विश्व रेबिज दिवस : ‘तथ्य बुझौं, त्रसित नबनौं’

काठमाडौं । ‘तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने मुल नारासहित ‘विश्व रेबिज दिवस २०७८’ नेपालमा पनि मनाइएको छ ।मंगलवार इपिडेमियालोजी तथा रोग नियन्त्रण महाशाखाले जावलाखेलस्थित चिडियाखानामा एक कार्यक्रम आयोजना गरी विश्व रेबिज दिवस मनाएको हो । कार्यक्रमपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडेमियालोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले रेबिज जंगली तथा घरपालुवा जनावरहरुको टोकाइबाट हुने भएकोले कुनै पनि हेलचेक्राँइ नगरी उपचारमा लाग्नुपर्ने बताए ।

उनले जनावरको टोकाइबाट हुने यो रोगको उपचार तत्काल भएमात्रै ज्यान बचाउन सकिने भन्दै जनावरको टोकाइबाट हरेक महिना एकदेखि दुई जना मानिसको मृत्यु भइरहेको बताए । उनले घरपालुवा कुकुरहरुलाई रेबिजविरुद्धको खोप लगाएर पनि आफू बच्न सकिने भन्दै प्रवक्ता पौडेलले जनावरले टोकिसकेपछि १०÷१५ मिनेटसम्म साबुन पानीले टोकेको ठाउँमा धोएमा पनि यसको असर कम हुने बताए ।

निर्देशक डा. पौडेलले भने, ‘विशेष यो रेबिज जंगली जनावर, घर पालुवा, कुकुरको टोकाइबाट हुने गर्छ, हाम्रो तथ्यांकअनुसार गत वर्ष पनि ५० प्रतिशत भन्दा बढी व्यक्तिहरु टेकु अस्पतालमा भर्ना हुनु भएको तथ्यांक छ, धेरै डेथहरु पनि भएको छ, बचाउन मिल्ने डेथ भएको छ, मैले पाएको तथ्यांकअनुसार महिनामा करिव करिव एकदेखि दुई जनाको डेथ भएको छ टेकु अस्पतालमै, देशभरको तथ्यांक छैन, रेबिज बास्तवमा घरपालुवा कुकुरहरुलाई रेबिज बिरुद्धको खोप लगाएर बचाउन सकिन्छ, रेबिजबाट बच्ने भनेको कुकुरको टोकाइपछि बनेको घाउलाई साबुनपानीले १०, १५ मिनेट राम्रोसँग धोएर बेलैमा रेबिज बिरुद्धको खोप लगाएर बचाउन सकिन्छ, तर कतिपय अवस्थामा यो त घरकै कुकुर हो,केही लक्षण छैन, ठीकै छ भनेर खोप लगाउँदैनौँ,त्यसले बचाउन मिल्ने व्यक्तिहरुको पनि दुःखद् निधन भएको छ,त्यसैले सचेत बनौँ, आतंकित होइन ।’

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. अनुप बाँस्तोलाले वर्षेनी २ दर्जनजति रेबिजको लक्षण भएका बिरामीहरु टेकु अस्पतालमा आउने गरेको बताए । उनले देशभरमा रेबिजबाट मृत्यु हुनेहरुको वार्षिक तथ्यांक राख्न आवश्यक रहेको भन्दै यसको लागि पहल गरिरहेको बताए ।

कुकुरबाट मानिसमा हुने रेबिजलाई २०३० सम्म शुन्यमा ल्याउने सरकारको योजना रहेको बताउँदै निर्देशक बाँस्तोलाले यसका लागि सबै स्थानमा आम नागरिकले सर्वसुलभ तरिकाले खोप पाउने व्यवस्था गर्नुपर्ने, कुकुरलाई रेबिज हुन नदिन त्यसविरुद्धको खोप लगाउने र कुकुरको जनसंख्यामा कमी गरे २०३० सम्ममा कुकुरबाट हुने रेबिज शुन्यमा ल्याउन सकिने पनि बताए । उनले रेबिजबाट मृत्यु हुनेहरुको तथ्यांक मानिसको मात्रै नभइ जनावरहरुको पनि यकिन तथ्यांक राख्न सरकारले काम गरिरहेको जानकारी पनि दिए ।

निर्देशक बाँस्तोलाले विकसित देशहरुमा पनि अहिलेसम्म रेबिज भइसकेका व्यक्तिहरुमा औँलामा गन्न सकिनेलाई मात्र बचाउन सकिएको बताए । नेपालमा भने हावादेखि डर लाग्ने र पानी खानदेखि डराउने जस्ता लक्षण देखिसकिएका मानिसहरुलाई बचाउन नसकिने भएकोले समयमै जनावरको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउन बाँस्तोलाको सुझाव छ ।

IME Remittance