-कपिल पान्डे, अष्ट्रेलिया,
हलो बिर्सेँ,
कोदालो बिर्सेँ,
आलि लगाउन त उहिलै बिर्सेँको,
हिलोको सुगन्ध पनि बिर्सेँ ।
रोपाइँ नदेखेको धेरै पछि,
पसलको चामल खाँदा खाँदा,
भकारी कस्तो हुन्छ, त्यो पनि बिर्सेँ ।
लिँडको बिर्सेँ,
डल्लेसो बिर्सेँ,
डल्ला फुटाउन त उहिलै बिर्सेको,
पाखा र पखेरीको महत्व पनि बिर्सेँ ।
खेतीपाती छोडेको धेरै पछि,
बेसाएको अन्न खाँदा खाँदा,
हलि, रोपाहर र खेताला कस्ता हुन्छन, त्यो पनि बिर्सेँ ।
ढिकी बिर्सेँ,
मुसल बिर्सेँ,
ओखल चलाउन त उहिलै बिर्सेँको,
दाँतीको आकार पनि बिर्सेँ ।
गाउँ छोडेर शहर पसेको धेरै पछि,
बियाँ नभएको चामल खाँदा खाँदा,
नाँग्लो कस्तो हुन्छ, त्यो पनि बिर्सेँ ।
जाँतो बिर्सेँ,
हातो बिर्सेँ,
घट्ट जाने बाटो त उहिलै बिर्सेको,
कुवाको पानीको स्वाद पनि बिर्सेँ ।
समयको चपेटामा पर्न थालेको थेरै पछि,
पेट भर्ने निउमा, फास्ट फुड खाँदा खाँदा,
तावा, ताई, हाँडी र कसौंडी कस्तो हुन्छ, त्यो पनि बिर्सेँ।
ठेकी बिर्सेँ,
मदानी बिर्सेँ,
मोहि पार्न त उहिलै बिर्सेको,
नौनीको नरमपन पनि बिर्सेँ ।
कन्क्रीटको जङ्गलमा बस्न थालेको धेरै पछि,
पोकाको दूध खाँदाखाँदा,
माना, पाथीको आयतन कति हुन्छ, त्यो पनि बिर्सेँ ।
तुलो बिर्सेँ,
खडकुलो बिर्सेँ,
दुना, टपरी बुन्न त उहिलै बिर्सेको,
जन्ती बाख्रोको स्वाद पनि बिर्सेँ ।
पिर्कामा बस्न छोडेको धेरै पछि,
डाइनिङ टेबलमा बसेर खाँदाखाँदा,
संस्कारको महत्त्व कति हुन्छ, त्यो पनि बिर्सेँ ।
डोको बिर्सेँ,
नाम्लो बिर्सेँ,
चोया काटन त उहिलै बिर्सेको,
तामाको स्वाद पनि बिर्सेँ ।
गाउँलेबाट सहरिया भइटोपलेको धेरै पछि,
बोटलमा पाइने पानी खाँदा खाँदा,
तामे गाग्रीको पानीको स्वाद कस्तो हुन्छ, त्यो पनि बिर्सेँ ।
चौतारी बिर्सेँ,
दौँतरी बिर्सेँ,
घाँस दाउरा गर्न त उहिलै बिर्सेको,
लोक भाकाको सुन्दरता बिर्सेँ।
प्रदुषित शहरमा बस्न थालेपछि,
धुवाँ धुलो युक्त हावा खाँदा खाँदा,
स्वस्थ्य हावाको अनुभुती कस्तो हुन्छ, त्यो पनि बिर्सेँ ।
खै अरु के के बिर्सेँँ,
के के बिर्सेँ,
गाँउले किसान हुँ भन्न त उहिलै बिर्सेँको,
आफ्नै पहिचान पनि बिर्सेँँ ।
सम्पत्ति आर्जनलाई प्रगति ठान्न थालेपछी,
सर भन्नेहरूको नमस्ते खाँदाखाँदा,
आफ्नाहरुले धेरिएर बस्दा कस्तो हुन्छ, त्यो पनि बिर्सेँँ ।