पानी रहंदैन, अब वाफ बन्छ ।’
कार्ल माक्र्सको शास्त्रीय व्याख्यालाई उनले समाजको द्वन्द्वसँग पनि उदाहरण दिएर व्याख्या गरे । ‘समाजमा पनि जव वर्गहरुबीच द्वन्द्व चुलिंदै जान्छ, एकबेला यस्तो अवस्था आइपुग्छ कि जनताको आवाजमा मात्रात्मक परिवर्तन हुँदै अन्त्यमा आएर गुणत्मक परिर्वतन हुन्छ र सत्ता नै परिवर्तन हुन्छ’ उनले सुनाए, ‘पञ्चायती व्यावस्था एकदिन ढल्छ भन्ने दार्शनिक अवधारणा मेरो मनमा पैदा भयो र त्यसले मलाई भित्रै छोयो ।’
बुबालाई गाउँका मान्छेको संगतबाट छुटाएर पढ्न पठाउन पाए छोरो सुध्रिन्थ्यो भन्ने लाग्थ्यो । त्यसैले बाले जीवनलाई एसएसी पास गरेपछि कम्मरमा दुई हजार रुपैयाँ बाँधिदिएर इन्जिनियरिङ पढ्न काठमाडौं पठाए ।
यही दार्शनिक मोड नै जीवन शर्मालाई परिवर्तन गर्ने मोड बन्न पुग्यो । ‘एउटै रेखामा चलिरहेको मेरो जीवनको पहिलो मोड त्यही थियो’ उनले भने, ‘आफ्ना विगतलाई आज एक द्रष्टाको रुपमा हेर्दा त्यो समाज परिर्वतनको मात्रात्मक रुप रहेछ जस्तो लाग्छ ।’ उनलाई देश समृद्ध बनाउन व्यवस्था फाल्नु पर्छ भन्ने मात्र लागेको थियो । तर आज आएर हेर्दा व्यवस्था परिवर्तनसँगै चरित्रमा परिवर्तन महत्वपूर्ण लागेको छ । जीवन शर्माले गलल्ल हाँस्दै भने, ‘कत्रो भ्रम हुँदै गुज्रिएछ भन्ने लाग्छ अहिले ।’ धीर भएर विगत पस्किरहेका उनी आफ्ना विगतलाई जीवनको मध्यभागमा आएर सम्झँदै गर्दा उनी वारी डाँडामा बसेर पारीको चित्र वर्णन गरे जसरी आफ्नो विगतका पाइलाको मुल्याङ्कन गरिरहेका थिए ।
उनका बालाई छोराको यो गतिविधि पटक्कै मन परेको थिएन । उनी छोरालाई यो सबैबाट छुटाउन चाहन्थे । बुबालाई गाउँका मान्छेको संगतबाट छुटाएर पढ्न पठाउन पाए छोरो सुध्रिन्थ्यो भन्ने लाग्थ्यो । त्यसैले बाले जीवनलाई एसएसी पास गरेपछि कम्मरमा दुई हजार रुपैयाँ बाँधिदिएर इन्जिनियरिङ पढ्न काठमाडौं पठाए ।
उनी इन्जिनियरिङ पढ्न काठमाडौं त आए, तर बाको सपना भने फेल खायो । उनले गाउँबाटै यहाँका कम्युनिष्टहरुको सम्पर्क लिएर काठमाडौं आएका थिए । गाउँबाट कम्युनिष्ट नेताहरुले पठाएको चिठ्ठी लिएर उनी सिधै साहित्यकार पारिजातकोमा पुगे । त्यो बेलाको राजनैतिक दौडधुप सम्झदै जीवन भन्छन्, ‘विष्णुमतीको तिरमा एउटा झुप्रोमा पारिजात दिदी बस्नु भएको घरमा गएर गाँउबाट पठाएको चिठ्ठि दिएँ । पारिजात दिदी त्यो बेला महिला संगठनको अध्यक्ष थिइन् । यो चिठ्ठी पढेर उनी एकदमै खुसी भइन् । हाम्रो राजनैतिक भेटघाट त्यहीँ हुन थाल्यो । निर्मल लामा, रायनहरु साथी थिए । मकैको ढिँडो र फाडो खाइन्थ्यो ।’
त्यो बेलाको दुई हजार भनेको अहिलेको दुई लाख भन्दा माथिको पैसा लिएर उनी इन्जीनियरिङ गर्न काठकाडौं हानिएका थिए । बाले पठाएको पैसाले इन्जिनियरिङ कलेजमा भर्ना भए । चाहिने समान किने । तर पढाइको साटो राजनैतिक भेलामा समय बित्यो । आन्दोलनमा भाग लिए, गीत गाउँदै हिँडे ।
सूचना पुग्न कति समय लाग्थ्यो र ? यो कुरा गाउँमा उनका बा भएको ठाउँमा पुग्यो । त्यसैले बाले पैसा पठाउन छोडे । कलेजमा जाँच दिने बेलामा पैसा नभएपछि उनले जाँच दिन पाएनन् । यता आन्दोलन पनि सकियो, पैसा पनि सकियो र कलेज पनि सकियो । सबै बाटा बन्द भएपछि अब के गर्ने र ? उनी घर फर्किए ।
त्यस बेला बाग्लुङ जानलाई पोखरासम्म गाडीमा गएर त्यसपछि हिँड्दै स्याङ्जाको नागडाँडा, सेतीदोभान, चिलाउनेबास हुँदै,बास बस्दै जानु पथ्र्यो । समाजमा घट्ने द्वन्द्व जस्तै उनको जीवनमा पनि कुन समय प्रधान भएर आउँथ्यो उनी आफैँलाई पत्तो थिएन । घर फर्कँदै थिए उनी । चिलाउनेबासमा बास बसेर कार्कीनेटा फेदीबाट उकालो चढ्दै जाँदा कार्कीनेटा पुग्नु अघिको उकालोको बीचमा एउटा चौतारो थियो । झ्याप्ले कपाल पालेको, गिटार भिरेको, बेगी पाइन्टमा सजिएको केटोले जे भोगेर फर्किएको भए पनि उनमा अर्कै रौनक थियो । जुन रौनकमा समाजका चित्र र ती चित्रमा समाज परिर्वतन गर्ने सपना पनि थियो ।
त्यो आङ नै सिरिङ्ग बनाउने उकालोको बीचको चौतारोमा पुग्दा एकजना बृद्ध भेटिए । शर्मा भन्छन्, ‘पहिला त उनी बोल्न खोजेनन् तर मैले नै सोधिरहेपछि बोले । उनी पूर्व खोटाङका राई थरका रहेछन् । श्रीमती हातखुट्टा सुनिएर मरिन् रे । छोराछोरी आसाम छन्, फर्केर आएका छैनन्, नाति नातिना छन् रे, ती पनि उतै कुल्ली काम गर्छन् रे भनेको सुनेको छु । त्यसैले घर फर्कन मन छैन । भारी बोक्छु यतै खान्छु भन्दै टोलाउँदै, घरि रुँदै उनले सबै कुरा पोखे ।’ ती राई बुढासँगको भेटको कुरा गर्दा कुनै किताव पढेर सुनाए जस्तै गरिरहेका थिए जीवन शर्मा ।
उनले मुखले त यति भने, तर उनको पसिनाले भिजेको शरीर, त्यसकोे अमिलो गन्ध, च्यातिएको टोपी, लुँदा परेका अनुहारको छाला, खाली खुट्टा, पानी नपुगेर चिरिएका गरा जस्ता कुर्कुच्चा, मैलो र माथीसम्म खुम्चिएको दौराले पनि धेरै कुरा बोलिरहेको थियो । त्यो चौतारोबाट उनीसँग छुटेपछि जीवनले उनलाई कहिल्यै भेटेनन् ।
‘त्यो रात म कार्कीनेटाको डाँडाको होटलमा बसेँ । हिजो भेटिएका राई बुढाको कथालाई कपिमा टिपेँ र बिर्सन्छुकी भनेर घरि घरि भाका हालेँ । भोलिपल्ट विहानै त्यहाँबाट निस्किएर फलेबास माथिको चौतारीमा बसेर कालीगण्डकीतिर फर्केर गाएँ –सिमली छायाँमा बसी भरिया लामो सास फेरेको, उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको । मेरो गीत सुनेर बाटो हिड्ने बटुवा कतिबेला देखि छेउमा बसेर रुदैं रहेछन् । त्यसपछि मलाई गीतले प्रभाव पार्ने रहेछ भन्ने भयो ।’ जीवन शर्माले घटनालाई एकै सासमा सुनाए ।
पञ्चायतकालीन अवस्था थियो, बाहिर गाउन हुन्थेन । भित्र भित्र गाउनु पथ्र्यो । बाले पनि नसुन्ने ठाउँमा गाउन पथ्र्यो । त्यसैले उनी २०४३ सालमा ‘रक्तिम सांस्कृतिक परिवार’ भनेर गठन गरे र गीत गाउँदै हिँड्न थाले । तर आफ्नो नाममा गाउँदा पक्राउ परिने डरले नाम फेरेर रामकृष्ण आचार्यबाट उनी जीवन शर्मा भए ।
उनी रामकृष्ण आचार्यको जीवनधाराबाट उछिट्टिएर जीवन शर्मा बन्न पुगे । रकेटलाई पृथ्वीको अर्विटबाट बाहिर पठाएर त्यो अर्विटबाट फर्केर ल्याउने शक्ति नभएर फर्केर नआएजस्तो उनी गीत संगीत क्षेत्रको जीवन शर्मा अर्विटमा पुगे । त्यसपछि उनी कहिल्यै रामकृष्ण आचार्यमा फर्केर आएनन् ।
उनको गीतको प्रभाव मान्छेमा यसरी प¥यो कि गीत सुनेर मान्छे कम्युनिष्ट हुन्थे । मान्छेहरु पञ्चायत विरोधी हुन्थे । मान्छे आफैंमा कम्युनिस्ट नभए पनि आफूमा परिर्वतन खोज्थ्यो । या भनौ कम्युनिस्टको अहिलेको पुस्ता सबै यहि गीत सुनेरै हुर्किए । कम्युनिष्टहरुको त यो गीत राष्ट्रिय गान जस्तै भयो । उनी सिमली छायाँ गीतका पर्यायवाची भए ।
त्यसपछि उनका सबै यात्रा सांगीतिक यात्रमा परिणत भए । उनले आफूले आफैँलाई औँलाले छोएर जिस्कँदै भने– ‘त्यो नै यो जीवनको पहिलो तथा अन्तिम मोडविन्दु थियो । खासमा म त्यही मोडले एउटा इन्जिनियर हुन र नेता हुनबाट बचें ।’ यति भनेर उनी ठूलो आवाज निकालेर हाँसे ।
गाउँको राजनीति सरल सोझो प्रष्ट सजिलै छुट्टिने तर शहरमा राजनीतिमा लागेका मान्छे कस्ता छन् केही थाहा नहुने । भाषण मात्र राम्रो हुने तर भित्र के धन्दा गर्छ प्रष्ट नहुने । जसलाई सबैभन्दा राम्रो मान्यो र उसको भित्रि जीवनमा गयो त्यसप्रति घृणा लाग्ने हुन्छ । यो सबै देखेका जीवनले उनको दिमागका तीन फोल्डर हटाइदिएको बताउँछन् । उनी भन्छन्, ‘दिमाग ह्याङ गराउने सबैभन्दा ठूला पद प्रतिष्ठा र पैसाको फोल्डर अब मेरो दिमागबाट हटाइदिएको छु र म खुसी छु । सामान्य छु ।’
पढाइमा रुची भएका उनले राजनैतिक ह्याङ उत्रदै गएपछि त्रिचन्द्र क्याम्पसमा राजनीति शास्त्रमा ब्याचलर डिग्री र इङ्लिस लिटरेचरमा मास्टर डिग्री गरे । उनी बाबुराम भट्टराईसँग एउटै डेरामा बसेका हुन् । मणि थापा र हितमान शाक्य उनका सहयात्री हुन् । उनी भन्छन्,–‘पद प्रतिष्ठा र पैसा जस्तो कुरामा पुग्ने बाटो नेता बन्न छोडेर मैले सबैभन्दा राम्रो निर्णय गरेछु भन्ने लाग्छ । संगीतको जीवनमा नै आनन्दित छु । भौतिकवादमा रहेछु, यहाँ भित्र पराभौतिक कुरा बोक्ने कुरा संगीत मात्र रहेछ भन्ने अब झनै घामजस्तै छर्लङ्ग भएको छ ।’
उनी आफ्नो कम्युनिस्ट सांगठनिक सम्बन्धबारे भन्छन्, ‘जे गरेँ मैले एकदमै ठीक गरेँ । आज पनि सत्य न्याय र समानताको पक्षपाती हुँ । तर कुनै कम्युनिष्ट पार्टीको सदस्य होइन । अहिलेका कम्युनिष्ट पार्टीको सदस्य नहुँदा कम्युनिष्ट म होइन्न भन्ने मलाई लाग्दैन ।’ नेपाल न्युज बाट साभार