‘पातलो एउटा शरीर’ अर्थात् शहिद शोभाखर धनञ्जयको जीवन संघर्षको गाथा

नारायण शर्मा

भाद्र ११, नेपाली इतिहासको त्यो दिन हो जुन दिन दुःखी गरिब श्रमजविी जनताले आफ्नो मुक्ति अभियानको एक निडर र त्यागी अभिभावकलाई गुमाउनु परेको थियो । नेपाल आमाले आफ्नो एक सच्चा सपुत गुमाउनु परेको थियो । जनपक्षीय पत्रकारिताको प्रतिक हाँक साप्ताहिकले आफ्ना संस्थापक सम्पादक÷प्रकाशक गुमाउनु परेको थियो । हो, भाद्र ११ जनमुक्ति आन्दोलनका प्रिय योद्धा, जनपक्षीय पत्रकारिताका कुशल अभिभावक–शोभाखर धनन्जय भूसाल अर्थात् शहिद सरोज शर्माले शहादत प्राप्त गरेको दिन हो । २०४३ साल भाद्र ११ गतेका दिन भारतको नयाँ दिल्लीस्थित बेलारोडमा भैरहेको तीज कार्यक्रममा ‘नेपाली एकता’ पत्रिका वितरण गरेर फर्कने क्रममा रहस्यमयी तरिकाबाट उहाँको हत्या गरिएको थियो । जनमुक्ति अभियानमा होमिएको एक सिद्धान्तनिष्ठ साहासी योद्धा शोभाखर धनञ्जयलाई तत्कालिन पंचायती तानाशाही सत्ताका शासकहरुको मिलिमतोमा योजनाबद्ध रुपमा हत्या गरिएको जो कोहीले पनि सहजै अनुमान लगाउन सक्छ । सर्वप्रथम त नेपाली क्रान्तिका तिनै महान योद्दा शहिद शोभाखर धनञ्जयप्रति भावपूर्ण श्रद्धा सुमन, शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना !

जनगायक जीवन शर्माको शब्द, संगीत र स्वरमा रहेको रक्तिमको कालजयी गीत–‘पातलो एउटा शरीर थियो’ नेपाली क्रान्तिका तिनै निडर योद्दा शहिद शोभाखर धनञ्जयको जीवन संघर्षको यथार्थ गाथा बोकेको गीत हो । जनसंगीत यात्राका क्रममा भारतको नयाँ दिल्ली पुगेका बेला जनगायक शर्माले २०४२ सालतिर पहिलो पटक देख्नु भएको थियो– शोभाखर धनञ्जयलाई । “भारतको दिल्लीस्थित ओखला टैंकको प्लस्टर समेत नगरिएको एउटा सामाज्य झुपडपट्टीमा मैले पहिलो पटक शोभाखर धनञ्जयलाई देखेको थिए । पहिलो चोटी मैले देख्दा उहाँ कागजमा केही लेख्दै हुनुहुन्थ्यो ।” –शहिद शोभाखर धनञ्जय सँग भेट हुँदाका दिनहरुको स्मरण गर्दै जनगायक जीवन शर्मा भन्नुहुन्छ–“दुब्लो पातलो, अग्लो शरीर । एकदमै मेहनत गर्ने । रात दिन नभनेर भोकै, प्यासै देश र जनताको काममा खटिइरहने सरल जीवनशैली, मिलनसार स्वभाव शुरुमा भेट्दा नै उहाँको व्यक्तित्वबाट म प्रभावित भएको थिएँ ।” शोभाखर धनञ्जयको मृत्युको खबर सुनेपछि जनगायक जीवन शर्माको मस्तिष्कमा त्यही दुब्लो पातलो शरीर र विशाल हृदय भएको तस्वीर फनफनी घुम्न थाल्यो । अनि, २०४३ सालको दशैको बेला तिनै शहिद शोभाखर धनञ्जयको सम्झनामा गीतका यी पंक्ति कोर्न पुग्नुभयो जीवन शर्माले :–
पातलो एउटा शरीर थियो
एकताका हात बढाउँदै थियो
जबसम्म उ स्वदेश मै थियो
सामन्तहरुलाई हाँक दियो ।

नसा नसामा शिरा शिरामा
उम्लिरहेको रगत बोकी
भोकाउँदै हिंड्थ्यो तिर्खाउँदै हिंड्थ्यो
आदम्य बेगलाई रोक्दै नरोकी
निडर एउटा मुटु थियो
आक्रोशको ज्वाला बोकेर कुद्ने
जबसम्म उ स्वदेमै थियो
सामन्तहरुलाई थर्काइ हिंड्यो

गल्ली–गल्लीमा बोकेर कुद्थ्यो
नेपाली एकताको सन्देश उसले
बस्ती बस्ती बालेर पुग्थ्यो
नेपाली क्रान्तिको मसाल उसले
विशाल एउटा मुटु थियो
दुःखको सागर बोकेर कुद्ने
जबसम्म उ जिवित नै थियो
दुःखीका आँशु पुछ्दै हिँड्यो

जनगायक जीवन शर्माका गीतका यी पंक्तिहरुमा शहिद शोभाखर धनन्जयको जीवन संघर्षका सबै पाटाहरुलाई ममस्पर्शी रुपमा उतारिएको छ । देश, जनता, पार्टी र आन्दोलनप्रतिको उहाँको समर्पण,नीति सिद्धान्तप्रतिको उहाँको इमान्दारिता र बफादारिता, उहाँका व्यक्तिगत शिल स्वभावहरु हुबहु रुपमा बोलेका छन् गीतका ती शब्दहरुले । शहिद शोभाखर धनञ्जय पार्टी क्रान्तिको काममा अहोरात्र खटिइरहने एक क्रान्तिकारी योद्दा हुनुहुन्थ्यो । चाहेको भए उहाँले त्यो बेलामा विलासिताको जीवन बाँच्न सक्नुहुन्थ्यो । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क नजिकै रहेको कुर भन्ने गाउँमा मुखिया खलकको भूसाल परिवारमा उहाँको जन्म भएको थियो । बुबा तिलकराम र आमा हरिकला भूसालको दोस्रो सन्तानका रुपमा वि.सं. २००१ साल असार ५ गते जन्मिएका शोभाखर धनञ्जयलाई नपुग्दो केही थिएन । बाल्यकाल सुखमय तरिकाबाटै बितेको थियो । अध्ययनका लागि राम्रो अवसर पनि मिलेको थियो । अध्ययन पश्चात् उहाँले अर्घाखाँची जिल्ला प्रशासन कार्यालयमा खरिदार पदमा रहेर जागिर पनि गर्नुभएको थियो । तर सानै देखि तृष्ण बुद्धि, सरल र मिलनसार स्वभावका शोभाखर समाजमा रहेको असमानता, गरिबी, अन्याय, विभेदलाई टुलुटुलु हेरेर बस्न सक्नुभएन । उहाँको मन अति कमलो थियो । दिन दुःखीको दुःख उहाँले देख्नै सक्नु हुन्थेन । दाजुको स्वभाव र दृष्टिकोणबारे स्मरण गर्दै शोभाखर धनञ्जयकी बहिनी यमुना भूसाल लेख्नुहुन्छ – “समाजमा कसैको दुःख देख्न नसक्ने । आफ्नो साथमा दुई चार रुपैयाँ हुँदा साथ गरिब दिन दुःखीलाई बाँडीदिने । झुपडीको आँगनबाट पनि संसार देखाउनु पर्छ भन्ने मान्यताका साथ खरिदार पदबाट आएको तलब दिन दुःखीलाई बाँडी दिने । ससुरालीबाट पाएको दक्षिणा घर फर्किंदा बाटोमै बाँडी दिने । बाटोमा हिंड्दा हिंड्दै बटुवाहरु जाडोले काँपेको देख्ने बित्तिकै आफुले लगाएको कपडा फुकालेर लगाइ दिने । कुनै बेला आफ्नो सर्ट पनि दिएर बनियान लगाएर घरमा आउने गरेको पनि देखिन्थ्यो ।” (हाँक साप्ताहिक वर्ष ३६, अंक ४३ (२०७६ असोज १ गते पृष्ठ ६) शहिद शोभाखर धनञ्जयको मनभित्रको त्यही कोमलातालाई बुझेरै हुनुपर्छ जनगायक जीवन शर्माले उक्त गीतमा लेख्नु भएको छ ः
विशाल एउटा मुुटु थियो
दुुःखको सागर बोकेर कुँद्ने
जबसम्म उ जीवित नै थियो
दुःखीका आँशु पुछ्दै हिंड्यो …

हो, शहिद शोभाखर धनञ्जयको मुटु विशाल थियो जसभित्र दुःखको सागर लुकेको थियो । भएको खरिदारको जागिर छाडेर दुःखीको आँशु पुछ्ने अभियानमा सरिक हुन थाल्नुभयो उहाँ । जति बाँच्नु भो, दुुःखी, गरिबका आँशु पुछ्ने, यो व्यवस्था बदल्ने अभियानमा लागिरहनुभयो । कहिले राजनैतिक आन्दोलनहरुमा सरिक भएर त कहिले जनपक्षीय पत्रकारिताका माध्यमबाट उहाँ निरन्तर श्रमजीवी जनताको सेवामा खटिइरहनुभयो ।

शहिद शोभाखर धनञ्जयको राजनैतिक जीवन नेपाली काँग्रेसबाट शुरु भएको थियो । तर पछि विपिले राजासँग मेलमिलापको नीति ल्याएपछि उहाँ विपिको उक्त विचारसँग सहमत हुन सक्नुभएन । रामराजाप्रसाद सिंह, राम कार्की, मुक्ति रिजाल, कुमार पौडेल र दिलिप चौधरीसँगै उहाँ पनि नेपाली कांग्रेसबाट बाहिरिएर जनवादी मोर्चा गठन गर्नुभयो । शहिद शोभाखर धनञ्जयले जनवादी मोर्चामा महासचिवको जिम्मेवारी लिइ काम गर्नुभएको थियो । तर त्यहाँ पनि रामराज प्रसाद सिंहसँग विचार मिल्न नसकेपछि शोभाखर धनन्जय, राम कार्की, र कुमार पौडेल लगायतका नेताहरु तत्कालीन नेकपा (चौथो महाधिवेशन) मा समाहित हुन पुग्नुभयो । चौम हुँदै शोभाखर धनञ्जय नेकपा (मसाल) आइसक्नुभएको थियो । तर २०४२ सालमा जनवादी मोर्चाका नामबाट गराइएको बम काण्डमा उहाँलाई पनि आरोपित गराएर प्रशासनले सर्वश्वहरण सहित जेल हाल्ने निर्णय ग¥यो । गिरफ्तार गर्नको लागि उहाँलाई खोज्न थाल्यो प्रशासनले । नेकपा (मसाल) ले उहाँको सुरक्षालाई ध्यानमा राख्दै उहाँलाई भारतको दिल्लीमा रहेको अखिल भारत ‘नेपाली एकता’ समाजको केन्द्रीय कार्यालयमा लग्यो । त्यहाँबाट प्रकाशित हुने नेपाली एकता पत्रिकाको सहसम्पादक बन्नुभयो उहाँ । उहाँ आफै समाचार लेख्नुहुन्थ्यो, सम्पादन गर्नुहुन्थ्यो, प्रेसमा रातभरी बसेर छपाउने अनि त्यही नेपाली एकता पत्रिका लिएर भारतका गल्ली गल्लीमा वितरण गर्दै डुल्ने गर्नुहुन्थ्यो । त्यहाँ कार्यरत प्रवासी नेपालीहरुलाई नेपाली एकता वितरण गर्नुहुन्थ्यो । २०४३ साल भाद्र ११ गते दिल्लीको बेलारोडमा एकता समाजले तिज कार्यक्रमको आयोजना गरेको थियो । त्यहाँ गएर पत्रिका वितरण गरी फर्कने क्रममा बाटोमा उहाँको निर्ममतापूर्वक हत्या भएको थियो ।

शोभाखर धनञ्जय एक आदर र सम्मानयोग्य सच्चा राजनीतिकर्मी हुनुहुन्थ्यो । उहाँ अति साहासी हुनुहुन्थ्यो । उहाँको व्यक्तित्व र जीवनशैली साँच्चै नै अनुकरणीय खालको थियो । “शोभाखर धनञ्जयको नम्रता, शालिनता र भद्र व्यवहार साँच्चै अनुकरणीय थियो । उहाँ जहाँ भेट भए पनि अत्यन्त मिठो बोल्ने नम्र भाषा प्रयोग गर्ने, गर्नुहुन्थ्यो । त्यसले गर्दा जो कोहीलाई पनि उहाँको शालिन व्यक्तित्वको प्रभाव पथ्र्यो ।” हाँक साप्ताहिकका अध्यक्ष तथा शोभाखर धनञ्जयलाई नजिकबाट बुझेका र संगत गर्नुभएका सन्तबहादुर नेपाली भन्नुहुन्छ– “दिल्लीको ४०/५० डिग्री सेन्टीग्रेटको गर्मीमा उहाँ ओखला टैंकको पलस्टर नगरिएको कोठामा बसेर दिनरात काम गर्नु हुन्थ्यो । म एक पटक एक जना साथीसँग त्यहाँ त्यो कोठामा पुगेको थिएँ । त्यतिबेला उहाँ घरमा आउनु भएको रहेछ । त्यो कोठाभित्र दिउँसोको गर्मीमा हाम्रो भित्र पस्ने हिम्मत भएन ।… उहाँको शाहदतले हाामी जस्ता हजारौं कार्यकर्ताहरुलाई पंचायती व्यवस्थाका विरुद्ध उत्रने प्रेरणा दियो ।” (हाँक साप्तहिक वर्ष ३६ अंक ४१, (२०७६ भदौ १८ गते, पृष्ठ २)

देश र जनताप्रति समर्पित भएर हिंड्दा शोभाखर धनञ्जयले आफ्नो परिवारको लागि पर्याप्त समय दिन सक्ने कुरा भएन । उहाँले सहादत प्राप्त गर्दा उहाँकी कान्छी छोरी सिर्जना भूसाल मात्र ६ वर्षकी थिइन । उनले आफ्नो बुबाको अनुहार राम्रोसँग देखन समेत पाएकी थिइनन् । “सँगैका बालसखाहरुले आफ्नो बुबाको नाम लिंदा, त्यतिबेलै बुबालाई भेट्ने उहाँको काखमा लडीबुडी खेल्ने रहर जाग्थ्यो । तर मेरा लागि त्यतिबेला त्यो सम्भव थिएन । मैले त बुबाको अनुहार राम्रोसँग देख्न समेत पाएकी थिइन । म बुझ्ने हुँदा उहाँको निधन भैसकेको थियो ।” शहिद शोभाखर धनञ्जयकी कान्छी छोरी सिर्जना भूूसाल भन्छिन् “मैले बुबाको बारेमा थाहा पाएको आमा र दिदीहरुबाट नै हो । मलाई उहाँहरुले –बुबा हामी जस्तै दिन दुःखीको सुखी दिन ल्याउन हिंड्नु भएको छ भनेर सम्झाउनु हुन्थ्यो ।….. उहाँ अत्यन्त मायालु स्वभावको हुनुुहुन्थ्यो रे । हामीलाई अति माया गर्नु हुन्थ्यो रे । मैले पछि बुुझ्दै गए उहाँ त देश र जनताको मुक्तिका लागि महान् काममा हिंड्नु भएको रहेछ । अहिले मलाई गर्व लाग्छ उहाँकी छोरी भएर जन्मिन पाएकोमा ।” (हाँक साप्ताहिक वर्ष ३६, अंक ४१(२०७६ भदौ १८ गते पृष्ठ १ )

पंचायती कालरात्रीको त्यो बेला जनपक्षीय पत्रकारिता गर्नु कम चुनौतीपूर्ण थिएन । तर जनतालाई सचेत पार्नका निम्ति पत्रिका एक सशक्त माध्यम हो भन्ने बुझेर नै शोभाखर धनञ्जयले २०३९ कार्तिक २५ गते देखि हाँक साप्ताहिकको प्रकाशन शुरु गर्नु भएको थियो । दुःखी गरिब जनताको मुक्ति आन्दोलनको सारथी बन्ने अभिप्रायले नै हाँकको प्काशन शुरु भएको थियो । शाही शासनको त्यो विगविगीका बेलामा पनि लुकिछिपी पत्रिका छपाउँदै उहाँले हाँकको प्रकासनलाई निरन्तरता दिनुभएको थियो । हाँकले तत्कालिन पंचायती शासनका विरुद्ध जनतालाई सचेत, जागरुक र आन्दोलित गर्न ठूलो सहयोग पु¥याएको थियो । तत्कालिन शासक र सामन्तहरुका लागि हाँक साँच्चै नै टाउको दुखाइको विषय भएको थियो । हाँक मार्फत् शोभाखर धनञ्जयले तत्कालिन शासक र सामन्तहरुलाई हाँक दिइरहनु भएको थियो । वान्टेड भएर भारत जानु अघिसम्म उहाँकै सम्पादनमा हाँक प्रकाशित भैरहेको थियो । स.स्थापक प्रकाशक÷सम्पादक शोभाखर धनञ्जयका अधुरा सपनाहरुलाई पूरा गर्ने दृढ अठोटका साथ हाँक साप्ताहिक ३८ औं वर्षमा अहिले पनि निरन्तर प्रकाशित भैरहेको छ । गीतमा जनगायक जीवन शर्माले हाँक प्रकाशन प्रतिको शहिद शोभाखर धनञ्जयको त्यही यथार्थ लगावलाई प्रतिविम्वित गर्नु भएको छ :–
जबसम्म उ स्वदेशमै थियो
सामन्तहरुलाई हाँक दियो…..

“पातलो एउटा शरीर थियो” गीतले शहिद शोभाखर धनञ्जय भूसालको जीवनका सबै पक्षहरुलाई समेटेको छ । गीतका शब्दहरु अति सरल छन् । संगीत पनि हृदयस्पर्शी खालको बनेको छ । आजभन्दा ३५ वर्ष अगाडि लेखिएको शहिद गाथाको यो गीत २०४८ सालमा म्युजिक नेपालबाट रिकर्ड गरिएको थियो । रक्तिमको जनगीति यात्रा भाग –५ मा समाविष्ट यस गीतलाई जीवन शर्मा युटुब च्यानलबाट २०७६ भाद्र ११ गते सार्वजनिक गरिएको छ । गीतको भिडियोमा जनगायक शर्माले हारमोनियम बजाउँदै पुनः यो गीत गाउनु भएको छ भने नवगायिका अनु शर्माले गितार बजाएर साथ दिएकी छिन् । अति सरल तरिकाबाट भिडियोको निर्माण गरिएको छ । गीतको शब्दभाव निकै मार्मिक, गम्भीर र उच्च कोटीको छ । गीत सुनेपछि जो कोहीका पनि आँखा नरसाइरहन सक्दैनन् । गीतले शहिदहरुप्रति उच्च आस्था र सम्मान प्रकट गर्न जोकोहीको हृदयलाई पनि घच्घच्याउँछ । “धेरै वर्ष अगाडि नेपाली क्रान्तिको निम्ति शोभाखर धनञ्जयले आफ्नो जीवन बलिदान गर्नु भएको थियो ।” गीत सकिए पछि भिडियोको अन्त्यमा सम्बोधन गर्दै जीवन शर्माले भन्नु भएको छ–“शहिदहरु जो नेपाली क्रान्तिका निम्ति शहिद भए नेपाली जनताका निम्ति ती अजर छन् अमर छन्, उनीहरुले देखाएको बाटोमा हामी सधै हिंड्न हिंड्न तत्पर छौं ।” शहिद शोभाखर धनञ्जयले जुन व्यवस्था स्थानपनाका लागि आफ्नो जीवनको आहुति दिनुभयो, त्यो व्यवस्था देशमा अझै स्थापित भैसकेको छैन । श्रमजीवी जनताको हातमा राज्यसत्ताको बागडोर नआउँदासम्म शहिद शोभाखर धनञ्जयका सपनाहरु पूरा हुने छैनन् । तसर्थ जनताको आफ्नै राज्यसत्ता स्थापनार्थ चल्ने जनमुक्ति अभियानको महासमरमा आफ्ना पाइलाहरु निरन्तर अगाडि बढाइरहेमा मात्र त्यो शहिद शोभाखर धनञ्जयप्रतिको सच्चा श्रद्धाञ्जली र सम्मान हुनेछ । गीतले दिन खोजेको मूल सन्देश त्यही छ । हामी सबै त्यही दिशामा अगाडि बढौं । शहिद शोभाखर धनञ्जय प्रति पुनः भावपूर्ण श्रद्धा–सुमन !

अब सुनौ शहिद शोभाखर धनञ्जयको संघर्षको गाथा समेटिएको जनगायक जीवन शर्माको कालजयी गीत–“पातलो एउटा शरीर थियो ।”

(भीडियो)

IME Remittance