झटारोः रारा नेपाल । दिल्लीबजार सदरखोर झकिझकाउ थियो । थरिथरिका रङ्गीबिरङ्गी बिजुलीबत्ति र ध्वजापताकाले कारागार पुरै सिँगारिएको थियो । देख्दा लाग्दथ्यो– त्यहाँबाट जन्ती निस्कने तर्खर गर्दैछ । भित्र बेहुला सिँगारिदै छन्, बाहिर जन्तीहरु जम्मा हुँदैछन् । ढोकै अगाडि एक झुण्ड मानिसहरु हातमा माला लिएर बसेका थिए । हेर्दैमा दृष्य निकै रोचक थियो । के कसैको बिहे हुँदैछ त्यहाँबाट ? नत्र किन सजाइएको बेहुलाको घर जस्तै सदरखोर ? आखिर के हुँदैछ त्यहाँ ? मेरो मनमा खुल्दुली चल्यो र एक टकले सिँगारिएको नयाँ सदरखोर हेरिरहेँ ।
एकमनले सोच्यो– देश साँच्चै नयाँ युगमा प्रवेश गरेछ । देशलाई नयाँ युगमा लैजाने कामको थालनी सरकारले सदरखोरबाटै सुरु गरेछ । नयाँ युग हेर्न अब बिजुलीका पोलपोल चाहार्दै हिड्नु नपर्ने भएछ, सदरखोरमै गए पनि देख्न सकिदो रहेछ । सरकार कहाँ छ भनेर विपक्षीहरुले ठाउँठाउँमा प्रश्न तेर्साइरहेको सुनिएको थियो । सदरखोरको झकिझकाउ दृष्य देखेपछि सरकारै नदेख्ने ती विपक्षीहरुलाई भन्न मन लाग्यो– ‘बिना तथ्य, बिना प्रमाण गाउँगाउँमा नकराउनू, सरकार हेर्न मन लागे खुरुक्क काठमाडौँको दिल्ली बजारतिर आउनू र सदरखोरपट्टि नजर लाउनू ।’
ए ए हट् हट्, बाटो खाली, बाटो खाली’
सदरखोरको मूलढोकातिर आँखा तेर्साएर बसेका हामीलाई सुरक्षाकर्मीहरुको यो आवाजले केही पर सर्न बाध्य बनायो । सुरक्षाकर्मीले बाटो खाली गराए पश्चात् ढाका टोपी, ढाकाकै दौरा र थारू संस्कृति झल्किने पाइजामामा सजिएर कालो चश्मा टल्काउँदै ठ्याक्कै बेहुला निस्केसरि सदरखोरभित्रबाट एक महानुभावको आगमन भयो । वरपर सुरक्षाकर्मीहरुले सुरक्षा दिइरहेका थिए, बीचमा उनले मुस्कुराउँदै हात हल्लाउँदै थिए । उनको फुर्ति देख्दा लाग्दथ्यो– ठुलो युद्ध जितेर आएका महायोद्धा हुन् उनी । माला र खादा लिएर बसेका एक झुण्ड मानिस उनलाई माला र खादा भिराउन तँछाडमछाड गर्न थाले । बेहुलालाई कारमा राखिए झै उनलाई पनि जिपमा राखियो । जिपमा उभिएर उनी हात हल्लाउँदै थिए, अघि–पछि सुरक्षाकर्मीका गाडी थिए । उनलाई लिएर गाडी सिंहदरवारतर्फ अगाडि बढ्यो । एक हुल मानिस जन्ती गएसरि उनकै पछि लागे । फूलमाला लगाइदिएर पनि जन्ती बन्न नसकेका केही अभागी बबुराहरु र म जस्ता रमिता हेरिरहेकाहरु त्यहीँ रह्यौँ । हामीले जन्ती गएतिर एक टकले हेरिरह्यौँ ।
‘ए हजुर, कहाँ जाने रै‘छ यो जन्ती ?’ अघि बेहुलालाई फूलमाला र खादा लगाइदिएर पनि जन्ती जान नपाएको एक बबुरोका अगाडि मैले राखेको प्रश्न थियो यो । मेरो प्रश्न सुनेपछि बबुरो बोल्न थाल्यो–
‘अरे, कस्तो कुरा गरिलिनु भएछ हजुरले ? केका जन्ती, किसको विवाहको बात गर्नु भएछ यहाँ ? हामीलाई जिस्काइलिनु भएको ?’
‘होइन हजुर, मैले त यो विवाह समारोह जस्तै लागेर सोधेको नि !’ लाटैलाट बाटैबाट मलााई जे लागेको थियो, सरासर त्यही स्पष्टीकरण दिएँ मैले ।
‘अरे हजुर, कस्तो बात करिलिनु भएछ हजुरले ? यो थोडी न शादीवाला कार्जेकरम हो ? उहाँ थोडी न बेहुला हो ? अरे चिन्नु भए छैन उहाँलाई ?’ उनको प्रश्न थियो ।
‘नाइँ, कसरी चिन्नु त ? सिँगारपटार र फुर्ती देख्दा बेहुला जस्तै लाग्यो, बेहुली लिन हिडेका बेहुला, त्यो पनि सदरखोरभित्रबाट निस्किएर हिडेको देख्दा अचम्म लागेर सोध्या नि !’ मैले आफ्नो अनभिज्ञता प्रकट गरेँ ।्
‘अरे हुजुर, उहाँ थोडी न बेहुली लिन जानु भएछ, उहाँ त सपथ लिन जानु भएछ । चिनिलिनु भएन उहाँलाई ? उहाँ हाम्रो सांसद । आज सिंहदरवारमे उहाँले सपथ खाइलिने कार्जेकरम छ । त्यही जानु भइलिएछ हँ… ।’
ती बबुराको कुराले मलाई झन् अचम्मित तुल्यायो । सांसद बस्ने ठाउँलाई त संसद भवन भन्दथे, यो सदरखोरलाई पनि संसद भवन कहिलेदेखि बनाएछन् ? कतै वानेश्वरको संसद भवनमा सांसद नअटाएर सदरखोरतिर नि राख्न थालिएको त होइन ? काठमाडौँमा कोठा पाउन त्यसै पनि सास्ती छ । कि अन्त कोठा नपाएर सांसदहरु सदरखोरतिर पनि डेरा गर्न थालेर हो ? यस्तै यस्तै अनगिन्ती प्रश्नहरु मनमा खेल्न थाले । तर पनि संयमित हुँदै आफ्ना कुरा राख्दै गएँ मैले–
‘हैन हजुर, सांसद बस्ने ठाउँलाई त संसद भवन र सिंहदरवार भन्छन् होइन र ? यस्ता सदरखोरभित्र बस्नेलाई त कैदी, अपराधी, हत्यारा, बलात्कारी, लुटेरा, भ्रष्टाचारी, अभियुक्त यस्तै यस्तै पो भन्छन् त । होइन र ?’
मेरो प्रश्न भुइँमा के खसेको थियो, बबुरो त एक्कासी सन्किएर पो बोल्न थाले–
‘केको अपराधी, को हत्यारा ? तनिक मुख सम्हालेर बोलिलिनु हँ ? हामीलाई हेपेर हाम्रो नेतालाई हत्यारा, अपराधी भन्न खोजिलिनु भएको ? अरे, उहाँ त हाम्रो महान् नेता । चुनाव जितेर आइलिनु भएको पुरा एक बरस भइलिएछ । फिर पनि उहाँलाई माननीयको पदवी मिलेको थिएन । आज लिन जाँदै हुनु हुन्छ माननीयको टक्मा । सरकार, विपक्षी सब तरफका सांसद मिलेर आज उहाँलाई सिंहदरवारमै स्वागत गरिलिने, सम्मान गरिलिने माननीयको सपथ खुवाइलिने कार्जेकरम छ । बात करते हो… ।’
अर्कोतर्फ फर्किएर आफैसँग कुरा गरे जस्तै गरी ऊ अझ नि गुनगुनाउँदै थियो । त्यहाँ जम्मा हुने मानिसहरुको सङ्ख्या झन्पछि झन् बढ्दै थियो । हेर्दाहेर्दै बाजागाजा सहितको जमात पनि त्यहीँ आइपुग्यो । सपथ ग्रहण सिंहदरवारमा तर पनि मान्छेहरुको भिड त्यहाँ किन ? मलाई मनमा लागेको जिज्ञासा उसैका अगाडि राखेँ मैले । उसले बताउन थाल्यो–
‘अरे हुजुर, इतनी सी बात पनि बुझिलिनु हुन्न ? हाम्रो सांसद, नेताजी सिंहदरवार में सपथ खाइलिएपछि फेरि यतै आउँदै हुनु हुन्छ । माननीय नेता सांसदजी के स्वागत गरिलिन यहाँ जम्मा भइलिएछौँ हामी, हाँ ।”
ठुलै मेलापर्वमा जस्तै गरी मान्छेहरुले सदरखोरको अगाडि नाचगान र अबिरजात्रा गर्न थाले ।
‘कमरिया.. कमरिया.. कमरिया लचके रे… ’ कोही चाच्दै थिए ।
‘जीत गया भाइ जीत गया, हमारा सांसद जीत गया…’ कोही नारा लगाउँदै थिए ।
बाजा बजाउनेले बजाएकै थिए । बाजा बजाउनेले बजाएकै थिए । गीत गाउनेले गाएकै थिए । नाच्ने नाच्दै थिए । कोही ताली ठोक्दै थिए । कोही कोही अङ्कमाल गर्न व्यस्त थिए । सदरखोर अगाडि यस्तै रोमाञ्चक दृष्य चल्दै थियो । एकैछिनमा अगाडि–पछाडि प्रहरीका गाडी लगाएर सिंहदरवारतिर सपथ ‘खाइलिन’ गएका उनै सांसदको आगमन भयो । पहिले पहिले गीत पनि गाउने उनलाई अब भने मैले प्रष्ट चिनिसकेको थिएँ । कारबाट उत्रिएर सांसदले बडो हर्षित मुद्रामा हात हल्लाउँदै अभिवादन गर्दै अघि बढ्न थाले । बाजा बजाउनेहरुले झनै जोशले बाजा घन्काउन थाले । फूल र अबिर बर्साउनेहरुले बसाइरहेका थिए । माननीय सांसद एउटा हातले छातीको कोटमा टाँसिएको सांसदको लोगो उचालेर देखाउँदै थिए त अर्को हात माथि उठाएर हल्लाई रहेका थिए । माननीय सांसद मेरो नजिकै आइपुग्दा उनको छातीको लोगोमा मेरा आँखा अडिए । उनको छातीको त्यो लोगोभित्र हुन त नेपालको नक्साको बीचमा नेपालकै झण्डा र नमस्कार मुद्रा जोडिएका दुई हात थिए होलान् । तर त्यो लोगो टर्लक्क टल्किदा मैले भने त्यहाँ विगतको एक दृष्य देखेँ । फिल्मी रिजमा जस्तै मैले त्यहाँ झर्लक्क एस.एस.पी. लक्ष्मण न्यौपाने सहितका सात सुरक्षाकर्मी र एक दूधे नाबालकलाई देखेँ । हातमा खुँडा, तरबार, भाला लिएको हतियारधारी जमातले एस.एस.पी. न्यौपाने सहितको हतियारविहीन सुरक्षाकर्मीलाई घेरिरहेको थियो । त्यो हतियारधारी जमातलाई न्यौपानेले सम्झाई बुझाई गर्न खोज्दै थिए । यत्तिकैमा पछाडिबाट कसैले एस.एस.पी. न्यौपानेको पिठ्युमा भाला रोपिदियो । ज्यान बचाउनका लागि सुरक्षाकर्मी भाग्न थाले, हतियारधारी जत्थाले खेदाउँदै गयो । त्यो हतियारधारी जत्थाले ती सुरक्षाकर्मीहरुलाई खुँडा, तरबार, भाला प्रहार गर्दै कसैलाई बाटोमा, कसैलाई खेतमा, कसैलाई घरको आँगनमा ढलाउँदै गए । ढलाएर मात्र छोडेनन्, उनीहरुले पेट्रोल छर्र्किएर ज्युँदै आगो समेत लगाए । आँगनमा खेलिरहेको एक दूधे बालकलाई पनि बाँकी छोडेन त्यो जमातले । माननीय सांसदको छातीमा टल्किरहेको त्यो लोगोभित्रबाट ती जलिरहेका सुरक्षाकर्मी र दूधे बालकको आतर्नाद आए जस्तो लाग्यो मलाई । मेरो मानसपटलमा २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको त्यही कहालीलाग्दो घटनाका दृष्यहरु फनफनी घुम्न थाल्यो । मलाई रिँगटा लाग्यो र थचक्क भुइँमा बसेँ । म त्यहीँ एक्कासी बेहास हुन पुगेछ ।
पछि ब्युझिदा अघिको त्यत्रो ठुलो जमात कोही थिएन त्यहाँ । माननीय सांसदज्यू सदरखोरभित्र गएर ‘माननीय अभियुक्तको पदभार ग्रहण गरिसक्नु भएको थियो । भित्रबाट माइकमा आएको आवाजले प्रष्ट पार्दै थियो– सदरखोरभित्र माननीय अभियुक्तको सम्मानमा अमाननीय कैदीज्यूहरुले भव्य समारोह गर्दै थिए । भित्र पनि हर्षोल्लासका साथ गानाबजाना चल्दै थियो । त्यो ठाउँबाट हिड्दै गर्दा सदरखोरभित्रबाट आएको एक सुरिलो आवाजले मेरो ध्यान खिच्यो । ओहो! त्यहाँ त माननीय अभियुक्तज्यूले ‘सालको पात टपरी हुनी’ बोलको गीतलाई यसरी गाइरहेका थिए–
अहिले साल सांसद लोगो मन्त्री अर्को साल
यो ज्यानलाई रोक्न सक्ने कुन छ माइकालाल
हे बरै, हे बरै नयाँ युग आइसक्यो देशमा
हे बरै को भन्छ आ’छैन
समाजवाद नि आइरा’छ देशमा
हे बरै नभन्नू है आ’छैन……
गीत गाउने क्रम जारी थियो । तर म त्यो सुन्न थालिनँ र अघि बढेँ । बाटोमा हिड्दै गर्दा मनमा फेरि अर्को प्रश्न उब्जियो– अहिले त अदालतले पुर्पक्षका लागि सदरखोरमा थुनेका कारण उनी अभियुक्त मात्र भए । अब सांसदको सपथ खाएपछि उनी माननीय अभियुक्त भएका छन् । भोलि फेरि अदालतले उनैलाई अपराधी भनेर अन्तिम फैसला सुनायो भने तपाई हामीले फेरि माननीय अपराधीज्यू भन्नु पर्ने त होला नि ! होइन र हजुर ?™