काठमाडौँ, १२ जेठ : कोरोना नियन्त्रणका लागि भनेर मुलुकमा निषेधाज्ञ शुरु भएको एक महिना बढी भइसक्यो तर कोरोना संक्रमण दर घने घट्न सकेको छैन ।
मुलुकमा मंगलबार आठ हजार ६३६ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज छ हजार ४०४ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणबाट आज १६९ को ज्यान गएको छ ।
अघिल्लो महनिामा पनि यस्तै संक्रमण दर थियो । तर आशातित सफता प्राप्त गर्न नसकिएको चिकित्सकहरु बताउँछन् । मानिसको लापरवाहीले पनि समस्या भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम बताउनुहुन्छ । कतिपय अबस्थामा नियन्त्रण प्रयास पनि फितलो रहेको देखिएको छ ।
तर पनि एक महिना अघिदेखि मुलुकका विभिन्न जिल्लामा शुरु भएको निषेधाज्ञाको समयावधी थप गर्दै अझै जारी राखिएको छ ।
कोभिड–१९ सङ्क्रमण नरोकिएकाले सबै जिल्लाले आदेश थप गरेर लागू गरिरहेका छन् । गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार मनाङ र खोटाङबाहेकका जिल्लाले आदेश जारी गरी लागू गरेका छन् ।
काठमाडौँ उपत्यकाको तीन जिल्लाले पनि जेठ २० गतेसम्मका लागि आदेश थप गरेको छ । अन्य वाहिरी जिल्लाले पनि थप गरेर कार्यान्वयनमा लगेका छन् ।
म्याग्दी जिल्लाले सोमबारदेखि नै लागू हुनेगरी एक हप्ताका लागि निषेधाज्ञा थपेको छ । मकवानपुर जिल्लाले पनि जेठ २०सम्मका लागि आदेश थप गरेको छ । दैलेखले १० दिन थप गरी जेठ २१ सम्मका लागि आदेश जारी गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाले पनि १० दिन थप गर्दै २२ गते राती १२ बजेसम्मका लागि आदेश जारी गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जिल्लाको सङ्क्रमणावस्थाको आधारमा निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइएको जानकारी दिनुभयो ।
सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।