काठमाडौँ, १९ असार । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको केही दिन मनसुन कम सक्रिय हुने देखिएको छ । मौसमविद् विभूति पोखरेलले अघिल्ला दिनको तुलनामा मनसुनी वायुको कम प्रभाव रहने तर मनसुनी वायुको प्रभाव कमजोर मात्रामा भए पनि केही दिन रहिरहने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मनसुनी वायुको सक्रिय प्रभावले तीन दिनयता निरन्तर वर्षा र कतिपय स्थानभा भारी वर्षासमेत भएको छ, अबका दिनमा पनि मौसममा कहिले सुधार आउँछ भनेर यकिन भन्न सकिने अवस्था नरहेको र अघिल्ला दिनको तुलनामा मनसुनको कम प्रभाव हुने विश्लेषण गरिएको छ ।”
मौसमविद् पोखरेलले मनसुनको कम प्रभाव रहे पनि अझै देशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताउनुभयो । अबका दिनमा दिउँसो र साँझपख मौसम खुले पनि खण्डितरूपमा पुनः बदली र वर्षाको सम्भावन रहिरहन्छ ।
देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले केही दिनयता देशका अघिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले विगत तीन दिनदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहनाका साथै सबैजसो भूभागमा हल्कादेखि मध्यम तथा केही क्षेत्रमा भारी वर्षा भएको छ ।
मनसुनी वायुको प्रभाव कहिलेसम्म रहन्छ भन्ने यकिन जवाफ मौसमविदसँग पनि छैन । केही दिनदेखिको निरन्तर वर्षा र बदलीले देशका कतिपय क्षेत्रमा प्राकृतिक विपत्ति तथा मानवीय क्षतिका दुःखद् घटना पनि भए । पछिल्लो तीन दिन लगातार बदली र वर्षा भयो कतिपय क्षेत्रमा भारी÷थेरै भारी वर्षासमेत भएको छ ।
काठमाडौँ उपत्यकाको हकमा विगत तीन दिनदेखि आंशिकदेखि पूर्ण बदली र हल्कादेखि मध्यम वर्षा भएको छ । महाशाखाको विवरणअनुसार आज काठमाडौँमा ६६ मिलीमिटर वर्षा भएको छ । हिजो शुक्रबार ४६ मिलीमिटर वर्षा भएको थियो । सबैभन्दा धेरै सिमरामा १५३, विराटनगरमा १०७, जनकपुरमा ८५, ताप्लेजुङमा ५८, भैरहवामा ५३ र पोखरामा ५५ मिलीमिटर वर्षा भएको छ ।
आज काठमाडौँको अधिकतम २३ दशमलव चार र न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्रि सेल्सियस रहेको छ । अहिले प्रदेश नं १, २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहिरहनुका साथै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ ।